विचार

संस्मरण र अनुभूति- २६

डाँक गाडीबाट भीमफेदी

वसन्त लोहनी |
भदौ ४, २०७९ ७:४ बजे

फुर्तीसाथ सिट्ठी फुक्यो त्यो जुम्सो रेलले। त्यो पनि एक पटक होइन। लगातार तीन पटक, लय निकालेर। तब झल्याँस्स भए वेदप्रसाद। दुवै आँखाहरू त हेरिरहेका थिए तर के हेरिरहेका थिए उनीलाई थाहा थिएन। उनी त 'पिगलेट को दुनियाँ'मा थिए। चार हजार वर्ष अगाडि भएको पाञ्चालीको स्वयंवर समारोहमा अर्जुनले माछाको एउटा आँखा मात्र देखिरहेका थिए आफ्ना दुई आँखाहरूले। यो बन्यो अर्जुन दृष्टि। तर वेदप्रसादका खुला आँखाहरूले केही देखेका थिएनन्।

मस्तिष्कले पिगलेट मात्र सोचिरहेको थियो त्यो हिँडिरहेको रेलमा। त्यसैले उनी अर्जुन दृष्टिमा थिएनन्। थिए केवल आफ्नै 'वेदप्रसाद सोच ' मा। मत्स्य भेदन गर्ने दृष्टि थियो अर्जुनको। लक्ष्यमा पुग्न सोच थियो वेदप्रसादको। भौँतारिरहेका छन् आफ्नै यानमा। खोजिरहेका छन् त्यसलाई सागरबाट हुन्छ कि सगरमा पुगेर हुन्छ।


दृष्टि र सोचबिचमा धेरै ठुलो फरक छ। सोच पुरुषार्थसँग जोडिन्छ। पुरुषार्थ हिन्दु दर्शन हो। यस अन्तर्गत नै पर्दछन् - धर्म, अर्थ, काम, मोक्ष। त्यसैले यसबारे छलफल गर्ने हो भने लामो हुन्छ। चट्ट बुझ्ने मात्र हो भने अहिलेको नेपाल हेरे पुग्छ। सबैको अर्जुन दृष्टि छ यहाँ चुनाव अगाडि नै। कसैको राष्ट्रपति बन्ने, कसैको प्रधान मन्त्री। अनि कसैको सभामुख, कसैको उप सभामुख। त्यो टुङ्गो लगाउनेमा छन् अर्जुन दृष्टि लिएर। यसको लागि लेन्डुपीय पदचापमा फ्युजन गर्दैछन् नेपालको ढुकढुकीलाई। मुलुकप्रतिको सोच कसैको छैन। वेदप्रसादले त्यो कान चिर्ने सिट्ठीको आवाजपछि बल्ल देखेँ आफ्नो चारैतिर। उनी त हिँडिरहेका रहेछन् रेलभित्र, एक कुनाबाट अर्को कुनासम्म लगातार। हो, प्रकाश चाँडो हुन्छ ध्वनि भन्दा। तर यतिखेरको 'पिगलेट को दुनियाँ' मा लीन भएका वेदप्रसादले सिट्ठीको ध्वनि सुनेपछि मात्र उजेल्यो देखेँ। अझै दिउँसोको पहारिलो घाम लागिरहेको थियो। 

रेल अलि बाक्लो जङ्गल बाट लुत्त निस्कियो फाँडिएको जङ्गलमा। त्यहाँ अलि फराकिलो थियो थप रेलका लिगहरू जोडिएको कारणले। रेलले लिग बदल्यो किनाराको। अझ पनि जङ्गल भित्र नै थियो त्यो रेल। यत्तिकैमा स्टेसन पनि देखियो। अनि त्यो साइनबोर्ड पनि। लेखिएको थियो - अमलेखगन्ज। यसै पनि बिस्तारै हिँड्ने त्यो रेल अझ बिस्तारै हिँडेर रोकियो। केही चहलपहल थियो। कुल्लीहरू डिब्बाभित्र छिरी सकेका थिए रेल रोकिने अगाडि नै। 

कुल्लीसँग मोल तय भएपछि वेदप्रसादले पनि समान देखाइदिए आफ्नो ट्याङ्का र बेडिङ। आफ्नो काँधमा एउटा झोला झुन्ड्याएर कुल्लीसँगै तल झरे। स्टेसनबाट बाहिर निस्किने बित्तिकै धुलाम्मे एउटा सडक देखियो। त्यो सडकको धुलोले नजिकका रूखहरू भरिएका थिए। पातहरू हरियो नभएर खैरो देखिन्थे। वेदप्रसादको मनमा आयो यी रुखहरूलाई श्वास फेर्न कति गाहारो भएको होला? त्यसपछि आँखाले जतिसम्म देख्न सकिन्थ्यो सबै जङ्गल थियो चारकोसे झाडीको। 

गाडी हिँड्ने सडक तर गोलीगाँठा सम्म धुलोमा खुट्टा गाडिन्थ्यो। वर्षाको बिजोग सहजै अनुमान लगाउन सकिन्थ्यो। अलिकति हिँड्ने बित्तिकै पुगियो मोटर गाडी चढ्ने ठाउँमा। धुलै धुलोको बिचमा गाडीले फन्का मार्ने ठाउँ जहाँ एकाध बिग्रिएका लरी थिए थन्किएका किनारमा। एउटा चालु लरी थियो जसले सामान पनि ढुवानी गर्थ्यो र मान्छे पनि, जुन वेला जे पाइन्थ्यो त्यो अनुसार। मानिसहरू हस्याङफस्याङ गरेर चढिरहेका। बस पनि थियो एउटा। त्यो लरीबाट नै बनाएको बस। त्यसको भाडा अलि महँगो थियो लरीको भन्दा। त्यहाँ पनि चढिरहेका थिए तर लारीको भन्दा कम।

त्यतातिर हान्निएर गइरहेको कुल्लीलाई सँगै हिँडिरहेका अग्ला र फुर्तिला वेदप्रसादले भने - त्यता होइन। कुल्लीले कुरा बुझी हाल्यो। अलि पर छुट्टै अडेको गाडी तर्फ लाग्यो उ। त्यो थियो - डाक गाडी। पूर्व र पश्चिमबाट रिले दौड गरेर आएका हुलाकीहरूका झोलाका चिट्ठीपत्रहरू पहिले नै जम्मा गरेर हालिसकेका थिए काठमाडौँ लैजाने र बाटोमा पर्ने अन्य ठाउँका बाकसहरूमा। चिट्ठीपत्रहरू राख्ने कम्पार्टमेन्ट अर्थात् खण्ड ड्राइभर पछि थियो। त्यो बन्द थियो। त्यसपछि मात्रै यात्रुहरू बस्ने सिट।

तीर्थयात्रा गरेर आएकाहरूले रेलको टिकट गाउँमा नै लैजान्थे। त्यो टिकटको जन्तर बनाएर बच्चा पाउन लागेको आइमाईलाई लगाइदियो भने चाडै बच्चा जन्मिन्छ भन्ने धारण बनेको थियो। उनी टोलाएर हेरिरहे।

फाट्टफुट्ट मात्र मान्छेहरू आइरहेका थिए त्यहाँ। त्यसको कारण थियो लरीको भन्दा त धेरै बढी र बस भन्दा एक रुपैयाँ महँगो थियो डाक गाडीको भाडा । सुका र पचन्नीले काम चलाउने त्यति वेला एक रुपैयाँ भनेको निकै हुन्थ्यो। वेदप्रसादले टिकट लिए। सामान सुरक्षित किसिमले गाडीको छतमा राख्न लगाए कुल्लीलाई। र, उसको भाडा दिए । डाक गाडी अझ यात्रु कुरिरहेको थियो। वेदप्रसाद अधैर्य थिए। उनीलाई सबैले हेर्थे पनि। हाफ प्यान्ट अर्थात् कट्टु लगाएका र टाउकोमा टोप। खल्तीबाट नचाहिने कागत फाल्दै थिए। यस्तैमा रेलको टिकट पनि फाले। सँगै उभिएको एउटा भरियाले झर्न नपाई टिपेर आफ्नो गोजीमा हाल्यो। त्यति वेलासम्म अझ एउटा अन्ध विश्वास बाचेको थियो। बिचरो भरियाले त्यसलाई टिपरे बचाउँदै थियो। त्यो अन्ध विश्वास अडेको थियो रेलको टिकटमा।

तीर्थयात्रा गरेर आएकाहरूले रेलको टिकट गाउँमा नै लैजान्थे। त्यो टिकटको जन्तर बनाएर बच्चा पाउन लागेको आइमाईलाई लगाइदियो भने चाडै बच्चा जन्मिन्छ भन्ने धारण बनेको थियो। उनी टोलाएर हेरिरहे। र, आफैसँग एकल संवाद गरे - हे राम! मेरो देशमा यस्तो बेकारको कुरा पनि जन विश्वास बनेर बाचेको छ। उनको नातिको पुस्तामा आइपुग्दा बल्ल त्यो मर्‍यो तर अरू यस्तै अन्ध विश्वास अझै बाचेकै छन् विभिन्न स्वरूपमा। सबभन्दा ठुलो र खतरनाक त अहिले यी जेल वा सुरुङबाट निस्केका या निकालिएकाहरूले मुलुकको हित गर्दछन् भन्ने अन्ध विश्वास अझै बाचेको छ।

यो अन्ध विश्वास मर्ने वेलासम्ममा मुलुक नै नरहने हो कि भन्ने पो दिन प्रतिदिन हुँदै गइरहेको छ। जहाँ नागरिकता किस्ता किस्तामा सट्टापट्टा गरी त्यसको बदलामा सत्तामा पुग्ने र टिक्ने मूल प्रवाह राजनीति बनेको छ त्यहाँ अन्ध विश्वासले बजाएको मृत्युको घण्टा बजेको नसुनिएर अरू के सुनिने? अझै यो मुलुकलाई मायागर्नेहरूको एकल संवाद नै बनेको छ त्यति बेलाको वेदप्रसादको त्यो एकल संवाद ।

