३०-३०
पत्रकारबाट आफ्नो आलोचना रुचाउने बीपी र अरिंगाल लगाउने केपी
३०-३० शृंखला इकागजडटकमको सुरु दिनदेखिको विशेष स्तम्भ हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि ३० वर्ष पूरा भइसकेको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? अध्येता-नुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबद्ध रूपमा प्रकाशन भइरहेका छन् । यसै सन्दर्भमा वरिष्ठ पत्रकार हरिहर विरहीको अनुभव :
२०२५-२०२६ ताका म जनकपुरमा पढ्दै थिएँ; मलाई लेख्ने/पढ्नेमा खुबै रुचि थियो । जसले मलाई प्रारम्भिक चरणमा लेखनतिर आकर्षित गर्यो। जनकपुरबाट प्रकाशित हुने ‘जनआकांक्षा’ पत्रिकामा २०२७ सालतिर मेरो पहिलो लेख प्रकाशित भएको थियो । त्यतिखेरका समसामयिक विषयमा लेख्ने गर्थे, पछि काठमाडौँ प्रकाशित हुने ‘समीक्षा’ साप्ताहिकमा पनि लेख पठाउने थालेँ ।
मेरो पत्रकारिता चाहिँ जनकपुरमा माधवराज आचार्यले प्रकाशन गर्नुभएको ‘जनआकांक्षा’बाटै सुरु भएको भन्दा हुन्छ । त्यतिबेला मुलुकमा प्रजातन्त्र त थिएन । मैले अधिनायकवादी व्यवस्थामा लाग्नेहरूको कस्तो दुर्दशा हुन्छ भन्नेमा प्रतीकात्मक रूपमा बाह्य मुलुकका घटनाहरूको अखबारका लागि लेख्थेँ । त्यसको मुख्य उद्देश्य पाठकहरूले त्यी घटना र नेपालको अधिनायकवादलाई तुलना गरून् भन्ने नै थियो । मेरो लेखाइ मूलतः लोकतन्त्रप्रति आस्था जगाउने खालका विषयमा केन्द्रित हुन्थे । २०२७ वैशाखमा काठमाडौँमा नेपाल विद्यार्थी संघ स्थापना हुँदा धेरै नेता गिरफ्तार गरिए । त्यो खबर जनकपुर पुग्यो । हामीले जनकपुरमा त्यसको विरोधस्वरूप तत्कालीन सत्ताविरुद्ध पर्चा छर्ने, महेन्द्रको सालिकमा मोसो दल्नेजस्ता गतिविधि अघि बढायौँ ।
त्यतिबेला आममाफीपछि २०२६ मा कांग्रेसका नेता सरोजप्रसाद कोइराला निर्वासनबाट फर्केका थिए । कोइराला मेरो छिमेकी पनि हुनुहुन्थ्यो, जनकपुरको ब्रह्मपुरीमा बस्नुहुन्थ्यो । कांग्रेसमा बोध दादा अर्का नेता हुनुहुन्थ्यो, जो मेरो हजुरबुबा पर्नुहुन्थ्यो । उहाँहरूकै प्रभावका कारण म नेपाली कांग्रेसप्रति मेरो लगाव थियो, विद्यार्थी हुँदादेखि नै ।
कांग्रेसका अर्का नेता केशव कोइरालासँग मेरो लामो सहकार्य भयो, हामी आपसमा मिल्ने साथी पनि । कोइराला पछि सहिद भए । जनकपुर जानकी मन्दिर अघिल्तिर राजा महेन्द्रको सालिक थियो । २०२६ फागुन ७ को प्रजातन्त्र दिवसको अघिल्लो दिन राति हामीले के सल्लाह गर्यौँ भने त्यो सालिकमा कालोमोसो दलेर नेताहरूको गिरफ्तारीको विरोध जनाउने ।
महन्थ ठाकुर युनियनका सभापति थिए । जानकी मन्दिर जाने बाटो र हाम्रो होस्टेलको बीचमा उनको डेरा पर्थ्यो। उनलाई डेराबाटै उठाएर लग्यौँ । हामीले उनलाई सरोज कोइरालाले महेन्द्रको सालिकमा कालोमोसो दल्न महन्थलाई पनि लैजान आग्रह भएको छ भन्यौँ । यद्यपि सरोज कोइरालालाई भने यो योजनाको कुनै सुइँकोसम्म पनि थिएन । तर महन्थलाई मनाउन सरोज कोइरालाको योजना हो भनेका थियौँ किनकि कोइरालाले भनेपछि ठाकुर सजिलै मान्छन् भन्ने हामीलाई थाहा थियो । योजना चाहिँ नितान्त मेरो र केशवको थियो । ठाकुरलाई हामीले प्रहरी आयो भने केही संकेत गर्न भनेर सालिकभन्दा केही मिटर परै राखेका थियौँ ।
भोलिपल्ट प्रजातन्त्र दिवस थियो । राजाकै सालिकमा त्यसरी कालोमोसो दलिएपछि हो-हल्ला हुने नै भयो । पछि प्रशासनले दोषी देखाएर कसै न कसैलाई पक्राउ गर्नुपर्यो नै, त्यो घटनाका आरोपीका रूपमा सरोज कोइराला पक्राउ परे ।
त्यतिखेर राजा महेन्द्रको जन्मोत्सव जेठ ३० मनाउने चलन थियो । धेरैपछि मात्रै पुस १ मा मनाउन थालिएको हो । त्यो जन्मोत्सवका बेला हामीले पञ्चायतको विरोधमा मुर्दावादको नारा लगाउँदै जुलुस निकाल्यौँ । त्यसपछि महन्थ ठाकुर, आनन्द ढुंगाना, म र केशव कोइराला, महेन्द्रकुमार मिश्रलगायत पक्राउ पर्यौँ
जेल परेपछि त्यहीँबाट लेख्न थाले । जेलबाट बाहिर निस्केपछि ‘जनआकांक्षा’ पत्रिकामा बढी लेखेँ । काठमाडौँमा ‘राष्ट्रपुकार’मा पनि पठाउँथेँ । म पहिले राजनीतिक चेतले निर्देशित थिएँ, व्यावसायिक पत्रकारिता यात्रा भने अलि पछि सुरु गरेको हुँ । बीपीको आदर्श पछ्याउँदै राजनीतिमा लागेको थिएँ । बीपीले पत्रकारलाई असाध्यै सम्मान गर्नुहुन्थ्यो । भारतमा पनि उहाँले पत्रकारहरूसँग बहस गर्ने, छलफल गर्नुहुन्थ्यो । नेपालमा पनि पत्रकारहरूलाई उत्तिकै महत्व दिनुभयो । यसले पनि मलाई पत्रकारितामा लाग्न प्रेरित गरेको हो ।
