विचार

राजनीतिबारे वैदिक अवधारणा

नेतृत्वमा गगन थापा जस्ता युवा नेता आउनु पर्‍यो

नारायण घिमिरे |
साउन १६, २०७९ सोमबार १६:२९ बजे

मानिस, धर्म र राज्य

आत्मानं रथिनं विद्धि । शरीरं तु रथं एव । 
बुद्धिं तु सारथिं विद्धि । मनः च प्रग्रहम् एव॥ कठोपनिषद् । १.३.३॥


ātmānaṁ rathinaṁ viddhi| śarīraṁ tu rathaṁ eva| 
buddhiṁ tu sārathiṁ viddhi| manaḥ ca pragraham eva ||

आत्मा मूल गुरु हो । शरीर रथ हो । बुद्धि रथ हाँक्ने सारथि हो । मन रथलाई नियन्त्रण गर्ने लगाम हो । उक्त चार रूपकहरूको संयुक्त रूप मान्छे हो । 

तपाइले म भनेर आफूलाई पटक पटक देखाउने गर्नु हुन्छ । त्यो म भनेको नै आत्मा हो । आत्मा नै मानिसको वास्तविक पहिचान हो । तपाइको कर्तव्य लाई मानव धर्म भनिएको हो । तपाईको चेतनाको सर्वोच्च अवस्था नै तपाईंको आत्मा हो । 

जब मानिस मनोवैज्ञानिक रूपमा विकृत हुन्छ, तब ऊ आत्मा केन्द्रित नभएर शरीर केन्द्रित बन्न पुग्छ । उसले अधर्मको काम गर्न सुरु गर्दछ । तसर्थ, वेदले मानिसलाई आत्मा केन्द्रित रहन जोड दिने गर्दछ । मानिस लाई आत्मा केन्द्रित गर्नको लागि समाजलाई दुष्टताबाट मुक्त गर्न जरुरी हुन्छ । त्यसै सन्दर्भमा सबैको सुरक्षा र न्याय सङ्गत अधिकारको सुनिश्चित गर्ने उद्देश्यले वेदमा स्वतन्त्र व्यक्तिहरू रहेको स्वतन्त्र राज्यको अवधारणा लिइएको छ ।

मानिस र राज्यको लक्ष्य
द्वा सु॑प॒र्णा स॒युजा॒ सखा॑या समा॒नं वृ॒क्षं परि॑ षस्वजाते ।
तयो॑र॒न्यः पिप्प॑लं स्वा॒द्वत्त्यन॑श्नन्न॒न्यो अ॒भि चा॑कशीति॥ ऋग्वेद १.१६४.२०

dvā suparṇā sayujā sakhāyā samānaṃ vṛkṣam pari ṣasvajāte | 
tayor anyaḥ pippalaṃ svādv atty anaśnann anyo abhi cākaśīti ||

आपसी साथी रहेका एउटै अञ्जीरको रूखमा शरण लिन पुगेका दुई चराहरू मध्ये एकले मीठो मानेर अञ्जीर खान्छ । अर्कोले तुरुन्तै नखाई मीठो मानेर अञ्जीर खाने चराको के हबिगत हुन्छ त्यसको प्रतिक्रिया हेर्दछ । त्यस पछि मात्र आफूलाई पहिले अनुभव नरहेको नयाँ फल खाने नखाने निश्चयमा पुग्दछ।

मानिसको उद्देश्य आफ्नो ज्ञानको लागि चेतनाको विकास गर्नु र सत्यको अनुभूति गर्नु हो । जब उसले सुख-दुःख, लाभ-हानि, जीत-पराजय सबैको मूल्याङ्कन र सामना गर्दछ तब उसले सत्यको अनुभूति गर्न सम्भव बन्छ । सत्यको अनुभूति गर्छ । सत्यको अनुभूतिले बाटमात्र मानिसको चेतना बढ्छ । चेतनाको अधिकतम वृद्धिबाट मात्र मानिस आफ्नो आफ्नो आत्माको नजिक पुग्छ । र एक दिन उसलाई आफ्नो जीवनको उद्देश्य (लक्ष) रुपी आत्म-ज्ञान प्राप्ति हुन्छ।

राजनीतिक पक्ष बाट सफल राज्य सञ्चालनको सन्दर्भमा यो कुरालाई फरक किसिम बाटअर्थ्याउन सकिन्छ । राजनैतिक  साधना द्वारा मानिसले आफ्नो नैतिक राजनैतिक गुणको क्षमता विकास गर्न सक्छ । नैतिक र व्यवहारिक राजनैतिक गुणलाई राजनैतिक अध्यात्मको उपमा लिइन्छ।

राजनैतिक अध्यात्मको साधना मार्फत एक राजनीतिज्ञले थप कला सिक्दै उन्नतिको सिडी  चढ्न सक्दछ । राजनैतिक अध्यात्मको नियमित साधनाले सिडीहरू चढ्दै लोकको शासन गर्ने स्थानको प्राप्ति सम्भव तुल्याउन सक्दछ ।

यदि राजनीतिज्ञ आफै उभिएको जमिनको नैतिक जग नै अस्तव्यस्त रह्यो भने त्यो राजनीतिज्ञले कुनै मुलुकको शासन सत्ताको पद त प्राप्ति गर्ला तर उसले उक्त मुलुक लाई प्रगति पथ तर्फ दोहराउन भने सक्दैन ।  जीवनको अन्तिम समयमा पुग्दै गर्दा उसको भौतिक, आध्यात्मिक र राजनैतिक जीवनले समेत पिडा युक्त र कष्टकर विश्राम लिन पुग्दछ।

​वेदमा राजनीतिज्ञको जमिनको नैतिक जग अस्तव्यस्त नबनोस् र हरेक मुलुकले त्यसको दुखद परिणाम भोग्न बाटजोगियोस् भनी राष्ट्रवाद र नैतिक राजनीतिलाई राजनेताको राजनैतिक अध्यात्म सँग अनिवार्य र अभिन्न रूपमा सदैव जकडिएर रहनु पर्ने आधारभूत तत्त्व भनी परिकल्पना गरेको छ ।

वैदिक दृष्टिकोण बाटहेर्दा हरेक मानिसको अल्पकालीन उद्देश्य नियमित रूपमा आफ्नो चेतनाको अधिकतम वृद्धिमा सहभागी बनेर ज्ञान प्राप्ति गर्नु हो । र प्राप्त  गरेको हरेक ज्ञानलाई समाजको कल्याणको लागि समर्पित गर्नु हो । उसको जीवनको दीर्घकालीन उद्देश्य अर्थात् अन्तिम उद्देश्य चाहिँ आत्म-ज्ञान प्राप्ति मार्फत चरम सुखको अनुभूति गर्नु हो । सो सन्दर्भमा राज्यको लक्ष हरेक नागरिकको आफ्नो व्यक्तिगत जीवनको अल्पकालीन उद्देश्य र दीर्घकालीन उद्देश्य प्राप्त गर्ने हकको सुरक्षा गर्नु हो । त्यसको लागि जरुरत हुने न्यायोचित वातावरणको निर्माण गर्नु हो।

राज्यको धर्म र नागरिक स्वतन्त्रता
हरेक राज्यको धर्म भनेको त्यो राज्यको दायराको भूगोल सँगै अनुबन्ध रहेर त्यसको कल्याणमा समर्पित रहेका त्यहाँका सम्मानित द्रष्टा (जस्तै: वैदिक ज्ञान र ऋषि मुनिहरूको मान्यता ), संस्थागत स्मरण मार्फत स्थापित मान्यता तथा उक्त राज्यको भविष्य सँगै तत्कालीन रूपमा आफ्नो भाग्य जोडिएका उक्त राज्यका सम्पूर्ण नागरिकहरूको धारणा वा मान्यताको सार हो ।

राज्यको धर्म अन्तर्गत राज्यका बालिग मताधिकार प्राप्त आम नागरिकले स्वतन्त्र चुनाव मार्फत छानेका जन प्रतिनिधिहरू,  जन प्रतिनिधिहरूले राज्य सञ्चालनको विभिन्न संयन्त्रको सञ्चालन गर्न चुनेका शासक वर्गले उक्त राज्यको  नागरिकको सुरक्षा र बृहत्तर हित लाई अनिवार्य सर्तको रूपमा लिएर राज्य सञ्चालनमा पालन गर्नु पर्ने कर्तव्य हो । जसमा राज्यको हरेक नागरिकको राष्ट्र र समाज प्रतिको जिम्मेवारी वहन अनिवार्य सर्तको रूपमा रहन्छ । जस बापत राज्यले हरेक नागरिकको नागरिक हक र सुरक्षाको ग्यारेन्टी गरेको हुन्छ । 

वैदिक अवधारणा अनुसार कुनै पनि मुलुक धर्म निरपेक्ष हुन सक्दैन । धर्म सापेक्षता हरेक स्वतन्त्र राज्यको अवधारणा अन्तर्गतको अनिवार्य सर्त हो । जहाँ धर्म भनेको कुनै अमुक जाति वा समुदायको मान्यताको संस्कृति नभएर राज्य सञ्चालनको अनिवार्य सर्तहरूको पालन गर्ने पद्धति हो । हरेक नागरिक लाई प्रकृति प्रदत्त निरपेक्ष अधिकार तथा कर्तव्यको पालन गरी स्वतन्त्र रूपमा आफ्नो जीवन जिउन पाउने अधिकार सुनिश्चित गर्ने पद्धतिलाई वैदिक अवधारणा अन्तर्गत सनातन धर्म पद्धति  मानिन्छ । जस अन्तर्गत आफ्नो कर्तव्य पालन गरी, अर्काको स्वतन्त्रता हनन गर्न नपाउने सर्तमा हरेक नागरिकले आफ्नो चाहनाको जीवन पद्धति जिउने स्वतन्त्र अधिकार राख्दछ।

कौटिल्यको अर्थ सूत्र 
राजनीतिबारे वैदिक दृष्टिकोणको आधारभूत कुराहरू बुझ्नको लागि कौटिल्यको अर्थशास्त्रमा पाइने अर्थ सूत्रका पाँच संस्कृतका शब्दहरू बुझ्न जरुरी देखिन्छ । ती हुन सुखम्, धर्मम्, अर्थम्, राज्यम् र इन्द्रिय-विजय  । 

हाम्रो समाजमा यी शब्दहरूको अर्थको नै भद्दा मजाक हुने गरी अनुवाद भएर गलत सन्देश दिने गरी पुगेको देखिन्छ । जसले गर्दा राजनीतिको सन्दर्भमा वेदको चुरो अवधारणा नै समाज सम्म पुग्न लगभग असम्भव जस्तै बनाई दिएको छ।

हाम्रोमा वैदिक अवधारणाको सुखम् लाई खुसीको रूपमा अनुवाद गरिएको छ । धर्मम् लाई कुनै समुदाय विशेषको परम्परागत दैवी शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वासको गौरव पूर्ण संस्कृति जस्तै हिन्दु, मुस्लिम क्रिश्चियन आदि भनी गलत अनुवाद गरिएको छ । 

अर्थम् लाई अर्थ अर्थात् भौतिक रूपको चल सम्पत्तिमा सीमित गरेर हेर्ने गरिन्छ । राज्यम् लाई राष्ट्र वा राज्य भनी अपूर्ण अनुवाद हुने गरेको छ । वैदिक अवधारणाका यी शब्दहरू सामान्य बोली चालीको अर्थले दिने अर्थ सँग सीमित गरी दिँदा त्यसको अनर्थ हुने स्थिति पैदा भएको बुझिन्छ।