एकल संवादबाट उनी निस्किए जब रेलका डाक कर्मचारीहरू हल्लागर्दै आए रेलबाट निकालिएका चिट्ठीपत्रका झोलाहरू बोकेर त्यहाँ। आउँदा यसरी आएका थिए कि मानै कुनै जात्रा नै आएको छ। जे होस् हुलाकलाई निकै महत्त्व दिइन्थ्यो त्यो वेला। नब्बे काटेका मैले चिनेका एकाद भछन् - चिट्ठी घरमा पहिले आउँथ्यो अहिले भन्दा चाँडो। तिनले हाले ती चिट्ठीपत्र सम्बन्धित बाकसहरूमा। अब डाक गाडी रोकिन सक्दैन थियो यात्रीको लागि । हिँड्नै पर्दथ्यो। र, स्टार्ट पनि गरिहाल्यो ड्राइभरले। चौडाइ सानो भएको त्यो सडकमा गुड्यो त्यो गाडी दायाँ बायाँ गर्दै।

धुलो उडिरहेको थियो दुवैतिरको जङ्गलको बिचको बाटोबाट। दायाँ बायाँ पिङ्ग खेलेर गुडिरहेको गाडी जस्तै वेदप्रसाद पनि वारी पारी गरिरहेका थिए ‘पिगलेटको दुनियाँ’ र गुडिरहेको गाडीको सेरोफेरोमा। सो सडकमा बग्गी पनि हिँड्थ्यो यदाकदा जब शासकहरूको आवागमन हुन्थ्यो। त्यति वेला सडकमा किनारा लगाएर गाडी रोकिन्थे। करिब ४० किलोमिटरको बाटो थियो त्यो भीमफेदीसम्मको। त्यसपछि पैदल हिँड्नु पर्थ्यो। 

चुरेको टनेल या सुरुङ चाडै नै आइपुग्यो वेदप्रसादले सोचे भन्दा। उनी त यसरी कैयौँ पटक यात्रा गरिसकेका थिए। उनलाई ठ्याक्कै हेक्का हुन्थ्यो। प्राविधिक मान्छे पनि त थिए उनी। ‘पिगलेटको दुनियाँ’को उडान र गुडिरहेको गाडीको यथार्थता बिच आलोपालो गरिरहेकोले उनको दिमाग र मुटु दुवै समायोजित हुन सकेका थिएनन्। सायद यस कारणले हेक्का कमजोर भएको थियो होला उनको । अमलेखगन्जबाट करिब आठ किलोमिटर सिधा उत्तर मात्र त हो चुरेको सुरुङ। त्यति वेला त्यो सुरुङ बनेको करिब २८ वर्ष मात्र भएको थियो। ९ फिट चौडाइ र १० फिट उचाइ र १६०० फिट लम्बाई भएको सुरुङले तराइको समतलबाट चुरे पहाडभित्र भेदन गरेर निस्केको थियो। 

एक अर्थमा यसलाई तराइ र पहाडको ‘भित्रिया कडी’ पनि भन्न सकिन्छ। सुरुङ छिर्ने वेलामा यात्रुहरू सब कराए। एउटा कोरस पो बन्यो - ल सुरुङभित्र छिर्न लाग्यो गाडी। अँध्यारो हुन्छ त्यहाँ। होस् पुर्‍याउनु पर्दछ। के होस पुर्‍याउनु पर्ने हो?

भीमफेदीको उत्तरमा माथि पर्दछ सिमभञ्ज्याङ । साउन ३१, २०६६ को दिन वसन्त लोहनी त्यहाँ ।

गाडी एकदम बिस्तारै हिँड्थ्यो टनेलभित्र। त्यो १६०० फिट तयगर्न १० मिनेट भन्दा बढी लाग्थ्यो। वेदप्रसादको आँखा अगाडि कर्णेल डिल्ली जङ्ग थापाको अनुहार एकाएक आयो। आफू भन्दा २१ वर्ष अगाडि जन्मिएका थापासँग उनको राम्रो चिनजान थियो। उनको अग्रज, एउटै व्यावसायिक बिरादरीको। सरस्वती सदनको निर्माण भर्खर सम्पन्न भएको अवस्था। त्यसको १० फिटको सकुशल क्यान्टिलिभर देखेपछिको व्यावसायिक उचाइ उनको धेरै माथि थियो। वेदप्रसाद हिरो थिए - एउटा युद्धवीर।

यी सबले मान्थे उनीलाई, डिप्लोमा होल्डर भन्दा भन्दै पनि। तर माथि नउठोस् भनेर कुरा पनि लगाउन छोडेका थिएनन् कठोर शासक जुद्ध शमशेरलाई । वास्तवमा वेदप्रसादलाई डिप्लोमा होल्डर भन्नु नै उनको सबभन्दा ठुलो पहिचान हो, इज्जत हो, जुन नेपालको वास्तुकलाको टाइम लाइनमा राष्ट्रिय धरोहर बनेको सरस्वती सदनले बोकेको छ। 

ब्रिटिसले भारतीय उपमहाद्वीपमा कायम गरेको उपनिवेशमा स्थापना गरेको पहिलो सिभिल इन्जिनियरिङ कलेजबाट, जुन केही वर्षपछि थम्पसन कलेज अफ इन्जिनियरिङ भयो, त्यहाँबाट दीक्षित थिए डिल्लीजङ्ग। यो कलेज सन् २००१ देखि भारतको आइआइटी बनेको छ। नर्सिङ बन्धु - कुमार नर्सिङ राणा र किशोर नर्सिङ राणा पछि त्यहाँबाट इन्जिनियरिङमा स्नातक हुने उनी तेस्रा नेपाली थिए। वेदप्रसादको उनीप्रतिको सम्मानको भाव उर्लेर आयो। अमलेखगन्जमा रेल आउने १० वर्ष अगाडि उनले यो सुरुङ डिजाइन गरेर बनाइसकेका थिए।

उनी एकालाप या मनोवाद गर्न थाले। यो लर्तरो काम होइन डिल्ली जङ्गले गरेको। ठुलो काम हो। २८ वर्ष अगाडि यस्तो कामगर्न सक्ने सोच हुनु मेरो अग्रजको! नमन योग्य छ यो। त्यो परिवेश, अनि कसैले नदेखेको, न जानेको। न पहाड प्वाल पार्ने औजार। सबै स्थानीय औजार र मान्छेले गरेको। त्यसपछि न यो बाटो तयार भयो अमलेखगन्ज देखि भीमफेदी सम्मको। यो पनि डिल्ली जङ्गले नै बनाएका, टनेल तयार गरेको करिब तीन वर्षपछि चालु भएको। त्यो भन्दा अगाडि त वीरगन्जदेखि नै हिँडेर आउनु पर्थ्यो। तर वेदप्रसादले यात्रागर्न थाल्दा यो बनिसकेको हुनाले वीरगन्जदेखि नै हिँड्नु भने कहिले परेन उनीलाई। टनेल बनाउँदा गुम्बज र फलामे सत्तरीको प्रविधिबाट बाहिर भने किन निस्कन सकेनन् भन्ने चाहिँ उनलाई लाग्यो।

यस्तो परिभावनाको प्रवाहमा बहँदै जाँदा वेदप्रसादको मनमा एउटा प्रश्न जन्म्यो। त्यो थियो - डिल्लीजङ्गले सरस्वती सदन बनाउने आँट किन गर्न सकेनन्? जुद्ध शमशेरको नजिक त उनी थिए। सेनाको सबै निर्माण गर्ने जिम्मा बोकेका कर्णेल । जाहेरी गर्ने हैसियतको मान्छे। फेरि जङ्ग बहादुर कै छोरी पट्टिका सन्तान, बडाहाकिमको नाति। डिल्लीजङ्गले इन्जिनियरिङ पढ्दा सिमेन्ट ढलान आम प्रचलनमा नआइसकेको भए पनि रुड्कीमा त जरुर पढाइ भइसकेको थियो होला। यो प्रश्नले उत्तर पाउन सकेन। र, अन्त्यमा सोचे - भगवानले यो काम मेरोलागि नै तय गरेको रहेछ। त्यसैले मलाई निमित्त बनायो एउटा असल कर्मको।

अनि वेदप्रसादले सम्झे भगवान् कृष्णले अर्जुनलाई भनेको - निमित्तमात्रं भव सव्यसाचिन्। थप आफूले आफैलाई भने - म के हु र? गर्ने गराउने उसैले हो। यति भनी नसक्दै उनले देखे सुरुङको अँध्यारोबाट आफू उज्यालोमा आइसकेका। गाडी सुरुङबाट बाहिर निस्केर अगाडि गुडिरहेको थियो। केही बेरमा रोकियो यात्रुलाई पानी खुवाउन। चियाको चलन थिए। मूलको पानी स्वादिष्ट र चोखो, अहिलेको मिनिरल वाटर भन्दा धेरै राम्रो। फेरि चल्यो गाडी यात्रामा। फेरि चल्यो वेदप्रसादको एकालाप पनि ‘पिगलेटको दुनियाँ’ र टनेलको यथार्थताबिचको ओहोरदोहोरमा।

हिमालय नाघेर उत्तरमा पहिलो पटकको लड़ाईमा नै तिब्बतमा कब्जा जमायो। र, तीन पटक लड्यो तिब्बतसँग। ग्रेटर नेपाल बनेर अरू तीनतिर फैलिन सक्यो सुगौली सन्धि अगाडिसम्ममा।

साँच्चि नै त्यति वेला टनेल नेपालमा बनाउन सक्नु ठुलो कुरा थियो - आफ्नै साधन, सीप र जाँगरले। अहिलेको जस्तो विदेशी गुहारेर या दान दातव्य खाएर होइन। शोषण थियो धर्म र राज्य शक्तिको मिलेमतोबाट हुकुमी शासनमा। नेपाल उपनिवेश थिएन तर पनि त्यसको छातामुनि थियो। यसको बाबजुद ‘इन्डिजिनियस स्ट्रेन्थ’ अर्थात् आन्तरिक तागत अहिलेको भन्दा धेरै बढी भएको अनुमान गर्न सकिन्छ। त्यति वेला जे जति पनि बने ती नेपालको आफ्नै तागतबाट नै बनेको थियो। नेपाली आफैले बनाएका थिए। दरबार स्कुल होस् या त्रिचन्द्र कलेज, वीर या मिलिटरी अस्पताल या सिंह दरबार वैद्यखाना। एसियाकै दोस्रो जलविद्युत होस् या रोपवे या नहर, खाने पानी। नब्बे सालको भुइँचालो त आफ्नै तागतले व्यवस्थापन भएको थियो। 

हिमालय नाघेर उत्तरमा पहिलो पटकको लड़ाईमा नै तिब्बतमा कब्जा जमायो। र, तीन पटक लड्यो तिब्बतसँग। ग्रेटर नेपाल बनेर अरू तीनतिर फैलिन सक्यो सुगौली सन्धि अगाडिसम्ममा। र, विश्व शक्ति बनेको ब्रिटिससँग लड्न सक्यो। यो आन्तरिक तागतले नै हो। ब्रिटिससँग लड्दा भीमसेन थापाले जुन आधार लिएका थिए या हिसाब लगाएका थिए त्यो भएन। नत्र त्यति वेला पनि नेपाल हार्दैन थियो। आधार थियो लडाइ परेपछि ६०० भन्दा बढी भारतका राजाहरूमध्ये केही त ब्रिटिसको विरोधमा उठ्छन् त्यो मौका पाएको बेलामा  भन्ने थियो जसरी त्यसको ४१ वर्षपछि मेरठबाट ब्रिटिस विरुद्ध बगाबत सुरु भएको थियो। इतिहासको विडम्बना। त्यो बगाबतबाट ब्रिटिसलाई नेपालले नै बचाएको थियो। 

यो टनेल पनि आन्तरिक तागतकै नमुना हो डिल्ली जङ्गले देखाएको। गुफाहरूमा बस्न थालेदेखि नै जमिनमुनि उपयोगगर्ने सोच मान्छेमा आएको विश्वास गरिन्छ। र, त्यसैले टनेल इतिहासपारि देखि नै।  तर मानव सभ्यताको विकासको क्रममा पहिलो टनेल करिब २२०० वर्ष अगाडि बनेको भनिन्छ। ब्रिटिस च्यानल १९१९ तयार भएको थियो, च्यानल टनेल। यहाँनिर डा . टोनी हेगनले भनेको कुरा सान्दर्भिक हुन्छ। नेपालको समग्र भूगोल बुझ्ने, त्यसको मर्मको अनुभूतिगर्ने पहिलो व्यक्ति स्विस नागरिक भूगर्भविद्  डा . टोनी हेगन नै थिए।

त्यसपछि डा . हर्ष गुरुङ हुन्। किताबमा पढेर मात्र होइन नेपालको डाँडाकाँडा अनेकौँ पटक पैदल हिँडेर १२ वर्षमा करिब १४ हजार किलोमिटर पार गरेका थिए टोनी हेगनले। उनको भनाइ अनुसार एसियाकै पहिलो टनेल हो हाम्रो डिल्लीजङ्गले बनाएको त्यो चुरे टनेल।

१०५ वर्ष अगाडि आइसकेको टनेल प्रविधिको प्रयोग बल्ल हुँदै छ नेपालमा बाटो बनाउने काममा। सेनाले बनाउँदै गरेको काठमाडौँलाई तराइसँग जोड्ने सबभन्दा छोटो सडक फास्ट ट्याक अर्थात् द्रुत मार्गमा। यहाँनिर भन्नै पर्दछ म दङ्ग परेको, अनि मैले गर्व गरेको कुरा। त्यो हो नेपालीले अमेरिकामा टनेल बनाएको कुरा । ८३ वर्ष अगाडि अमेरिका जाने पहिलो व्यक्ति चन्द्र शमशेरको पहिलो रानीपट्टिको कान्छो छोरा कृष्ण शमशेर थिए जसले नेपाल सरकारलाई दान दिएको शीतल निवास अहिले हाम्रो राष्ट्रपति भवन बनेको छ। त्यही मुलुक अमेरिकाको सान फ्रान्सिस्को विमानस्थलबाट लफिएट भन्ने सहरमा रहेको आफ्नो घरमा मेरी भान्जी बुहारी पूजा पाण्डेले हाँकेर ल्याइरहेकी थिइन् म र मेरी श्रीमती उषालाई।

पूजा विवाह हुनु अगाडि महिलापट्टि पहिलो भएकी थिइन् बारको जाँचमा र एड्भोकेट थिइन्। शालीन र आध्यात्मिक उनी। जसले गर्दा असल भावको अनुभूति हुने सँगै हुनेलाई पनि। जब गाडी हलका उक्लिँदै थियो उनले परैबाट देखाइन् - मामा, त्यो हो भास्कर टनेल। मैले बुझिन र सोधे - के भनेको? उनले प्रस्ट पारिन् - सरकारले दिएको नाम त होइन तर हामी नेपाली समुदायले यसलाई ‘भास्कर टनेल’ भन्ने गरेका छौ किनकि यो टनेल हाम्रो साथी भास्करले बनाएका हुन्। सिभिल इन्जिनियर भएपछि उनले टनेल प्रविधिमा नै विद्यावारिधि गरेर टनेल विशेषज्ञ बनेका रहेछन्। दुखको कुरो उनी चाडै बिते ५० वर्षकै उमेरमा।  डिल्लीजङ्ग पनि चाडै नै बितेका थिए ५२ वर्षमा। डिल्लीजङ्ग थापाले नेपालमा सुरु गरेको टनेल प्रविधि करिब एक सय वर्ष पछि अर्को नेपाली भास्कर थापाले विश्वको अत्याधुनिक प्रविधियुक्त टनेल अमेरिकामा बनाए।

डाक गाडीभित्र 'पिगलेटको दुनियाँ'मा धेरै र बिच बिचमा होस सम्हालेको जस्तो गरी गुडिरहेको गाडीको झ्यालबाट बाहिरको मनोरम दृश्य हेर्दै गरिरहेका थिए वेदप्रसाद। धुलो कम हुँदै गएको थियो अमलेखगन्जको दाँजोका। त्यो टनेलबाट निस्के पछि त अलि पहाडको गेगर र चट्टानी भूभागमा आइपुगेकोले होला धुलो कम र एकै मुस्टमा झ्यालबाट आएको हलका चिसो हावाले झोक्का दिइरहेको थियो। घुम्तीहरू एकपछि अर्को अर्को कहिले नसकिने गरी आइरहेका थिए।

पहाडका शृङ्खलाहरू देखिन्थे अग्लो हुँदै गइरहेका। पहाडको शिरलाई लेख भन्छन् भने पुछारलाई बेसी। अर्को शब्दमा भेदी। त्यसैले हरेक पहाडको फेद नभए त्यो अड्ने कसरी? तराइदेखि हिमालसम्म यस्तै ‘सात साङ्लो’ बनेर अडेको देश हो नेपाल। यो नै हाम्रो पर्यावरण हो।

तर अहिलेका नयाँ नेपाल बनाउन भनेर आएका गणतन्त्रका नयाँ शासकहरू चाँडो पैसा कमाउन चुरे नै उत्खनन गरेर बेचिरहेका छन्। सबभन्दा जोगाउनु पर्ने नै चुरे हो किनकि सबभन्दा कमजोर छ यो सात साङ्लोमा। तर बजेटमा नै ठाडै लेखे चुरे मास्ने कुरा। कसरी अड्छ यो शृङ्खला, यो प्रकृतिले बनाइदिएको इन्जिनियरिङ भत्काएर। कसरी जोगिन्छ पर्यावरण? कसरी अड्छ यो देश? त्यति वेलाको हुकुमी शासनको शोषणमा पनि पैसा कमाउने लोभमा मुलुक मास्ने अपराध चाहिँ गर्दैनथे। त्यसैले गाडी गुडिरहँदा पर्यावरणसँग गरिएको बलात्कार कतै देखिँदैन थियो। यत्तिकैमा हरियो डाँडाको जङ्गलको फेदमा घरहरू देखिन थाले। गाडीमा बसेका यात्रुहरू भन्न थाले - ए ! त्यो पर हो बजार। आइ पुग्न लागि हाल्यो नि! भीमफेदी। नेपालमा नाम चलेको बजार थियो भीमफेदीको ।

शासकको नामबाट राखिएको नाम होइन भीमफेदी। अर्थात् श्री ३ भीम शमशेरको नामबाट। करिब ५ हजार वर्ष अगाडि महाभारतको कथासँग जोडिएको छ यो ठाउँ। पाँच पाण्डवको १४ वर्षको वनवासको अवधिमा युधिष्ठिरका माइलो भाइ भीमसेन काठमाडौँ जाँदै थिए। अहिले हेटौडा भनिने ठाउँमा राक्षस हिडम्बेश्वरसँग उनको युद्ध भयो र सुलह स्वरूप उसले आफ्नी बहिनी भुटनदेवीलाई विवाह गरिदिए भीमसेनसँग। र, हिडम्वाबाट नै अहिलेको हेटौँडा नाम रहन गएको। धुरसिंङहुदै त्यो फेदीमा पुगेर भीमसेनले बास बसेको हुनाले भीमफेदी भएको भन्ने श्रुति रहेको भनेर पुरातात्त्विक अनुसन्धानकर्ता साफल्य अमात्यले उल्लेख गरेका छन्। नेपाल त तपोभूमि नै हो ऋषिमुनि र देवताहरूले बास गरेको ठाउँ।

दुवैतिर डाँडाहरूको बिचबाट फाँटतिर जाँदै थियो त्यो गाडी। त्यसैले तलसम्म देखिने तल्लो पाखा देखिँदैन थियो। परको डाँडामा लाली गुराँस लटरम्म फुलेका। चिसो हावाको सिरेटो। जाडो भएको थियो वेदप्रसादलाई। तर त्यो भिरेको झोलाबाट स्वेटर झिकेर अझै लगाएनन्। त्यति जाडो सहँदा उनलाई रमाइलो नै लागेको थियो। दृश्य रमणीय थियो हुस्सुको ओहोरदोहोरले। हुरहुरती आउँथ्यो केही नदेखिने गरी ढाकेर। फेरि जान्थ्यो त्यो रमणीय दृश्य उघारेर। यो आलोपालो हेर्दै थिए वेदप्रसाद गाडीबाट। यत्तिकैमा त्यो डाक गाडी बजार पुगिसकेको थियो। र, अड्यो त्यहाँ।

बाल सङ्गातीसँग वेदप्रसाद लोहनी  युवा अवस्थाको पहिरनमा । बायाँतिर नेत्रबहादुर बस्नेत र दायाँतिर पवन वीर पाण्डे । 

दाँत मिलेको जस्तो लहरै सडकको दुवैतिर धेरै जसो तीन तले घरहरू बार्दली र झ्यालहरू सडकतिर फर्केका। अरूतिर हरियो डाँडाहरू। त्यति वेला भीमफेदी ठुलो बजारको रूपमा चिनिन्थ्यो। तर प्रशासनिक केन्द्र भने थिएन जस्तो गौडा, गढी र गोश्वारा। यसको ७ किलोमिटर उत्तरपट्टि थियो चिसापानी गढी, कुलेखानी पुग्नु अगाडि। पछि भीमफेदी बन्यो जिल्ला सदर मुकाम तर सर्‍यो हेटौडामा अझ पछि। यो धेरै चर्चामा आएको त्यति वेला अर्को कारण थियो। त्यो थियो काठमाडौँ लगिने मोटर गाडी। राणा शासकहरूलाई काठमाडौँमा हात्ती, घोडा र बग्गीपछि चढ्ने सवारी साधन बन्यो मोटर गाडी। 

गाडीको अन्तिम बिसौनीमा हुने हल्लाखल्ला। त्यो बेलाको गरिबीमा बाच्नु परेको थियो कुनै पेसा गरेर। त्यसैले माल उठाउने गरिबहरू तँछाडमछाड गर्ने नै भए। डाक गाडीमा भने घेर्न आएका थिएनन्। सरकारी डाक बोकेको गाडी हुनाले हल्लाखल्ला थिएन। बोलाएपछि मात्र आउँथे। वेदप्रसादले बोलाए एउटा केटोलाई जो नाम्लो बोकेर उभिरहेको र बोलाउलान् कि भनेर उनीपट्टि लोभिएको आँखाले हेरिरहेको थियो। मैलो अङ्गा, कछाड र घेरा फाटेको टोपी लगाएको त्यो केटो मायालु देखिन्थ्यो। अब विश्रामको थलो खोज्नु पर्ने भयो। सबै जस्तै थाकेका थिए वेदप्रसाद पनि कलकत्तादेखि रक्सौल हुँदै आएका। सूर्य नारायण पनि थाकेर होला विश्राम गर्न लाग्दा घाम पहेँलो बनेको थियो।

वेदप्रसादले त्यो केटोलाई सामान पुर्‍याउने ठाउँ भने। बास बस्ने होटेल उनले आफ्नै ठाउँ बनाएका थिए। सधैँ आउने ग्राहक भएकोले होटेल मालिक त्यो भाजुले पनि इस्टको व्यवहार गर्थ्यो। मूलतः बजार पुरा नेवार बस्ती थियो। अनि त्यस्तै गाउँमा भने मूलतः तामाङ र मगर। नेपालको अरू ठाउँमा पुगे जस्तै तीन सहर काठमाडौँबाट गएका ती व्यापार व्यवसाय गर्न भीमफेदीमा पनि। यस क्रममा पुगेका थिए करिब दुई सय वर्ष जति अगाडि। 

जुन हामी ‘जेन्ट्रिफिकेसन’ को अर्थात् सहरमा विपन्नको बसोबास सम्पन्नले लिँदै जाने प्रक्रियाको कुरा गर्दछौ त्यो विश्वव्यापी नै छ। तुलनात्मक रूपमा विश्वमा सायद अमेरिका बढी होला। नेपालमा नै हेरौँ न अहिलेको बन्दिपुर बजार एक सय पचास वर्ष अगाडि काठमाडौँबाट गएका नेवारहरू पुग्नु अगाडि मगरहरूको बस्ती थियो। पोखराको लेक साइड जुन बैदाम हो त्यहाँ बोटे, सार्की, दमाईहरू बस्थे मूलतः तालको वरिपरि। धनी जादैनथे त्यहाँ औँलो लाग्छ भनेर। त्यसैले बस्थे विन्ध्यवासिनी वरिपरि। अनि त पोखराको बजार त्यतै बस्यो पहिले। काठमाडौँको बुढानीलकण्ठका पुराना बासिन्दा ९० प्रतिशत लाखापाखा लागिसके। मूलतः राजनीतिज्ञ र पूर्व सरकारी पदाधिकारीरूपी नव धनाढ्यले भरिँदै गएको छ।

दक्षिणबाट काठमाडौँ आउने एउटै मात्र बाटो भएकोले भीमफेदीको चहलपहल ज्यादै थियो। पूर्व प्रधानमन्त्री टङ्क प्रसाद आचार्यको पिता समेत त्यहाँ होटेल चलाएर बसेका थिए। बजार भरी भरिया देखिन्थे काठमाडौँ लैजाने माल ओसार्न या मान्छे बोक्न। वेदप्रसाद आफूले चिनेको होटेलमा पुगेर साहुसँग भलाकुसारी सके पछि सामान कोठामा राख्न लगाए। सुकुलको म्याट्रेस ओछ्याएको त्यो कोठामा लहरै सुत्न पाइन्थ्यो। यो सुविधा लिन त्यही होटेलमा खाना खानु पर्थ्यो। खाना खाएपछि सुत्न पैसा नलाग्ने, फ्री।

सुरक्षित काठमाडौँ छिर्ने नाका र भारत जाँदा आउँदा एक बास बस्ने, नास्ता पानी र विश्रामगर्ने ठाउँ भएको हुनाले होला त्यति वेलाको नेपालमा राणाले गर्ने विकासका पूर्वाधार सबै थिए भीमफेदीमा। पानी जम्मा गरेर पाइपबाट वितरण गरिएको थियो।

उनको लागि चाहिँ दुई जना मात्र सुत्ने कोठाको सुविधा दिएको थियो भाजुले इष्ट मानेर । आध्यात्मिक चिन्तनका र अनुशासनमा बसेका वेदप्रसाद हात मुख धोएर पानी कलकल करुवाबाट पिएपछि बजार सँगैको भीमसेनको मन्दिरमा दर्शनगर्न हिँडे। चन्द्र शमशेरले बनाउन लगाएको काठमाडौँपछिको ठुलो अस्पतालको अगाडि थियो त्यो मन्दिर। परैबाट देखे स्थानीय ढुङ्गा छापिएको मन्दिर परिसर र त्यो सानो मन्दिर। दुई फक्लेटाको ठुलो ढोकाहरू र हरेकमा आँखा कुदिएका ती दुवै फक्लेटा उदाङ्ग खोलिएका थिए। मतलब, मन्दिर खुला थियो। भीमफेदीबासीले भीमसेनलाई आफ्नो इष्ट देवता मान्दछन्। र, थानसिंङे लोहनीहरू पनि मान्छन् आफ्नो एक कुल देवता।

सुरक्षित काठमाडौँ छिर्ने नाका र भारत जाँदा आउँदा एक बास बस्ने, नास्ता पानी र विश्रामगर्ने ठाउँ भएको हुनाले होला त्यति वेलाको नेपालमा राणाले गर्ने विकासका पूर्वाधार सबै थिए भीमफेदीमा। पानी जम्मा गरेर पाइपबाट वितरण गरिएको थियो।स्कुल थियो। अस्पताल थियो। सरकारी घरहरू। काठमाडौँको जस्तै हात्तीसार जहाँ विशेष खालका ऐतिहासिक हौदाहरू र काठीहरू थिए। रण बहादुरले काठमाडौँबाट भागेर बनारस यही बाटोबाट गएका थिए। आफैले राज सिंहासनमा राखेको नाबालक छोराको चार वर्षपछि मुख्तियार हुन फर्केर आउँदा पनि यही बाटोबाट आएका थिए। साथमा सँगै फर्केका भीमसेन थापा पनि।

जङ्ग बहादुरले सत्ता लिएपछि त राणा सानसौकतको दरबार बन्यो भीमफेदीमा। त्यस्तै राजा सुरेन्द्रको लागि पनि। जङ्ग बहादुरले राजा राजेन्द्र र कोत पर्व गराउने रानी राज्यलक्ष्मी, जसले उनलाई सत्ता बुझाइन्, यी दुबैलाई यही बाटोबाट बनारस काशीबास पठाइदिएका थिए। रानीलाई पूर्ण सम्मानको साथ पालकीमा हालेर। बाटो नै यही एउटा मात्र थियो। राजाहरूले सिकार खेल्न तराइको जङ्गल जाने आउने बाटो भीमफेदीको। त्यसरी जाँदा राजा महाराजाले लावालस्कर लगाएर रिसल्ला सहितको घोडामा या रानीहरू पाल्कीमा। वेदप्रसादको र अरू सबैको पनि हिँड्ने बाटो यही नै थियो। वेदप्रसादले एक चक्कर लगाए वरिपरि। हेरे फराकिलो हरियो गराहरूमा कुदिएका घरहरू, गुम्बाहरू, बस्ती र बजार भीमफेदीको।

झमक्क नै हुन लागिसकेको थियो। त्यसपछि होटेलमा आए उनी। भात त उनी बाहिर खाँदैन थिए। रोटी तरकारी र एक बटुको दूध खाएर कोठामा छिरे। लालटेनको धमिलो उज्यालोमा देखे अर्को एक यात्री सुतिसकेको। त्यो को थियो उनको चिनजान नै भएन। आफ्नै बेडिङ खोले र त्यसलाई फैलाएर त्यसैमा सुते। सुत्ने अगाडि लालटिन निभाए। अझ त्यो भन्दा अगाडि टर्च लाइट झिकेर सिरानीमा राखिसकेका थिए। ओछ्यानमा पर्ने बित्तिकै फेरि उनी ‘पिगलेटको दुनियाँ’मा पुगे। त्यसैले निन्द्राको दुनियाँबाट सपना देख्दा उनी ‘पिगलेटको दुनियाँ’बाट त्यहाँ पुगेका थिए।

वेदप्रसाद वास्तवमा पछि ‘पिगलेटको दुनियाँ’बाट नै उठेका मान्छे हुन पुगे आर्थिक रूपबाट। के हो ‘पिगलेटको दुनियाँ’? यो अनुपम संयोजन हो धरातलीय यथार्थता र वेदप्रसादको सपनाको। यो रोमाञ्चकारी छ। जति इतिहास छ त्यति अठोट छ। हामी छलफल गर्ने छौँ।

वेदप्रसादबारे वसन्तका लेख



Author

थप समाचार
ad
x