विचार

संस्मरण र अनुभूति- ३०

पैसा त कति कति !

वसन्त लोहनी |
मंसिर ३, २०७९ शनिवार ८:१४ बजे

जुद्ध शमशेरको आखिरी कालदेखि पद्म शमशेरको शासन कालखण्ड निर्णायक रह्यो वेदप्रसादको लागि । वि.सं. २००२ साल देखि २००५ साल सम्मको अवधि । वेदप्रसादको अत्यन्त निर्णायक अवधि - व्यावसायिक रूपबाट र आर्थिक रूपबाट । २००२ सालको माघमा पद्म शमशेर श्री ३ हुँदा सरस्वती सदनको निर्माण भर्खर सकिएको थियो । त्यसपछि उनी सुब्बा भए । त्यति बेलाको प्रशासनमा श्री ३ ले बोलिदिए अड्डाको हाकिमको पद । त्यसपछि उनको व्यावसायिक यात्राको सुरुवात । देव शमशेरले तोप पड्काउने प्रथा सुरु गरेदेखि विगत ४५ वर्षबाट गठ्ठाघरमा थुपारिएको पिगलेटको लिलामी अन्ततः वेदप्रसादले सकारेको बेला । हामीले वर्णन गरिसकेका छौ धेरै पटक पिगलेटबारे । यो तोप पड्काएपछि झरेको खाका हो । अर्थात्, पित्तल हो । यस्ता खाकाहरूबाट बनेको थियो त्यो रास पित्तलको।

दूरदर्शी मान्छे वेदप्रसाद । लखनउमा पढेका र ब्रिटिस इन्डियाको सन् २०११ सम्म राजधानी रहेको कलकत्ता आउने जाने गरिरहेका वेदप्रसादले पिगलेट लिलामीको कुरा रेलमा सुन्ने बित्तिकै उनले ती खाकाहरू बेचेर पैसा कमाउन सक्ने सपना देखिसकेका थिए । अर्थात् उनको आँखाले त्यो पित्तलको रास देखिसकेको थियो । ती पित्तल जम्मा गरेर पगाले पछि त्यसबाट धेरै किसिमको सामानहरू बन्न सक्थे । जस्तो - ताल्चा, कब्जा, बिजुलीको प्लग, इन्जिनको व्यरिङ, भाँडाकुँडा, गोला बारुत । सेनाले भने त्यसलाई टुक्रा टुक्री अर्थात् अवशेष मूल्यमा पन्छाउन खोज्दै थियो । वेदप्रसादले बडो यत्नपूर्वक ५० हजार रुपैयाँ जम्मा गरेर यो लिने भए । पहिले त तोकिएको दिनभित्र सो रकम जम्मा गर्नु पर्‍यो । यो काम उनको पिता क. प. रुद्र प्रसाद लोहनीले गरे । 


बुझाउन लैजाँदाको यो रोचक कथा जुन मैले सुनेको थिए त्यो जस्ताको तस्तै पेस गर्दछु । त्यति बेला चाँदीको डवल पाँचको दरले गनेर २५ को बनाउदै लगिन्थ्यो । अनि हिसाब टिपेपछि मिसाएर बलियो जाली झोलामा हालिन्थ्यो । त्यस्तो झोला मैले घरमा पछिसम्म पनि देखेको थिए । तर अहिले भने छैन । त्यस्ता डबल भरिएका झोलाहरू बोरामा हालिन्थ्यो । यस्तो बोरालाई डोकोमा हालेर भरियाले नाम्लो लगाएर बोकाएर गठ्ठाघर लगेका थिए रुद्रप्रसादले । 

त्यहाँ गनेर बुझाएको रसिद नेपाली कागजको लिखत थियो । जसमा सबै विवरण लेखेर रकम प्राप्त भएको भनी बुझ्ने र बुझाउनेको नाम र औँठीको छाप थियो । यो लिखत भने मैले आफ्नै आँखाले धेरै वर्ष अगाडि पुराना काम नलाग्ने कागजमा देखेको थिए । तर अहिले तत्काल पाइन । हुन त यस्ता कागजातहरू पटक पटक घर सर्दा धेरै जसो हराई सकेका छन् । हाल बसेको अपार्टमेन्टमा त खै हाल त्यस्तो खास केही पनि देख्दिन पुराना कागजातहरू म । पाए भने पाठक समक्ष पेस गर्ने छु । या, यी शृङ्खलाहरू पुस्तकको आकारमा प्रकाशित हुँदा समावेश गर्ने छु ।

ती थुपारिएका पिगलेटको स्वामित्व वेदप्रसादको भयो । र, सेनाले दिएको आदेश अनुसार निर्धारित समयभित्रमा लगिसक्नु पर्ने थियो । त्यो अवधिभित्र आवश्यक कागजातहरू तयार पार्नु पर्ने भयो । पिगलेटको बोरा बोरामा हालेर प्याकिङ गर्नु पर्‍यो कलकत्तासम्म पुर्‍याउन । यो निर्यात वस्तु भएकोले निर्यातको स्वीकृति पत्र लगायतका कागजातहरू तयार पारी भन्सार शुल्क भन्सार कार्यालयमा बुझाइ डाँडोबाट झार्नु पर्थ्यो । त्यसपछि रेलको मालगाडीबाट । भन्सार शुल्क, अझ भन्सार तिर्ने मात्र भन्नाले मालसामानको आयात र निर्यात गर्दा राज्यलाई बुझाउने कर हो।

त्यति बेला यस्तो कर काठमाडौँ भएर आउने जाने सामानको लागि काठमाडौँ बुझाउने भन्सार कार्यालय थियो । यो कार्यालय कर उठाउन नियुक्त गरिएको ठेकेदार, जसलाई भन्सारिया वा टक्सारी भन्थे, तिनीहरूसँग सम्बन्धित थिएन । राणाकलामा कतिपय ठाउँमा यस्ता ठेकेदार मार्फत कर उठाइन्थ्यो तिनीहरूलाई कमिसन दिएर । यो लेख्दा लेख्दै झट्ट सम्झे मुस्ताङको टुकुचेमा करिब १३ वर्ष अगाडि पदयात्रा गर्दै जाँदा छिरेको घर । त्यो घर यस्तै ठेकेदारको थियो हिमालपारिको भन्सार उठाउने । नेपालको एक नामुद कविका पिता जो भन्सार ठेकेदारको साथै नामुद व्यापारी पनि थिए।

मलाई मन पर्ने कवि हुन् ती । मेरा मित्र पनि थिए जसको कविता आफ्नो सम्पादनको पत्रिका ‘परिस्थिति’मा मैले २०३७ सालको सुरुमा छापेको पनि थिए । उनी हुन् भूपी शेरचन । हिमालपारिको व्यापार हुने मुस्ताङको भन्सार कार्यालयको यस्तो ठेक्का उनका बाजेको पालदेखि कै हो । तर उनीहरूलाई भने विशेष हैसियत दिइएको थियो सधैँको लागि । सम्मानको लागि सुब्बा पद नै दिइएको थियो । उनी जाने होइन सरकारी कार्यालय । उनीकहाँ नै आउनुपर्ने व्यवस्था पनि गरिएको थियो । त्यसैले रोब थियो सुब्बा साहेब भनेर।

काठमाडौँबाट रक्सौल भएर आउने जाने मालसामानमा भने यस्तो ठेकेदार थिएनन् वेदप्रसादले पिगलेट निर्यात गर्न लागेको समयमा । काठमाडौँस्थित कार्यालयको रोहबरमा नै गर्न सकिन्थ्यो । माल छुटाउनु पर्दा भन्सार शुल्क यही तिर्नु सकिन्थ्यो, वीरगन्जमा होइन । कार्यालय उहिले नै बन्द भइसकेको भए पनि त्यो ठाउँ अहिलेसम्म पनि एउटा ल्यान्डमार्क नै बनेको छ - ‘पुरानो भन्सार’ भनेर । कहाँ छ यो? नयाँ सडकको पहिलेको काठमाडौँ नगरपालिका भवन, जुन केशव स्थापित मेयर हुँदा अनायास भत्काएर जग्गाधनीको विवाद खडा गरेर अहिले सशुल्क पार्किङ थलो बनेको छ, त्यसको दक्षिण तर्फ ।  

नेपालको भन्सारको इतिहास धेरै पुरानो छ । प्राचीन कालदेखिको । यसो हुनुको कारण नेपाल दक्षिण एसियामा एउटा पुरानो मुलुक हो । त्यतिले मात्र होइन । प्राचीन कालदेखि व्यापार गरेको मुलुक पनि हो । यस अर्थमा राज्य सञ्चालनसँगै आयात निर्यात व्यापार पनि जोडिएको छ । यहाँनिर नेपालबाट हुने प्राचीन आयात र निर्यातबारे केही कुरा गरौँ । त्यो परिवेश अर्थात् वेदप्रसादलाई छुन आएको समय प्रवाह ठम्याउन । त्यसैले अलिकति नेपालको व्यापारिक इतिहासलाई हेरौँ त्यो क्रमबद्धता हेर्न जुन वेदप्रसादको पिगलेटको ऐतिहासिक यात्रामा जोडिन आइपुगेको छ । यो क्रमबद्धता हेर्नको लागि कौटिल्यको नै कुरा गर्नु पर्ने हुन्छ । 

अरू पनि नाम भएका व्यक्ति उनी - विष्णुगुप्त भने पनि या चाणक्य भने पनि । जे भने पनि त्यत्तिकै प्रख्यात । कुनै बेलाको ज्ञानको अपार थलो मानिने तक्षशिलाको महापण्डित । तक्षशिला जहाँ हिन्दु, जैन र बुद्ध धर्म सम्मिलित भएको, अहिलेको पाकिस्तानको रावलपिंडी नजिकै । आर्थिक गतिविधि कसरी जोडिएको छ कुन ठाउँमा त्यो निर्णायक हुन्छ त्यो ठाउँको उत्थान र अवसानको । मानव सभ्यताको जन्म मरणको क्रमको नै । त्यति बेला तक्षशिला आर्थिक चहलपहलको मूलबाटोमा थियो । मान्छे भन्दा धेरै लामो समय बाच्ने संस्कृति र सभ्यताहरूले पनि अन्ततः मर्नु पर्दछ पुन जन्मको लागि यसै क्रममा।

यो नाम उच्चारण गर्ने बित्तिकै अलि विषयान्तर गरेर नै भए पनि मलाई भन्न मन लागि हाल्यो एउटा कुरा । यो त्यही ठाउँ हो जुन लडाइ नै नलडेर जिते पनि अगाडि जान कमान्डरको आदेश आफ्नै सेनाले मानेन । यसपछि उनी फर्कँदा मरे । ती थिए विश्व सम्राट् सिकन्दर । सिकन्दरको प्रयोग महाकवि देवकोटाले ‘पागल’ कवितामा जसरी गरेका थिए अन्याय विरुद्धको उनको युद्धलाई वर्णन गर्ने क्रममा त्यसबाट म प्रभावित भएको थिए । उनी लेख्छन् - सिकन्दरलाई मैले गाली दिएको छु! यस कवितामा यो हरफको लगत्तै जसो प्रयोग भएको ‘महापण्डित’ ठम्याउन महापण्डित राहुल सांकृत्यायनलाई पनि तत्काल जोडिहाल्नु पर्ने हुन्छ । यो हाम्रो छलफलको विषय होइन अहिले।

सिकन्दर भारत पुग्दा त्यही क्षेत्रमा थिए कौटिल्य २३४८ वर्ष अगाडि । तर यी दुईको भेट भएन । आफ्नै सेनाले विद्रोह गरेकोले फर्कँदा अहिलेको बगदादको नजिकै मरेको दुई वर्षपछि भारतको शक्तिशाली मौर्य साम्राज्यको स्थापना भएको हो । मौर्य साम्राज्यको स्थापनामा वैदिक ज्ञान र वाङ्मयका महापण्डित कौटिल्यको निर्णायक भूमिका रह्यो । चन्द्रगुप्त मौर्यको नाति अशोक नेपालसँग सम्बन्धित हुन आइपुगे, लुम्बिनीमा अशोक स्तम्भले स्थापना गरेर । यसरी नै गौतम बुद्धको जन्मथलो लुम्बिनीमा भएको तथ्य स्थापित भएको हो । 

अबफर्कौँ नेपालको व्यापारिक इतिहासमा कौटिल्यलाई लिएर । यस कारण पनि कि कौटिल्य राजनीतिक वैज्ञानिक मात्र होइनन् महान् अर्थशास्त्री पनि हुन् । आजकाल अर्थशास्त्रीको कुरा गर्ने बित्तिकै मान्छेको मनमा आउने नाम हो अठारौँ शताब्दीका अर्थशास्त्री एडम स्मिथको । कारण हो उनले लेखेको गहकिलो कृति, जसलाई ‘वेल्थ अफ दि नेसन्स’ पनि भनिन्छ । त्यसपछि उनीलाई अर्थशास्त्रको पिता’ भनियो । समग्रमा, आर्थिक गतिविधिहरूको कारण र परिणामको वैज्ञानिक अध्ययन गर्ने पद्धति उनले बसालेका हुन्।

कौटिल्य र उनको सेरोफेरोबारे अलि लामो कुरा गर्नु परेको कारण एउटै मात्र छ । त्यो कारण हो नेपालको व्यापारको इतिहासको सुरुवातलाई ठिक ढङ्गबाट पहिचान गर्न सकियोस् भनेर ।

तर करिब २००० वर्ष अगाडि अर्थशास्त्रको किताब लेखिसकेका हुन् कौटिल्यले । तर उनीलाई भने ‘साध्यले साधनको निर्णय गर्दछ’ भन्ने सिद्धान्त ‘दि प्रिन्स’ भन्ने किताबमा व्याख्यागर्ने नकोलो म्याकिभालीको प्राचीन स्वरूपको रूपमा हेरिन्छ । यसको कारण सायद धेरैले भन्ने गरेको उनको मण्डला सिद्धान्त हो । यसले भन्छ - ‘हरेर छिमेकी राज्य दुस्मन हुन् र दुस्मनको दुस्मन मित्र हो।’ तर यसले कौटिल्यको अर्थशास्त्रको समग्रता केही पनि देखाउँदैन । उनको अर्थशास्त्र वैदिक धर्ममा आधारित महान् ग्रन्थ हो । 

कौटिल्य र उनको सेरोफेरोबारे अलि लामो कुरा गर्नु परेको कारण एउटै मात्र छ । त्यो कारण हो नेपालको व्यापारको इतिहासको सुरुवातलाई ठिक ढङ्गबाट पहिचान गर्न सकियोस् भनेर । यस्तो पहिचानको विश्वसनीयता चाहिन्छ । र, त्यो कौटिल्यले दिएका छन् । करिब २० वर्ष शासन गरे काठमाडौँमा किरात राजाहरूले । त्यसपछि चाँगुनारायणको मन्दिर बनाउने लिच्छवि राजा मानदेवको शासनमा सन् २५० सुरु भयो।

त्यतिबेला अर्थात् किरातले काठमाडौँ शासन गरेको बेलामा नै कौटिल्यले भनेका छन् आफ्नो कृति अर्थशास्त्रमा । मैले चाहिँ रङ्गराजनले सम्पादन र अनुवाद गरेको र पेङ्गुइनले छापेको पुस्तकमा पढेको हु ।  नेपालबाट उनको सामाग्री विदेश निर्यात हुन्थ्यो । त्यो भनेको कौटिल्य हर्ताकर्ता भएका मगध राज्यमा । यस्तै नेपालबाट तिब्बत सामानहरू निर्यात भएका बुद्ध भिक्षुहरूको विवरणमा उल्लेख भएका छन् । तर यी मूलतः बार्टर सिस्टम अर्थात् आफ्नो समान दिने अरूको सामान लिने पद्धति अन्तर्गत हुन्थे । या भारतीय मुद्राबाट । नेपालको आफ्नो मुद्रा थिएन त्यति बेला।

यसरी सुरु भएको वैदेशिक व्यापार लिच्छवि कालमा झन् बढ्दै गयो । मल्ल कालका झन् फस्टायो । आफ्नै पद्धतिबाट सञ्चालित भन्सार व्यवस्था राम्रो थियो आयात निर्यातको कर उठाउने वस्तु पिच्छेको अलग अलग दररेट सहित । शाह काल हुँदै राणा कालको पद्म शमशेरको पालामा आइपुग्दा वेदप्रसादले पनि निर्यात गर्ने अवस्थामा आइपुगे । उनले गर्न लागेको निर्यात मुलुकमा उत्पादित वस्तु थिएन । आयात गरिएको र प्रयोग गरिसकिएको । अनि काम नलाग्ने भनेर फालिएको वस्तु थियो।

वेदप्रसाद लोहनीका पिता क. प. रुद्रप्रसाद लोहनी ८० वर्ष पार गरिसकेको अवस्थामा ।

यहाँनिर मलाई भन्न मन लाग्छ नेपालको परम्परागत अर्थतन्त्र बारे । कतिलाई सुन्दा नै अचम्म लाग्ला । तर म भन्छु यो सुदृढ थियो । यस अर्थमा कि यो सुदृढ रूपान्तरणको पर्खाइमा थियो । आन्तरिक तागत बलियो थियो तुलनात्मकरुपमा । विदेशमा भर परेर बाच्ने कुरा कसैको मनमा थिएन । यसको साक्षी त ती हजारौँ वर्षदेखि कुदिएका पहाडका गह्राहरूलाई सोधे थाहा हुन्छ जसले नेपालीहरूको आफ्नै पौरखमा बाच्ने सङ्घर्षका सिङ्गो इतिहास बोकेको छन्।

जीवन कष्टकर र सङ्घर्शमय थियो तर जे थियो आफ्नै पौरखमा थियो । यही उत्पादन हुन्थ्यो खानलागि । अझ बच्थ्यो बेच्नको लागि । र, लाउनलाई आफ्नै किसिमको कपडा । यही कै सामाग्रीबाट बनेका घर छाप्राहरू । हो, 'मास एक्सोडस ' अर्थात् गाउँका गाउँले खान नपाएर मुलुक छोड्नु पर्यो १९ औ शताब्दीको सुरुमा । तर त्यो राज्यको गलत नीति, युद्ध र शोषणले भएको थियो । नेपालीले त भोटलाई जितेको हो । र, पहिलो चरणमा विश्व शक्ति बनेको इम्पेरियल ब्रिटिसलाई हराएको हो । अठोट र आँट भएको जाती हो नेपाली।

हार नमान्ने वेदप्रसादले बोकेको यही नेपाली अठोट र आँट हो । त्यसैले एउटा साधारण डिप्लोमा होल्डर भएर नेपालमा सिमेन्ट ढलान सुरुगर्न सक्ने युग पुरुष बन्न सके ‘सरस्वती सदन’को निर्माण गरेर । केही नहुँदा पनि हार नमानेकै कारण एक सय रुपैयाँ बचत नभएका वेदप्रसादले ५० हजारको पिगलेट किन्न सके । उनी व्यस्त थिए । दालभात खाने जागिर र केही निर्माण कार्यबाट बचेको समय निकालेर पिगलेट निर्यातको चाँजोपाँजो मिलाउन । हुकुमी शासन थियो । तर अरू कुराको लागि पद्धति बलियो थियो । डर थियो । त्यसैले सम्बन्धित सबै अड्डाहरूबिच समन्वयन गरेर काम गर्नु पर्थ्यो । वेदप्रसाद यसैमा जुटेका थिए।

५० हजार रूपैयाँ पिता रुद्रप्रसादले गठ्ठाघरमा बुझाइसकेको हुँदा पिगलेट लैजाने फुकुवा पत्र त सेनाले दियो । त्यसको आधारमा निर्यातगर्ने पत्र लगायत गौडा, गोस्वारा र नेपालको रेललाई लेखिने आदेशहरू जम्मा गर्दै थिए वेदप्रसाद । अनि पिगलेटको रासलाई कामदार लगेर ढक तराजुले जोख्दै बोरामा प्याक गरेर बोरा सिउने काम पनि भइरहेको थियो । जसरी घर निर्माणगर्ने टोली उनले बनाएका थिए त्यस्तै यो कामको लागि भने टोली थिएन । उनको लागि पनि यो पहिलो पटक थियो । इन्जिनियरिङ उनले जानेको र कल्पना गर्न सक्ने विषय थियो । व्यापार त थिएन । अर्थात् सामान निर्यात गर्दाको प्रक्रियागत जोरजाम । बुझ्दै जानु पर्ने र गरेर नै सिक्नु पर्ने।

वेदप्रसाद आफ्नो एउटै दाजु फणीन्द्रप्रसादलाई अगाध मान्थे । र, दाजु पनि त्यत्तिकै माया गर्थे भाइलाई । तर उनको यो व्यापारमा कुनै सहयोग थिएन जसरी हुन्थ्यो त्यति बेलाको मिलेर बसेको संयुक्त परिवारमा । उनी प्राध्यापक मान्छे सिधासादा । त्रिचन्द्र कलेजमा पढाउने र घरमा ट्युसनगर्ने । यस बाहेक चासो नै थिएन उनीलाई । न समय नै । भाइहरू विष्णु र राम बाबालाई पढाए । वेदप्रसादको रुद्रप्रसादसँग साधरणतया बेलुकी मात्र भेट हुन्थ्यो । कारण, बिहान नित्य कर्म सकेर जागिर भ्याउने चटारोमा हुन्थे । भेट हुँदा अवश्य सोधिहाल्थे - के हुदैछ कृष्ण बाबु या नानी भनेर।

वेदप्रसादको पहिलो भाइ वासुदेवलाई रुद्रप्रसादले मूलतः संस्कृत पढाएर थानसिङको घरजग्गा तिर लगाएका थिए - आफ्नो खेतिपातीगर्न र गाउँको सकेको विकास निर्माणगर्न । सङ्गीत चाहिँ उनले आफैले सिकेका । त्यसपछिको भाइ केशव खटेर कामगर्न सक्ने थिएनन् त्यति बेलाको अलि स्वास्थ्यको कारणले गर्दा । अरू भाइहरू विष्णु, राम बाबा र लक्ष्मण त सानै थिए पढ्दै गरेका । वेदप्रसाद भाइहरूको पितातुल्य संरक्षक थिए । उनमा यो बलियो भाव मैले स्वयम् अनुभव गरेको कुरो हो । त्यस अनुरूपको व्यवहार र सकेको मद्दत गरेको पनि देखेको हु । यस क्रममा भाइका छोराहरूलाई पनि उनले सकेको मद्दत गरेका हुन् । यो मेरो परिबार भन्ने प्रबल भावना थियो उनमा । गर्व थियो, मौका पाउने बित्तिकै यसरी बोल्दा - एक दर्जन भन्दा बढी त पिएचडी र एमए छन् मेरो परिवारमा । यसबारे पछिल्ला शृङ्खलाहरूमा सन्दर्भ परेको अवसरमा म वर्णन गर्ने छु।

उनको आफ्नो छोरा छोरीपट्टि जेठी छोरी भवानीलाई सानैमा विवाह गरेर पढाइसकेका, त्यति बेलाको समयले गर्दा । माइली छोरी अम्बिका ९ वर्षकी । जेठो छोरा प्रकाश दुई वर्ष पनि नपुगेको । अरू दुई छोरीहरू र एक छोरा त जन्मिसकेकै थिएनन् । व्यापारगर्दा उनले आफूलाई एकलो महसुस गरेका थिए । पछिसम्म पनि भन्थे यसबारे कुरा चल्दा - तिमीहरू कोही थिएनौ मद्दत गर्ने । म एक्लो थिए । यो एक्लोपनामा साथ दिएका थिए उनको भाइ वासुदेवले पछिल्लो चरणमा । यसबारे पछि आउने छ जब वेदप्रसादको प्रकाश इन्जिनियरिङ कम्पनीले ब्रिटिस कम्पनी मार्टिन बर्नस् लिमिटेको डिस्ट्रिव्युटरसिप प्राप्त गर्‍यो नेपाल अधिराज्यको लागि।

भारी बोकेका भरियाहरूको लहर कमिलाको ताँती जस्तो पहाडको त्यो उकाली ओरालीमा । मालसामानका बोराहरू र ठुला कार्टुनहरू काठमाडौँ बोकेर लाउँथे । काठमाडौँका एकसे एक कलात्मक दरबार बनाउने र सजाउने सामानहरू त्यसैगरी आउँथ्यो भीमफेदी चित्लाङ भएर । नेपाली रेल सुरु हुनु अगाडि त रक्सौल देखि नै । वा, बयल गाडीमा अमलेखसम्म । भरियाहरूको लागि यो पहाडी बाटो माथि तल गर्न त यति सहज थियो कि जसरी उनीहरू आफ्नै घरमा भित्र बाहिर गरिरहेका छन् । उनीहरूको खुट्टाहरू लयबद्ध थिए ती उकाली ओरालीहरूसँग । जिउने बाध्यताले सिकाएको यो । तर वेदप्रसादको पिगलेट भरिएका बोराहरू त्यसरी नै थानकोटबाट तल झारिनु परेन जति बेला राणाहरूले चढ्ने मोटरहरू भने त्यसरी नै काठमाडौँ ल्याइँदै थियो । 

किन परेन? यसको उत्तरको लागि अलिकति यसको सुरुवात हेरौँ । शासकको आनन्द नै राज्यको गतिविधि बनेको बेला । शासकीय साजबाजको लागि, अनि राणाहरूको आमोद प्रमोदको लागि । आनन्दको लागि नेपालको विभिन्न ठाउँबाट ल्याइएका सयौँ नानीहरूदेखि छोराहरूलाई विवाहगर्नको लागि ल्याइएका डोला मैयाँसम्म राख्न र सधाउन पर्ने, उपयुक्त भएपछि उपयुक्त अवसरमा प्रयोग गर्न । त्यसको एउटा अर्कै सन्सार अटाउनु पर्ने हुन्थ्यो । त्यसैले ठुला ठुला दरबार चाहियो । मलाई त यो लेख्दै गर्दा कता कता झ्वाट्ट लाग्यो - नेपालमा अघोषित र परिमार्जित वेश्यावृत्ति यी राणाहरूको ती ठुलो दरबारबाट नै सुरु भएको हो । खैर, त्यो अर्कै पाटो भयो।

यो छलफलको सन्दर्भमा भने ती ठुलो दरबार बनाउन ठुलो ढुङ्गो चाहिने । यस्तो ढुङ्गा पाइने काठमाडौँको सबभन्दा नजिक ठाउँ भनेको हलचोकको ढुङ्गा खानी थियो । त्यति बेला त सहर बाहिर कता हो कता हलचोक । अहिलेको जस्तो आनाको ५० लाख पर्ने नभएर ५० रुपैयाँ रोपनीमा पनि जग्गा बिक्री नहुने । त्यसैले हलचोकबाट ठुलो ढुङ्गा ल्याउन ठुलो सकस । कुरा ठुलोको पर्‍यो - ठुलो दरबार, ठुलो ढुङ्गा र ठुलो सकस । समाधान बन्यो रोपवे । यसरी ठुलो ढुङ्गा ठुलो दरबार बनाउन ल्याउन हलचोक - लैनचौर रोपवे सुरु भएको हो । राणा कालमा यो सुरुवात चन्द्र शमशेरमै टुङ्गियो । चन्द्र शमशेरकै शासनमा धुर्सिङदेखि मातातीर्थसम्म ३२ किलोमिटरको रोपवे बनेर । 

धुर्सिङ भीमफेदी तल छ भने मातातिर्थ चन्द्रागिरि तल । रोपवेको कुरा गर्दा एउटा कुरा चाहिँ भन्ने पर्ने हुन्छ । नेपालमा सडक यातायात महँगो हुन्छ र रोप वे नै उत्तम विकल्प हो भनेर सभा सेमिनार हुन्छ । डलर खाने ठुला कन्सल्टेन्टहरूले यसको ठोकुवा गर्दछन् । विश्व बैङ्कले प्रतिवेदनमा लेख्छ । तर व्यवहारमा भने यसमा कसैको ध्यान जाँदैन । सन् १९६५ मा धुरसिङबाट हेटौडा पुगेको रोपवे पनि बन्द छ । यसरी मालवाहक रोप बेलाई मरियामेट पारेका छन् । मान्छे बोक्ने चलेको छ । रोपवेको नाम तुइन बनेको छ । यस्तै केबुल कार । प्रधानमन्त्रीको जनताप्रतिको दर्द भरिएको आवाज सहितको प्रतिबद्धता सुनिन्छ - नो तुइन दुई वर्ष भित्रमा । जनताले ज्यानको जोखिम उठाएर तुइनबाट नदी तर्नु पर्दैन । त्यस ठाउँमा झोलुङ्गे पुल हालिने छ । सरकारले निर्णय गर्दछ तुइन हटाउने । खै, कति दुई वर्ष बिते कति! तर यस्ता प्रतिबद्धता र निर्णय पानीका फोकाहरू सरह छन्।

२०१५ सालको नेपालको पहिलो आम चुनाव जसबाट नेपाली जनताको सँगालिएको विश्वास लिएर नेपालको पहिलो प्रधानमन्त्री क्रान्तिकारी नेता विश्वेश्वर प्रसाद कोइराला बने। चुनावको अवसरमा वेदप्रसाद अन्तर्गत रहेको  हुलाक विभागले निकालेको आम चुनावको पहिलो दिनको टिकट प्रकाशन।

अहिले पनि मृत्युसँग सम्झौता गरेर वच्चा बच्चीहरूलाई तुइनबाट नदी तर्नु पर्ने बाध्यता छ स्कुल जान । यस्तै पब्लिक प्राइभेट पार्टनरसिपको कुरा पनि सुनिन्छ रोपवे बनाउने बारे । तर निजी क्षेत्र भने अत्यधिक फाइदा हुने केबुल कारमा दङ्ग छ । यसै क्रममा हाल तीन केवल कार सञ्चालित छन् - मनकामना, चन्द्रागिरि र पोखरा । र, अरू केही आउँदै छन् । म ठान्छु नेपालको अर्थतन्त्रको चरम विषमता हो । अर्थात्, धनी झन् धनी भएर जाने । र, गरिब झन् गरिब झन् गरिब भएर जाने । म ठान्छु धनी र गरिबबिचको बढ्दै गएको फासलाको बिम्ब बनेका छन् तुइन र केबुल कार नेपालमा । 

वेदप्रसादको पिगलेटले भरिएका बोराहरू रोपवेबाट तल झारिए । बोकाएर लग्नु परेन । तर यसको इन्तजाम गर्न सजिलो चाहिँ भएको थिएन । ट्रक थिएन । यदाकदा लरी पाइन्थ्यो । त्यसको जोगाड मिलाएर मातातीर्थसम्म लरीमा हालेर पुराइयो । त्यहाँ लोडरहरूले रोपवेको एकपछि अर्को डब्बामा लहरै हाल्दै गए । यता वेदप्रसादले भीमफेदीतर्फ सामान बुझेर लिन मानिस पठाइसकेका थिए । र, अमलेखगन्जदेखि रक्सौलसम्म नेपाल सरकारको रेलमा र त्यसपछिको कलकत्तासम्मको लागि लेखापढी र आकाशवाणी गरेर रेलवे वायगन बुक गरिसकेका थिए।

त्यति बेला लैन भनिन्थ्यो लैनचौरस्थित ब्रिटिस इन्डियाको रेजिडेन्ट बस्ने ठाउँलाई । मिनिस्टर स्तरमा पुगे पनि राजदूत स्तरमा अझ भएको थिएन । त्यो अफिसले चलाएको थियो नेपाल बाहिरको हुलाक र टेलिग्राफ सेवा । यो प्रथा नेपालमा प्रजातन्त्र आएपछि पनि चालु रह्यो । मात्र, पात्र बदलियो । ब्रिटिसबाट भारतीय भए । यसै सिलसिलामा ९० वर्ष काटेका पूर्व सचिव र राजदूत नारायण प्रसाद अर्जेलले मलाई सुनाए - ‘राणा कालमा किन ? पछिसम्म थियो । अमेरिकी राष्ट्रपति केनेडीको निधन हुँदा म परराष्ट्रमा थिए । सचिव पद्म बहादुर खत्री । बिहानै घरमा बोलावट भयो, ज्ञानेश्वरबाट कालोपुल जाने ओरालोको तल । राजा महेन्द्रको तर्फबाट उनले लेखेको मेसेज पठाउनु भनेर दिए मलाई । आफै भारतीय दूतावास गएर सो टेलिग्राम पठाएको थिए मैले।’ 

५० हजारको ऋृण र त्यसको व्याज हिसाब गरेर बुझाउनु पर्थ्यो उनले यो रकमबाट । त्यो रकम नै धेरै ठुलो होइन भन्ने मनस्थिति बनेको थियो महिनाको १०० रुपैयाँको जागिर खाने सुब्बा बाजेको।

यसबारे केही कुरा गर्नै पर्ने भयो । हुलाकको कुरा त २०१५ सालमा नै नेपालको आफ्नै टिकटबाट विदेश चिठ्ठीपत्र जाने व्यवस्था भइसकेको थियो । यसको लागि वेदप्रसाद लोहनीले कायममुकायम सचिव भएदेखि नै काम गरेका थिए । तर सचिव सुरेन्द्र शमशेर बनेपछि उनी २०१३ सालमा सह सचिव भए । तर त्यस्तो सह सचिव जसको अन्तर्गत सचिवलाई सरह विभागहरू दिइएको थियो । ती विभागहरू बारे उनले आफैले निर्णय गरेर मन्त्रिकहा फाइल पटाउँथे । सचिव मार्फत जानु पर्दैनथ्यो । त्यति बेलादेखि नै नेपालको आफ्नै टिकटबाट विदेश चिठ्ठीपत्र गर्न पाउनु पर्दछ भनेर काम गर्दै आएका थिए । पछिल्लो चरणमा उनको निर्णायक सहयोगी थिए हुलाक विभागका निर्देशक जीवन लाल सत्याल।

२०१५ सालमा यो अवसर आयो युनिभर्सल पोस्टल युनियनको सदस्य नेपाल बन्ने । सुवर्ण शमशेरको सरकार भर्खर बनेको थियो । उनले चाहेनन् यो हुन दिन । उनीमाथि प्रेसर थियो अन्तको । उनले पन्छ्याउन चाहे चुनावपछिको सरकारले गर्ने भनेर । तर वेदप्रसाद मानेनन् । विभागीय मन्त्री चन्द्र भूषण पाण्डेले पुरा सपोर्ट गरे वेदप्रसादलाई । र, नेपाल सदस्य बन्यो । त्यसपछि हाम्रै टिकटबाट हामीले नै पठाउन थाल्यौ विदेशतिर । तर टेलिग्राफको कुरा सुन्दा अचम्म लाग्यो मलाई । केनेडीको निधन, जुन २०२० साल मङ्सिरमा भएको थियो, त्यति बेला सम्म पनि टेलिग्राफ भारतीय दूतावासबाट सञ्चालित भएको रहेछ । 

अहिले भने हामी पिगलेटको छलफलमा छौ । वेदप्रसादले धुर्सिङ पठाएको मानिसले पिगलेट पुराएपछि त्यहाँ स्टोरगर्ने ठाउँमा वेदप्रसादले तैनाथ गरेको अर्को मानिसलाई बुझाएर फेरि धुर्सिङ फर्किन्थे । पिगलेटको परिणाम धेरै थियो । त्यसैले रोपवेबाट एक पटक होइन पटक पटक गरेर पठाउनु परेको थियो । ती सबै वीरगन्जमा यसरी जम्मा गरियो । त्यो बेलाको नेपालमा वीरगन्ज नै केन्द्र थियो व्यापारको र सञ्चारको । गठ्ठाघरबाट सबै पिगलेट क्रमैसँग यसरी वीरगन्ज पुगिसकेपछि वेदप्रसाद हिँडे आफै भीमफेदी तर्फ । थानकोट - चित्लाङ - कुलेखानी-चिसापानी हुँदै । भीमफेदीको पैदल मार्गसँग उनी पनि अभ्यस्त थिए कैयौँ पटक हिँडिसकेकोले । वीरगन्ज पुगेर सबै बोराहरूको अवस्था र गन्ती गरे । त्यसपछि आफूले बुक गरेको दिनको लागिको रेलवे वायगनको स्थिति र अवस्था बुझ्न गए पारी रक्सौल । र, पिगलेट अगाडि लैजाने सबै चाँजोपाँजो मिलाए । 

निर्धारित दिनमा रक्सौल सामान पुराएर मालगाडीमा सब हाल्न लगाइ सिल लगाउन लगाए । र त्यो मालगाडी हिँडे पछि टाइम मिलाएर प्यासेन्जर ट्रेनबाट उनी पनि लागे । साथमा ती दुवै सहायकहरू पनि थिए । उनी यसरी मुकामाघाट पुगे । यो एउटा सानो गाउँ गङ्गा नदी किनारको । तर ज्यादै महत्त्वपूर्ण त्यति बेला व्यापारको । कारण थियो त्यहाँको रेलवे स्टेसन । यो यति व्यस्त रहन्थ्यो पार पाउन गाहारो थियो । यसको पनि कारण हो त्यति बेला सम्म गङ्गाजी तर्ने पुल थिएन । त्यसैले ट्रेनहरू यही स्टेसनमा ठेलमठेल हुन्थे । डुङ्गा र स्ट्रिमरबाट सामान र प्यासेन्जरलाई तारे पछि मात्र गङ्गा पारिको यात्रा सुरु हुन्थ्यो।

यो ठेलमठेलको बारेमा यतिसम्म भनिन्छ कि बङ्गालमा सन् १८९६ मा भएको भोकमरीको एउटा प्रमुख कारण मुकामाघाटको ठेलमठेल हो । अनाज पुराउनै सकिएन बङ्गालमा मुकामाघाटको ठेलमठेलले गर्दा । त्यहाँको सम्भावित भिडभाड बुझेका थिए वेदप्रसादले । उनी मुकामाघाट पुग्दा त्यहाँ त्यो मालगाडी आइपुगिसकेको थिएन । त्यसलाई कुरेर बस्नु पर्‍यो । माल गाडी प्यासेन्जर ट्रेन भन्दा ढिलो कुद्ने भएकोले यस्तो हुनु स्वाभाविक थियो । ती पिगलेट निकालेर स्ट्रिमरबाट नदी तार्ने कुरामा सजगता अपनाएका थिए उनले । यसरी सामान तारे । उता लागिरहेको मालगाडीबाट अगाडिको यात्रा चालु भएपछि उनी पनि प्यासेन्जर ट्रेनबाट कलकत्ता लागे। 

कलकत्ता अगाडि नै पुग्नु पर्थ्यो उनी चढेको रेल माल गाडीभन्दा । त्यसैले पुगे अगाडि । उनको पिगलेट आउँदै थियो । मालगाडीको लोकेसनको जानकारी पनि स्टेसन मास्टरको अफिसबाट लिइरहेका थिए । समान लैजाने फ्री टाइम नाघे पछि ड्युमरेज र वारफेज चार्ज लाग्ने कुरो उनीलाई राम्ररी थाहा थियो । यी चार्जहरू धेरै बढी हुन्थे । त्यसैले वेदप्रसाद अलि हडबडमा थिए । उनीले केही पिगलेट आफैसँग लिएर हिँडेका थिए स्याम्पलको लागि । त्यसैले उनी आफूसँग भएको स्याम्पल लिएर कहाँ बढी भाउ पाइन्छ त्यो खोज्न हिँडे । कलकत्ता सहर उनले घुमेको सहर । सबै जानकारी थियो उनीलाई । हत्तपत्त कसैले ठगठाग गर्न सक्ने कुरो थिएन उनीलाई । पिगलेटको भाउ र डिलर्रसको जानकारी उनले पहिले नै जम्मा पारिसकेका थिए।

भाउ बदली रहन्थ्यो सेयरको भाउ जस्तो । पित्तलको डिमान्ड र सप्लाइको अनुसार । दुई दिन यसरी भौँतारिएपछि उनले राम्रो डिल गरे । एडभान्स पनि लिए आरआर अर्थात् रेलवे रिसिप्टको आधारमा । रेलबेलाई उनले केही विलम्ब चार्ज तिर्नु पर्‍यो । माल छुटाएर सरासर त्यो व्यापारीको गोदाममा पुराएपछि उसले भुक्तानी चुक्ता गर्‍यो । यसबारे उनी भन्थे - त्यसपछि त मसँग पैसा कति हो कति । ५० हजारको ऋृण र त्यसको व्याज हिसाब गरेर बुझाउनु पर्थ्यो उनले यो रकमबाट । त्यो रकम नै धेरै ठुलो होइन भन्ने मनस्थिति बनेको थियो महिनाको १०० रुपैयाँको जागिर खाने सुब्बा बाजेको।

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
x