एक महान् क्रान्तिकारी नेताको अवसान
सोभियत युनियनका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाच्योभको ९१ वर्षको उमेरमा यही मंगलबार निधन भयो । तिनको निधनसँगै विश्वले एक महान् क्रान्तिकारी नेतालाई गुमाएको छ । मार्क्सवादीय शासन प्रणालीलाई मानवीय तुल्याउन प्रयत्नशील यी नेताले ६ वर्ष भन्दा छोटोमा विश्वको मुहार परिवर्तन गर्न अतुलनीय योगदान पुर्याएका थिए । उनले विश्व ध्वस्त तुल्याउने आणविक युद्ध त्रासबाट विश्व समुदायलाई मुक्त तुल्याउने योगदान गरे । तिनकै सक्रिय पहलमा शीतयुद्धको अन्त्य भयो । विना एउटा गोली खर्च गरेर सोभियत साम्राज्य विश्व राजनीतिक मानचित्रबाट विलीन भयो ।
चार दशकभन्दा लामो अवधिसम्म सोभियत साम्राज्यअन्तर्गत रहेका पूर्वी युरोपली राष्ट्र स्वतन्त्रता भए । रुसी साम्राज्यअन्तर्गत रहेका १२ राष्ट्रले स्वतन्त्रता हासिल गरे । अफगानिस्तानलगायत अन्य राष्ट्रमा रहेका सोभियत सेना स्वदेश फर्किए । साम्यवादको नाममा हुने सोभियत सैनिक हस्तक्षपको अन्त्य भयो । रुसलगायत विश्वका ३० राष्ट्रले कार्ल मार्क्सका अनुयायीको निरंकुश शासनबाट उन्मुक्ति पाए । युरोपको इतिहासमा पहिलो पटक चार दशक लामो अवधि शान्त रह्यो । समग्रमा गोर्बाच्योभको ६ वर्षे शासनकालमा भएका युगान्तकारी परिवर्तनहरू विश्व इतिहासमा पहिले कहिले पनि भएको थिएन । नोबल कमिटीले सन् १९९२ मा यिनले गरेको शान्ति स्थापना निम्ति यिनले पुर्याएको योगदानको कदर गर्दै नोबल पुरस्कारद्वारा सम्मान गर्यो ।
कम्युनिस्ट परिवारमा जन्मिएका गोर्बाच्योभ निःसन्देह मार्क्सवादी थिए । कार्लमार्क्स र एंगेल्सले चाहे जस्तै तिनी शोषणमुक्त मानव समाजको पक्षधर थिए । कम्युनिस्ट पारिवारिक पृष्ठभूमिमा जन्मिएका तथा सोही प्रणालीमा ठाटी कम्युनिस्ट हुन हुर्केका हुन्, गोर्बाच्योभ । आफ्नै पौरखमा तिनले ५० वर्षको उमेरमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव पद प्राप्त गरेका हुन् । गोर्भाच्योभको उदय हुँदाको कालखण्डमा सोभियत युनियनको कम्युनिस्ट पार्टी महासचिव सोभियत साम्राज्यको प्रमुख हुने परम्परा थियो । स्टालीनकालीन शासनकालमा हुर्केका सोभियत नेताहरूको बर्चश्व भएको कालखण्डमा सन् १९३१ मा जन्मिएका गोर्बाच्योभ युवा नेता थिए ।
पचास वर्षको उमेरमै सोभियत कम्युनिस्ट पार्टीको महासचिव पदमा नियुक्त हुने गोर्बाच्योभ प्रथम र अन्तिम व्यक्ति हुन् । सत्ताको बागडोर सम्हालेको दिनदेखि नै लेनिन र स्टालिनले लादेको अमानवीय शासन प्रणालीमा परिवर्तनको अपरिहार्यतालाई तिनले प्राथमिकतामा राखे ।
भ्रष्टाचार व्याप्त भएको शासन प्रणालीको अन्त आर्थिक उन्नतिका निमित्त नितान्त आवश्यक ठहर गरे । जवाफदेही शासन प्रणालीको उनी पक्षधर रहे । महासचिव पदभार सम्हाले लगत्तै (सन् १९८४) तिनले निकटतम मित्र एडवार्ड सर्वनाजत्से (परराष्ट्र मन्त्री) लाई भनेको बहुचर्चित कथन छ, ‘अब यसरी मुलुक चल्दैन ।’
गोर्बाच्योभले कम्युनिस्ट शासन प्रणाली सुधारका निमित्त दुई प्रमुख नीतिहरू अख्तियार गरे, ग्लात्स्नोष्ट अर्थात् खुलापना तथा पेरेस्त्रोरिका पुनरसंरचना रणनीति अघि सारे । तिनको उद्देश्य थियो, संस्थागत भ्रष्टाचारको अन्त गरेर नागरिकको लोकतान्त्रिक अधिकारको पुनर्बहाली गर्ने । नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तनका निमित्त अर्थतन्त्रलाई खुल्ला तथा प्रतिस्पर्धात्मक तुल्याउनुको विकल्प नभएको तिनले बोध गरेका थिए ।
गोर्बाच्योभले सोभियत युनियन भंग गर्न चाहेका थिए वा थिएनन् त्यो विवादित विषय हो । तिनले सुरू गरेका सुधार तथा पुनर्संरचना कार्यक्रमले ल्याएको बाढीले सोभियत साम्राज्य तथा कम्युनिस्ट प्रणालीको वर्चस्वको अन्त भएको निष्कर्ष भने विवादित छैन ।
अमेरिका तथा ब्रिटेनमा कट्टर कम्युनिस्टविरोधी पहिचान भएका शासकहरू (रोनाल्ड रेगन तथा मार्गरेट थ्याचर) को बिगबिगी रहेको कालखण्डमा सोभियत युनियनसँगको सम्बन्ध पानी बराबर थियो । शीतयुद्ध उत्कर्षमा पुगेको थियो । गोर्बाच्योभले जोखिम उठाएर पश्चिमा मुलुकसँग संवादको ढोका खोले । मार्गरेट थ्याचर र रेगनको संवादको क्रममा बहुचर्चित छ । थ्याचरको भनाइ थियो, ‘यो व्यक्तिसँग हामीले फलदायी संवाद गर्न सक्छौं ।’ सोभियत युनियन तथा अमेरिकाबीच भएका आणविक निशस्त्रीकरण सन्धिहरू गोर्बाच्योभको अगुवाइमा भएका हुन् भन्न अमेरिकी तथा पश्चिमी राष्ट्रहरू कन्जुस्याइँ गर्दैनन् ।
गोर्बाच्योभले सोभियत युनियन भंग गर्न चाहेका थिए वा थिएनन् त्यो विवादित विषय हो । तिनले सुरू गरेका सुधार तथा पुनर्संरचना कार्यक्रमले ल्याएको बाढीले सोभियत साम्राज्य तथा कम्युनिस्ट प्रणालीको वर्चस्वको अन्त भएको निष्कर्ष भने विवादित छैन । यदि तिनी सत्तामोहमा लिप्त भएर राष्ट्रपति पदमा टिकिरहन चाहेको भए सोभियत युनियनको पतनलगत्तै तिनलाई (छोटो अवधिका निमित्त नै किन नहोस्) विनाराष्ट्रको राष्ट्रपति पदबाट राजीनामा दिन आवश्यक पर्ने थिएन । सोभियत युनियनको राष्ट्रपति पद गुमे पनि उनी सहजै रुसी फेडरेसनको पदमा बहाली हुन सक्थे ।
गोर्बाच्योभको आलोचना गर्नेहरूमध्ये घोर दक्षिणपन्थी तिनलाई ललकार्छन् परिवर्तनको संवाहक भएकामा । तिनले दू्रतगतिमा परिवर्तनको अभियान सञ्चालन नगरेको भए सोभियत युनियन टुक्रने थिएन भन्नेहरूको संख्या कम छैन । त्यसै गरी अर्को समूह तिनले द्रूतगतिमा परिवर्तन गरिदिएको भए रुस लोकतान्त्रिक समाजवादी राष्ट्र हुने थियो भन्नेहरूको संख्या पनि सानो छैन ।
निश्चय पनि तिनले परिवर्तनलाई संस्थागत गर्न सकेका भए रुसमा पुटिन प्रवृत्तिले टाउको ठड्याउन अवश्य पनि पाउने थिएनन् । विडम्बना हो, नेल्सन मन्डेलाले निर्माण गरेको दक्षिण अफ्रिकामा जोको जुमा निर्वाचित भए । त्यसो त, विश्वको उत्कृष्ट लोकतान्त्रिक राष्ट्र अमेरिकामा डोनाल्ड ट्रम्प पनि त राष्ट्रपति पदमा निर्वाचित भएकै हुन् । पुनः तिनी आगामी निर्वाचनमा राष्ट्रपति निर्वाचित हुन्छन् कि भनेर अमेरिकी मात्र होइन, विश्व समुदाय सशंकित छ ।
गोर्बाच्योभको निधनसँगै एउटा युगान्तकारी क्रान्तिकारी नेतालाई विश्व समुदायले गुमाएको छ । मानव जाति तिनले गरेका योगदानका कारण सदासर्वदा ऋणी भई नै रहनेछन् । हार्दिक श्रद्धाञ्जलि ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया