विचार

खाना नै औषधी हो

नारायण घिमिरे |
असार १७, २०७९ १२:३० बजे

आजको व्यस्त जीवनशैलीमा हामीले औषधि र खानेकुराबीचको औषधीय गुणबारे गहिरिएर हेर्ने गरेका छैनौँ । हाम्रा जीवनमा हामीले खाने धेरै खानाको औषधीय गुण हामीले खाने ओखतीहरूभन्दा दोब्बरभन्दा धेर रहने गर्दछ । त्यस्ता कुराहरूमा हाम्रो खासै ध्यान पुगेको हुँदैन । हाम्रो समाजमा आज क्यान्सर भन्ने कुरालाई निकै जल्दोबल्दो रूपमा प्रस्तुत गरिन्छ । यथार्थमा क्यान्सरका लाखौँ लाख विकृतिमा औँलाले गन्न सकिने मात्र भयावह प्रकृतिको हुने गरेको हामीले सामान्यतया बिर्सने गर्दछौँ । बाटोमा हिँड्ने क्रममा जब हामीलाई ठेस लाग्छ, हामी ऐया भनी रोकिन्छौँ । एकछिनको विश्राममा हाम्रो शरीरले आफूले आफैँ दर्दनाशक केमिकल बनाएर शरीरको निको गर्दछ । हामी सामान्य जीवनमा फर्कन्छौँ ।

भर्खरैको अनुसन्धानले अनुमान गरेअनुसार औसत व्यक्तिमा लगभग तीस ट्रिलियन मानव कोषिकाहरू हुने गर्दछ । तिनीहरू चौबिसै घण्टा नरोकिएर नियमित सक्रिय रूपमा आफ्नो कार्य सञ्चालन गरिरहेको हुन्छन् । हरेक मानव कोषिकाको आफ्नै कम्तीमा प्रमुख अङ्गहरूका रूपमा न्यूक्लियस, माइटोकोन्ड्रिया, लाइसोसोम, एन्डोप्लाज्मिक रेटिकुलम, र गोल्जी उपकरणहरू आदि समावेश हुन्छ । त्योबाहेक त्यहाँ साइटोप्लाजम, भ्याकुल, राइबोजोम, न्यूक्लियसभित्रको न्युक्लियोलस, सिस्टोल, लाइसोजोम, सेन्ट्रिओल आदि रहन्छ । न्यूक्लियस, माइटोकोन्ड्रिया लगायतका संरचनामा डीएनए हुन्छ । उल्लिखित सम्पूर्ण संरचनाको हरेक भागले नियमित आफ्नो सामान्य कार्य गर्ने क्रममा संयुक्तमा हाम्रो विशाल संरचनाको अत्यन्त जटिल प्रक्रिया नियमित सञ्चालित गरी हामीलाई जीवित, हृष्ट, पुष्ट र तन्दुरुस्त बनाएको हुन्छ ।


संरचनागत रूपमा हाम्रा शरीरका उल्लिखित अङ्गप्रत्यंगहरूको नियमित कार्य सम्पादन गर्ने क्रममा भएका त्रुटिले विकास गर्ने विकृतिलाई हामी सामान्य बोलचालको भाषामा क्यान्सर भन्ने गर्दछौँ । उक्त प्रकारका लगभग सय प्रतिशत नै त्रुटिहरू शरीरले हामीले खाएको खाना, पानी, लिएको अक्सिजन तथा प्रकाशको किरण आदि मार्फत प्राप्त सारतत्वको सदुपयोग गरी बनाएको रसायनहरूबाट तत्काल करेक्सन गर्ने गर्दछ । कतिपय अवस्थामा त्रुटिपूर्ण कार्य गर्ने संरचनालाई अर्कोबाट प्रतिस्थापन गरी आफ्नो समग्र कार्य सुचारु गर्दछ । लगभग सय प्रतिशतमा बचेको अयत्न न्यून लगभग पटक भने उक्त विकृतिले शरीरमा क्रमश: ठूलै असर विकास गर्ने हुन पुग्दछ । जसलाई हामी त्यसको प्रकृतिअनुरूप विभिन्न प्रकारको क्यान्सर भनी नामकरण गर्दछौँ । 

तसर्थ समग्रमा क्यान्सर भनेको हाम्रो शरीरको रोग नभएर शरीरले आफूले आफ्नो सुरक्षा गर्ने डिफेन्स मेकानिजम हो । शरीरको उक्त डिफेन्स मेकानिजम बनाउन हाम्रो शरीरलाई हामीले खाएको खानाले सहयोग पुर्याउँदछ । छिटपुट रूपमा शरीरको आफ्नै डिफेन्स मेकानिजममा हुन पुगेको कमजोरीले निम्त्याएको विकृतिको निवारणमा हामी आयुर्वेदिक वा एलोपेथिक ओखती वा जीवन पद्धतिको सहारा लिन पुग्दछौँ । उक्त समयमा समेत हामीले हाम्रो शरीरले आफूले आफैँलाई गर्ने उपचार वा स्व–हिलिङका लागि जरुरत हुने कच्चा पदार्थ बाहिरबाट आपूर्ति गरिरहेको हुन्छौँ ।

औषधीय अर्थात् हिलिङ खाना भनेको सामान्य बोलीचालीको भाषामा त्यो खाना हो जसको सारतत्वले हाम्रो शरीरमा क्यान्सर लगायतको रोगहरूको विकास हुन नदिन हाम्रो शरीरको संरचनालाई आफ्नो सुरक्षा संयन्त्र अर्थात् डिफेन्स मेकानिजम निर्माण गर्न जरुरत हुने रसायनहरू नियमित रूपमा चाहिएको मात्रामा उपलब्ध गराउने क्षमता राख्दछ । हिलिङ ओखती भनेको त्यो पदार्थ हो जसले शरीरको सुरक्षा संयन्त्रमा भएको कमी–कमजोरीले पैदा गरेको विकृति सच्चाउन शरीरलाई जरुरत हुने सार तत्त्व शरीरलाई चाहिएको समयमा चाहिएको मात्रामा उपलब्ध गराउने गर्दछ । 

यो अर्थमा हिलिङ खाना भनेको शरीरमा रोग उत्पन्न हुन नदिन शरीरको सुरक्षा संयन्त्रलाई जरुरत हुने सार तत्त्व उपलब्ध गराएर शरीरको संरचनालाई रोग पैदा हुन नदिने गरी चुस्त राख्ने चिज हो । अर्कोतर्फ हिलिङ ओखती भनेको सुरक्षा संयन्त्रमा देखिएको कमजोरीले पैदा गरेको विकृति नियन्त्रण र उपचार गर्ने चिज हो ।

हाम्रो परम्परामा आयुर्वेदिक तथा हर्बल पद्धतिको नियमितको व्यावहारिक अभ्यासपश्चात् एकभन्दा धेरै हिलिङ खानायुक्त जडीबुटी र खाद्यको वैज्ञानिक उपयोगमार्फत हिलिङ खाद्यलाई हिलिङ ओखतीका रूपमा परिवर्तन गर्ने तरिकाहरू निर्माण भएको छ । जसले गर्दा आजको दिनमा खानालाई नै औषधिको रूपमा परिवर्तन गरेर हामी स्वस्थ रहन र बिमार हुँदा समेत प्राकृतिक उपचार गरी निको हुन सम्भव बनेको छ ।

आजको दुनियाँमा आयुर्वेदिक क्षेत्रका मात्र नभएर एलोपेथिक क्षेत्रका चिकित्सकहरूको अत्यन्त ठूलो संख्यालेसमेत तौल व्यवस्थापनका लागि मात्र नभएर दीर्घकालीन रोगहरूको रोकथाम र उपचारका लागि निश्चित खानाका समूह निर्धारण गरी सिफारिस गर्ने क्रम अत्यन्त तीव्र छ । बिरामीको हितलाई आफ्नो धर्म सम्झनुभन्दा ओखती बेचेर आउने कमिसनमा बिकवा रहने केही अपवादका डाक्टरहरूको सन्दर्भमा बाहेक सामान्य बिमारीको उपचारका लागि आफ्नो स्वस्थ परीक्षण गर्ने र सल्लाह दिने डाक्टरको क्याबिन वा क्लिनिक धाउने बिरामीलाई अनावश्यक रूपमा दिनमा दुई तीन पटक ओखतीका चक्कीहरू वा बोतलहरू लिन सल्लाह दिने डाक्टरहरू देखिन छोडेको छ ।

पछिल्लो समयमा औषधि विज्ञानले गरेको महसुस के हो भने आफ्नो नियमित स्वस्थ व्यवस्थापनमा मात्र हैन कि बिमारी निको गर्ने प्रयोजनमा समेत औषधिको उपयोगले भन्दा औषधीय खानेकुराहरूको चतुर सेवनले कम्तीमा दुई गुणा सहज र छिट्टै मानिसलाई उसको दीर्घकालीन समस्याहरूबाट मुक्त गराउन सम्भव हुन्छ । त्यसका लागि बिरामी मानिसको स्वस्थ अवस्थाले जन्माएको शरीरको आवश्यकता अनुरूप हिलिङ खाद्यलाई हिलिङ ओखतीका रूपमा परिवर्तन गर्ने वैज्ञानिक तरिकाहरूको जरुरत पर्दछ । 

हिलिङ खाद्यलाई हिलिङ ओखतीका रूपमा परिवर्तन गर्ने वैज्ञानिक तरिकाहरू अत्यन्त सहज र सामान्य सिद्धान्तअन्तर्गत रहेर गर्न सम्भव हुने हुँदा घरको भान्सामै पूरा गर्न सकिन्छ । जसलाई तल केही उदाहरणहरू दिएर चर्चा गरिएको छ :

मानव सभ्यतामा जौपछि फापर अत्यन्त पुरानो खाना हो । हामीले सामान्य रूपमा सोच्ने गरे जस्तो फापर, गहुँ, जौ जस्तो अन्न हैन । यसलाई न त अन्न न त घाँस नै भन्न मिल्ने चाय सिड, किंवा र जुनेलो जस्तै स्यूडोसेरियल वा स्यूडोग्रेनको दर्जामा रखिएको छ । जटिल कार्बोहाइड्रेट, उच्च खनिज तथा एन्टिअक्सिडेन्टयुक्त भई रगतको चिनी नियन्त्रण गर्ने फापर एक लोकप्रिय र स्वस्थवर्द्धक खाना हो । यसको फूलको रस उच्च औषधीय मूल्यको हुने गर्दछ । 

फापरको फूलमा चरेको मौरीले पारेको महमा अन्य महमा भन्दा कम सङ्ख्यामा फ्लाभोनोइड्स र फेनोलिक एसिड रहने गर्दछ । यसमा प्रचुर मात्रामा हुने इपिक्याटेचिन, ग्यालोयलेटेड डेरिभेटिभहरू र प्रोसायनिडिन डाइमरहरूको कारण यसले शरीरको दर्दनाशकको क्षमता प्रदर्शन गर्ने र एकदेखि छ वर्षको बच्चाहरूका लागि खोकीको दवाई अर्थात् कफ सिरपको काम गर्दछ । 

फापरको फूलको महले शरीरको आफूले आफूलाई उपचार गर्ने क्षमता बढाउने, प्रतिरक्षा प्रणालीलाई चुस्त पार्ने, एन्टिअक्सिडेन्टहरू उपलब्ध गराउने, रगतमा कोलेस्ट्रोल घटाउने र कतिपय अवसरहरूमा विभिन्न रोग र क्यान्सरको चुरो कारक बन्ने डीएनए उत्परिवर्तनको प्रक्रिया उल्टाएर मानिसलाई स्वस्थ बनाउन मद्दत गर्दछ । ह्वाइट, ग्रिन र ब्ल्याक टी पिउने क्रममा फापरको फूलको मह हाली पिउने गर्दा शरीरमा प्रशस्त एन्टिअक्सिडेन्टहरू उपलब्ध गराई शरीरको इन्फ्ल्यामेसन उल्लेखनीय रूपमा घटाउन सकिन्छ ।

गाडेको अचार, गुन्द्रुक, दही, अमिल्याएको तामा, किम्ची आदि खानेकुराहरूमा ठूलो संख्यामा अत्यन्त धेरै प्रकारका शरीरलाई फाइदा गर्ने जीवित ब्याक्टेरियाहरू अर्थात् आन्द्राको गट माइक्रोबायोमहरू हुने गर्दछ । फरमेन्टटेड खानेकुराहरू ल्याक्टो बैसिलस, स्ट्रेप्टोकोकस र ल्युकोनोस्टोक जस्ता प्रमुख ल्याक्टिक एसिड ब्याक्टेरिया युक्त हुने गर्दछन् । तिनीहरूको सेवनबाट आन्द्रामा शरीरका लागि नभई नहुने र अत्यन्त लाभदायी रहेका ब्याक्टेरोइड्स, फर्मिक्युट्स, प्रोटोब्याक्टेरिया र एक्टिनोब्याक्टेरिया आदि गट माइक्रोबायोमहरूको उल्लेखनीय रूपमा वृद्धि गरी खानाको पाचन क्षमता र पचेको पोषण तत्त्वबाट शरीरका लागि अत्यावश्यक हुने ओज अर्थात् सारतत्वमा परिवर्तन गर्ने क्षमता नाटकीय रूपमा अभिवृद्धि गर्न सकिन्छ । 

ब्याक्टेरियाको संक्रमण हुँदा वा सम्भावित संक्रमणबाट बच्न खाइने यान्टिबायोटिक कारण बिरामीमा कतिपय अवस्थामा आइलाग्ने यान्टिबायोटिक–सम्बन्धित पखालाको उपचारमा उक्त प्रकारका फरमेन्टटेड खानेकुराको प्रयोग गरिन्छ । 

फरक–फरक खानाको फरक औषधीय गुणको संयोजन गरी सामान्य बिमारी पर्दा वा दीर्घ रोगको सिकार बन्दा हिलिङ खाद्यलाई हिलिङ ओखतीका रूपमा रूपान्तरण गरी आफ्नो स्वास्थ्य सुधार गर्न सक्छौँ ।

आन्द्रामा गट ब्याक्टेरिया आपूर्ति गर्ने खानाहरू आन्द्रा घोच्ने दुख्ने, शिशुको पखाला, एक्जिमा तथा एलर्जीहरू हुनबाट रोक्न तथा तिनीहरूको उपचार गर्नका लागि उपयोगी हुने गर्दछ । आज भोलि भुँडीमा लागेको बोसो काट्न संसारभर फरमेन्टटेड खानेकुराको अधिक उपयोग हुने गरेको छ । 

वाकवाकी र पेटमा देखिने असुविधाको उपचारमा अदुवाको चिया पिउने गरिन्छ । अदुवाको सार तत्त्वका रूपमा रहने फिनोलिक घटकहरू जस्तै जिन्जेरोल (६–जिंजरोल, ८–जिंजरोल, र १०–जिङ्गेरोल), शोगाओल, र प्याराडोल तथा टर्पेनहरू शरीरको दर्दनाशक प्राकृतिक केमिकलहरू पदार्थहरू हुन् । महिनावारीको समयमा हुने पेटको तल्लो भागको दुखाइको उपचारमा प्रयोग हुने आइबुप्रोफेनलाई हाल अदुवाले विस्थापित गर्ने गरेको छ । 

महिनावारीको दुखाइबाट छुटकारा पाउन आइबुप्रोफेनको सट्टा अदुवाको क्याप्सुल खाने वा ताजै अदुवा चपाउने सल्लाह डाक्टरहरूले दिँदै गरेको भेटिन्छ । पुदिनामा प्रचुर मात्रामा हुने मेन्थोल, मेन्थोन, मेन्थाइल एसिटेट, १,८–सिनियोल, लिमोनेन, बिटा–पाइनेन र बिटा–कारियोफिलिनजस्ता सारतत्वहरूसमेत दर्दनाशक क्षमताका हुने गर्दछन् । तसर्थ पेट दुख्ने, कोपर्ने र आन्द्रा घोच्ने पोल्ने जस्ता समस्यामा पुदिनाको चक्की वा पिसेको पातलाई समेत औषधीयको रूपमा प्रयोग गरिन्छ ।

सेतो, नीलो र पहेँलो बेसार मसलादार तीतो स्वादको हुन्छ । तिनीहरूमा तीन प्रकारका विशेष कर्क्युमिनोइड्सहरू पाइन्छ । कर्कुमिन (डिफेरुलोईलमिथेन जसले बेसारलाई पहेँलो रङको बनाउँछ), डिमेन्थोक्सिकर्कुमिन र बिसडिमेन्थोक्सिकर्कुमिन । उक्त कर्क्युमिनोइड्सहरू अल्जाइमर रोगको जोखिम कम गर्ने र मस्तिष्क–सम्बन्धित धेरै समस्याको उपचारमा उपयोगमा आउने गर्दछन् । 

कालो मरीचमा हुने पाइपरिन नामक पदार्थ निकै शक्तिशाली एन्टी–अक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी तत्त्व हो । मरीचमा प्रचुर मात्रामा हुने भिटामिन ए, सी, ई, के, नायसिन र बिटा–क्यारोटिनले आदि शरीरको पाचन शक्ति चुस्त राख्न मद्दत गर्दछ । मरीचमा हुने एमिनो एसिडहरूले एकातर्फ खानामा रहेका पोषक तत्त्वहरूको जैविक उपलब्धता बढाउन सहयोग गर्दछ भने पाइपरिन र मरीचका एमिनो एसिडहरू एन्टि–माइक्रोबियल, एन्टि–ब्याक्टेरियल र एन्टि–भाइरलसमेत छन् ।

जब तपाईं बेसारमा कालो मरिच थपेर त्यसको चिया पिउने अर्थात् कुनै खानामा ड्रेसिङका रूपमा मिलाएर खानुहुन्छ त्यसले तपाईंको शरीरको खाना पचाउने शक्ति बढाउने, खानाको सारतत्व धेरै अवशोषित गर्न मद्दत गर्ने, मनोवैज्ञानिक सबलता निर्माण गर्ने कार्य गर्दै रुवा, खोकी, ज्वरो आदिको उपचारसमेत गर्दै क्यान्सर र अन्य रोगसँग शरीरको लड्ने शक्ति निर्माण गरिदिन्छ ।

खानामा दैनिक तीन ग्राम जौ वा जौबाट बनेको उत्पादन खाने गर्दा त्यसले शरीरको खराब कोलेस्ट्रोल नियन्त्रणमा लिन सहयोग गर्दछ भने खानामा प्रशस्त गेडागुडी संलग्न गर्दा त्यसमा हुने फाइबरले रगतमा चिनीको मात्रा बढ्न दिँदैन । बाबरी, तुलसीको गेडा, चाय सिड आदिले समेत रगतमा बढेको खराब कोलेस्ट्रोलको नियन्त्रण गरिदिन्छ । माछा, माछाको तेल, हेम्प (भाङको गेडाको) ओइल, अण्डा जस्ता प्रचुर ओमेगा–३ फ्याटी एसिड युक्त खानाले ट्राइग्लिसराइडको मात्रा नियन्त्रण गर्ने, मेटाबोलिक सिनड्रोम भनिने मुटुको रोग, मधुमेह, अन्य गम्भीर रोगहरू, बाथ रोग दिमागसम्बन्धी रोगहरू मात्र नभएर शरीर पोल्ने, चिलाउने, सोरयासिस जस्ता अटोइम्यून अवस्थाको उपचारमा मद्दत पुर्‍याउने गर्दछ ।  

समग्रमा जब हामी हाम्रो भान्सामै भेटिने खाना र मरमसलाको तागत र औषधीय गुण बुझ्दछौँ तब तिनीहरूको संयोजनबाट आफ्नो जरुरत अनुरूपको हिलिङ खाद्य बनाएर खान सक्दछौँ । फरक–फरक खानाको फरक औषधीय गुणको संयोजन गरी सामान्य बिमारी पर्दा वा दीर्घ रोगको सिकार बन्दा हिलिङ खाद्यलाई हिलिङ ओखतीका रूपमा रूपान्तरण गरी आफ्नो स्वास्थ्य सुधार गर्न सक्छौँ । आफूलाई आफ्नो दीर्घकालीन स्वास्थको लागि हानिकारक हुने बजारमा उपलब्ध पेट्रोकेमिकल र सेन्थेटिक स्रोतका ओखती नामका स्लो–पोइजनहरूबाट टाढा राख्न सक्छौँ ।

नारायण घिमिरेका अन्य लेखहरू



Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
ad
x