म सक्रिय राजनीतिमै थिएँ । २०३० सालमा जलेश्वर जेलबाट छुटेपछि लाग्यो कि जेलमा बसेर मात्रै त कसरी क्रान्ति हुन्छ र ? अब सशस्त्र क्रान्ति गर्नुपर्छ भन्ने लाग्यो । अझ त्यही बेला दुर्गा सुवेदीहरूले जहाज अपहरण गरे । केशव कोइरालासँग मैले भनेँ, ‘त्यस्तै काम हामीले गर्न पाएको भए कत्रो प्रभाव पथ्र्यो । अब हामीले पनि यस्तै काम गर्नुपर्छ ।’ पछि सशस्त्र क्रान्तिकै क्रममा केशव कोइराला मारिए । म पनि उनीसँगै भएको भए मारिन्थेँ होला ।
तर मेरो मनमा सशस्त्र क्रान्ति गर्नुपर्छ भन्ने भए पनि बम, बन्दुक र हिंसासँग भने संलग्न हुन भने मेरो अन्तर्मनले मानिरहेको थिएन । यद्यपि पार्टीको जिम्मेवारीअनुरूप ठाउँ-ठाउँमा बम पुर्याउने काममा संलग्न भएकै थिएँ । म वनारसमा बीपी कोइरालासँग भेट्न गएँ । बीपीले भन्नुभयो, ‘तिमी जस्तो मानिस मलाई चाहिएको छ । यहीँ आऊ ।’ उहाँले मेरोबारे जानकारी पाउनु भएको रहेछ । त्यसभन्दा पहिला पनि बीपीसँग भेटिसकेको थिएँ । त्यहाँ बसेपछि मलाई बीपीले प्रचार–प्रसारका काममा संलग्न गराउँदै ‘तरुण’ पत्रिकाको सम्पादक मण्डलमा राख्नुभयो । त्यहीबाट औपचारिक रूपमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेँ भन्दा हुन्छ ।
तर, ‘तरुण’ पत्रिका नियमित थिएन । मैले बीपीसँगै सीमा क्षेत्रमा बसेर काम गर्ने इच्छा जाहेर गरेँ । मैले पछि सितामढीमा बसेर ‘विमोचन’ पत्रिका पनि प्रकाशन गरेँ । जुन पछि काठमाडौँमा फरक कलेवरमा प्रकाशन गरेको थिएँ । त्यो विमोचन नाम उतिबेला सितामढीमा बस्दा राखेको थिएँ । तर, भारत सरकारले हामीलाई सीमाको ५० माइलभित्र बस्न नपाइने नियम लगायो । त्यसपछि खस्याङमा बस्न पुग्यौँ।
पत्रकारितामा बीपीको अधिक रुचि
बीपीले पत्रकारिता क्षेत्रलाई धेरै महत्व दिनुहुन्थ्यो । जनमत संग्रहपछि बीपीले भन्नुभयो, ‘देशमा एउटा पनि राम्रो पत्रिका भएन । कि यहाँ राजदूतावासले चलाएका पत्रिका छन्, कि त दरबारले चलाएका छन् । अलि–अलि आफूलाई स्वतन्त्र भन्नेहरू पनि डरछेरुवा छन् । हाम्रो विचार र गतिविधि प्रकाशन गरिदिने कुनै पत्रिका नै भएनन् । हामी आफैँले पत्रिका निकाल्नुपर्यो । तिमी तयारी गर ।’
बीपी आफैँले ‘युगवाणी’ नाम दिनुभयो । तर, दर्ता गराउने प्रक्रियामा गयौँ । म या पुरुषोत्तम बस्नेतमध्ये एक जना सम्पादक बन्ने योजना थियो । प्रकाशक चाहिँ सुशील कोइराला या वीरेन्द्र दाहालमध्ये एकजना बस्ने भन्ने तयारी थियो ।
त्यतिबेला कुनै पनि काम गर्न नागरिकता चाहिन्थ्यो । तर हामी कसैसँग नागरिकता थिएन । त्यसपछि हामी छ जना एकै दिन न्यूरोडमा नागरिकताका निम्ति फोटो खिच्न गएका थियौँ । त्यतिखेर गिरिजाप्रसाद कोइराला पनि हुनुहुन्थ्यो । नागरिकताका निम्ति टोपी लगाएको फोटो चाहिन्थ्यो । कोइरालाले त्यही स्टुडियोमा टोपी माग्दै लगाउनुभयो । उहाँले भन्नुभएको थियो, ‘मैले यहीँ पहिलो चोटि टोपी लगाएको हुँ ।’
त्यतिखेर नागरिकताका निम्ति शाखा अधिकृत वा त्योभन्दा माथिका मानिसले प्रमाणित गर्नुपर्थ्यो। त्यतिखेर हामीले त्यसरी सरकारी मानिस त चिनेका थिएनौँ । त्यसपछि बीपीले तेजबहादुर प्रसाईं कता छन्, तिनले सिफारिस गरिदिन्छन् भन्नुभयो । बीपीले प्रसाईंलाई फोन गर्दै भन्नुभयो, ‘गिरिजाले पनि नागरिकता बनाएको रहनेछ । ऊसँगै अरू केहीसँगै आउँछन् । सिफारिस गरिदिनू ।’ प्रसाईंकै सिफारिसमा हाम्रो नागरिकता बन्यो ।
त्यसपछि पत्रिका दर्ता गराउन गयौँ । प्रमुख जिल्ला अधिकारीले पुलिस रिपोर्ट खोजे । उनले अलमल गराएर पत्रिका दर्ता नगर्ने सोच राखेको हामीले बुझिहाल्यौँ । बीपीले भन्नुभयो, ‘तिनले पत्रिका दर्ता गर्दैनन् । कसले निकाल्न खोजेको हो भन्ने सोधखोज हुन्छ । मैले निकाल्न लागेको पत्ता लगाएपछि यिनले दिँदैनन् ।’ त्यसपछि हामीले त्यो पत्रिका चलाउन पाएनौँ ।
बीपी पत्रकारितासँग खुब लगाव थियो । आप्mनै सरकार बनेपछि २०१६ सालमा मदनमणि दीक्षितलाई एउटा पत्रिका प्रकाशन गर्न आग्रह गर्नुभएको थियो । दीक्षित प्रखर रूपमा लेख्न सक्ने र राजनीति बुझेका मानिस थिए । यद्यपि दीक्षित, जो कम्युनिस्टसँग नजिक थिए । अनि सँगै एउटा सर्त पनि बीपीले राख्नुभएको थियो, ‘त्यो पत्रिकामा मेरो आलोचना पनि हुनुपर्छ ।
मबाट के-के कमजोरी भयो भन्ने तथ्य देखाइदिनुपर्छ । मसँग त मानिस गुणगान मात्र गाउँछन् । मेरो कमजोरी कसले देखाइदिने त ? मबाट राम्रो मात्र काम हुन्छ भन्ने छैन । मलाई पनि गलत सूचना आएको हुन सक्छ । मलाई पनि बाटो देखाइदिने गरी पत्रिका प्रकाशन गर्ने हो भने मैले के गर्नुपर्यो ?’
दीक्षितले भने, ‘मसँग त पैसा छैन ।’
त्यसपछि बीपीले पत्रिका प्रकाशन गर्न लाग्ने खर्चको बजेट बनाउन लगाउनुभयो । साप्ताहिक पत्रिकामा प्रकाशन गर्न लाग्ने जुटाइदिनुभयो । पछि अरु पत्रिकालाई पनि सञ्चालन गर्न लाग्ने खर्च सरकारले जुटाइदिने नीति लिएको थियो । त्यो नीति पञ्चायतकालमा निरन्तर रह्यो । तर, त्यस्तो रकम पञ्चायत समर्थक पत्रिकालाई मात्र उपलब्ध गराउने र विरोधीलाई नदिने नीति लियो । यतिखेर लोककल्याणकारी भनेझैँ तत्कालीन अवस्थामा राजाको एउटा महान् वाणी राखेपछि पैसा उपलब्ध गराउँथ्यो । बीपी कोइरालाले त्यो कालखण्डमा सञ्चारमाध्यमको स्थायित्वका लागि सुरुवात गरेको नीतिकै निरन्तरताका रूपमा अहिलेसम्म लोककल्याणकारी विज्ञापन नीति कार्यान्वयनमै छ ।
साप्ताहिक मञ्च यात्रामा
२०३८ ताका युगवाणी दर्ता गर्न नसकेपछि अन्यौलमा थिएँ, ‘अब के गर्ने ?’
आफैँले पत्रिका दर्ता गरेर चलाउन नपाएपछि कुनै न कुनै पत्रिकामा घुसेर आफ्ना विचार राख्नुपर्यो भन्ने सोचिरहेको थिएँ । त्यहीबीचमा मोहनबहादुर कटुवाल र २०१५ सालका कांग्रेस सांसद पेशलकुमार पोखरेलले ‘साप्ताहिक विमर्श’ पत्रिका चलाइरहेका थिए । उनीहरूले मसँग भनेँ, ‘तपाईं पनि प्रजातन्त्रवादी, हामी प्रजातन्त्रवादी, अब किन प्रजातान्त्रिक लाइनमा अखबार ननिकाल्ने ? सहयोग गर्नुपर्यो ।’ उनीहरूले मलाई पारिश्रमिक समेत दिने भए । त्यसपछि म ‘साप्ताहिक विमर्श’मा लेख्न थालेँ ।
त्यही बीचमा २०३९ पुसमा पदम ठकुराठीहरूले ‘साप्ताहिक मञ्च’ प्रकाशन गर्न थाले । त्यो पत्रिका प्रारम्भिक चरणमा लोकप्रिय थियो । त्यतिखेर त्यो पत्रिका ठूलो आकारमा थियो र हेर्दा व्यावसायिक ढंगले अघि बढ्ने लक्षण देखाएको थियो । त्यसपछि ठकुराठीले मलाई सम्पर्क गरी संलग्न हुन आग्रह गरे । तर मलाई जाऊँ कि नजाऊँ भन्ने लाग्यो । किनभने, ठकुराठीको पत्रिकामा सूर्यबहादुर थापाको संलग्नता छ भन्ने टीकाटिप्पणी बाहिर सुनिन्थ्यो ।
हुन त, हामी २०२९ मा जेलमा सूर्यबहादुर थापासँग सँगै जेल बसेका थियौँ । जेलमा सूर्यबहादुर थापा कांग्रेसभन्दा बढी चर्काे तवरमा प्रजातन्त्रको कुरा गर्ने र राजाको आलोचना पनि त्यत्तिकै गर्थे । सत्तामा हुँदा र नहुँदा थापाको शैली नै बेग्लै हुन्थ्यो । हुन पनि पञ्चायतको विरोधमा २०२९ को पुस १ मा त जेलमै उनले कालो टीका लगाएका थिए । त्यतिखेर जेलमा विपीन कोइरालाले कालो टिका लगाउँदै गएका थिए, सूर्यबहादुर थापा त्यहीँ बसिरहेका थिए । उनलाई पनि टीका लगाइयो । सूर्यबहादुर थापाले विनाप्रतिवाद पञ्चायत विरोधी कालो टीका लगाउनु एउटा सनसनीपूर्ण घटना थियो, तत्कालीन समयमा ।
योजना : दरबारलाई नंग्याउने
‘साप्ताहिक मञ्च’को उद्देश्य चाहिँ विकृति-विसंगति उजागर गरी दरबारलाई नंग्याउनु थियो । मेरो पनि उद्देश्य दरबारप्रति वितृष्णा जगाउनु थियो, त्यहाँनेर उद्देश्य मिल्न पुग्यो । ठकुराठी, आफूलाई २०३८ को राष्ट्रिय पञ्चायत चुनावमा दरबारले हराएकै अनुभूतिसहित आक्रोशमा काठमाडौँ फर्केका थिए । उनको मनमा दरबार (ज्ञानेन्द्र र धीरेन्द्र)ले नै हराएका हुन् भन्ने थियो । त्यसमा संलग्न जनार्दन आचार्यचाहिँ कम्युनिस्ट पृष्ठभूमिबाट आएका थिए । त्यहाँ जे जति थिए, तिनीहरू तत्कालीन सत्ताको विरोधमै थिए । अर्थात्, ‘साप्ताहिक मञ्च’मा संलग्नहरू जति तत्कालीन दरबारी सत्ताको विरोधमा थिए ।
सूर्यबहादुर थापाको भूमिका पनि अनौठो थियो । उनले कहिले प्रजातन्त्रविरुद्ध घात गरेका थिए भने कहिले पञ्चायती व्यवस्थाविरुद्ध आक्रोश फैलाउने काम पनि त्यत्तिकै गरेका थिए ।
सूर्यबहादुर थापा जेल पर्दा बीपी कोइरालाले लेख लेख्नुभएको थियो, ‘सूर्यबहादुर थापाको अनशन र आतंकवाद ।’ झापामा झापाली कम्युनिस्ट चलाएको टाउको कटुवा आन्दोलन र सूर्यबहादुर थापाको जेलमा अनशनबारे उक्त लेख केन्द्रित थियो । सूर्यबहादुर थापाले ठीक गरेको र झापाली कम्युनिस्टहरूले पनि परिवर्तन खोेजेका हुन् भन्ने धारणा बीपीको थियो । मुलुकमा परिवर्तनका निम्ति निकास नपाएपछि हिंसामा लागेका हुन् ।
यो पनि - जनताको विवेक बन्धक नबनोस्
कतिपय कारणले गर्दा कांग्रेसजनमा अरू पञ्चभन्दा सूर्यबहादुर थापाप्रति बढी सकारात्मक धारणा थियो । मैले पनि जेलमा सूर्यबहादुर थापासँग पनि सङ्गत गरेकै थिए । साप्ताहिक मञ्चमा लेख्न पाइने अवस्था रहेसम्म लेख्ने र नत्र छाडिदिने मनस्थितिसहित संलग्न भएको थिए । उनीहरूले पत्रिकामा मलाई भूमिका बढी दिँदै गए । मैले औपचारिक रूपमा पूर्णकालीन पत्रकार नै भएर पत्रकारिता चाहिँ २०३९ बाट मात्र सुरु गरे भन्दा हुन्छ ।
उता ‘साप्ताहिक विमर्श’ले बजार लिन सकिरहेको थिएन । हुन पनि ‘साप्ताहिक विमर्श’मा केशवराज पिडाली मात्र थिए । एक दिन सूर्यबहादुर थापाले मलाई भने, ‘विमर्शतिर कोही छैनन् । त्यो पत्रिका पनि तपाईंहरू निकाल्नुस् ।’ त्यसपछि विमर्श र साप्ताहिक मञ्च एकै ठाउँबाट प्रकाशन हुन पुग्यो । त्यतिखेर ‘साप्ताहिक विमर्श’ मंगलबार र ‘साप्ताहिक मञ्च’ शुक्रबार प्रकाशित हुन्थ्यो । समाचार, लेख एउटामात्र पत्रिकाका लागि धेरै पनि हुने हुनाले एउटाका लागि तयार पारेर ठाउँ नपुगेर धेरै भएको लेख र समाचार अर्को पत्रिकामा पनि प्रयोग गथ्र्यौं । पञ्चायती सरकारले मञ्चमाथि गडबडी गर्योभने दर्ता जोगाएर राख्न पनि पनि विमर्श प्रकाशनको नीति अपनाइएको थियो ।
काण्डमा मञ्च प्रकाशक
मञ्च साप्ताहिकका प्रकाशक थिए, युवा पञ्च बैकुण्ठनारायण प्रधान । उनी ठेक्का-पट्टामा संलग्न थिए । उनैलाई प्रकाशक राखिएको थियो । उसलाई प्रकाशक राख्नुको कारण चाहिँ त्यतिखेर पत्रिका प्रकाशन गर्न केही सम्पत्ति देखाउनुपर्ने नियम थियो । अरुसँग त्यसरी सम्पत्ति देखाउन सक्ने आधार थिएन । उनै प्रधानको महाराजगन्जको घर–लालपुर्जालाई सम्पत्तिका रूपमा देखाइएको थियो । खासमा उनको लगानी थिएन । बेलाबखत चाहिँ भन्थे, ‘म पनि पैसा हाल्छु ।’
त्यो पत्रिकामा लगानीकर्ता हुँ भनेर उनले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग कुरा मिलाएर सरकारी ठेक्का-पट्टा पनि लिने गर्थे । त्यही क्रममा धनगढीको रोजिन एन्ड टर्पाइन (खोटो) कारखानाका निम्ति प्रधानले रुसबाट मेसिन झिकाउने ठेक्का पाएको रहेछन् । त्यो सामान कलकत्ता बन्दरगाहमा आयो, त्यहाँ थन्कियो । प्रधान थापाकै वरिपरि हुन्थे । उनलाई त्यो सामान ल्याउन ताकेता गरिएछ । प्रधानमन्त्रीसँग सीधा सम्पर्कको रवाफ देखाउने उनले के वास्ता गर्थे र ! उता सामान नल्याएपछि बन्दरगाहमा ‘डिमरेज चार्ज’ बढ्दै थियो । यता सरकार परिवर्तन भयो । सूर्यबहादुर थापाको ठाउँमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री आए ।
विशेष प्रहरीका हाकिम ललितबहादुर बमले प्रधानविरुद्ध वारेन्ट जारी गर्दै पक्राउ गर्न पुलिसपछि लगाइदिए । त्यसपछि प्रधान विमर्श पत्रिकाको कार्यालयमा आए । त्यसपछि तिनलाई कमल जोशीको ससुराली घरमा लुकाइयो । बमले भने, ‘प्रधानको पत्रिकासँग जोडिएको लफडा होइन, त्यो अर्कै कारणले । एकचोटि कार्यालयमा आइदिने हो भने स्पष्ट पारिदिन्थे ।’
तर प्रधान बमलाई भेट्न गएनन् । प्रहरी पनि हटेन । कुनै प्रधानमन्त्रीका दाहिने मानिएका प्रधानलाई जेल जानुपर्यो भने बदनामी हुन्छ भन्ने । त्यसपछि प्रधानको बारम्बार अनुरोध टार्न नसकेर ठकुराठी र म प्रधानमन्त्री चन्द भेट्न गयौँ र प्रहरी हटाइदिन आग्रह गर्यौँ । चन्दले तत्कालै बमलाई बोलाएर हटाउन आदेश दिए । उनी पनि हटाउँछु भन्दै बाहिरिए । तर पुलिस हटेन । त्यसपछि दरबारकै ‘कैफियत’ रहेछ भन्ने बुझियो । उता प्रधानले अधिराजकुमार धीरेन्द्रका एडीसी भरत गुरुङलाई फोन गरेछन् ।
त्यसमा भरत गुरुङको जवाफ रहेछ, ‘ठकुराठी मात्तिएको हो, तिमीप्रति सद्भावना छ । ठकुराठीलाई हटाएर पत्रिका चलाउँछौँ भने सबै ठीक हुन्छ । म पत्रिकाका लागि पैसा पनि दिलाइदिन्छु । महाराजाधिराजसँग भेट पनि मिलाइदिन्छु । जे मद्दत चाहिन्छ, म उपलब्ध गराउँछु । तर कुनै हालतमा ठकुराठीलाई चाहिँ हटाउनुपर्यो ।’
त्यसमा प्रधानले ‘हुन्छ’ भन्ने सहमति जनाएछन् । पाँच मिनेटपछि पुलिस गायब । तर अब ठकुराठीलाई कसरी निकाल्ने ? प्रधानले योजना बुन्न लागेका रहेछन् । हामी चाहिँ काम गरिरहेकै थियौँ, त्यो विषय हामीलाई थाहा थिएन । प्रधानले ठकुराठीलाई हटाएको र आफैँ सम्पादक भएको पत्र जिल्ला प्रशासन कार्यालय (सीडीओ अफिस)मा दर्ता गराएछन् । मञ्चको कार्यालयमा बिहीबार साँझ पुलिस आयो । तपाईंहरूको प्रकाशकले भनेको छ, ‘मञ्च ननिकाल्नू ।’ प्रहरीले रोक्यो । भित्री पेज छापिइसकेको थियो । पहिलो पृष्ठ मात्र छाप्न बाँकी थियो । तर, पुलिसले दिँदै दिएन ।
त्यसपछि रातारात विमर्श साप्ताहिकलाई त्यही खालको लोगो र मञ्चका लागि तयार पारिएका तिनै सामग्री प्रयोग गर्दै साप्ताहिक विमर्श प्रकाशन गर्नेतिर केन्द्रित भयौँ । त्यसपछि विमर्शले बजार लियो । पछि ठकुराठीका विरोधी दरबारियाले २०४३ सालमा पदम ठकुराठी गोली नै प्रहार गरे र ठकुराठीले एउटा आँखा गुमाउन पुगे ।
२०४५ तिर आइपुगेपछि पदम ठकुराठीसँग मतमतान्तर हुन थाल्यो । पिडाली र म एकातिर । ठकुराठी-जनार्दन आचार्य अर्कातिर भए । हामी प्रजातान्त्रिक आन्दोलनलाई बल पुर्याउने पक्षमा थियौँ भने उनीहरूले पञ्चायती व्यवस्थाभित्रै सुधारका कुरा ल्याए । हामी परिवर्तन शब्द प्रयोग गर्थ्यौं । उनीहरू चाहिँ ‘सुधार’ शब्द ।
पिडाली कांग्रेसी थिए । किनभने उनी बीपी कोइरालाकै स्वकीय सचिव थिए । पञ्चायतसँगै निर्वासनमा बसेका थिए । श्रीमती र छोरी जेल नै गएका थिए ।
एक्लै विमर्श चलाउने धूनमा
२०४६ को आन्दोलन सुरु हुने बेलामा पिडालीसँग सल्लाह गर्यौँ । अब यिनीहरूसँग बसेर काम छैन । अब पनि आन्दोलनलाई साथ दिएनौँ भने निष्ठा र विवेकमा प्रश्न उठ्छ । त्यसपछि शुद्ध जागिरे–कर्मचारी जस्तो बन्छौँ ।
पिडालीको भनाइ रह्यो, ‘विमर्श मेरो नाममा दर्ता छ । म लिएर निस्कन सक्छु । तर, मसँग चलाउने साधन–स्रोत छैन । म चलाउन सक्दिनँ । म स्तम्भ लेखेर बस्छु । तपाईं चलाउन सक्नुहुन्छ भने आटौँ ।’
त्यसपछि मैले दुई–चार साथीहरूसँग सरसल्लाह गरँे । ठकुराठी र जनार्दन आचार्यलाई जानकारी दियौँ । त्यसपछि उनीहरू त्यहाँबाट निस्किएर ‘नेपाली आवाज’ हुँदै पछि ‘नेपालीपत्र’ चलाए । र, तर ठकुराठी र आचार्यबीच विवाद भयो । आचार्यजी लोकेन्द्रजीतिर मिल्न गए भने ठकुराठी सूर्यबहादुर थापातिरै रहे । त्यसपछि आचार्यले ‘समकालीन’ नामको पत्रिका निकाल्न थाले ।
म खासगरी पत्रकारितामा लाग्नुमा आमनागरिक पञ्चायतको एकोहोरो रटानमा परेका छन् । अझ पञ्चायतमा पहिलेका कांग्रेस–कम्युनिस्ट दुवै प्रवेश गरेका थिए । दरबार–पञ्चायत प्रवेश गरेका कम्युनिस्टहरू बढ्ता राजभक्त भए । प्रशासनले तिनकै कुरा पत्याउँथ्यो । तिनको भनाइमा लाग्दै प्रशासनले कांग्रेसलाई पेल्थ्यो । हुन पनि कम्युनिस्टको संख्या थोरै थियो, तिनलाई त जहिले पनि मास्न सकिन्छ भन्ने लागेकाले दरबारले कांग्रेसलाई नै निशाना बनाएको थियो ।
कांग्रेस पनि पञ्चायत र दरबार पसेकै थिए । तिनीहरूसँगको संगतले अरु कांग्रेस नबिग्रियून् भन्ने थियो । अर्काे त, कांग्रेसका नेताहरू भाषण वा वक्तव्यसमेत छापिने माध्यम थिएन । त्यतिबेला चन्द्रलाल झाका दुई पाने नेपाल टाइम्स पत्रिकाभन्दा अर्काे माध्यम पनि थिएन । खासमा झालाई पनि सूर्यप्रसाद उपाध्यायले हिम्मत बढाइदिएका हुन् । नत्र, प्रशासनले त्यति प्रकाशन गर्न दिने थिएन ।
सुलसुले पत्रकारिता
पञ्चायतमा कुनै कुरा सीधै लेख्दा दुःख दिइन्थ्यो । तर भएका कुरा त बाहिर ल्याउनै पर्यो । सुलसुले स्तम्भमा राखेपछि स्रोत पनि खुलाउनु परेन । त्यो खासमा आएकै समाचारलाई संक्षिप्त, अलिकति कल्पना मिसाएर रोचक पारामा लेखिन्थ्यो । त्यो कालखण्डमा त्यो ‘सुलसुले’ बहुत चर्चामा थियो ।
२०३६ को जनमत संग्रह घोषणासँगै अलि खुुकुलो हुँदै थियो । २०३६ भन्दाअघि ‘प्रतिबन्धित नेपाली कांग्रेस’ भनी लेख्नुपर्थ्यो। त्यो एक वर्षभरि (प्र.) लेख्न पाइने भयो, अर्थात्, प्रनेका । कसैले चाहिँ पुनेका लेख्थे, अर्थात्, पुरानो नेपाली कांग्रेस । त्यो फुर्का नजोडीकन लेख्यो भने प्रशासन दुःख दिन्थ्यो ।
हुन त, जनमत संग्रहसँगै पञ्चायतले पनि ‘सुधारिएको’ शब्द फुर्का जोड्न थालेको थियो । जनमत संग्रहमा पञ्चायतलाई बल पुग्ने गरी राजा वीरेन्द्रले ‘सुधारिएको’ शब्द प्रयोगमा ल्याएका थिए । त्यसैमा टेक्दै मानिसमा लेख्ने/बोल्ने हिम्मत् बढ्दै गएको हो । त्यसपछि समाचारमा शीर्षमा (प्र.) चाहिँ सानो अक्षरमा लेख्ने र अरु चाहिँ ठूलै अक्षरमा लेखिन्थ्यो । त्यसरी खालि कानुन छल्दै लेख्नुपर्थ्यो।
पञ्चायतकालमा दरबार–सरकार–प्रशासनमा पालिएका, हुर्काइएका पत्रकारहरुको राम्रै जमात थियो । शासन वृत्तले तिनीहरूलाई नियोजित पत्रकार बनाउँदै विरोधीहरूको बदनाम गराउन प्रयोग गरेको थियो । तिनीहरूमध्ये धेरैजसो गुप्तचर हुन्थे । तिनको काम चाहिँ हामीले लेखेका हरेक समाचारको खण्डन या विरुद्धमा लेख्नुहुन्थ्यो । त्यसरी प्रायोजित रूपमा छापिएका पत्रिका दरबार पठाइन्थ्यो । दरबारमा त्यस्ता पत्रिकाका कटिङ जान्थ्यो । एक थरी चाहिँ चन्द्रलाल झा, मदनमणि दीक्षित जस्ता थिए । उनीहरू पञ्चायतविरुद्ध उभिएका थिए ।
पञ्चायतकालमा नेसनल ट्रेडिङले चीन वा बंगलादेशबाट कागज झिकाउँथ्यो । तर त्यो कागज पञ्चायत समर्थक पत्रिकालाई उपलब्ध गराउँथ्यो । तर, विरोधीलाई कागज किन्नसमेत दिइँदैनथ्यो । व्यापारीसँग महँगोमा कागज खरिद गरी पत्रिका प्रकाशन गर्नुपथ्र्यो । व्यापारीले कपी बनाउन झिकाएको कागज किनेर पत्रिका चलाउनुपर्थ्यो। पञ्चायतमा स–साना कुरामा पनि ‘भेदभाव’ हुन्थ्यो । सरकारको पत्रकार सम्मेलनमा समेत हामीलाई बोलाइँदैनथ्यो । पञ्चायती शासकले त्यसरी भेदभाव गरिसकेपछि हामीले ‘सन्तुलन’ मिलाउनुपर्छ भन्ने भएन । त्यसकारण हामी पनि तिनका हरेक समाचारलाई ‘नकारात्मक कोण’बाट लेख्ने गर्थ्यौं ।
त्यो कालखण्डमा पञ्चायती ‘स्कुलिङ’का पत्रपत्रिकाको काम ‘ब्ल्याकमेलिङ’ गर्नु थियो । खासमा शासकीय वृत्तबाटै पीत-पत्रकारिताका निम्ति लगानी हुन्थ्यो । त्यसरी अनेकन् विकृति–विसंगतिको बीउ पञ्चायतकालमै रोपिएको हो । शासकीय वृत्तबाट पालिएकाहरू मूलभूत उद्देश्य चाहिँ कसैको चरित्र हत्या गराइन्थ्यो, प्रधानमन्त्री या मन्त्रीको आलोचना गरेको खण्डमा । राज्य आफैँ पीत पत्रकारिता गराउँथ्यो र तिनैलाई संरक्षण दिन्थ्यो ।
बहुदलकै कालखण्ड
बहुदलसँगै पत्रकारिताको क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको छ । मलाई लाग्छ, अत्यन्त सकारात्मक परिवर्तन आएको छ । २०४८ मा नेपाली कांग्रेसले अपनाएको उदार आर्थिक नीतिका कारणले आर्थिक क्षेत्रमा आमूल परिवर्तन भयो । पञ्चायतमा नियन्त्रित व्यवस्था थियो । कांग्रेसको आर्थिक उदारीकरण नीतिसँगै उद्योगधन्दा खुल्न थाले, व्यापार-व्यवसाय बढे । त्यसरी उद्योगधन्दा बढ्दै गएपछि स्वाभाविक प्रचार-प्रसार चाहियो । यसरी विज्ञापनको बजार पनि बढ्दै गयो । पञ्चायतकालभरि विज्ञापन दिने भनेको माया-दयाले दिने गरिन्थ्यो ।
हुन पनि त्यो कालखण्डमा व्यापारकै प्रवद्र्धनमा पत्रिकाको विज्ञापनको खासै भूमिका पनि हुँदैनथ्यो । बहुदलसँगै दृश्य फेरियो, विज्ञापन बढ्न थाल्यो । त्यसपछि मिडियाले चाह्यो भने कुनै उद्योग व्यवसाय राम्रो हुन्छ भन्ने स्थिति पैदा भयो । त्यसपछि मिडियाले चाह्यो भने कसैलाई चोख्याउन सक्ने पनि भयो । त्यसपछि मिडियामा लगानी गर्न पुँजीपतिहरूकै रुचि जाग्यो । अनेकन् किसिमका धन प्रयोग भए । पञ्चायतकालमा त्यस्तो थिएन, जो प्रकाशक थियो, उही सम्पादक उही हुन्थ्यो ।
प्रारम्भमा संस्थागत रूपले चल्न खोजेको हो भने ‘साप्ताहिक मञ्च’, ‘विमर्श’, ‘देशान्तर’ साप्ताहिक हुन् । परिवारबाहेक अरू पनि संलग्न हुँदै पत्रिका चलाएका थिए ।
बहुदलपछि पत्रिका तथा छापाखाना खारेज नहुने, जेल जान नपर्ने भएपछि स्वाभाविक यतातिर पनि आकर्षण बढेको हो । पाठकको संख्या बढ्यो । नयाँ प्रविधि आए । अनि साँच्चै उद्योगका रूप लिने क्रमको सुरु भयो । तर, बढ्दो लगानीसँगै स्वार्थ पनि बढेर गएको छ । त्यस्तो दृश्य हामीकहाँ भन्दा पनि भारतमा बढी छ । शासकीय वृत्तले मिडिया प्रयोग रणनीति बनाएका छन् । भारतीय मिडिया बढी सत्तामुखी भएका छन् । त्यसको सिको गर्ने क्रम यहाँ पनि बढेको छ ।
हामी सरकारले मिडिया चलाउनु हुँदैन भन्ने मान्यता राख्थ्यौँ । अझै पनि भनिरहेकै छौँ । निजी क्षेत्र सक्षम नहुँदाका बखतमा सरकारले मिडिया चलाउन सक्छ । तर निजी क्षेत्र सक्षम भइसकेपछि सरकारले मिडिया चलाउनुको अर्थ हुँदैन । किनभने सरकारी मिडिया सरकारी आदेशमा चल्छन् र तिनले स्वतन्त्रता पाउँदैननन् ।
तर, सरकारी दबाब सरकारी मिडियामा सीमित देखिँदैनन् । किनभने मिडिया प्रयोग गर्ने स्वार्थ बाक्लिएकै छ । सरकारलाई सहयोग गर्न मिडियाका मालिक उद्यत् भएको स्पष्ट देखिन्छ । त्यसकारण स्वतन्त्र मिडियाले संविधानतः प्राप्त स्वतन्त्रता उपभोग गर्न सकेको पाइँदैन ।
गोदी मिडियाको प्रभाव
जसरी मिडियामा लगानी बढ्दो छ, त्यहीअनुरूप खोजी पत्रकारिता मौलाउन सकेको पाइँदैन । हेर्ने हो भने खोजी पत्रकारिताका लागि साधन–स्रोत व्यापक छ । तर प्रतिफल समाजले प्राप्त गर्न सकेको छैन । यो स्थितिमा चाहिँ कसरी परिवर्र्तन ल्याउने ? चुनौतीको विषय हो । देश र समाजमा जुन किसिमको विकृति-विसंगति गहिँरिदै गएको छ, सञ्चार पनि तिनैको सबैभन्दा ठूलो मतियार बन्ने खतरा छ । भारतमा जसरी सरकार समर्थकलाई ‘गोदी-मिडिया’ अभियोग लागेको छ । यहाँ पनि त्यो रूप आउन सक्छ ।
अनि जहाँ पत्रकारले तथ्यसहित लेखिएको समाचारमा कोही जवाफदेही बन्दैन र कदर हुँदैन, त्यहाँ लोकतन्त्रका निम्ति स्वस्थ वातावरण निर्माण हुन सक्दैन । जहाँ पत्रकारले स्वतन्त्र ढंगले लेख्न सक्दैनन्, पत्रकारले लेखेको विषयको कदर हुँदैन, त्यहाँ लोकतन्त्र बलियो हुँदैन ।
बरु पञ्चायत कालमा साप्ताहिक विमर्शले मन्त्री र प्रशासकहरूबाट खराब कामबारे लेख्यो भने कटिङ दरबार पुग्थ्यो । तर दरबारले पनि कटिङसहित सम्बन्धित मन्त्रालय वा प्रधानमन्त्री कार्यालय पठाउँथ्यो, ‘यो के हो ? यसमा के भएको हो ? जानकारी दिनु ।’ त्यसरी सोधिँदा मन्त्री-प्रशासक स्वतः डराउँथे । त्यतिखेर दरबारले निगरानी गरिरहेको छ भन्ने लागेपछि मन्त्री-प्रशासकहरू मन परी गर्न संकोच मान्थे ।
त्यस्तो दृश्यले पत्रकारलाई लाग्थ्यो कि मैले लेखेको समाचारले असर गरेको छ । त्यसपछि जोखिम मोलेरै भए पनि लेख्ने जाँगर चल्थ्यो । तर त्यस्तोमा कतिपय बेला विरोधमा लेखिएका समाचार दरबार पुग्नै नसक्ने वातावरण बनाइन्थ्यो, कि त त्यसरी लेख्ने पत्रकारलाई आफूतिर मिलाउने प्रयत्न हुन्थ्यो ।
लोकतन्त्रपछिका दृश्य हेर्ने हो भने जति लेखे पनि र प्रमाणसहित लेख्दा पनि असर पारेकै देखिँदैन । मन्त्रीले सिधै घूस मागेको विषय होस् कि औषधि–खोपमा कमिसन खेलका विषय हुन् ? तथ्यपरक कागजातसहित समाचार आउँदा पनि कसैमाथि सामान्य प्रश्न समेत गरिँदैन, छानबिन त परै जाओस् ।
मिडियामा त्यति ठूला काण्ड आउँदा पनि जुनसुकै पार्टीको सत्ता हुँदा पनि सजाय गरिँदैन । यसले के देखाउँछ भने मुख्य नेतृत्व कि त अक्षम छ, कि त बेइमान छ । यही कारणले सञ्चार माध्यमका लेखनले सार्थकता पाउन सकेको पाइँदैन । यो स्थिति अन्त्यका लागि राजनीतिक नेतृत्वले गम्भीर रूपमा सोच्नुपर्छ, आफ्नै हितका लागि ।
जसरी बीपी कोइरालाले ‘मेरो कमजोरी’ औँल्याउनुपर्छ भन्ने सर्त राख्नुभएको थियो, लोकतन्त्रमा नेताहरू त्यसरी प्रस्तुत भएका छैनन् । तिनले सीधै गल्ती ढाकछोप गरिदिनुपर्छ भन्ने नीति लिएका छन् । त्यतिमात्र होइन कि सीधै भाषणमा भन्छन्, ‘विरोधमा लेख्नेलाई अरिङ्गाल छाडिदिन्छौँ, साइबर सेना लगाउँछौँ ।’ मानसिकता यस्तो भएपछि कसरी लोकतन्त्र फस्टाउन सक्छ । यस्तो विसंगत दृश्यले लोकतन्त्रलाई हित गर्दैन ।
आत्मसमर्पणवादी पत्रकारिता
पत्रकारिता शिथिल, प्रभावहीन तथा आत्मसमर्पणवादी भयो भने दिउँसै रात पर्छ । अहिले पनि यो एक-प्रकारको संघर्ष नै हो । पहिलेका पत्रकारले सरकारसँग डराउनु पर्दथ्यो भने अचेलका पत्रकारहरूले झन् धेरैतिरको दबाब खेप्नु परिरहेको संकेत पाइन्छ ।
यतिखेर राज्य सत्ताको चरित्र र मनसाय पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी त । देशमा संविधान लोकतन्त्र भए पनि राज्य सत्ता राजनीतिक दल तथा राज्यका निकायहरू लोकतान्त्रिक मान्यतालाई ग्रहण गर्न नसकेकाले प्रेस जगतका प्रयत्न सफल र भविष्य सुरक्षित नभएको हो । मिडियालाई कब्जा गर्ने प्रयास धेरैले विभिन्न ढंगले गर्छन् । त्यस्ता प्रयास र दबाबविरुद्ध सचेत हुनु र संघर्ष गर्नुपर्ने अवस्था अझै छ ।
अन्त्यमा,
म प्रारम्भमा पत्रकार बन्ने उद्देश्यले पत्रकारितामा लागेको होइन । राजनीतिक आन्दोलनमा लागेर पाँच वर्ष जेल र तीन वर्ष निर्वासनमा बसिसकेको अवस्थामा सत्य, तथ्य उधिन्ने, जनतालाई सुसूचित र जागृत गराउने तथा लोकतन्त्रको सन्देश र विशेषताहरूप्रति समाजलाई आकर्षित गर्ने अभिप्रायले यो क्षेत्रमा प्रवेश गरेको हुँ । पत्रकारितामा निर्वाह गरेको भूमिकाप्रति सन्तोष छ ।
यद्यपि पत्रकारिता स्वयंमा एउटा ‘मिसन’ हो । तर त्यसबेलाको पत्रकारिता एउटा विशिष्ट किसिमको मिसन थियो, जनअधिकार प्राप्ति र लोकतन्त्र स्थापनाको कठोर आन्दोलनको प्रतीक थियो । अन्यौलपूर्ण र कहालीलाग्दो कालरात्रिमा प्रेसले तेजिलो मसालको काम गर्दथ्यो । आजको मिडिया साधन-स्रोत सम्पन्न छ, नयाँ प्रविधिको उपयोग गरिरहेको छ । पहुँच र क्षेत्र व्यापक छ । दक्ष जनशक्ति उपलब्ध छ । तर यसको प्राथमिकता र प्रभावकारिताबारे प्रश्न उठ्ने गरेका छन् । पत्रकारहरू व्यावसायिक मर्यादाको पालना गर्दै सत्य-तथ्य न्याय र जनअधिकारका लागि प्रखर ढंगले लाग्नुपर्छ ।
(इकागजकर्मी पुष्पराज आचार्यसँग गरिएको कुराकानी)
३०-३० शृंखलाका यसअघिका सामग्री :
- प्रचण्ड र देउवाबीच पहिलो राजनीतिक भेटवार्ता २०६३ पछि मेरै घरमा भयो
- प्रचण्ड र देउवाबीच पहिलो राजनीतिक भेटवार्ता २०६३ पछि मेरै घरमा भयो
- यहाँ विज्ञताको खिल्ली उडाउनु उडाइयो
- महिला स्वास्थ्य स्वयंसेवीको सय रुपैयाँसमेत रोक्नेबाट के आशा गर्ने ?
- आफू ‘भेडा’ बनेर शासकलाई सधैँ ‘बाघ’ बनायौँ
- जलविद्युतको कथा-व्यथा : पञ्चायतदेखि खड्ग ओलीको पञ्चेश्वरबाट वार्षिक एक खर्ब २० अर्बको नालीबेली
- कम्युनिस्ट पार्टी त कमरेडहरूको कम्युनिटीका आधारमा चल्नुपर्ने हो, ओली एक्लैले सिध्याइदिए
- प्रदीप गिरिलाई कुलपति बनाउँदा के बिग्रिन्छ ?
- माइकल हटले ‘मुनामदन’ अनुवाद गर्नुमा के भूराजनीतिक चासो छ ?
- भ्रष्टाचारको तीव्र यात्रा : केन्द्रीकरणबाट विकेन्द्रीकरणतिर
- फिल्म : सफ्ट-पावर कि व्यापार ?
- कुन देश समृध्द छ, जहाँको शिक्षा नेपालको जस्तो होस्
- यस्तोमा न्याय क्षेत्र कसरी शुध्द र सक्षम बन्न सम्भव छ र ?
- पञ्चायतपछिको ३० वर्ष : न विस्मात्, न हर्ष
- महिलाको नछाप्ने तर हामीलाई गाली गरेको चाहिँ जति पनि छाप्ने
- पञ्चायतमा अहिले भन्दा कम भ्रष्टाचार हुन्थ्यो भन्छन्, तर म मान्दिनँ
- बीपी मोडल डेमोक्रेसी, एमाले घनसलाम र प्रजातन्त्र जेम्स बन्ड
- हिजो शाही शासनको भुंग्रोमा परेँ, आज राज्यका अंगहरू `व्यवसायी´को कब्जामा देख्छु
- तीनवटा पञ्चायतको पतनपछि पाँचवटा पैसातन्त्र
- म ‘आमा’भन्दा दुई वर्ष मात्र कान्छो छु
- खै संस्कृति ? विकृतिको बाढीमा बगिगयो !
- राजनीतिमा रस पसेको मानिस किन पत्रकार हुनुपर्यो ?
- नाटक चलेको ‘अभिनय’ गरिरहेछौँ
- शिक्षा : उपेक्षा, उपेक्षा र उपेक्षा
- ओली, दाहाल, देउवा, बाबुरामहरू शिक्षा सुधार्न कहिल्यै मिटिङ बसेको थाहा छ यहाँलाई ?
- कूटनीति : पञ्चायतमा बलियो, प्रजातन्त्रमा खै के, खै के !
- हरेक भ्रष्टाचार काण्ड कि त बालुवाटार छिर्छ, कि त सिंहदरबार
- औषधी पसल बराबरको पूर्वाधार छैन, मेडिकल कलेज !
- गणतन्त्र नागरिकको, संविधानसभा माओवादीको र संघीयता मधेस आन्दोलनको फल
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया