सप्ताहन्त

संस्मरण र अनुभूति- २९

भौँतारिएका वेदप्रसादले गरेको जोहो

वसन्त लोहनी |
कात्तिक १९, २०७९ शनिवार ७:११ बजे

वेदप्रसाद सिरिजको २८ औँ शृङ्खला दसैँ अगाडि असोज १ गते छापिएको थियो इकागजमा । र, तिहारपछिको शनिवार कार्तिक १९ गतेको लागि यो २९ औँ लेख्न बसेको छु । ५० दिनमा यो छापिँदै छ । दसैँ तिहारको छुट्टी परेको भने पनि केही विलम्ब त भएकै हो । कारण बन्यो मेरो हार । अर्थात्, चाडबाडसँगै आएको जाँगरमरुवा भावले लेख्ने भावलाई जितेको हुँदा । यो नै मेरो नियति बनेर आएको छ जीवनमा । गरुँला, गरिहाल्छु नि भनेर विलम्ब गर्दै जाँदा समय सकिँदै जाने । र, जीवन करिब सकियो पनि यसरी नै । त्यसरी नै जसरी म कहिले काहीँ लाचार भएर हेरिरहेको हुन्छु ती अग्लिँदै गएका कितापका चाङहरूलाई जुन पढिहाल्छु नि भन्दाभन्दै बढ्दै मात्र गइरहेका छन्।

वेदप्रसादले पहिले नै यो देखेको हुँदा मलाई बारम्बार सचेत गराउन अङ्ग्रेजी एउटा कहावत सुनाइ रहन्थे । त्यो थियो - ‘प्रोक्रास्टिनेसन इज् द थिफ अफ टाइम’ अर्थात् विलम्ब समय चोर हो । यस्तो कुरा गरेर म उम्किन भने सक्तिन प्रिय पाठकहरूप्रतिको मेरा जिम्मेदारीबाट । यो सार्वजनिक प्रतिबद्धता थियो । त्यसैले ख्वामितसँग क्षमा याचना गर्दछु । र, भन्छु - म नियमित हुनेछु एकपछिका अर्का यी शृङ्खलाहरूलाई स्पर्श गर्दै जाने यो क्रममा जबसम्म यी मिलेर बनेको शृङ्खलाहरूको समग्र दृश्यले पुस्तकको आकार लिँदैनन् । 


५० दिनले ५० दिन नै सम्झायो । अहिलेको ५० दिनले मेरो केटाकेटीको ५० दिनलाई अनायास तर झ्वाम्म मेरो अगाडि ल्याइदिएको छ । ती दिनहरू यती मायालु थिए अनायास सम्झँदा पनि द्रवीभूत भएर भरिन्छु म । मीनपचास भनिन्थ्यो । मीन भनेको माछा । र, मङ्सिरको २१ गते देखि माघको १० गते सम्मको त्यो पचास दिन, भनिन्थ्यो माछालाई पनि जाडो हुन्थ्यो काठमाडौँमा । अहिले कहाँ गयो त्यो खालको जाडो? मान्छेको लोभले खायो ।

लोभबाट जन्मेको प्रकृतिसँगको वैमनस्यपूर्ण सम्बन्धले अनवरत खादै गएको छ विश्वव्यापी तापक्रममा वृद्धि हुँदै गएर । यसबारे मार्च ४, २००१ मा छापिएको थियो ‘एन एन्टोगोनिस्टिक रिलेसनसिप’ शीर्षकको एउटा विश्लेषण दि काठमाडौँ पोस्ट दैनिकको मेरो आफ्नो स्तम्भ 'दि डायनामिक्स अफ चेन्ज' मा । मान्छेको लोभ प्रदत्त विश्वव्यापी तापक्रम वृद्धि नै कसरी कारण बनेको छ समग्र धरतीको सङ्कटको भन्ने बारेमा । अन्ततः मान्छेको आफ्नै अस्तित्व समाप्तिको।

त्यति वेलाको काठमाडौँमा त्यो माछालाई पनि जाडो हुने यामले गर्दा स्कुल कलेज बन्द हुन्थे । हामी भुराहरूको खेलबाड एक्कडी दुक्कडी, डन्डी बिउ, भोगटेको फुटबल खेल्ने र घर अगाडिको गल्लीमा टायर गुडाउनेमा मात्र सीमित हुँदैन थियो । हाम्रो साहसको काम नै सुरु हुन्थ्यो । काठमाडौँको तोकिएको सीमित घेरा काटेर पर कता कता बादल पारिको देश पुगेको जस्तो हुन्थ्यो जब हामी एउटा झुन्ड बनेर दिनभरि उकाली ओराली हिँडेर पुग्थ्यौ त्यहाँ । हाम्रो गाउँ नुवाकोटको थानसिङमा । यसको सचित्र वर्णन मैले पहिले पनि गरिसकेको हुला मेरो बाल्यकालको धुमिल सम्झनामा रङ भर्दै गरेर।

