संस्मरण र अनुभूति- २७
२१/६५३, लोहनी-कुटी पुगेपछि
भीमफेदी, २००२ साल । त्यो वरणीय शान्ति पहाडको । कुखुराको भाले बासेको आवाज पहाडमा कति पटक प्रतिध्वनित भइसकेको थियो । तर बल्ल मात्र निन्द्राको असीम आनन्दमा लट्ठिएका वेदप्रसादले सुने । हिजो राति होटेलको सुकुले म्याट्रेसमाथि आफ्नै बेडिङ फैलाएर सुतेका वेदप्रसाद मनको महासगरमा दूर कता कता देखिएको ‘पिगलेटको दुनियाँ’मा कसरी पुग्ने भनेर सोच्दा सोच्दै निदाएका थिए । हत्तपत्त सुतेरै बायाँ हात झ्यालतिर फर्काएर जहाँबाट उज्जर नभएको प्रकाश अँध्यारो कोठाभित्र छिरेको थियो । नाडीमा लगाएको आफ्नो ‘वेस्ट एन्ड बाच’ घडी हेरेँ । अनि कुरा खेल्यो मनमा । त्यसैमा लहरिए उनी केही बेर।
लहरिए यसरी - यो घडी चरो पनि ढिलो बास्दो रहेछ । काठमाडौँमा भए रातको चौथो प्रहर उषा काल सकिने अगाडि नै बासिसक्थ्यो । यहाँ बास्दा त दिनको पहिलो पहिलो प्रहर नै सुरु भइसक्यो । त्यहाँ भएको भए त्रिचन्द्र कलेज अगाडिको घण्टाघरले टाइम बोल्थ्यो । त्यसैसँग मिलाएर तोप पड्केको डुङ्ग आवाज सुनिन्थ्यो बिहानको । टुँडिखेलमा तोप पड्किए पछिको धुवा उडेको ज्ञानेश्वरबाट नदेखिए पनि। मनमनै सोचे यस्तो टाइम नदिने घडी चरोलाई अन्त भए पाल्नेले तरकारी बनाइ सक्थे । तर उनी त सुद्ध शाकाहारी ब्राह्मण । एक थोपा पेय पदार्थ जिब्रोमा कहिले नपरेको । चुरोटको दोस्रो पफ मात्र जीवनमा । पहिलो पफ ११ वर्षको उमेरमा आफ्नो विवाहको स्वयमवरको वेला लिएका थिए । त्यो कथा पछि भनौला जुन उनले मलाई सुनाएका थिए । बाहुनले त घडी चरोलाई छुन समेत वर्जित थियो त्यो बेला । अहिले जस्तो 'फ्राइड केन्टकी चिकेनको' जमाना त सपना पारी पनि थिएन।
‘ब्रह्म जानातीति ब्राह्मणः’ भनेको ब्रह्म अर्थात् जसको महान् चेतनतत्व छ त्यो हो ब्राह्मण । यसको लागि विद्या, बुद्धि र सत् चित्त चाहियो । त्यसैले आहार-बिहार ठिक हुनुपर्यो राम्रो सोचको लागि । बाहुन भएर जन्मेर हुने होइन । वेदप्रसाद असल सोचको मानिस थिए । रूढिवादी हुनु र संस्कारगत मान्यता लिएर जीवन बाच्नुबीच आकाश र जमिनबिचको जत्तिकै फरक छ । उनी रूढीवादी थिएनन् । आफ्नो पिताले हालिदिएको बलियो संस्कार थियो उनको । त्यसैले संस्कारगत रूपबाट नै आहार विहारमा अडिग थिए
त्यो घडी चरोको कथा भीमफेदीको जुन उनले मलाई सुनाएका थिए, अर्थात् कुखुरोले टाइम नमिलाएर बासेको कुरा, त्यसले यतिखेर मेरो मनमा मान्छे र जनावरबिचको सम्बन्धलाई अनायास अगाडि ल्याइदियो । जनावर प्रकृतिसँग मिलेर बस्छ । मान्छे बस्दैन । जनावरभन्दा लोभी छ मान्छे । र, अति वाचाल बन्छ लोभ प्रदत्त आवेगमा । त्यति बेला ऊ जनावर सरह, होइन, अझ हीन स्वरूपको विभत्स बन्न सक्छ । सगर छुने ज्ञानगुनको कुरागर्न सक्ने भद्र भलाद्मी तर आचरण हड्डीको टुक्रोको लागि लडिरहेको कुकुरभन्दा पनि नीच । यो पाटोभन्दा अलिकति मान्छे र जनावरबिचको सम्बन्धलाई मात्र सरसरती हेरौँ न !
मनोरञ्जन खोज्ने मान्छेको स्वभाव नै हो । सायद यो हरेक मान्छेको जिनमा नै लेखिएका हुन्छ । मानव सभ्यताको प्रत्येक चरणको विकास मान्छेको जिउने आवश्यकताले मात्र होइन मनोरञ्जनगर्ने चाहनाले गर्दा पनि भएको छ । आवश्यकता र चाहनाको दुवैको संयुक्त प्रतिफल बनेर विकास भएको हो, मान्छेले जनावर तालिमगर्ने काम । जनावर जगत्भित्र नै पर्दछ पन्छी पनि । र, यस क्रममा मान्छेले यिनीहरूबाट सिक्यो पनि । युद्ध कौसल त मान्छेले जनावरबाट नै सिकेको हो । त्यस्तै, हवाईजहाज बनाएर उड्ने सीप पन्छी उडेको देखेर । धर्म, कर्म, खाना र मनोरञ्जन सधैँ साथ छन् मान्छेसँग । धार्मिक विश्वाससँग जोडिएका कतिपय ‘मिथकीय यथार्थता’ पनि बनेका छन् । यसरी कतिपय मिथकहरू जन्मेका या जन्माइएका छन् यो सम्बन्धबाट । र, प्रयोग भएका छन् । परेवालाई चिठ्ठी ल्याउने र पुर्याउने हलकारा बनायो मान्छेले तालिम गरेर - डाक परेवा।
हिजो इज्जतदार भनिनेले कुखुरा लडाउन छोडेर बट्टाई लडाउँथे । हारेको बट्टाईले बाच्न पाउँदैन थियो । मारी हाल्थे । मैले नेपालको राजनीतिको यी पाटोहरूलाई लिएर त्यति बेलाको चल्तीको अङ्ग्रेजी साप्ताहिक ‘दि इन्डिपेन्डेन्ट’मा सन् १९९३ को जुलाई महिनामा लगातार तीन हप्ता गरेर लेखेको थिएँ । शीर्षक थियो - ‘गिरिजा इन द ककपिट’ । गिरिजा बाबु प्रधानमन्त्री थिए त्यति बेला । पात्र बदलिएका छन् तर लडाउने ‘ककपिट’ त्यही नै हो।
कुखुरालाई खानको लागि मात्र होइन मनोरञ्जनको साधन पनि बनाइयो । लड्न सिकायो यसको लागि । यसरी मान्छेको सँगै बस्ने भएको कुखुरा लडाकू पनि बन्यो । जुन देशले ब्रिड गरेको अर्थात् जन्माएको हो त्यो अनुसार स्वभाव पनि फरक फरक बन्यो । अरूले बनाइदिएका यस्ता ‘कुखुरे लडाकू’ नेपालको राजनीतिमा पनि छन् । अलि इज्जतदारले कुखुरा लडाउन छोडे पछि । इज्जत हिजो सामन्ती प्रथासँग गाँसिएको थियो भने अहिले त्यसको अवशेषसँग । सामन्ती भन्दा पनि त्यसको अवशेष धेरै गुना डरलाग्दो हुन्छ जसरी शोषक भन्दा शोषित भएर बनेको शोषक धेरै नै खतरनाक हुन्छ । अन्ततः त्यसले हुकुमत लिएपछि त्यो दलाल पुँजीपतिको पनि दलाल बन्छ । र, बनेको छ । यो डरलाग्दो चक्र हो । हालै मात्र पनि यस्तो स्वरूपको एउटा पाटो बजेट बनाउँदाको आँखीझ्यालबाट देखिएको थियो । त्यसपछि देखिएको थियो कसरी योग मिलेपछि संसद् प्रयोगको कर्मकाण्डी थलो बन्छ भन्ने कुरो।
यस्तो अवशेष झन् खतरनाक दूरगामी मानसिकताबाट बनेको छ । वास्तवमा यसले नै देश निल्दै छ । किनकि यस्तो अवशेषहरूलाई दूरबाट सञ्चालन गरिएका छन् । यसरी सञ्चालित भएर रोमाञ्चकारी उडान भर्दा मुलुक देखिँदैन । सिमाना हुँदैन । स्विस बैङ्कमा पैसा बढ्छ । तर त्यो रकमको कति नै उपयोगिता हुन्छ राख्नेलाई र? हिजो दोस्रो विश्व युद्धको बेला प्रत्येक नाजी नेताले युरोप लुटेर स्विस बैङ्कमा राखेको पैसा बैङ्कमा नै बेपत्ता भयो । नेपालको पहिलो डलर अरबपति थिए चन्द्र शमशेर । उनले बेलायती बैङ्कमा राखेको खरबैको रकमबाट के पाए? आफ्नै नाति प्रह्लाद शमशेर टाट भएर टाइप राइटर चोर्दा खोरमा पुगे ।
हिजो इज्जतदार भनिनेले कुखुरा लडाउन छोडेर बट्टाई लडाउँथे । हारेको बट्टाईले बाच्न पाउँदैन थियो । मारी हाल्थे । मैले नेपालको राजनीतिको यी पाटोहरूलाई लिएर त्यति वेलाको चल्तीको अङ्ग्रेजी साप्ताहिक ‘दि इन्डिपेन्डेन्ट’मा सन् १९९३ को जुलाई महिनामा लगातार तीन हप्ता गरेर लेखेको थिए । शीर्षक थियो - ‘गिरिजा इन द ककपिट’ । गिरिजा बाबु प्रधानमन्त्री थिए त्यति बेला । पात्र बदलिएका छन् तर लडाउने ‘ककपिट’ त्यही नै हो।
कुखुरा घरेलु प्राणी भएकोले मिलेर बाच्न चाहन्छ, सुरक्षित रूपमा बाच्न चाहन्छ । त्यसैले निन्द्राबाट बिहान उठेपछि बास्छ बिहान आफ्नो उपस्थिति जनाउन । यो भालेले भन्ने शुभ बिहानी हो । उसको आधिपत्यको सूचना । विज्ञहरूको भनाई छ बिहान भाले बास्ने नियमित रूपमा कुखुराले गर्ने करिब २४ संवाद मध्येको एक हो । उनीहरूको चाहना खुसी भएर बाच्ने र अर्को पुस्ता सुरक्षित रहोस् भन्ने रहन्छ । त्यसैले कुखुरीले फूल पार्ने बित्तिकै कराउँछे सोको जानकारी दिन यस कारण कि त्यो नयाँ पुस्ता हो र त्यसको सुरक्षाको गर्ने दायित्वको लागि सबै तयार रहुन् । तर कुखुराको फुल लगिहाल्छन् बलियाले । मान्छे बलियो छ । मान्छेभित्र धेरै बलिया र धेरै निर्धा छन् । बलियाले यसै गरी निर्धाको लुटेर खाएका छन् ।
यो नहोस् भनेर प्रणाली बनाइन्छ मुलुकभित्र तन्त्रै तन्त्रको । तर बलियाले त्यो भत्काएर लुटेर खाइरहेका छन् । ठुला राष्ट्रहरूले गरिब राष्ट्रहरूको प्राकृतिक साधन यसै गरी लुटेर लगेका छन् । विश्व इतिहास साक्षी छ यसको । यसको लागि गरिब मुलुकमा आफूले चाहेको शासक राख्न खोज्छन् त्यहाँ प्रोक्सी रुलको लागि । तानातानी यही सेरोफेरोभित्र नै हो विश्व रङ्गमञ्चको । यसको लागि त्यहीकै नेताहरूलाई प्रयोग गरेर त्यो देशलाई कमजोर र गुलाम बनाउने हो, विकासको लागि र जनजीविका रूपान्तरण गर्नको लागि भनेर । यसरी अर्को पुस्ताको बाच्ने अधिकार पनि ध्वस्त पार्दछन् । कुखुराले अर्को पुस्तालाई आफैले ध्वस्त पार्दैन । त्यसैले को बुद्धिमान ? कुखुरा कि मान्छे।
यो वेदप्रसादको प्रश्न थिएन त्यति वेला । उनको परिवेश बेग्लै थियो । राणा शासनको वेला कठोर जुद्ध शमशेर महर्षि भएर गएपछिको । अर्थात् पद्म शमशेरको वेला । मान्छेले भत्काउला तर प्रकृतिसँग मिलेर बसेको र प्रकृतिको नियम पक्कासँग मान्ने कुखुराले किन ठिक टाइम नदिएको भन्ने मात्र थियो । सायद ठाउँ अनुसार फरक पर्दछ या कहिले काहीँ गडबडाउछ पनि होला कुखुरा पनि । त्यसैले त तरकारी पनि बन्छ । वेदप्रसादले हत्तपत्त उठेर बेडिङ कसे र तयार भए अगाडिको यात्राको लागि । यसको लागि पहिलो काम प्रकृतिको बोलाहट अनुसार पेट खाली गर्न हिँडे । फर्केर कोठामा आउँदा भरिया पनि बोलाएर ल्याएका थिए ।
तल दलानमा बसे केही खान । चियाको चलन काठमाडौँमा अलिअलि आएको भए पनि त्यहाँ थिएन । र, देखिन्थ्यो भरियाहरू छरिएका लामो बजारको दुवैतिरका होटेल या बास बस्ने घरहरूका अगाडि । ती थिए माल ढुवानीको खोजीमा । उकाल्नको लागि पहाडमाथि । माल हुन्थे मान्छे या सामान । काठमाडौँ उक्लिने यात्रु भन्दा उकाल्ने भरिया धेरै हो कि जस्तो भान हुन्थ्यो । तिनलाई सामूहिक रूपमा ‘बोटे’ भन्थे यात्रुहरूले । तिनीहरू आफ्नै भाषा बोल्थे । र, यात्रुहरूसँग नेपालीमा बोल्थे तर त्यो नेपाली सहजै बुझिँदैन थियो । लय बेग्लै । उच्चारण बेग्लै, शब्द बेग्लै । बिचबिचका नेपाली शब्दले कुरा बुझ्नु पर्दथ्यो । उलिन्काठ राखेर उभिएका थिए, कोही डोको काँधमा झुन्ड्याएर, अनि कोही नाम्लो भिरेर । यात्रुहरू कोही भाउताउ मिलाइरहेका र कोही उक्लिने तरखरमा।
तल अमलेखगन्ज झर्न बसतिर गइरहेका यात्रुहरू । सामान बोकेर गइरहेका भरियाहरू । ती यात्रुहरू अगाडि लम्किरहेका भरियालाई चनाखो भएर हेरिरहेका थिए । एउटा अज्ञात आशङ्का बोकेको मानसिकता कि कतै भरिया समान लिएर बेपत्ता होला कि भन्ने । सरहदको उसपारिले जन्माएको आशङ्का । यी बिचरा बोटेहरू त गाई प्राणी थिए । भरियाको आँखा भने त्यत्तिकै चनाखा थिए उक्लिने यात्रुहरू तिर । ती निर्दोष आँखाहरू टटोलिरहेका थिए । पैसा उक्लिदा गम्म आउँथ्यो । बसमा सामान हाल्दा त कति नै आउने हो र ? सानो रेजगारी त हो । तर चटारो उक्लिनेहरूको भन्दा ओर्लिनेहरूको बढी थियो । बस छुट्ला भन्ने डर सबैलाई । त्यो छुट्यो भने अमलेखगन्जबाट रक्सौल जाने रेल छुट्ने । उक्लिनेहरूलाई अलि ढिलो पुगिन्थ्यो काठमाडौँमा । अरू के हुने र? जति ढिलो भए पनि घाम अस्ताउने अगाडि नै पुगिहालिन्थ्यो । जानिजानी बिचमा कतै बास बस्नेहरूको कुरा अलग भयो।
त्यसैले त्यो बजारमा आउने जानेको चहलपहल भन्दा भिडभाड धेरै, सबै हतारिइरहेका, झर्नेहरू बढी । एउटा हतारको जात्रा जस्तो । वेदप्रसादले केटाकेटी देखि नै घरमा सुन्दै आएको सम्झे - कति हतारो कंकेश्वरीको रथ आएको जस्तो? ८ सय ३८ वर्ष अगाडि लिच्छविकालीन राजा गुणकामदेवले काठमाडौँ स्थापना गर्दा सुरक्षित राख्न वरिपरि अजिमाको स्थापना गराएका थिए । त्यसैले कंकेश्वरीलाई कङ्गा अजिमा भनिन्छ । चामुण्डा देवी । यसको रथ आउँदा यति धेरै चटारो हुन्थ्यो जसले गर्दा चटारो बुझाउने पर्यायवाची नै बन्यो कंकेश्वरीको रथ ।
वेदप्रसादले देखे अलि हुनेखाने उलिन्काठमा चढ्दै गरेका । त्यसपछिका डोको चढेका । कोही भरियालाई माल बोकाएर आफू हिँड्दै गरेका । यसरी हिँड्ने दुई किसिमका थिए । एक थरी थिए अलि आर्थिक कमजोरीमा । अर्को थरी थिए बलिया बाङ्गा जो बोकिएर डाँडो उक्लिन चाहँदैन थिए । मान्छे बसेपछि अगाडि दुई र पछाडि दुई गरी चार जनाले त्यो उलिन्काठ उठाएर काँधमा बिसाएर हिँडे । डोकोमा पनि बोकेर लैजाने पनि उठे चौतारीबाट आड लिएर । सामान बोक्नेले त्यसै गरे । बिना डोको सामानको भारी मात्र पनि नाम्लो लगाएर बोक्थे । ती पनि उठे । हातमा लौरो सबैको । पहाड चढ्न लौरोले धेरै बल दिन्थ्यो । रेटको हिसाबले सबभन्दा महँगो उलिन्काठमा हुन्थ्यो । त्यसपछि डोकोको मान्छेको । अनि सामान मात्रको।
काठमाडौँमा वेदप्रसादले सानै देखि देखेका थिए उलिन्काठ । त्यसलाई तामदान भनिन्थ्यो । उठाउँथे दुई जनाले मात्र । यस्तो तामदानमा चढेर पशुपतिनाथका मूल भट्ट वेदप्रसादको घरमा आउँथे महिनामा एक दुई पटक उनको पितालाई भेट्न । पशुपतिनाथको पूजागर्ने जिम्मेदारी मूल भट्टको । दक्षिण भारतबाट ब्राह्मण झिकाइ निजबाट पूजा गराउने चलन यक्ष मल्लको पालाबाट भएको मानिन्छ । यो भन्दा अगाडि नेपालकै राजोपाध्यायहरूबाट हुने गरेको थियो । अहिलेको गुठी संस्थान र पशुपति विकास कोषले गर्ने काम त्यति वेला बडा गुरुज्यू अन्तर्गतबाट हुन्थ्यो । र, वेदप्रसादको पिता कप्तान पण्डित रुद्र प्रसाद लोहनी गुरुज्यू अन्तर्गत कामगर्ने हुँदा उनले यसको रेखदेख गर्दथे । त्यसैले मूल भट्ट ज्ञानेश्वरको घरमा पितालाई भेट्न आउँदा सधैँ तामलान देखेका थिए । काठमाडौँमा अरूको पनि, अझ आइमाईहरूको सवारीको साधन थियो तामदान।
पैसा थियो तर वेदप्रसाद उलिन्काठ चढ्ने स्वभावका थिएनन् । मान्छेबाट बोकिएरै जाने कुरा नै उनको मान्यता विपरीत थियो । भरिया ल्याइसकेका थिए, ट्याङ्का र बेडिङ बोक्न । फुर्तिलो भरिया छानेका थिए । उसलाई अघि लगाएर प्रकृतिको छटा हेर्दै उनी उकालो लागे भीमफेदीबाट । मोटर गाडी बोकेर ल्याउने त्यो गोरेटो धेरै चौडा नभए पनि दोहरो आउन जान मिल्ने फराकिलो थियो । कहिलेदेखि हो कहिले देखिको बाटो यो काठमाडौँ खाल्टोकालाई सरहद पार पुर्याउने । ती हिँडिरहेका भरियाहरूलाई घर आँगन जस्तै थियो । घाम छदै थानकोट पुगिनेमा ढुक्क थिए उमेरदार वेदप्रसाद, वर्ष ३० का । बिहानै हिँड्न सुरु भइसकेको । अलि ढिलो हिँड्नेहरू भीमफेदीबाट हिँडेको समय अनुसार कुलेखानी, मार्खु या चित्लाङमा बास बस्थे।
करिब ४ हजार फिटको भीमफेदीबाट उत्तर झन्डै ८ हजार फिट चन्द्रागिरि चढेर थानकोट आउनु पर्थ्यो । ४० किलोमिटर भन्दा बढी हिँड्नु पर्थ्यो त्यो पहाडी बाटोबाट यो ४ हजार फिट उक्लेर थानकोट आई पुग्नको लागि । फटाफट हिँड्ने र विलम्ब नगर्नेको लागि करिब दस देखि एघार घण्टा । नत्र कतै बास पर्थ्यो । साधरणतया दुई दिन नै लगाउँथे धेरैले । त्यसैले बास बस्दा खाने जोरजाम मिलाउनु पर्थ्यो । एकलैदोकलै भन्दा धेरैजसो झुन्डमा आउने जाने गर्ने हुँदा अरूले छोएको भात नखानेले बाहुन ल्याएका हुन्थे या आफै पकाएर खान्थे । यो सबै बुझेका वेदप्रसाद अर्को बास बस्ने मुडमा थिएनन् । त्यसैले बिहानको त्यो समय भाले ढिलो बास्दा चाँडो चिप्लिएर गइरहेकोमा अलि अधैर्य भए पनि मनमा चिन्ता भने थिएन उनको । राम्रै बिहानी भइसके भए पनि बिहानी छिप्दिसकेको थिएन।
हिँडेर जानेमा पनि बोकिएर जाने चाँडो पुग्थे । कारण ती भरियाहरू यति अभ्यस्त थिए हिँड्नमा कि त्यो घुमाउरो बाटो चाँडो तय गर्थे । उनीहरू फिस नमानेर हिँड्थे । आफै हिँड्ने यात्रु भने मेसो नपाएर हो वा पहाडमा हिँड्न नजानेर हो ढिलो हुन्थे सामान बोकेको भरिया भन्दा । भीमफेदीबाट हिँडेका वेदप्रसाद भने भरियासँग दाँजिएरै हिँडिरहेका थिए । वेला बखत असजिलो महसुस गर्थे । तर यो बिचरो गरिब सामान बोकेर हिँडेको छ । फुक्का हुँदा पनि मैले हिँड्न नसक्ने हुन्छ कहिले भन्ने भलियो भावले गर्दा रफ्तार थियो यात्राको । त्यसैले दुई घण्टा नपुग्दै ७ किलोमिटर परको चिसापानी गढी आइपुगिसकेका थिए । भीमफेदी भन्दा पनि पन्ध्र सय फिट अझ अग्लो ठाउँ भएकोले अलि चिसो महसुस गरे त्यहाँ सुस्ताएपछि वेदप्रसादले । घामको कलिलोपन अझै सकिएको थिएन।
इतिहास अटाएको ठाउँ हो चिसापानी गढी मकवानपुरको सेन राज्य कालदेखिको । गढी, सेनाले सुरक्षागर्ने ठाउँ । त्यहाँको किल्ला प्रसिद्ध छ र तैनाथ गरिएका ती ६ तोपहरू । काली तोपले रक्सौल सम्म हान्न सक्ने भनिन्थ्यो । अझ प्रसिद्ध छ त्यहाँको बटुक भैरवको मन्दिर । र, एउटा मिथकीय विश्वास कि त्यस किल्लाभित्र आइमाई जानु हुँदैन भन्ने । बजारको चहलपहलमा भीमफेदीलाई कसले जित्ने? तर सेना र प्रशासनिक चहलपहल चिसापानी गढी थियो त्यो बाटोमा । यहाँको रौनक अर्कै थियो । प्रशासनिक फुर्तीफार्ती देखिन्थ्यो । काठमाडौँलाई सुरक्षितगर्ने अर्को स्थल । यात्रुमाथि निगरानी राखिने र चेकजाँच हुने । बिहानको कलिलो घाम, चिसो हावा र रमणीय दृश्य चारैतिर । उत्तरतिर हरियो पहाड । त्यस्तै दक्षिणतिर पनि । फरक अग्लो होचो मात्र।
चौतारीमा भारी बिसाएर गोजीबाट ठुटो चुरोट झिक्यो । सल्काएर धित मारेर तान्यो । अनि दुईचार कदम पूर्व लाग्यो त्यो भरिया । अझ पर पूर्वतिर हेरिरहेको थियो । एक्लै भए वेदप्रसाद । कुलेखानीबाट झर्नेहरू कोही देखिँदैन थिए । सुनसान जस्तो बाटो मास्तिरको । उनको मन फेरि पिगलेटको दुनियाँमा पुग्यो । कसरी हात लगाउने त्यो पिगलेट ? यो अनुत्तरित प्रश्न झन् अनुत्तरित बन्यो । उनीसँग पैसा थिएन त्यो उठाउन सक्ने । सेनाले गरेको बडाबडमा कसरी भाग लिने? तर जसरी भए पनि उनी प्राप्त गरिछाड्नेमा दृढ थिए । यत्तिकैमा भरियाले हात पोलिसके पछिको टुटो चुरोटलाई खुट्टाले दलेर हराएका वेदप्रसादको नजिक आएर भन्यो - जाऊ, अबेर हुन्छ नेपाल पुग्न । यो अबाज अप्रत्याशित जस्तो बनेर आएर होला उनी सोच्नु भन्दा अगाडि नै जर्याकजुरुक उठे । र, पछि लागे भरियाको।
चिसापानी गढीदेखिको बाटो उकालो थिएन । कहिकही हलका उकालो नत्र धेरै जसो रमाइलो हुँदै गएको ओरालो । हिँड्दा मजा लाग्ने र आफसेआफ मान्छे फुर्तिलो हुने । वातावरणीय ऊर्जा आउने । यो अवसरमा भरियासँग वेदप्रसाद बात मार्न खोज्थे । तर पुरा कुरा भरिया बुझ्दैन थियो । न उसको कुरा खुलस्त वेदप्रसाद नै बुझ्थे । संवाद झन्झटिलो बन्दै भयो । उनको दाहिने गालामा घाम परेको हुनाले त्यहाँ न्यानो भएको थियो तर देब्रे गालामा भने हलका चिसो महसुस गरिरहेका थिए । करिब अढाई घण्टाको आनन्दको फुर्तिलो हिँडाइपछि कुलेखानी पुगियो । उनी भन्दा अगाडि हिँडेकाहरू त्यहाँ माछा भात खाइरहेका थिए । वेदप्रसादलाई पनि देख्ने बित्तिकै केटाहरू अगाडि आएर भनिहाले - ल खानुहोस् कुलेखानीको असला माछा र भात । उनले तिनीहरूसँग आँखा जुझाएर हेरिराखे र भने, मलाई मिल्दैन।अनि सोधे अरू के छ खाने ? बिहान सबेरै हिँड्नेहरूको भात खाने ठाउँ कुलेखानी थियो।
साबिक झैँ रोटी बेरेर टोक्दै तरकारीसँग खाए । अनि एक बटुको दूध । भरियाले उनीसँग उसले पाउने ज्यालाको केही रकम माग्यो भात खान । उनले तुरुन्तै दिए । उ चाहिँ अनि माछा भात खान थाल्यो पकाउँदा पकाउँदैको । र, टोक्नको लागि खुर्सानी पनि माग्यो । खाना खाएपछि वेदप्रसाद अलिबेर टहलिए बहिरहेको कुलेखानी नदीलाई हेरेर । त्यही कुलेखानी नदीको नामबाट गाउँको नाम रहेको थियो । उत्तरको डाँडाको तलबाट फैलिएको फाट धान खेतीको । अलि माथिल्लो भागमा घरहरू । मानिसहरू खुसी देखिन्थे अभाव र गरिबीभित्रको जिन्दगानीमा पनि ।
यो कुलेखानी नदिलाई नै थुनेर नदीलाई नै पानी पोखरी बनाएर, जसलाई इन्द्र सरोवर नाम दिए, त्यसबाट सन् सन् १९८२ बाट बिजुली निकालिएको हो । त्यही छोडिएको पानीबाट पानी घट्ट घुमाए जस्तै गरी टर्वाइन घुमाएर तल्लो गराबाट कुलेखानी दोस्रो सन् १९८६ मा र अझ तल्लो गराबाट कुलेखानी तेस्रो सन् २०१९ गरी तिन पटक बिजुली निकालिएको छ यहावाट । यसरी यी तीन जोड्दा जडित बिजुली उत्पादन क्षमता १०६ मेगावाट हुन्छ । २००२ साल अर्थात् सन १९४५ मा वेदप्रसाद टहलिदा भने कुलेखानी नदी कलकल बहिरहेको थियो । त्यो बहेको नदीसँगै उनी पनि वहेका थिए आफ्नो मनभित्र पिगलेट प्राप्तगर्ने सोच-प्रवाहमा । नदीमामा छाल उठिरहेको थिएन । तर उनको सोच-प्रवाहमा ज्वार-भाटा नै उठिरहेको थियो । नदी जति पियारो देखिन्थ्यो त्यति नै पियारो थियो उनको पिगलेटको सोच पनि । भरिया फेरि टिङ्ग्रिङ्ग उभिन आयो । वेदप्रसाद सँगै लागे।
बाटो सिधा उत्तर नलागेर अलिकति पश्चिम हुँदै उत्तर लाग्यो । पूर्वतिर पनि गोरेटो थियो अर्को गाउँतिर जाने । त्यताबाट पनि अझ बाटो नछोडेर लागेमा दक्षिणकालीको हात्ती बनतिर छेडिन्थ्यो । कुलेखानी खोलाको तिरैतिर करिब तीन घण्टा हलका उकालो हुँदै हिँडे पछि मार्खु पुगियो । यो पनि भीमफेदी, कुलेखानी जस्तै अर्को बास बस्ने ठाउँ । एउटा सानो रमणीय गाउँ कुलेखानी खोलाको तिरमा । केही बेर विश्राम गरेर फेरि उक्ले वेदप्रसाद भरियाको पछि लागेर । अब चाहिँ उकालै उकालो सिधा उत्तर तर्फ । दिउसोको घाम टन्टलापुर । जङ्गलको बाटो । । बाटोबाट देखिन्थे ऐसेलु लटरम्म फलेका जङ्गलको बिचबिचमा।
उक्लिन त्यति रमाइलो चाहिँ थिएन । तर बिचबिचमा उभिएर हेर्दा माथि डाँडा देखिए पनि दायाँ बायाँबाट तलतिर भने क्रमशः फैलिँदै झरिरहेको प्रकृतिको धरातलीय स्वरूप लोभलाग्दो देखिन्थ्यो । अझ बढी यसरी उभिँदा थाहा हुन्थ्यो जुकाले रगत खाएको आफ्नो शरीरबाट । भगवानको लीला पनि अपरम्पार छ । त्यो हाडविहीन जुकाको मुखमा सानो सुइरो राखिदिएको, जसबाट छुस्स लट्ठ्याउने फाल्ने उसले रगत खाने वेलामा । मान्छेलाई थाहा नै नहुने जुकाले रगत खाएको । अहिलेका राजनीतिकर्मीहरू पनि जुका जस्तै त छन् । भाषणले लट्ठ्याएर जनताको रगत पसिना चुसिरहेका । यो उकालो चढ्दा भने जुकाले सताएको कुरा सम्झिन्थे वेदप्रसाद पछिसम्म पनि ।
करिब दुई घण्टाको उकालोपछि अनि देखियो चित्लाङ उपत्यका करिब ६ हजार फिटको उचाइमा । टपक्क हत्केलामा लिने जस्तो सानो, अनि अति सुन्दर उपत्यका । त्यहाँबाट बस्तीतिर लागे यी दुई झर्दै । भरियालाई मतलब थिएन । तर वेदप्रसाद भने चारैतिरको फाँटहरू हेरिरहेका थिए । उत्तर पूर्वबाट उत्तर पश्चिम लामो सोतो जस्तो देखिने अनि उत्तरतिरको खोचमा परेको उपत्यका । सानो ठाउँ तर लामो र सिङ्गो इतिहास अटाएको ठाउँ । होइन, इतिहास वारी पारी दुवै अटाएको ठाउँ । भनिन्छ भृकुटीको बाबु अंशुवर्माले गोठालाहरूलाई दिएको ठाउँ हो यो । त्यो त १४ सय वर्ष जति अगाडिको कुरा पर्यो ।