कौटिल्यको अर्थशास्त्रमा उल्लेखित पाँच शब्दहरू उक्त शास्त्रले बताएको अर्थमानै बुझ्न सक्दा मात्र हामीले वैदिक अवधारणाको  राजनीतिको मूल आधारभूत तत्त्व ज्ञान बारे जानकारी प्राप्त गर्न सक्ने छौ ।  त्यसो हुन सक्दा मात्र वैदिक मान्यताको राजनैतिक विचार र आदर्शहरू सही अर्थमा बुझ्न र अनुभूति गर्न सम्भव हुने छ।

कौटिल्यले आफ्नो अर्थशास्त्रमा सुखम्, धर्मम्, अर्थम्, राज्यम् र इन्द्रिय-विजय लाई विभिन्न सूत्रहरूको शृङ्खला बद्ध सूची भित्र समावेश गरी प्रस्तुत गरेका छन् । विष्णु गुप्तको नाम बाटसमेत परिचित कौटिल्य लाई चाणक्य नाम बाटप्राय: चिन्ने गरिन्छ । प्रस्तुत सूत्रहरू मद्ये माथि उल्लेखित पाँच पक्षहरूले राजनीतिको प्रमुख आधार बनाउने कौटिल्यको यकिन छ।

कौटिल्य लेख्दछन् कि जीवनको मूल उद्देश्य सुखम् हो । सुखम् को प्रमुख आधार धर्मम् हो । धर्मम् को प्रमुख आधार अर्थम् हुने गर्दछ । धर्मम् आफै राज्यम् को प्रमुख आधारको रूपमा रहेको हुन्छ । आफ्ना इन्द्रियहरू माथि विजय प्राप्ति गरेकाहरूले मात्र (इन्द्रिय-विजय) राज्यम् को राम्रो व्यवस्थापन गर्न सक्दछन्।

यहाँ सुखम् भनेको सुख होइन परम-सुख भन्न खोजिएको हो । सुखी हुनु, सन्तुष्ट हुनु, सन्तुष्टिको अनुभूति गर्नु, आनन्द र सुखको अनुभूति गर्नु सुख हो । तर त्यो सुख क्षणिक हुन सक्दछ । काम (काम वासना, यौनेच्छा वा आशक्ति),  क्रोध (रिस र आक्रोश), लोभ (प्राप्तिको चाहना),  मोह (देह र सांसारिक वस्तुलाई नै सर्वस्व ठान्ने भ्रम वा लट्ठिने खालको प्रेम), मद (अहङ्कार) र मात्सर्य (ईर्ष्या) मानिसलाई सुख प्राप्ति गर्नको लागि वाधक हुने  प्रमुख छ प्राकृतिक अवरोधकहरू हुन् । नीति शास्त्रका अनुसार सुख प्राप्तिको उक्त छ वटा प्रमुख प्राकृतिक अवरोधकहरू बाटमुक्त हुन सक्दा मात्र मानिसले दिगो रूपमा सुख प्राप्त गर्न सक्दछ । जसलाई साँचो अर्थको दिगो सुख अर्थात् परम-सुख भनिन्छ । मानिसले चाहेको अवस्थामा साधना मार्फत आफूलाई यी सबै अवरोधहरूबाट मुक्त गरी आफूलाई सुखम् को चरणमा पुर्‍याउन सक्दछ।​

धर्मम् एक संस्कृत शब्द हो । संसारका भाषाविद् हरूमा संस्कृत शब्द धर्मम् वा धर्म को अन्य कुनै पनि भाषा सँग त्यही आशयको शब्दार्थ दिने मिल्दोजुल्दो शब्द छैन भन्ने कुरामा सहमति देखिन्छ । धर्मलाई 'परम्परागत दैवी, परमात्मा वा अदृश्य शक्ति मान्ने परम्परागत संस्कृति' भनेर अनुवाद गरिनु र बुझिनु गम्भीर त्रुटि हुने छ।

धर्म व्यक्तिमा हुने नैतिक जिम्मेवारी र कर्तव्यको बोध हो । पराशर स्मृतिका अनुसार संसारको उन्नति र कल्याणको सुनिश्चित गर्ने दिशा उन्मुख सकारात्मक तथा नकारात्मक विधि, निषेध आदि निर्देशित क्रियाकलाप धर्म नै हो । धर्म विश्वव्यापी करुणा हो ।

सारमा आफ्नो जिम्मेवारी बोध गर्ने, कर्तव्यको पालन गर्ने,  तथा अर्काको स्वतन्त्रताको हनन हुन नपाउने गरी आफ्नो स्वतन्त्र जीवन जिउने प्रवृत्तिलाई आफ्नो जीवन पद्धतिमा अँगाल्ने कला वैदिक अवधारणा अनुरूपको धर्म हो ।

मानव जीवनको लक्ष्य प्राप्तिको सन्दर्भमा चर्चा गर्ने क्रममा ऋग्वेदमा "अर्थ" शब्दको प्रयोग भएको छ । धर्म, अर्थ र काम जस्ता मानव जीवनका तीन अनिवार्य जिम्मेवारीहरूको सफलता पूर्वक पुरा गर्दै गर्दा कसरी मानिसले आफ्नो  जीवनको उद्देश्यको रूपमा रहेको मोक्ष-प्राप्ति तर्फ आफूलाई पुर्‍याउन सक्छ भन्ने वारेको त्यहाँ उपाय सुझाइएको छ । जहाँ ‘अर्थ’ शब्द  अर्थव्यवस्थाको क्षमता जनाउन प्रयोग भएको छ ।

अर्थम् वा अर्थ शब्दले अर्थव्यवस्थाको क्षमता लाई जनाउने गर्दछ । कुनै व्यक्ति वा राज्यको कुनै कार्य सम्पन्न गर्न निश्चित क्षमता हुने गर्दछ । त्यसलाई उसको पहुँचमा रहेको आर्थिक, भौतिक, बौद्धिक र ऋण प्राप्तिको क्षमताले उसको क्रय शक्ति तथा कार्य सम्पन्न गर्न सक्ने क्षमताको निर्धारण गरिदिन्छ । वैदिक अवधारणामा सामाजिक, न्यायिक, आर्थिक र सांसारिक मामिलाहरूको सफल व्यवस्थापनमा उपलब्ध हुने सबै प्रकारको स्रोत र साधनको समग्र मूल्यलाई नै अर्थ भनेर बुझिन्छ । व्यक्ति वा राज्यको मानव संसाधन लगायतका सम्पूर्ण श्रोत व्यवस्थापन सँग साइनो राख्ने वेदका सबै ग्रन्थहरूलाई वैदिक अवधारणाको  अर्थशास्त्रको रूपमा लिने गरिन्छ।

ऋग्वेदमा, राज्यम् वा राष्ट्रम् शब्द तत्कालीन आर्यावर्त भूमिका मानिसहरू र आर्यावर्त क्षेत्र बाहिरका आर्यावर्त मूलका निवासी मानिसहरूको राष्ट्रिय पहिचानको वर्णन गर्न प्रयोग भएको छ । राज्यम् वा राष्ट्रम् भनेको हाल हामीले बुझ्ने गरे जस्तो कुनै भूगोल भित्र कैद भएको जमिन मात्रको अर्थमा बुझिने गरिँदैन । कुनै निश्चित भूगोल तथा उक्त भूगोल भित्र निवासी व्यक्तिहरूको सम्‍वृद्धिसँगै लगाव राख्ने सम्पूर्ण व्यक्तिहरूको समग्र विकासमुखी अवधारणाको एकताबद्ध रूप लाई ऋग्वेदले राज्यम् वा राष्ट्रम् भनेर बुझ्ने गर्दछ ।

राष्ट्रम्‌को अवधारणा निर्माण गर्न समाविष्ट हुने व्यक्तिहरू निश्चित भूगोल भित्र सीमित रहेर रहनु पर्ने आधारभूत आग्रह रहँदैन । तर निश्चित भूगोल तथा उक्त भूगोल भित्र निवासी व्यक्तिहरूको समग्र संवृद्धिको एकताबद्ध अवधारणा लाई राष्ट्रम् भनिन्छ । राष्ट्रम् उक्त राज्यम् को सरकार वा शासकले लिने अवधारणाले पूर्ण रूपमा प्रतिनिधित्व गर्न जरुरी ठानिन्छ । 

अथर्ववेदको अवधारणा अनुरूप राज्यम् ले राज्यको नियमित रूपको 'सार्वभौम शक्ति' सञ्चालनको संस्थागत मनोविज्ञान लाई जनाउँछ । यस सन्दर्भमा, राज्यम् शब्दले सरकार वा शासन सत्ताको सम्पूर्ण रूपलाई जनाउने गर्दछ । जसमा शासक (कार्यपालिका), व्यवस्थापिका, न्यायपालिका लगायतका बैङ्किङ, सेना, अदालत, स्थानीय निकाय, विदेशी नियोग, राज्यम् मूलका प्रवासी, राज्यम् भित्रका आप्रवासी सबै पर्दछ । 

राष्ट्रम्  ले  राज्यम् को भूगोल बाहिर निवासी उक्त भूगोल र भूगोल भित्रका निवासीहरूको उन्नति लाई आफ्नो उन्नति सँगै भावनात्मक रूपमा जोडेर लिने समुदाय तथा र त्यसको प्राप्तिको लागि कार्यरत सामाजिक कल्याणका संस्थाहरूको सुझाव र सल्लाहहरू लाई अतिरिक्त महत्त्वका साथ लिने र आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध सँगै एकीकरण गर्ने गर्दछ । यसरी कुनै देश वा राष्ट्र भनेको मात्र त्यसको भूगोल होइन भन्ने अवधारणा वैदिक अवधारणा बाटआएको देखिन्छ।

वैदिक राजनैतिक प्रणाली
आ ब्रह्मन्ब्राह्मणो ब्रह्मवर्चसी जायतामा राष्ट्रे राजन्यः शूरऽइषव्यो तिव्याधी महारथो जायतान्दोग्ध्री धेनुर्वोढानड्वानाशुः सप्तिः पुरन्धिर्याषा जिष्णू रथेष्ठाः सभेयो युवास्य यजमानस्य वीरो जायतान्निकामेनिकामे नः पर्जन्यो वर्षतु फलवत्यो न ओषधयः पच्यन्ताँयोगक्षेमो नः कल्पताम् ॥ शुक्ल यजुर्वेद अध्याय २२ मन्त्र २२ ॥

शुक्ल यजुर्वेदको अध्याय २२ मन्त्र २२ ले देशको समग्र राजनैतिक प्रणाली वारे प्रष्ट गरेको छ । मन्त्र २२ ले सार रूपमा देशको खाद्य सुरक्षा प्रणाली सञ्चालन गर्न हरेक घरमा दुधालु गाईको व्यवस्थाको कुरा गरेको छ । प्रकृतिको सान्निध्य पुगेर गरिने जैविक कृषि र दुधालु गाई पालनले राष्ट्र वासीको पोषणको परिपूर्तिको ग्यारेन्टी गर्ने गर्दछ । पोषण युक्त खाद्यको  अनिवार्य व्यवस्था विना भौतिक र मनोवैज्ञानिक रूपमा सबल नागरिकको अपेक्षा गर्न सकिँदैन । भौतिक र मनोवैज्ञानिक रूपमा सबल नागरिक संवृद्ध राष्ट्र निर्माणको पहिलो आधारभूत सर्त हो । मुलुक भित्र सकारात्मक सोच युक्त जागरूक नागरिकको उपलब्धताको आधारभूत र अनिवार्य आवश्यकता हो ।

बलिष्ठ खाद्य सुरक्षा प्रणाली निर्माणको लागि सक्षम कृषि व्यवस्था अनिवार्य सर्त हो । सक्षम कृषि कार्यको लागि कृषि उत्पादन र ढुवानीका साधनहरू (जस्तै हलो जोत्ने गोरुहरू,  गाडा  र रथ तान्ने घोडाहरू)  स्थान तथा समय अनुकूल र प्रभावकारी बनाउने तर्फ ध्यान पुग्न जरुरी छ । 

नारीहरू सन्तानको पालन पोषणमा मात्र सीमित नभएर राजनैतिक निर्णय लिइने सभा सम्मेलन हरूमा समान अधिकार सहित सहभागिता जनाउन जागरूक बन्नु पर्दछ । आफ्नो तर्क स्वतन्त्र र निर्भयको साथ राख्न पाउने वातावरण बिच नारीहरूको राज्यको शासन सत्ता निर्माण र सञ्चालनमा  सक्रिय सहभागीता अनिवार्य छ ।

युवा शक्ति (नारी तथा पुरुष) लाई मनोवैज्ञानिक रूपमा चतुर एवम् भौतिक रूपमा बलवान बनाउनु जरुरी छ । मुलुकको सैनिकको जिम्मा र राजनैतिक नेतृत्वको बागडोर उनीहरूको हातमा सुम्पनु पर्दछ।

राज्यको युवा शक्ति योजना तर्जुमा, कार्यान्वयन, नेतृत्व तथा युद्ध सबै क्षेत्रमा निपुण हुने वातावरणको निर्माण गर्न राज्यले विशेष ध्यान दिन सकोस् । औषधियुक्त वनस्पतिको पहिचान होस् । औषधिय वनस्पतिहरूको प्रशस्त उब्जनी र प्रशोधन हुने वातावरणको तैयार गरियोस् । राष्ट्र भित्र दीर्घकालीन शान्तिको स्थापना गर्न न्यायसङ्गत शासनको व्यवस्था लागु गरियोस् । राज्यको सम्पूर्ण अर्थ व्यवस्था राष्ट्र हित र उत्थानमा मात्र खर्चिने निश्चितता बनोस् । यो नै राष्ट्र समग्र रूपमा  समृद्ध र सक्षम बन्ने चुरो आधारशिला हो।

शुक्ल यजुर्वेदको अध्याय २२ मन्त्र २२ र वैदिक अवधारणाको शासन अर्थ व्यवस्थाको प्रभावमा रहेर नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले राष्ट्र भनेको जनता हो, राष्ट्रियता भनेको जनताको भावना हो भन्ने भनाइ बाहिर आएको थियो । उनी म पूर्ण परिवर्तन चाहन्छु, सामाजिक परिवर्तन चाहन्छु  भन्ने गर्दथे  । 

आफूलाई आर्थिक परिवर्तनको पक्षधर बताउने विश्वेश्वर प्रसाद कोइरालाले उनको आफ्नो लडाई मुलुकको गरिबी हटाउनुसँग रहेको प्रस्ट पारेका थिए । उनको परिवर्तनको सूत्र पनि वैदिक अवधारणाको करिब नै थियो । भन्दथे, सबै नेपालीको एउटा सानो घर होस्, गरिखान पुग्ने खेतबारी होस, एउटा दुहुना गाई होस्, छोराछोरी स्कुल पढ्न पाउन्, स्वास्थ्य उपचार गर्न पाउन् । 

उनको बिचारमा त्यही नै नेपालको तत्कालीन सन्दर्भको समाजवाद थियो । उनको विचार प्रस्ट थियो ‘जुन कुरा गर्दा जनताको हित हुन्छ, त्यही नै हो तत्कालीन समय सन्दर्भको जनतन्त्र अन्तरगतको समाजवाद’।

वैदिक अवधारणाको मुलुक सञ्चालनको मोडल कस्तो हुनुपर्दछ भन्ने बुझ्न भने अहिंसावादी नेता महात्मा गान्धीको विचारको सहारा लिँदा सहज हुने छ।

महात्मा गान्धीको १९३० मा हिन्दी नवजीवन पत्रिकामा राम राज्यको बारेमा छापिएको लेख "स्वराज और राम राज्य" मा राज्यको कर व्यवस्थामा कस्तो हुनु पर्छ भनी लेखेका थिए । जस अनुसार सूर्य वंशी रामको कर नीति पनि वेदको अवधारणाको सूर्यले अपनाउने नीति अनुरूप हुनुपर्ने गान्धीको ठम्याइ छ । 

उनी लेख्छन् सेवा प्रदायकको रूपमा सरकार सूर्यको प्रकाश रुपी बनोस् । बिना भेदभाव सबै नागरिकको दैलोमा उसको सेवा पुगोस् । कर उठाउने सवालमा सरकार सूर्यको ताप बाट सञ्चालित बादल जस्तो बनोस् । धेरै पानी भएको समुन्द्र बाट धेरै बाफ र सुख्खा रहेको ठाउँबाट नगण्य बाफ खिचोस् । सूर्यले लिएको पानीको बाफकै तरह कर उठाउने क्रममा कसैलाई  वाधा अड्चनको अनुभूति नहोस्।

व्यवहारिक रूपमा कर उठाउने कार्य यति सहज होस् कि कसैलाई म कर तिर्दै छु भन्ने पत्तो नै नहोस् । सूर्यले बाफ खिचे जस्तै कर उठाउँदा कसैलाई मर्का नपरोस् । धनी, महाजन, मनोरञ्जन र बिलासीका हिरा, मोती, मदिरा, महँगा गाडी जस्ता चिजमा अधिकतम कर लागोस् । तिनै पैसा बाट आउने रकम बाट मुलुकको विकासको जोहो गरियोस् । 

गरिब र असहाय जनतामा कर हैन उसको गरिबी अनुरूपको आर्थिक अनुदान पुगोस् । सरकारले दीन-दु:खीलाई उपलब्ध गराउने विकास योजना र आर्थिक अनुदान बादलले गर्ने बर्साद जस्तो हुन सकोस् । जसरी बादलले पानीको अत्यन्त जरुर रहेको जङ्गलमा अधिक र महासागरमा नगण्य पानीको बर्साद गर्दछ, त्यसरी नै तुलनात्मक रूपमा जसलाई जति धेरै अनुदान र सहयोग को जरुरत छ उसकोमा त्यसै अनुरूप अनुदान सहयोग पुगोस् । जसरी बर्साद पूर्व सबैलाई बर्साद हुने सूचना दिने गरी आकाशमा  गड्याङगुडुङ हुने गर्दछ त्यसै गरी सरकारको योजना र अनुदान सबैले थाहा पाउने गरी सबै जनता खुसी हुने गरी वितरण गरिने व्यवस्था गरियोस्।

नेपालको राजनैतिक सन्दर्भ
नेपालको सन्दर्भमा नेपालको माटो सुहाउँदो र नेपालको विकासको सुनिश्चितता दिने अर्थ व्यवस्था समेत वैदिक अवधारणाको राजनैतिक प्रणाली नै हो । नेपालको हालको संविधानले नेपालमा  वैदिक अवधारणाको राजनैतिक प्रणाली सञ्चालनमा कुनै वाधा गर्दैन । यथार्थमा यो प्रणाली वैदिक अवधारणाको राजनैतिक प्रणाली स्थापनाको लागि अत्यन्त उत्पादक बन्ने निश्चित छ । नेपाल समृद्ध र सक्षम नेपाल बन्न नसक्नुको पछाडिको नेपालको हालको समस्यामा इन्द्रिय-विजय गरेकाहरूको नेतृत्वमा राज्यको अभिभारा नपुग्नु हो । त्यसको नतिजाको परिणाममा राजनीतिज्ञहरू आफै उभिएको जमिनको नैतिक र आर्थिक जगनै अस्तव्यस्त बन्नु नेपालको आजको दुर्व्यवस्थाको चुरो कारण हो ।

नागरिक कल्याणको मूलतः दुई पक्ष हुने गर्दछ । पहिलो भौतिक उन्नतिको अवसर अर्थात् नागरिकले प्राप्त गर्नु पर्ने शारीरिक आराम । दोस्रो मानसिक र आध्यात्मिक सबलताको अवसर अर्थात् नागरिक आत्म सम्मान  । सकारात्मक मानसिकताको विकास गर्ने वातावरण । सारमा  आफ्नो अन्तरात्माको राम्रो हेरचाह गर्न सक्ने पाउने अवसर ।

आजको हाम्रो लोकतन्त्र अन्तर्गतको राज्य सत्ता नागरिकको कल्याणको दुवै पक्षको प्रवर्द्धन  गर्न असफल बनिरहेको छ ।  वैदिक अवधारणामा राज्य सञ्चालनको धर्म भुलेर धन, शक्ति र प्रतिष्ठाको खोजमा लिप्त हुने नेतृत्वलाई नग्न जीवनको खोजीमा रहेका राजनैतिक नेतृत्व भन्ने गरिन्छ।

हाम्रो राज्य सञ्चालनमा निकै लामो समय देखि नग्न जीवनको खोजीमा रहेका राजनैतिक नेतृत्वको एकल प्रभुत्व कायम छ । हिजोका दिनमा समेत हाम्रो राज्य नग्न जीवनको खोजीमा रहेका राजनैतिक नेतृत्व बाटनै सञ्चालित बन्यो । जुन आज राज्यको प्रमुख प्रतिपक्षको कुर्चीमा पुनः सत्तामा पुग्ने र ब्रह्म लुट गर्न पाउने दिनको जोखना हेरेर बसिरहेको भेटिन्छ । अर्थात् राज्य नागरिकको कल्याणको सम्पूर्ण अभिभारा च्युत बनेको छ।

राज्यको दुर्लभ सामाजिक स्रोतहरूमा आफ्नो पहुँच र नियन्त्रणको लागि मूलतः नेपाली काँग्रेसका नेता शेर बहादुर देउवा, नेकपा एमालेका नेता खड्ग प्रसाद ओली र माओवादी केन्द्रका नेता पुष्प कमल दाहाल बिच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । राज्यको दुर्लभ स्रोतहरू आफ्नो पहुँच र नियन्त्रण लिन युद्धमा उत्रिएका यी तिन नेताहरू पद, शक्ति र सम्पत्ति आर्जनको मुद्दामा सबैको विरुद्ध सबै नै युद्धमा होमिएका देखिन्छन् । 

तत्कालिन त्रिकोणात्मक युद्धको फाइदा उठाउँदै तानातान बिचको रहल पहल उछिट्ट्याउन सकिने झिँगे दाउमा माधव नेपाल, उपेन्द्र यादव र बाबुराम भट्टराईहरू बिच थप अर्को   सिनुको लागि हुने गिद्धे युद्ध चलिरहेको देखिन्छ । यो अवस्था भनेको वैदिक अवधारणा अन्तरगतको राजनीतिज्ञहरू आफै उभिएको जमिनको नैतिक र आर्थिक जग अस्तव्यस्त बनेको अवस्था हो । जहाँ समग्र पार्टी हैन, पार्टीको नेतृत्वले आफ्नो समग्र पार्टी लाइ  आफ्नो कब्जामा लिन सफल बनी आफ्नो आफ्नो निजी, पारिवारिक र गुटको स्वार्थ पूर्तिको लागि सामाजिक पद र स्रोतहरू आफ्नो र आफ्नो गुटको पहुँच र नियन्त्रण कायम गर्ने रातदिन भिडिरहेको छ।

वैदिक राजनैतिक उपचार
नेपालको राजनैतिक अर्थ व्यवस्था अत्यन्त दीर्घ रोग ग्रसित छ । पञ्चायत काल देखिको अत्यन्त पुरानो प्रकृतिको जीर्ण रोगको उपचार कुनै एक दुई जन आन्दोलन रुपी  राजनैतिक अप्रेसनको जादुमय छडीले निवारण गर्न सक्दैन । झन्डै हरेक दस वर्षमा जन आन्दोलनका नाममा हुने आन्दोलन र परिवर्तनले नेपाली नेता बाहेक नागरिकको तहमा तात्त्विक विकासको रूपमा केही पनि दिन नसकेको नेपालको इतिहासले नै यसको पुष्टि गर्दछ।

मुलुकमा जरा गाडेको नैतिक र आर्थिक रूपमा भ्रष्ट राजनैतिक संस्कार रुपी रोग  हरेक परिवर्तन पश्चात्  सामान्य जनताले समेत अनुभूति गर्न सक्ने गरी झन् बलिष्ठ र संस्थागत बन्दै गएको छ । यस्तो प्रकृतिको जीर्ण रोगको उपचारको लागि प्राकृतिक उपचार पद्धतिको जरुरत पर्दछ । त्यस्तो प्राकृतिक उपचार जुन व्यवस्था परिवर्तन बिना बिहारमा नीतीश कुमार ले गर्न सके । गुजरातमा नरेन्द्र मोदीले सम्भव तुल्याए । दिल्लीमा अरविंद केजरीवालले सम्पन्न गरे । उत्तर प्रदेशमा योगी आदित्यनाथले सम्भव तुल्याउँदै छन्।

विद्यमान राजनैतिक दुरावस्थाको उपचारको लागि सबैभन्दा पहिले तत्कालका कुन कुन राजनैतिक नेताको कुन कुन राजनैतिक चरित्रको कारण मुलुक थला परि रहेको छ त्यसको पहिचान गर्न सकिन्छ । त्यस पश्चात् मुलुकलाई दीर्घ रोगी बनाउने मूल कारक रहेका नेतृत्वको सबल पक्ष के छ र दुर्बल पक्ष के छ भनी सुची बद्ध गर्न सम्भव बन्छ ।

वैदिक अवधारणा अनुरूप मानिस दुवै खराब र असल पक्षको गठ जोडको संरचना हो । जुन राज्य संयन्त्रको हकमा समेत लागु हुन्छ । संवृद्ध राज्यको निर्माणमा राज्य संयन्त्रमा अन्तर निहित सबल पक्ष अँगाल्ने र खराब पक्ष हाबी हुन नदिने सिद्धान्त अँगाल्न जरुरी हुन्छ । जस अनुरूप, मुलुकले मुलुकका नेताका सबल पक्षको पहिचान गरी सबल पक्षलाइ मुलुकको बृहत्तर हितको लागि उपयोग गर्ने र कमजोर पक्षलाई नियन्त्रण गर्ने नीति लिनु पर्दछ।

नेपालमा हालको जनतन्त्र अन्तरगतको राज्य संरचना सञ्चालनको नेतृत्व सङ्घीय चुनाव मार्फत चयन हुने हुँदा सत्तामा पुगेर असफल प्रमाणित भएका पुरानै नेतालाई पुन: सुध्रने अवसर दिने जस्ता तरिका बाटप्रस्तावित उपचार पद्धति सम्भव हुने छैन । तिन बाटमुलुकको उद्धार समेत हुने छैन । 

तर पनि मुलुकलाई उठ्नै नसक्ने गरी थला पार्न जिम्मेवार नेताहरूको चरित्र बाटपाठ सिकेर मतदाताहरूले मतदानको लागि नौलो मापदण्ड विकास गर्न सक्दा भने अवश्य नै मुलुकको सफल उद्धार हुने छ । जसलाई मुलुकको तत्कालीन आवश्यकताले खोजेको नेतृत्वको चुनाव मार्फत चयनको वैदिक काइदा मान्न सकिन्छ।

नेपालको आजको सन्दर्भमा मुलुकले खोजेको व्यक्तिहरु लाई कसरी राज्यको सञ्चालनमा पुर्‍याउन सकिन्छ भन्ने वैदिक अवधारणा उदाहरण दिएर व्याख्या गर्दा सायद प्रस्ट गर्न सहज होला । काम (प्रधान मन्त्रीको पदको आशक्ति),  क्रोध (अर्का नेताले खायो, बजायो भन्ने रिस र आक्रोश), लोभ (आफू र आफ्नो परिवारको मान तथा सम्पत्ति प्राप्तिको लागि जतिसुकै अनैतिक कार्य गर्न समेत तयार हुने बानी),  मोह (राज्यको शक्तिमा पुग्नु नै सर्वस्व हो भनिठान्ने भ्रमले नैतिक हीन राजनीतिमा लट्ठिने संस्कार), मद (म नै सर्वे-सर्व हु, मेरा अगि अरू सबै भुसुना तुल्य छन् भन्ने अहङ्कार) र मात्सर्य (अर्काले प्राप्त गरेको सम्पत्ति, मान र सामानको ईर्ष्या)  बाटमुक्त हुन नसकेर मुलुक डुबाएका हाम्रा नेता त्रय शेर बहादुर देउवा, खड्गप्रसाद ओली र पुष्पकमल दाहालमा रहेका केही असल गुणहरू र खुबीको सदुपयोग हुन सक्दा मुलुकको उत्थानको लागि अत्यन्त सकारात्मक देखिन्छ । 

जस्तै: खड्गप्रसाद ओलीको अध्ययनशीलता, आत्मावाल, जुझारुपन, प्रस्तुति र साङ्गठनिक क्षमता । पुष्प कमल दाहालको समय र परिस्थिति अनुरूप आफूलाई बदल्न सक्ने क्षमता एवम् बिना लोकतान्त्रिक चुनाव पार्टी नेतृत्वमा सदैव टिकी राख्न सक्ने खुबी । शेरबहादुर देउवाको सहनशीलता तथा दशतिर फर्किएका चरम स्वार्थ लिप्साले ग्रसित आपसमा द्वन्द्वरत समूह समेत लाई संयोजन गरी समेटेर अघि बढ्न सक्ने समन्वय कौशलता।

आफ्ना तमाम अवगुणहरू बिच समेत किन राज्यमा पटक पटक उस्तै प्रवृत्ति र अनुहार दोहरिन्छ भन्ने प्रश्नको उत्तर वैदिक बाहेक अन्य तरिका बाटखोज्न त्यति सहज हुँदैन । लोकतान्त्रिक प्रणालीमा जति बेला लोकतान्त्रिक चुनावमा सहभागी हुने मतदाताले राज्य प्रतिको आफ्नो जिम्मेवारी बहन गर्न बाटचुकिदिन्छ त्यति वेला नेताको आशीर्वाद प्राप्त व्यक्ति जनप्रतिनिधिको रूपमा चुनाव जित्ने प्रबल सम्भावना बोकेको पार्टीको उम्मेदवारको रूपमा जनता बाटचुनिन जनताको घर दैलोमा पुग्दछ ।

त्यस परिस्थिति बिच यथार्थमा जनताले भोट हाली निर्वाचित बनेका प्रतिनिधिहरूमा जनताका बाटराजनीतिक शक्ति  हस्तान्तरण भएको हुन्छ । त्यसरी चुनिएर राजनीतिक शक्ति प्राप्त गरेका प्रतिनिधिहरूले लिने सामूहिक निर्णयमा हाल सम्म पार्टी नेताकै इच्छा पुरा गरिदिने प्रकृतिको हुने गरेको भेटिएको छ । जसले गर्दा लोकतान्त्रिक तरिका बाटआएको सङ्घीय सांसदले जन कल्याणका मुद्दामा  खासै चासो नराख्ने मात्र होइन आफ्नो पार्टी र गुटगत स्वार्थमा केन्द्रित भएर काम गर्ने बिरानो संरचनाको रूप लिने गरेको छ । जुन लोकतन्त्रमाथि लोकतान्त्रिक विचारधाराको नियन्त्रण हो । हालको नेपालको राजनैतिक जीर्ण रोगको चुरो कारक नै लोकतन्त्रमाथि वैधानिक रूपमा लोकतान्त्रिक विचारधाराले गरिरहेको अनैतिक नियन्त्रण हो ।

वैदिक अवधारणा अनुसार नेपालमा भएका कुनै पनि आन्दोलनहरूले लोकतन्त्रमाथि लोकतान्त्रिक विचारधाराले गरिरहेको अनैतिक नियन्त्रणको उपचार गर्न सफल बनेन । भविष्यमा यदि कुनै अन्य जान  आन्दोलन वा कु आदि मार्फत परिवर्तनहरू भएछन् भने पनि यसको सहज निदान हुने छैन । यसको एक मात्र निदान भनेको लोकतान्त्रिक प्रणाली अन्तर्गत हुने चुनावमा सहभागी हुने हरेक मतदाताले राज्य प्रतिको आफ्नो जिम्मेवारी अनिवार्य रूपमा बहन गर्न तत्परता देखाउनु हो । 

यसको लागि कम्तीमा वैदिक विचारधारामा विश्वास राख्नेहरूले मोदीको आगमन पछि भारत कसरी बन्दै छ? योगी आदित्य नाथको आगमनले  भारतको उत्तर प्रदेशमा कसरी दिन प्रतिदिन विकास उन्मुख फड्को मार्दै छ त्यसलाई नजिक बाटबुझ्न जरुरी छ । अत्यन्त जटिल भारतीय अर्थ व्यवस्थामा कुनै आन्दोलन वा राजनैतिक परिवर्तनको आडमा उल्लेखनीय सुधार आएको होइन । हाल नेपालको विकासको वाधक बनेको  जस्तै लोकतन्त्रमाथि लोकतान्त्रिक विचारधाराले गरेको नियन्त्रण मुक्त गर्न भारत लाई मोदीको नेतृत्व पर्खनु पर्‍यो । पुरानो नेतामा भएका दोष पन्छाउने र गुण पछ्याउने नीति लिएर जब त्यसको लागि  काबिल रहेका मोदी सत्तामा आए भारतको विकासको अनुहार फेरियो । तपाई हामीले हेर्दा हेर्दै भारत विश्वको महाशक्ति बन्यो । 

हामीमा पनि भारतमा भए र गरिए जस्तै  हाम्रा लोकतन्त्रमाथि लोकतान्त्रिक विचारधारा लादेर आफ्नो स्वार्थ सिद्धिमा मस्त रहेका नालायक नेता त्रयहरूको सकारात्मक गुणहरू मात्र संयोजन गरी लिने र तिनका अवगुणहरू लाई  रद्दीको टोकरीमा फालेर मुलुकलाई संवृद्धिको बाटोमा लैजान सक्ने क्षमता र काबिलता राख्ने गगन थापा जस्ता युवा नेताहरू राजनीतिमा सक्रिय नेताको रूपमा आज पनि कार्यरत छन् । गगन थापा र थापा जस्ता मुलुकलाई नयाँ दिशा दिन सक्ने थुप्रै युवाहरू आजको बिग्रिएको नेपालको कोर्स करेक्सन गर्न जरुरत भएका नेताहरू हामीले समयमै पहिचान गर्न जरुरी छ ।

यसो भन्दै गर्दा हामीले यो कुरा भुल्नु हुन्न कि वैदिक विचारधारा बोक्ने मोदी भारतमा जति बेला चुनिए, त्यति वेला हाम्रो आफ्नै सरकारी रवैयाको कारण उनको करिब रहेर नेपालले उनको भारतमा भएको उदयको भरपुर उपयोग गर्न सकेन । त्यस्तै नेपालको प्रगतिको लागि सुनिश्चितता दिने क्षमता राख्ने युवाहरूलाई समेत विभिन्न झुटा कुराहरूको खेती गरेर वैदिक विचारधारा बोक्ने नेपालीहरू माझ नेपाली युवा नेताहरू नेपाल र नेपालको परम्परागत पहिचान भन्दा फरक मत राख्दछन् भन्ने झुटा कुराहरू सम्प्रेषण गरिएको देखिएको छ । त्यस्ता सफेद झुट कुराहरूको समयमै हामीले पहिचान गर्न सकेनौ र समयमै हामीले सही नेतृत्वको चयन गर्न सकेनौ भने हामी सँग भविष्यमा पछुताउनु बाहेक अन्य विकल्प रहने छैन ।

यी पनि पढ्नुस् :


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
x