तर केही दिन अगाडि अझ प्रस्टसँग देखे मैले जब दाइ प्रा . डा . मोहन प्रसाद लोहनीको सम्झनाको गोरेटोमा कुद्ने मौका पाए । जङ्ग बहादुरको काँधमा खेलेर हुर्केकी पहिलो वडागुरुज्यू विजय राजको नातिनी कल्पकुमारीको देहान्त २००६ सालमा भएकोले उनको छोरा रुद्रप्रसाद त्यसपछि २००८ सालमा मात्र थानसिङ गएका थिए । उनीसँग मोहनप्रसाद पनि गएका, अरू चार जना सहित ।

जसमा वेदप्रसादको माइली छोरी अम्बिका पनि थिइन् । त्यति वेला उनको विवाह भएर लोहनीबाट पाण्डे भइसकेकी थिइन् । मेरी आमाले भनेको झट्ट सम्झे - मैले त जन्माइदिएको मात्र हु । विवाह नहुन्जेल उसैले सह्यारेकी हो तँलाई । १९९४ सालको श्रावण शुक्ल पूर्णिमाको दिन जन्मेकी । चन्द्रमाको जस्तो सोह्रै कला नभए पनि धेरै कलाहरू लिएर जन्मेकी थिइन् । यो दिन हिन्दुहरूको महान् चाड जनै पूर्णिमाको दिन हो । एउटा असल र अत्यन्त गुणी मान्छे थिइन् सेवा धर्म अङ्गीकार गरेकी उनी । मोहन लोहनीको विवरण सुनेपछि अझ प्रस्टसँग देखिरहेको छु म मेरो मायालु दिनहरू र ती दिनहरूमा गरेको यात्रा।
 
अहिले जति नजिक छ त्यति वेला त्यति नै त्यो दूरको यात्रा थियो । ज्ञानेश्वरको घरबाट बालाजुको रानीवन हुँदै जीतपुर फेदी । त्यहाँबाटको ठाडो उकालो पाँचमाने सम्मको । अनि उत्तर तिर ककनी पुगेको । त्यहाँबाट डेढ घण्टाको पूर्वतिरको टोपी खस्ने ओरालो । धारापानी हुँदै पानी घट्ट र पौवा भएर झरे पछि सिँदुर खोला तर्ने बित्तिकैको कृष्णको पसल । मैले चाहिँ रामकृष्णको पसल भन्थे उसको छोराको नामबाट । सायद त्यो नाम नै रह्यो पछि । त्यो पिपलको चौतारी कटेर हलका उत्तरतिरको उकालो पछिको हाम्रो तिन तले अगाडि पछाडि दुबैतिर बार्दली भएको घर । पूर्व तल थानसिङ फाट र लिखु खोलातिर फर्केको, पश्चिम सिँदुरे खोला । गाउँमा एउटै मात्र थियो यस्तो घर गाउँको टुप्पोमा । 

त्यो घरबाट नै कवि बनेर निस्के लक्ष्मण लोहनी २०११ सालमा त्यही बसेर ‘ थानसिङे कान्छी’ लेखेपछि।आफ्नो “प्रिय छात्र” भनेर त्यसको भूमिका महाकवि देवकोटाले नै लेखेका छन् । त्यो घरमा जन्मेका थिएनन् वेदप्रसाद । तर त्यो घरले सँगालेको नेपालको एकीकरणमा पृथ्वीनारायणसँगै युद्ध मोर्चामा लडेका सुनुवा लोहनीको आँट र जुझारुपन र जिजु बाजे पशुपति लोहनीको सन्त मूल्य र मान्यतासँग लयबद्ध थिए उनी ।

त्यसैले ज्ञानेश्वरको घरमा वेला बखत सुनिन्थ्यो पाको मान्छेहरूले भन्ने गरेको यो - ‘पशुपति लोहनीको धर्मले गर्दा खाएका छौ तिमीहरूले।’ त्यो धर्मभीरु मान्यता र त्यो जुझारुपन श्वास प्रश्वास गरेका वेदप्रसाद कुनै कुरो पनि असम्भव ठान्दैन थिए । लगन चाहिन्छ, स्थिरचित्त चाहिन्छ अनि असम्भव केही पनि छैन भन्ने विश्वास र तागतले गर्दा 'सरस्वती सदन'को निर्माण गरेर आफ्नो व्यावसायिक क्षमताको आँटिलो र उत्कृष्ट क्षमता देखाइसकेका थिए वेदप्रसादले । उनी आर्थिकरुपमा स्थापित हुने सङ्घर्षमा थिए । यसको लागि २००१ सालमा जन्मेको छोराको नामबाट स्थापना गरेको प्रकाश इन्जिनियरिङ कम्पनीबाट त्यो परिवेशले थिचिरहेको गुरुत्वाकर्षणबाट उठ्नको लागि जुझिरहेका थिए।

यसै क्रमबाट सुरु भएको हो वेदप्रसादको ‘पिगलेटको दुनियाँ’ । यसको थालनी कलकत्ताबाट काठमाडौँ आउँदा एनजिआर भनिने नेपाल रेलवेको फलेक ठोकेको डिब्बामा उनले सेनाले लिलाम गर्न लागेको पिगलेट बारे सुनेदेखि बन्न थालेको हो । देव शमशेरको पालादेखि पड्काउन थालिएको तोपबाट झरेका खोकाहरू जसलाई पिगलेट भनिन्थ्यो त्यसको रास गठ्ठाघरमा थुपारिएको देखेर उनी मुग्ध थिए । प्रत्येक खाकामा उनले सुन सरहको धन देखेका थिए ।

यसरी आफैभित्र हराएको वेदप्रसादको अवस्था थियो । यसरी हराउँदै जाँदा कता कता विष्णु शर्माले लेखेको पञ्चतन्त्रको सोमशर्मपितृकथा, जुन सोम शर्मा र सातुको लोक कथा बनेर प्रचलनमा छ, त्यसको नजिक पुग्न लाग्दाको आनन्दमा थिए । तर ठुलो फरक थियो । कर्मवीर वेदप्रसाद हराएका थिए कर्म नै भगवान् हो भन्ने विश्वासको चिन्मययतामा।

पञ्चतन्त्र अपार ज्ञानको सागर हो । मूलतः जनावरहरूलाई लिएर बुनिएका सन्देशमूलक कथाहरू यी । अङ्ग्रेजीमा भनिने ‘एलिगोरिकल फेबल्स’ । यसरी बुनिएका पञ्चतन्त्रका कथाहरूले अभिव्यक्त गरेको एउटा सम्मिलन हो  आध्यात्मिकवाद र भौतिकवादको । विवेकानन्दले यही नै कुरा भनेका हुन् आफ्नो जिन्दगीभरि हरेक प्रवचन र लेखनमा । धर्म जसले आध्यात्मिकवाद सिकाउँछ अर्थात् मान्छेको अन्तर्मनभित्रको यथार्थता । त्यो विज्ञान अर्थात् भौतिकवादसँग मिलाउन सक्यो भने मात्र मान्छेको सम्पूर्णता अभिव्यक्ति हुन सक्छ । अचम्मसँग एउटा सम्झना आयो यतिखेर ।

जहाँ बसेर वेदप्रसाद काम गर्थे एउटा सानो कोठा जसमा पूर्वतिर र दक्षिणपट्टि पनि झ्याल थिए त्यसलाई अफिस भनिन्थ्यो ज्ञानेश्वरको घरमा म सानो छदा । त्यो अफिसको कितापको र्याकमा 'सेलेक्टिभ वर्क्स अफ स्वामी विवेकानन्द' शीर्षकका केही भाग किताप थिए । त्यसमध्येको कुनै पढेको कारणले होला मैले त्यति वेला लेखेको कविता जुन मैले रेडियो नेपालमा पाठ गरेको थिए त्यो सम्झे अहिले । सम्झेको दुई हरफहरू हुन्-
'आध्यात्मिकवाद र भौतिकवाद
मिलाउन नसके हुन्छ फसाद'

पञ्चतन्त्रको यो सोम शर्माको बाबुको कथाको निष्कर्ष छ - अनागतवतीं चिन्ताम् इति । अर्थात् यसको अनुवादमा तिलकप्रसाद लुइँटेल भन्छन्, ‘अनावश्यक चिन्तागर्ने व्यक्तिको पनि सोम शर्माका पिताकै जस्तो दुर्गति हुन्छ’ । यो दुर्गति लोभ प्रदत्त चिन्ताले गर्दा भएको हो । वेदप्रसाद कल्पनामा आकाशमा उडिरहेका थिए, हराएका थिए तर उनमा न चिन्ता थियो, न लोभ । भावना एउटै मात्र थियो । उद्देश्य एउटै मात्र - उठ्नु पर्दछ जीवनमा असल मान्छे भएर, असल कर्म गरेर ।

त्यसैले वेदप्रसाद हराएका थिए मात्र कल्पनामा । हावामा होइन सोम शर्माको बाबु जस्तो । या यस अर्थमा न स्पेनको पुनर्जागरण युगका सुरुवातकर्ता सर्भान्टेजले सिर्जना गरेको डन किहोटी जस्तो जो हावामा तरबार चलाएर लडाइ जितेको आनन्द लिइरहेको थियो । वेदप्रसादलाई आफू उभिएको धरातल राम्ररी थाहा थियो र दरोसँग उभिएका थिए त्यो धरातलमा । हो त्यतिखेर आफैमा हराएका थिए । 

वेदप्रसाद लोहनी, आमा तोयकुमारी, श्रीमती नारायणी देवीसँग । अगाडि कान्छी छोरी सरिता । पछाडि माइली छोरी अम्बिका र छोरा प्रकाशचन्द्र लोहनी ।
 
यत्तिकैमा कार्यालय समय सकिएको घोषण गर्दै सबैलाई गठ्ठाघरबाट निस्कन एउटा सैनिक अधिकृतले अनुरोध होइन आदेश दिए । वेदप्रसादले आफ्नो घडी हेरे, वेस्ट एन्ड बाच । ठ्याक्कै चार बजेको रहेछ । दस बजेतिर त्यहाँ पुगेका वेदप्रसादले ६ घण्टा त्यहाँ बिताएको पत्तै भएन । बल्ल उनीले आफैसँग प्रश्न गरे - कसरी बित्यो ह, ६ घण्टा यहाँ? चलचित्रको दृश्यहरू आएजस्तै बिहान त्यहाँ पुगेदेखिका सबै दृश्यहरू क्रमबद्ध भएर आए । त्यो पिगलेटको रासलाई उनले अनेकौँ पटक घुमे, मन्दिर घुमेजस्तो गरेर । हरेक कोणबाट हेरे, हरेक कोणबाट हिसाब गरे त्यसको परिमाणको अन्दाज गर्न।

उचाइ हेरे, लम्बाइ-चौडाइ हेरे, त्यसको व्यास हरे । सकेसम्म नजिक गएर हेरे । तर छुन निषेध थियो । यसै गरेर अनेकौँ पटक घुमे जसको हेक्का रहेन उनीलाई । अनि त्यसपछि गठ्ठाघरको त्यो चउरको एउटा कुनामा पारिले घामको न्यानो राप लिएर हेरिरहे पिगलेटको रासलाई । यो पटक उनी पिगलेटलाई हेरिरहेर ‘पिगलेटको दुनियाँ’बाट अलि पर पुगे । र, हराए आफैभित्र । आफैसँग गरेको प्रश्नले सिनेमा देखाएको जस्तो गरेर उत्तर देखायो । बल्ल उनले चारैतिर हेरे । लिलाममा राखिएको त्यो पिगलेट हेर्ने उनीजस्तै हेर्न आएकाहरू फर्कँदै थिए गठ्ठाघरबाट । कोही निस्केर टुँडिखेलको डिलमा पुगिसकेको थिए । उनी पनि फर्के बिहान आएजस्तै डिल डिलै ‘सरस्वती सदन’ तर्फ जहाँ उनले बिहान आउँदा साइकल राखेका थिए।

हिँड्ने मान्छेहरू धेरै थिए टुँडिखेलको दुवैतिरको डिलमा । टुँडिखेलमा हिँड्न पाइँदैन थियो । त्यो परेड ग्राउन्ड त केवल राणाहरूको आमोद प्रमोदगर्ने ठाउँ घोडा चढेर । त्यसैले हिँड्ने डिलमा पैदल ट्राफिक जाम जस्तै हुन्थ्यो । अड्डा सकेर आउनेहरू, दरबार स्कुल र त्रिचन्द्र कलेजका विद्यार्थीहरू, खेलाडी र पाटनतिर जानेहरू । सानो टुँडिखेल सर्वसाधारणलाई खुला थियो । त्यहाँ जानेहरू केहीमा जोस र हतारो थियो । ती थिए फुटबल खेल्न जानेहरू ।

अलिअलि क्रिकेट खेल्नेहरूको समूह पनि बनिसकेको थियो । डिलको बाटोबाट यी सबलाई छिचोल्दै वेदप्रसाद अहिलेको रत्न पार्क तर त्यति वेलाको रानीपोखरीको किनाराको पाटी भएको ठाउँतर्फ आइपुगे । र, सुस्तरी हिँडिरहेका थिए ‘सरस्वती सदन’ तर्फ।

बिहान ९ बजे भात खाएर हिँडेको मान्छे भोकाएका थिए तर थाकेका भने थिएनन् । सधैँ हतारोमा हुने मान्छे सुस्तरी हिँडिरहेको कारण चाहिँ उनी फेरि हराएका थिए आफैभित्र । पिगलेट हेर्दा भन्दा यो हराएको फरक थियो । उनी हराएका थिए बाटो नै नदेखिएको यात्रामा । गन्तव्य उनले देखिरहेका छन् । तर पुग्ने बाटो नै छैन कतै । तर वेदप्रसादको स्वभाव कहिले हार नखाने ।

बाटो नै छैन तर हार भने खादै नखाने । अनि के हुन्छ? शून्यको हिसाब जस्तो । शून्यमा शून्य जोडे पनि, घटाए पनि, गुने पनि या भाग गरे पनि, रहने त शून्य नै हो । यो शून्यताले गर्दा उनी सुस्तरी हिँडिरहेका थिए घर जानको लागि, बिहान राखेको आफ्नो साइकल लिन । उनको हालत त्यो निश्छल आँखाहरूले हरिरहेको बालकको जस्तो थियो जो हलुवाई पसलको बम्बईसन देखेर मुख मिठ्याइरहेको छ तर गोजीमा त्यो बिचमा प्वाल परेको गोलो चार पैसा पनि छैन।

साइकल राखेको ठाउँमा पुगे । खल्तीबाट साँचो झिकेर साइकलको पाङ्ग्रामा बाधेको चेनको ताल्चा खोले । फेरि सिटमुनि त्यसलाई बाँधेर ताल्चा लगाए । अनि साइकल अलिकति हुत्त्याएर चढेर प्याडल मारे । अप्ठेरोमा परेको वेला रोइरहेको शिशुमाथि आमाले रिस पोखे जस्तै गरी उनले पनि साइकलको प्याडल मार्न थाले । साइकल हुइँकिरहेको थियो तर उनी बेफिक्र थिए । यसरी घर आए पछि मात्र उनी शान्त भएर सोच्न थाले । आफूभित्र नहराएर सोच्न थाले । खरो व्यावसायिक रूपमा सोच्न थाले - के गर्ने भनेर? उत्तर शून्यको जोड घटाउको वरिपरि नै देखियो । शून्यमा बिलाउने कुरो त भएन । फेरि प्रश्न । के गर्ने? फेरि उत्तर शून्यको वरिपरि।

वेदप्रसादले त्यो पिगलेटको रासलाई पचास हजार रुपैयाँ भन्दा घटीमा हात लाग्न नसक्ने हिसाब निकालेका थिए । त्यसैले उनले भोलिपल्टै गएर सकारे त्यो रकममा । त्यस अनुरूप दस्खत गरे । ल्याप्चे लगाए र औँठीको छाप पनि । तोकिएको दिनभित्र रकम दाखिल गर्नु पर्थ्यो । तर उनको जागिर भने वर्षको १२०० खाने सुब्बा । त्यति वेला तलब वार्षिक रूपमा भनिन्थ्यो । त्यो सुब्बा पनि पद्म शमशेर आएपछि भर्खरै जसो भएको । महिनाको हिसाब गर्दा एक सय रुपैयाँ आम्दानी थियो । त्यो पनि धेरै जसो आफ्नो बाबुलाई बुझाउनु पर्थ्यो घर चलाउन।

करिब ४० जना सगोलको भान्छामा खाने परिवारमा कमाउने केवल तिन जना मात्र । वेदप्रसादको बाबु रुद्रप्रसाद गुरुज्यूको पल्टनको कप्तानको जागिर र वेदप्रसादको दाजु फणीन्द्रप्रसाद त्रिचन्द्र कलेजको प्राध्यापक । त्यति वेला प्राध्यापकलाई मीरसुब्बा सरहको कर्मचारी मानिन्थ्यो । त्यसैले वेदप्रसाद र रुद्रप्रसादको भन्दा उनको तलब बढी थियो ।

राणा कालमा तलब स्केल नै अत्यन्त कम । नगद प्रवाह यो हैसियतको थियो परिवारको । वेदप्रसादले पचास हजार बुझाउने कबुल गरिसकेका छन्।त्यति वेला जमीनको भाउ नै नभएको र नगदको अत्यधिक । त्यति वेला १०० रुपैयाँमा एक रोपनी जमीन भनेको ठाउँमा किन्न सकिन्थ्यो काठमाडौँभित्र । तर १०० रुपैयाँ सँगाल्न धेरै गाहारो।

उनको जन्मजात स्वभावको बारेमा एक शब्द यहाँनिर भन्नै पर्ने हुन्छ । ठुलो ठुलो सङ्कट पर्दा पनि वेदप्रसाद विचलित भएको मैले कहिले देखिन । हुकुम लिएका राजाले नै सिद्ध्याउन खोज्दा पनि उनी एक्लै लडेका थिए । लडेको मात्र होइन विजयी भएका थिए । यसबारे म पछिल्लो समय-प्रवाहले स्पर्श गरेपछि लेख्ने छु । उनको तागत उनले भन्ने गरेको तलका हरफहरूले अर्थ्याउ छन्-
'हारिये ना हिम्मत बिसारिये न राम, 
तू क्यों सोचे बंदे सब की सोचे राम।'
अर्थात्, भगवान्मा पूर्ण विश्वास र आफूमा पुरा भरोसा । यो स्वभावले गर्दा उनी हरेस खान सक्तैन थिए । हिम्मत हार्ने कुरो त उनीभित्र थिएन । त्यसैले होला एक सय रुपैयाँ खाने सुब्बा उनी ५० हजार जम्मागर्ने आँट लिएर सोचिरहेका थिए, शून्यको वरिपरि चक्कर काटेर । 
भगवान् कृष्णको कृपा भएमा लाटोले बोल्न सक्छ र लङ्गडोले पहाडको टाकुरा काट्न सक्छ भन्नेमा विश्वास थियो उनको जसरी तलको हरफमा भनिएको छ -
मूकं करोति वाचालै पंगु लंघयते गिरिम्।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम्।।
उनी त कर्मवीर मान्छे इमान जमानको । कर्म गर्न कहिले पछि नहट्ने।

भगवान्मा पूर्ण विश्वास र आफूमा पुरा भरोसा लिएर उनी भौँतारिन थाले । कता कता त्यो वालक जस्तो भएर जसको आँखा केवल आकाशमा काटिएको चङ्गामा छ र कहाँ हिँडिरहेको छु भन्ने हेक्का नै हुँदैन उसलाई । यसरी उनी पुगे पैसावाल आफन्तकहाँ, इष्टमित्रकहाँ ऋृण माग्न । एउटैले त दिन सक्ने कुरा पनि थिएन।जो-जसले चाहे भने धेरथोर दिने हो । त्यो केबल उनको अनुहार हेरेर मात्र दिनु पर्ने हुन्थ्यो । केही त थिएन उनीसँग धितो राख्ने त्यो अनुहार बाहेक । तर जे थियो त्यो अनुहारमा नै थियो । जसले देख्न सक्थे, त्यहाँ इमान थियो, जवान थियो, आत्म विश्वास थियो, अनि भोलिको उज्यालो थियो । देख्न नसक्नेको लागि एउटा दुब्लो पातलो, श्यामल वर्णको केटो जो औकात नपुग्ने आँट बोकेर भौँतारिइरहेको छ।

सास फेर्ने फुर्सद थिएन वेदप्रसादलाई । वसन्तपुरको कुमारी घरको पूर्व लङ्गमा रहेको इन्जिनियरिङ स्कुलमा पढाउनु दिनभरि । सरकारी निर्माण कार्यको जिम्मा, सार्वजनिक निर्माण अड्डामा जागिर नै नखाएको भए पनि । कारण थियो अप्ठ्यारो कामको लागि उनी नै चाहिन्थ्यो । केही सिमेन्टको निजी घर उनले बनाउन थाकिसकेका थिए । हो, पैसा भएको र चाहना पनि तर हुकुम स्वीकृति ल्याउन नसक्नेले यस्तो घर बनाउन पाउँदैन थिए । समय नै त्यस्तो थियो - टालिएका झ्याल, प्लास्टर र रङ्ग नलगाएको साधारण घरमा बस्नु पर्ने । तर केही धनी र राजाबाट हुकुम स्वीकृति ल्याउन सक्नेले सिमेन्टको घर बनाउँदै थिए ।

र, यस्ता सबैको भरोसा उनी नै, मात्र उनी नै थिए त्यति वेला । त्यस्ता निर्माणको नाप नक्सा, सुपर्भिजन गर्न भ्याइनभ्याइ थियो । घर परिवारको जिम्मा । धन खोज्न भौँतारिने समयको पनि अभाव थियो । तर समय निकालेर भौँतारिरहेका थिए साइकल कुदाएर । कही आशा बने जस्तो, कही निराश हुनु पर्ने, पुगेका ठाउँहरूमा । तर भावपूर्ण स्वागत जहाँ पनि पाउँथे । यसको कारण थियो उनी हिरो थिए त्यति वेला ।  

कुनै लट्ठा वा टेवा विना हावामा अडेको जस्तो देखिने भर्खर बनेको सरस्वती सदनको क्यान्टिलिभर अर्थात् छज्जा देखेपछि रातारात वेदप्रसाद हिरो बनेका थिए । को मान्छे यो? कस्तो अचम्म गर्न सक्ने इन्जिनियर यो? कौतूहल थियो मानिसहरूमा रहस्यमय त्यो निर्माण देखेपछि । सिंह दरबार देख्ने मात्र होइन त्यहाँ बस्नेदेखि भैँमालबाट आउनेसम्मको लागि ‘सरस्वती सदन’ निर्माणगर्ने त्यो ‘विश्वकर्मा’ प्रति आश्चर्य, रहस्य र मिथकीय भाव थियो त्यति वेला । त्यसैले वेदप्रसादसँग भेट्न चाह बोकेका आँखाहरू हुन्थे । र, त्यस्तो निर्माणको रहस्य सुन्न कानहरू ठाडो हुन्थे । त्यसैले जहाँ जहाँ मनले खाएको ठाउँमा ऋृण माग्न गए उनी, त्यहाँ ऋृण नपाए पनि स्फूर्त स्वागत चाहिँ पाए । सरस्वती सदन त एउटा रहस्यमय निर्माण बनेको थियो त्यतिखेर । त्यो रहस्यमय निर्माणकर्ता झन् रहस्यमय!

त्यति वेलाको मान्छेको मनको रहस्यमय कौतूहल बुझ्न माघ १७, २०५४ को गोरखापत्रमा प्रकाशित पहिलो कवि सम्मेलन शीर्षकको एउटा लेखको केही हरफहरू हेरौँ । २००४ सालमा भएको नेपालको पहिलो कवि सम्मेलनको सन्दर्भमा सरस्वती सदन बारे जयदेव भट्टराई लेख्छन्, "भर्खरै बनेको सरस्वती सदन त्यतिबेलै धेरैको लागि आश्चर्यको विषय बनेको थियो ।

ढलान भएको घर, त्यति बेला कहाँ पाउनु? न कुनै खाँबो, न कुनै टेको, मान्छे कसरी अडिएलान भन्ने धेरैको चासो रे! डराइ डराइ ढलान माथि उभिन पनि गाह्रो मान्दै कवि साहित्यकार भेला भएका थिए रे! वेदप्रसाद लोहनीले बनाउनु भएको उक्त घर र त्यसै ऐतिहासिक सरस्वती सदनमा भएको कवि सम्मेलन बारेको चर्चा परिचर्चामा धेरैले बेग्लै अनुभूति गर्न पाए ।" 

सरस्वती सदनमा सबैको आँखा सर्वाधिक तानेको भनेको अगाडिको क्यान्टिलिभर या ह्याङिङ पोर्टिको हो । यसबारे कति चर्चा भए, कति कथा बने, कति मिथक जोडिए । यस्तै एउटा कथा छापिएको छ २१ श्रावण २०७५ को कान्तिपुर दैनिकमा । भैरव रिसाल लेख्छन्, " सरस्वती सदनको प्रवेशद्वारमाथि बाछिटा छेक्न भनी ह्याङिङ पोर्टिको पनि बनाइएको थियो रे । त्रिचन्द्र कलेजका एउटा कार्यकालका प्रिन्सिपल आशुतोष गांगुली सरस्वती सदन पस्दा त्यो पोर्टिको खस्ला र टाउको फुट्ला भनी जहिले पनि दौडेर पस्थे रे ।" मेरो आफ्नै भिनाजु ९० वर्ष काटेका कृष्णराज पाण्डे, जो गंगुलीको शिष्य थिए र पछि भवन विभागको चीफ इन्जिनियर पनि रहे लामो समय, उनले पनि यसको पुष्टि गरेका छन् मसँगको कुराकानीमा । 

हिरो बनेका वेदप्रसाद भौँतारिरहेका थिए सेनाले गरेको पिगलेट लिलाम उठाउन । महिनाको एक सय कमाउने मान्छेले ५० हजार जम्मागर्न । ६ महिनाभित्र व्याज सहित सावा फर्काउने सर्तमा उनी रातोदिन लागि परिरहेका थिए, जति जति तोकिएको दिन नजिकै आयो । मानिसहरूले उनको अनुहारमा भरोसा गरे । त्यत्रो सरस्वती सदन बनाउन सक्नेले आटेको काम पुरा अवश्य गर्छ भन्ने अठोट देखे वेदप्रसादको त्यो अनुहारमा । अनि हेर्थे परिबारलाई पनि । वेदप्रसादको परिवार नगद प्रवाहमा कम भएको भए पनि सम्मानित परिवार थियो ।    

जागिर खाएर घर चलाएर बसेका आफन्तले चाहेर पनि दिन कति नै सक्थे र! पाँच सय, हजार । दिन सक्ने त राणा र त्यस्तै जन्मिँदै धनी भएका परिवार नै हो । उनले ऋृण उठाउँदै गए । उनको राम्रो सम्बन्ध भएकोले नाति राजा भनिने जितेन्द्र बहादुर शाहले राम्रै रकम ऋृण दिए भने गुरुज्यू भोगेन्द्र राजले पनि केही । कतिले लगानीको अवसरमा पनि लिए यसलाई । किनकि खर्चगर्नको लागि त ऋृण लिएको होइन । पिगलेट लिनको लागि सरकारको ढुकुटीमा बुझाउनको लागि हो । सरस्वती सदन जस्तो निर्माण त गर्न सक्ने मान्छेले ६ महिनाभित्रमा पिगलेट बेचेर राम्रो व्याज सहित रकम फिर्ता गर्नेछ । एक दुई महिना ढिलो भयो भने पनि व्याज बढिरहेकै हुन्छ।

वेदप्रसादले मलाई मात्र होइन हाम्रो परिवारका अरू सदस्यलाई पनि सन्दर्भ निस्कँदा एउटा कुरा बारम्बार भन्ने गरेको धुमिल होइन टड्कारो सम्झना छ मलाई । यसरी ऋृण जुटाउने उनको प्रयासमा निर्णायक सहयोग एउटा व्यक्तिले गरेका थिए । हुन त ६ महिना नपुग्दै त्यो रकम ब्याज सहित उनले बुझाए । तर त्यो निर्णायक सहयोग उनले मृत्यु पर्यन्त कहिले भुल्न सकेनन् ।

सधैँ हृदयमा राखेका थिए । र, हामीलाई भन्थे - ‘तिमीहरूको जुन आर्थिक हैसियत बनेको छ अहिले त्यसको लागि तिनको ठुलो योगदान रहन गएको छ । त्यसैले कुनै पनि वेला तिनको सन्तानलाई सहयोग गर्ने मौका पायौ भने अवश्य त्यो गुन चुकाउनु।’ तर मलाई चाहिँ तिनको सन्तान को हुन् र कहाँ छन् सोको जानकारी अहिलेसम्म छैन । र, जीवनको यो उत्तरार्धमा म बबुरोले सहयोग गर्न सक्ने पनि के नै छ र?

वेदप्रसादले ती व्यक्तिले गरेको सहयोग पुरा विवरण यसरी सुनाएका थिए, मलाई । हेर बाबु ! सबैतिर घर घरमा गएर ऋृण माग्दा माग्दै पनि ५० हजार पुराउन सकिन । दुई दिन बाकी थियो रकम बुझाउने । बुझाउन नसके त्यति वेलाको कडा शासनमा जे पनि हुन सक्थ्यो । प्रयास गर्न म पुगे जावलाखेल । उनलाई राम्रोसँग चिनेको थिए । जुद्ध शमशेरको छोरा । भित्रिनी पट्टिको भए पनि अति पियारो छोरा । जुद्ध शमशेरका १७ भाइ छोरा मध्ये अधिकांश छोराहरू भित्रिनी पट्टीकै थिए । यो प्रसङ्गमा म जोडौँ एउटा कुरा । डा . आरजु देउवाको बाबु विनोद शमशेर, जो कोतेको छोरीपट्टिबाट जन्मेका थिए, उनको नातो त पछि अदालतले कायम गरिदिएर १८ औ बनेका हुन् । 

यी शक्तिशाली चाहिँ थिए बडामहारानी पट्टीको भन्दा कान्छी महारानी पट्टीको जेठो छोरा । राजकाजको सरसल्लाह यिनीसँग लिन्थे । बेरोल ‘सी’ क्लासको भएकोले राणाभित्रको प्रतिष्ठामा तल हुँदा पनि यिनी अघोषित हजुरिया थिए । जसले गर्दा रोलवाला र वहालवाला हजुरिया जर्नेल बहादुर शमशेरसँगको रगडझगडले रडाको मच्चिएको थियो जुद्ध शमशेरको परिवार भित्र नै ।

जुद्ध शमशेरले आफूले आफैलाई राजर्षि महाराज घोषणा गरेर रिडी जानु अगाडि मेजर जनरल बनाउनु भन्ने आदेश दिएको हुँदा रुन्चे पद्म शमशेरले कर्णेलबाट पदोन्नति गरिदिएका थिए । ती थिए थिए - शान्त शमशेर । । शान्त भवन पुगे । यो त्यही भवन हो जुन पछि शान्त भवन अस्पताल बन्यो । २०१६ सालमा थप चर्चामा आयो महाकवि देवकोटाले डा . मिलरको लागि अङ्ग्रेजीमा कविता बोलिदिएर । र, त्यहीबाट अन्तिम यात्राको लागि आर्यघाट लगिएपछि । यही नै हो देवकोटाले वेदप्रसादसँग पोटासियम सायनाइड मागको - ‘कृष्ण, मलाई हजार बिच्छीले टोकेको जस्तो भएको छ भन्दै । र, धेरै पछि यो अस्पताल नै पाटन अस्पतालमा रूपान्तरित भयो।

त्यहाँ पुगे । आठपहरियाले जाहेर गर्यो । दुई घण्टा तल पर्खिसके तर अत्तोपत्तो छैन । कुनै खबर छैन । मेरो स्वाभिमानले मलाई त्यसरी बस्न दिएन । म निस्कनलाई उठे र मूल ढोकातिर लागे । माथि झ्यालबाट देखेछन् शान्त शमशेरले । खबर आयो पर्खनु भनेर । अनि तल आएर भने - बिपी रिसाए मसँग, कुर्नु पर्यो भनेर । शान्तले वेदप्रसादलाई बिपी भन्थे । के पर्यो ल भन भनेर सोधे । मैले बेलिबिस्तार लगाए । सोधे -कति चाहियो? मैले भने - दस हजार पुगेन । उनले तुरुन्त कारिन्दालाई दिनु भनेर हराए । त्यो लिएर म फर्कँदा अत्यन्त खुसी थिए ।

मैले त्यति नै वेला अनुभव गरे आफूले मञ्जिल भेट्टाइसकेको जबकि पिगलेट कलकत्ता पुर्याइ सो बेचेर रकम निकाल्नु पर्ने बाटो लामो थियो । शान्त शमशेरको यो निर्णायक मद्दतबारे केही दिन अगाडि मलाई मोहन लोहनीले सोधे, वेदप्रसाद सिरिजको कुरा चल्दा । ‘शान्त शमशेरले मद्दत गरेका रहेछन् होइन?’ म केही सेकेन्ड जिल्ल परेर अक्क बक्क भए । ७७ वर्ष अगाडिको कुरा मसँग यसरी सोध्दा । त्यसपछि भने - हो, एकदम हो । उनले आफ्नो पिता, मेरो काका जो ठाइँलो भएर पनि हामी कान्छो बुबा भन्छौ, उहाँबाट सुनेका रहेछन्।

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
x