विचार

जहाँ भ्रष्टाचार गरे समाजबाट बहिष्कृत हैन, पुरस्कृत भइन्छ !

सुशीला कार्की |
फागुन ५, २०७९ शुक्रबार ८:५ बजे

पुराना पुस्ता र नयाँ पुस्ताबीचको द्वन्द्व टड्कारो रूपमा देख्न पाइएको थियो, गएको आमनिर्वाचनमा । पुराना, रैथाने, खाईपाई आएका राजनीतिक रूपमा प्रभावशाली दलीय नेताहरूले नयाँ दल र युवा पुस्ताका नेताहरूको आगमनमा रोकावट पैदा गर्न भरमग्दुर प्रयास गरेको महसुस गरियो । यति मात्रै होइन आफ्नै दलभित्रका होनहार युवा पुस्तालाई पहिलो त टिकट प्राप्तिमा अवरोध गराइयो । त्यसपछि पनि उम्मेदवार हराउनकै लागि षड्यन्त्र भएको गुनासो सुनियो । अन्य मुलुकमा विशेष त प्रत्येक राजनीतिक दलहरूमा नेताहरूले आफूपछिको नेता क्रमशः तय गर्ने गरेको हुन्छ ।

नेपालमा आजसम्म त्यस्तो प्रवृत्ति कुनै पनि दलमा देखिएको छैन । यहाँको दलमा पछिल्लो पुस्ताको नेतृत्व कायम गर्नुपर्दा आफूपछि आफ्ना पत्नी, भाइ, भतिजा, छोरा बुहारीलाई नेतृत्व सुम्पने र परिवारबाहिरका नेतालाई विश्वास नगर्ने चलन देखिन्छ । हुन त, राजनीतिमा यो प्रवृत्ति तेस्रो विश्वका अधिकांस मुलुकहरूको रोग नै हो । पश्चिमी जगत्का लोकतान्त्रिक मुलुकहरूमा जनताले विश्वास गरेका लोकप्रिय नेतालाई नेतृत्व हस्तान्तर गर्ने गरिन्छ । हाम्रो जस्तो मुलुकमा जनताले नपत्याएको भए पनि शीर्ष नेताले रुचाएको व्यक्तिलाई नेतृत्व सुम्पने प्रचलन छ ।


यस पटकको स्थानीय निर्वाचनमा प्रचलित दलबाहिरका बालेन शाह र हर्क साम्पाङ जस्ताहरूको उपस्थिति जनताको इच्छाबाट हुन पुगेको हो । स्थानीय निर्वाचनमा प्रचलित दलबाहिरका स्वतन्त्र उम्मेदवारहरूको चयन हुनु, आमनिर्वाचनमा पनि धेरै थोरै जति भए पनि ठूलो अवरोधको बाबजुद नयाँ दल र नयाँ पुस्ताका उमेदवारहरूको उदय हुनु, यसको अर्थ जनताले पुराना दल र पुराना पिँढीका नेताहरूको कार्यशैलीबाट अवाक् भएका हुन् भन्‍ने कुरा प्रस्ट हुन्छ । 

नेपालमा आजसम्मका कुनै एक सरकारले जनताको आमसमस्यालाई बुझ्ने, सम्झिने, मनन गरी आत्मसात् गर्ने अनि समाधान गर्न मरिमेटेको देखिँदैन । कुनै समय कहलिएको कृषिप्रधान मुलुक नेपाल जहाँ दुई तिहाइ जनता कृषि पेसामा संलग्न थिए, तर अब यो पेसाबाट आमजनताले जीवन गुजारा गर्न असम्भव छ । मल छैन, जल छैन, आधुनिक कृषि औजार र प्रविधिको विकासको अभाव छ । त्यसैले गर्दा अब आमकिसानले कृषिमा गर्ने लगानी पनि उठ्न असम्भव छ । 

छिमेकी मुलुक भारत र चीनले यसै पेसामा कत्रो फड्को मार्न सफल छन् । त्यहाँ बिजुलीको प्रयोगमा किसानलाई सहुलियत दिइन्छ । मलको खरिदमा र आधुनिक कृषि औजारको सुविधा छ । बाली र फलफूलको विकासमा अध्ययन र अनुसन्धान निरन्तर भइरहन्छ । जबकि नेपालमा मलको बिक्रीमा खुलेआम कालोबजारी हुने गर्छ र किसानले बिउ मल सबै महँगोमा खरिद गर्नुपर्ने हुन्छ । फेरि सरकारको उपस्थितिमा नै नक्कली मलको बिक्री कसरी हुन पुगेको हो त्यो अर्को आश्चर्य छ । उखु लगाउने किसानले वर्र्षांै वर्षसम्म आफ्नो उखुको मूल्य नपाएर आत्महत्या गर्नुपर्ने बाध्यता रहन जान्छ । किसानले रगत पसिना बगाएर उब्जाएको बाली समयमा बिक्री नहुने, बिक्री भइहाले पनि कौडीको भाउमा बेच्नुपर्ने । कृषिमा रगत पसिना बगाएर आफैँले ऋण पान गरी उब्जनी गर्ने किसान तर व्यापारीको मिलुवा भएर भाउ निर्धारण गर्ने सरकार, यी यहाँका मूल समस्या हुन् ।

कुनै पनि मुलुकले आफ्नो पेसाको पहिचान बनाएको हुन्छ । यस क्रममा कृषि पेसामा आबद्ध भएका सानाभन्दा साना मुलुकहरूले पनि व्यापक कृषि उपज गरेर संसारभरि निर्यात गर्न र मानव जातिको भरणपोषण गर्न आज भोलि सफल भएको देखिएको छ । ती मुलुकहरूमा कृषिको जरियाबाट आमजनताको हकमा रोजगारी सृष्टि भएका छन् । तिनका व्यापार व्यवसाय पनि चलेका छन् र राज्यले राजस्व उठाउने गरेको समेत देखिन्छ ।

नेपालमा आज–भोलि राजधानीबाहिर किसानले अन्‍नपात, तरकारी, कुखुरा, दुग्ध पदार्थ बिक्री नभएर सडकमा फालेर विरोध स्वरूप प्रदर्शन गर्ने गरेको देखिन्छ । यता राजधानीभित्र जनताको ठूलो संख्याले महँगो अन्‍नपात तरकारी फलफूल उपभोग गर्न बाध्य छन् । पशु सेवावाट दूध आर्जन गर्ने व्यवसायीहरूको गुनासो के छ भने अजभोलि गाईको चारो मकैको पिठो चोकर सबै भारतबाट आयात हुने गरेको छ । त्यो पनि हाल भारतले निकासी रोकेपछि ती वस्तुको भाउ अकासिएको हुँदा गाईबस्तु पाल्न र दुग्ध पदार्थ बिक्री गर्ने व्यवसाय किसानको हकमा असम्भव भएको छ ।

यस सम्बन्धमा विज्ञहरूको भनाइ के छ भने मुलुक बाहिरबाट निर्यात भएको खाद्यवस्तुबाट उच्च नेतृत्व तहलाई एकमुष्ठ नजराना आउने गरेको हुन्छ । चितवनवासी नेपाली किसानले आफूले दुःख गरी कमाएको अन्‍नपात तरकारी फलफूल बिक्रीको रकम नेताहरूलाई नजराना बुझाउन जान्दैनन् ।

नेपालमा कालीमाटी जस्ता जति पनि तरकारी बजारहरू छन् ती सबै तस्कर माफिया जस्ताका कब्जामा परेका छन् । जसलाई तिनले आफ्नो फाइदाका निम्ति आफ्नो अनुकूल चलाइ आएका छन् । भारतमा प्रर्याप्त विषादी प्रयोग भएको तरकारी फलफूल सस्तोमा खरिद गरी नेपाली बजारमा महँगोमा बिक्री गरिँदा एउटा वर्गको गोजीमा मोटो रकम जान सक्ने हुँदा साम दामको नीति लगाएर भए पनि त्यस वर्गले त्यो व्यवसायमा निरन्तरता दिने नै भयो, जसमाथि शासक वर्गको आशीर्वाद त रहेकै हुन्छ ।

नेपालमा कृषि क्षेत्र मात्र होइन कि आमनेपालीले गर्ने कुनै पनि पेसा व्यवसायमा लाभ नभई हानी हुने अवस्था छ । त्यतिमात्र होइन आममानिसले व्यवसाय चलाउन आँट गर्ने अवस्थासम्म पनि छैन । व्यवसायमा लागानी गर्ने रकमभन्दा दुई गुणा बढी व्यवसाय स्थापित गर्नलाई घूस नै तिर्नुपर्ने भएपछि आमव्यक्तिले व्यवसाय कसरी गर्न सम्भव हुन्छ । सरकारी सेवाको हकमा सरकारले पढे/लेखे जतिका युवा–युवतीहरूलाई सरकारी सेवामा भर्ती गराउन सम्भव छैन । व्यक्तिगत क्षेत्रमा काम लगाउनेहरूले स्वाभाविक कम रकम दिएर श्रमको शोषण गर्ने गरेका हुन्छन् । 

वैदेशिक रोजगार क्षेत्र यति बदनाम छ कि यसले व्यापक सामाजिक विकृतिको समस्याहरू नेपालमा भित्र्याएको छ । पैसाको लागि षड्यन्त्र गरी पतिले पत्नीको हत्या गर्ने, पत्नीले पतिको हत्या गर्ने । आर्जित धनको क्षति, सन्तानको बिजोग ठूलै समस्याको रूपमा देखिएका छन् । अर्कातिर वैदेशिक रोजगारको नाममा ठगी गर्नेहरूले पैसा लिएर कोरिया भनेर विराटनगरमा हवाईजहाजबाट उतार्ने गर्ने गरेको दृष्टान टड्कारो छ । वैदेशिक रोजगारमा भविष्य देख्नेहरूको यात्राले क्षणभरमै काठको बन्द बाकसमा मुलुकमा फर्किनु परेको दर्दनाक पाटो अर्को छ । नेपालमा यतिखेर आमजनताको हकमा रोजीरोटीको व्यापक अभावको समस्या देखिएका छन् र यो समस्या निराकरण नगर्ने हो भने आगामी दिनहरूमा आर्थिक मन्दीमा अझै वृद्धि हँुदै जानेछ । यसको मूलकारण हो, देशमा फैलिँदै गएको व्यापक भ्रष्टाचार, घूसखोरी नातावाद कृपावाद, राजनीतिक पक्षपात ।

नेपालमा जनताको नजरमा प्रत्येक पदरूपी कुर्सीहरू बदनामीका आशंकाभित्र परेका छन् । जनताले कुनै पनि पदको कुर्सीमाथि विश्वास गर्न छाडिसकेको छ । अबका दिनहरूमा अरु संस्थाको त कुरै छाडौँ स्थानीय निकायको तल्लो इकाइ वडा कार्यालयहरूसम्मले पनि, कुनै सम्पत्ति धारण गर्ने व्यक्तिको मृत्यु भएको अवस्थामा निजका हकवालाले सम्पत्ति नामसारी गर्न मृत्युदर्ताको प्रमाणपत्र माग्न जाँदा पनि सिफारिसपत्र पाउन सम्पत्तिको प्रतिशतको माग राखेको गुनासो गर्न थालेका छन् । बाटो, पुल, भवन सरकारको बजेटबाट बनाउँदा सरकारको सम्बन्धित विभाग र नगरपालिका वा गाविसका प्राविधिक कर्मचारीहरूले आधा रकम खान नपाएसम्म काममा हात हाली नदिने बरु सो काम पास नै नगरी बजेट फिर्ता गरिदिने गरेका छन् ।

अस्पतालको हालत त्यही छ सरकारी अस्पतालले मानिसलाई सिटामोलको सहयोगसम्म पनि गर्दैन । व्यक्तिगत अस्पतालले भने सास गएको बिरामीलाई पनि भेन्टिलेटरमा राखेर हल्लाएर भए पनि पैसा तानिरहेको हुन्छ । अब नेपालमा कुनै यस्तो क्षेत्र छैन जहाँ भ्रष्टाचारको बिगबिगी नभएको होस् । जब पैसाको मुठो नियुक्तिकर्तालाई नदिएसम्म व्यक्तिको सेवामा नियुक्ति हुँदैन, नियुक्ति भएको वर्षौं वर्षसम्म पदोन्‍नति पनि हँुदैन भने त्यहाँ भ्रष्टाचारमा न्यूनीकरण कसरी सम्भव होला । वडाध्यक्ष बन्‍न तारे होटलमा पार्टी दिनुपर्ने, मतदातालाई रकम बाँड्नुपर्ने । स्थानीय निर्वाचमा राजधानी काठमाडौंको कुनै कुनै वडामा त दुई चार करोडसम्म खर्च गरेको देखियो भन्‍नेसम्म छन् । यो कुसंस्कार रहेसम्म भ्रष्टाचारको अन्त्य कसरी होला ?

वस्तुतः नेपालमा नवनिर्वाचित युवा जनप्रतिनिधिहरूले मुलुकको विकासको परिकल्पना गर्न चाहेको हो भने कुर्सी र मन्त्री पदको आकर्षण चटक्क बिर्सेर भ्रष्टाचारको अन्त्य गर्ने अभियानलाई प्रथमिकता दिन जरुरी छ । किनकि भ्रष्टाचार निरन्तर खुलेआम कायम रहेसम्म विकास किमार्थ हुँदैन । बनेको सडक एक झरीमा बग्ने, एक झरीमा भवन चुहिने, जनताले सुविधा केही नपाउने ती सबै नेता र कार्यकर्ताको दैलोमा पुग्ने । 

तसर्थ, अब जनप्रतिनिधिहरूले सर्वप्रथम संसद्‌मा सरकारको प्रत्येक क्रियाकलापको खर्चको हिसाब–किताब माग्ने र त्यसको जनतालाई जानकारी दिने । आफूलाई विनियोजन गर्न दिएको रकमको सही सदुपयोग गर्ने । ती रकमहरूबाट मितव्ययिताका साथ खर्च गरी बढी से बढी जनसेवामा सदुपयोग गर्नु उपयुक्त हुन्छ । नेपालमा भ्रष्टाचार मौलाएको मात्र छैन कि यसले निक्कै तलसम्म नउखेलिने गरी जरा गाडेको छ । केही मानिसलाई भ्रष्टाचार गरेर पैसा कमाउन अब लाज पनि छैन, घिन र शरम पनि छैन । 

पुराना राजनीतिक नेताहरू जो निरन्तर पदमा कायम रहिरहेका छन् तिनको चाहना हो पदमा अटल कायम रहिरहने । त्यो वर्गले नयाँ युवा पुस्तालाई प्रथमतः राजनीतिमा प्रवेश दिन नै अवरोध खडा गर्छ आइहाले पनि हामी जस्तै हुन केही फरक छैन भनी आमजनतासमक्ष प्रतीत गराउनैका लागि हरसम्भव प्रयत्नरत्न रहनु स्वाभाविक छ । तिनीहरूसँग अथाह धन छ, त्यस रकमबाट सुनलाई फलाम र फलामलाई सुन कायम नगराउलान् भन्‍न सकिन्‍न ।

फेरि एउटा भ्रष्ट कर्मचारीतन्त्र भएको वर्ग छ, जसले आफ्नो हालीमुहाली निरन्तर कायम गर्न हर कुराको प्रयास गर्ने नै छन् । नेपालमा राजनीतिक संस्कारमा परिवर्तनको खाँचो पनि छ । त्यस्तै राजनीतिक वृत्तमा अनुशासन कायम हुनसमेत आवश्यक छ ।

नयाँ दल र युवा राजनीतिज्ञहरूले गालीगलौज गर्दै तँतँ, मम गरेर पौँठेजोरी खोज्ने कि मुलुकमा सुशासन, विधिको शासन कायम गर्न र भ्रष्टाचारको अन्त्य गर्न प्रयत्नरत्न हुने ? यसमा उनीहरूले सोच्नु आवश्यक छ । भ्रष्टाचार गरे बहिष्कृत भइन्छ भन्‍ने डर बढाउनुपर्नेमा पुरस्कृत भइन्छ भन्‍ने भर बढाइयो भने समाज कस्तो बन्ला ? भ्रष्टाचारीलाई माला थप्ने राजनीति, समाज मृत समाज हो । अब जनता जाग्नुको विकल्प छैन ।

सुशीला कार्कीका लेखहरू


Author

सुशीला कार्की

कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।


थप समाचार
x