त्यो भन्दा करिब २२ सय ७२ वर्ष जति अगाडि किरात कालमा बुद्धको शान्तिको ज्ञान फैलाउन काठमाडौँ आउँदा सम्राट् अशोकले चित्लाङको सबभन्दा पुरानो ठाउँ माझ गाउँमा चैत्य बनाएका थिए । यो गाउँ नेवारहरूको आदिवासी बलामीहरूको बस्ती हो । सबै नेवार आदिवासी होइनन् । चैत्रपुर नाम भएको यो ठाउँ अशोकले बनाएको चैत्यसँग जोडिएर नाम अपभ्रंश हुँदै जाँदा चित्लाङ बन्न पुग्यो । अझ अगाडि इतिहास पारिको सप्तर्षिले स्नान गरेको धारा छ त्यहाँ, द्वापर युगको, जुन युगको अन्त्य भगवान् कृष्णले धरती छोडेपछि भयो । अझ सिङ्गो भालेबास डाँडालाई नै भगवान् शिव मानेर पूजा गर्छन् । वेदप्रसादले सम्झे लक्ष्मी प्रसाद देवकोटालाई, उनको केटाकेटीदेखिको दाजु, आफ्नो दाज्यूको साथी भएकोले । त्यति वेला उनलाई युगकवि भन्थे,यसको दुई वर्षपछि मात्र महाकवि बनेका हुन्, २००४ सालमा बनारसबाट निस्किने युग वाणीको वेला । यहानिेर ईश्वर बराललाई पनि सम्झनु पर्दछ हामीले, जसले पहिलो पटक देवकोटालाई महाकवि भनेर लेखे । देवकोटा महाकवि बनेपछि सिद्धिचरण बने युगकवि २००९ साल तिर ।
चित्लाङमा सुस्ताइरहेको वेला देवकोटालाई सम्झेको कारण चाहिँ 'यात्री' कविता थियो । यो कविता देवकोटाले १९९८ सालमा चित्लाङमा बसेर लेखेको भनेको सुनेका थिए उनले । मैले चाहिँ सम्झे लोक साहित्यका एक अग्रणी र व्यङ्ग कविलाई । नाम लक्ष्मण लोहनी, मेरो काका । कारण हो मैले पहिलो पल्ट चित्लाङ सुनेको थिए रेडियो नेपालबाट उनको एउटा व्यङ्ग कवितामा । त्यति वेला रेडियो नेपालले कवि सम्मेलन गर्थ्यो र प्रत्यक्ष वाचन हुन्थ्यो सिंह दरबारबाटै । उनले नेपालमा कस्ता कस्ता कविहरू छन् भन्ने वर्णनगर्दा चित्लाङ पुग्ने कविको बारे पनि बताएका थिए । त्यसको एक हरफ - म कवि हु कवि, एउटा फुलमार चुरोटमा, म चित्लाङ पुग्ने कवि । त्यति वेला काठमाण्डौँ बस्नेहरूको लागि चित्लाङ दुर्गम नभए पनि सजिलै जान नसकिने टाढा थियो।
वेदप्रसाद चित्लाङबाट फेरि बाटो लाग्दा पनि चित्लाङ टाढा नै थियो काठमाडौँबासीको लागि । बानेश्वर बत्तिसपुतलीतिर स्याल कराउने नै वेला थियो । चित्लाङबाट चन्द्रागिरिको उकालो तयगर्नु पर्थ्यो । त्यो अन्तिम र गाह्रो उकालो । करिब १२ किलोमिटर उक्लिन साढे तीन घण्टा जति लाग्थ्यो । २ हजार फिट उक्लिनु पर्थ्यो, कतिपय ठाउँमा ठाडै । चन्द्रागिरि अहिले केबल कारले पुर्याउने डाँडोको टुप्पो । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका धित मारेर हेरेको ठाउँ नेपाल बनाउनु भन्दा करिब २७ वर्ष अगाडि । त्यही डाँडोबाट आँखाभरि आँसु लिएर परपरसम्म हेरेका थिए उपत्यका भक्तपुरका हारेका राजा रञ्जित मल्लले जब नेपालको एकीकरण भयो । यसरी रोएर नेपाल छोडेका थिए सन् १७६९ मा बनारस तर्फ, आफैले पृथ्वीनारायणसँग मागेर ।
वेदप्रसाद उक्लिँदै थिए चन्द्रागिरिको भन्ज्याङ । र, उक्लेर सुसाए । अब चाहिँ काठमाडौँ पुगेको अनुभूति भयो । हेरे पूर्वतिर काठमाडौँभित्र । सबै नै जसो मलिलो फाँट थियो, धान फल्ने फाँट त्यहाँबाट देखेसम्म । मूलतः सहर भनेको टुँडिखेलको पश्चिम भाग विष्णुमतीसम्म । त्यसपछि राणाका करिब तीन चार दर्जन अन्त फैलिएका दरबारहरू । त्यस्तै गुरुज्यू पुरोहित, साहेब, चौतरियाका । त्यसको छेउछाउ झुन्ड बनेका साधारण घरहरू । भञ्ज्याङबाट तल झरेर जानु पर्थ्यो लरी राखेको ठाउँमा । भरिया अब चाहिँ उनले नै बोलाए - हिँड बाबु, अब किन ढोलो गर्ने? झर्दा फटाफट । लरी लागिरहेको थियो काठमाडौँ सहर जाने । सामान राख्न लगाए लरीमा । भीमफेदीदेखि सँगै आएको त्यो भरियाको ज्याला दिए । अलिकति बढी नै दिए । कता कता माया पनि लागेको जस्तो अनुभव गरे उनले त्यो सोझो, मेहनती केटोलाई देखेर । त्यति वेला त्यो तामाङ केटोले पढ्नु पर्दछ भन्ने होइन पढ्नु हुँदैन भन्ने गरी सामासिक मनलाई कन्डिसन गरिएको थियो राज्य र धर्मको मिलेमतोबाट ।
लरी चल्यो । घारघुर गर्दै ल्याइपुरायो त्रिपुरेश्वर, अहिले त्रिभुवनको सालिक भएको ठाउँमा । झर्दै गर्दा कुल्ली भनौँ या भरिया लिदै गएका थिए यात्रुहरूले । वेदप्रसादले पनि लिए । एउटा अचम्म कुरा के थियो भने ती भरियाहरूलाई घर धनीको नाम र ठेगाना बताइ दिएपछि हलकाराले चिठ्ठी पुराएको जस्तै गरी तिनीहरू सरासर त्यो घरमा पुग्न सक्थे । कहाँ जाने हजुर भनेर भरियाले वेदप्रसादलाई सोध्ने बित्तिकै उनले भने - २१ को मुनि ६ सय त्रिपन्न, लोहनी कुटी, ज्ञानेश्वर । त्यो भरिया लागि हाल्यो । तर यो पाली भने वेद प्रसाद अगाडि हिँडे भरिया भन्दा । भरियाको पछाडि हिँड्नु पर्ने थिएन । भरियालाई भन्दा धेरै बढी उनलाई थाहा थियो काठमाडौँको भूगोल र बाटोघाटो ।
त्रिपुरेश्वरको दक्षिण सरकारी घर थियो । एउटा धर्मशाला जस्तो जहाँ अहिले आँखा अस्पताल छ । तराइबाट आएका मधिसेहरूलाई बस्न दिइने ठाउँ त्यही मात्र शिवरात्रिमा । अन्त बस्न दिँदैन थियो सरकारले । अरू वेला आउन पाउँदैन थिए । शिवरात्रिको वेलामा पनि एक हप्ता पछि लखेटेर थानकोट कटाइहाल्थे । वेदप्रसादले एक नजर त्यता दिए । सुनसान थियो । त्रिपुरेश्वरबाट पूर्व थापाथलीको बागमतीको पुल नपुगुन्जेलसम्म दुबैतिर लहरै जोडिएका घरहरू थिए रङ्ग नलगाएका । झिँगटीको छाना लगाएका । तराइबाट आएकाहरू जो काठमाडौँ आउन पाउने राहदानी बनाएर काम विशेषले या त्रिचन्द्र कलेजमा पढ्न बसेकाहरू हुन्थे तिनीहरूले यी घरहरूमा भाडामा कोठा लिएका हुन्थे । अघोषित जस्तै थियो मधेसीहरूलाई भेट्न परेमा यी मध्ये कुनै घरमा फेला पर्थे । मधेसमा बसेका पहाडियाहरू पनि पर्थे यसैमा ।
सबैतिर हेरे वेदप्रसादले आफूले छोडेको भन्दा केही फरक छ कि काठमाडौँ भनेर । उस्तै थियो । अहिले दशरथ रङ्गशाला भएको ठाउँ खुला थियो सबैले हिँड्न, घुम्न र खेल्न पाउने । यसलाई सानो टुँडिखेल भनिन्थ्यो । त्यहीबाट उक्ले वेदप्रसाद एसियाकै ठुलो परेड ग्राउन्ड भनिने टुँडिखेलमा । टुँडिखेलभित्र जान निषेध थियो । केवल राणाहरूको लागि मात्र थियो त्यो । मूलतः उनीहरूले घोडा चढेर टहलिनको लागि सुरक्षित राखिएको ठाउँ । सैनिकले परेड खेल्ने र सूचना सुनाउने ठाउँ । त्यसैले त्यसको डिलै डिल मात्र हिँड्न पाइने हुँदा वेदप्रसाद फराकिलो टुँडिखेल, धरहरा, सुनधारा हेर्दे उत्तरतिर हिँडिरहेका थिए । सबैतिर खुला देखिन्थ्यो।
रानीपोखरी आइपुगेपछि त्यहाँको पाटीबाट पूर्व लागे बागबजार तिर । यसरी डिल्लीबजार ओरालोको पिपलको बोट पुगेपछि उत्तर मोडिए गल्लीभित्र । त्यो गल्ली त आँगन नै सरहको थियो उनको । दान विलासको घर पुग्नु अगाडिबाटै देखिन्थ्यो चौडिल । चौडिल, एउटा थुम्का घरको ढोका पुग्नु अगाडिको । ती बाह्र सार्वजनिक सिँढीहरू चढेपछिको आँखा जत्रो सानो चौर । पुगे चौडिल र उक्ले २१\६५३ लोहनी कुटीको ढोकामा । भित्र छिरेर धारा भएको चोकमा पुगे । खेलिरहेका केटाकेटीहरू झुम्मिइहाले । हल्ला सबैतिर भयो उनी आएको । सामान एक तलाको कोठा बाहिर मटानमा राख्न लगाएर भरियालाई पैसा दिँदै थिए । यत्तिकैमा उनको गृहलक्ष्मीले आएर ढोगिदिइन् । एक पल मायालु आँखाहरूबाट कुराकानी भए बोलीले होइन ।
त्यसपछि अर्को एक भरेङ चढेर उनी पुगे पूजाकोठामा । छिर्नु अगाडि घैलाको पानीले बारीपट्टि फर्केको बार्दलीबाट हात धोए । देखे पश्चिमतिर बारीको पुछारको भोगटेको बोट जोसँग उनको कथाको एउटा पाटो जोडिएको थियो । यति वेलासम्म साँझले छोपिसकेको थियो । बेलुकी रोटी खाने भए पनि घर आएको दिनमा भात नै खानुपर्ने भएकोले उनको श्रीमती झट्टैगर्न आलु तारेको, तितौरा र भात पकाउन गइन् । वेदप्रसाद पिगलेटको दुनियाँमा हराए । योजना बनाए भोलि अड्डा खुल्ने बित्तिकै जङ्गी अड्डामा गएर हेरिहाल्ने त्यो चाङ लगाएर राखेको पिगलेट । त्यसको अन्दाज आफैले गर्नु पहिलो अनिवार्यता थियो अगाडि बढ्नको लागि।
वेदप्रसादबारे वसन्तका लेख
- लामो निरन्तरतासँग मिसिएको छोटो यात्रा
- प्रकाशको जन्म, व्यवसायको सुरुवात
- साइकलमा आएका राजा र त्यो डोम
- राष्ट्रिय धरोहर बनेका ती दुई
- समानान्तर यात्रा- सिमेन्ट ढलान र फ्युजन प्रविधिको
- गजबको मान्छे उहाँ, तपाईंको फादर
- शासक, शासकीय र शासनको स्वरूप
- कडा अनुशासनभित्र ‘अराजक’ बनेर जे सिके
- गुरुज्यूको चउरको फुटबल म्याच
- संस्मरण र अनुभूति : टालिएका झ्यालहरू
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया