देउवाले भावी प्रधानमन्त्रीमा गगन थापा घोषणा गर्नुपर्छ
देउवाले बुझ्नुपर्छ : ‘इतिहासले लालची नेताको सम्मान गर्दैन, त्यागीको प्रशंसा गर्छ’
दलका केही शीर्षस्थ नेताहरूको असुरक्षित मनोविज्ञानकै कारणले गर्दा निर्वाचनपूर्व दुई ठूला दल नेपाली कांग्रेस तथा एमाले फरक–फरक गठबन्धन निर्माण गरेका हुन् । दुवै प्रमुख दल आबद्ध शीर्षस्थ नेताको उद्देश्य सत्ता प्राप्तिमै सीमित छ । सत्ता प्राप्तिपछि राष्ट्रलाई कुन दिशाउन्मुख तुल्याउने जस्तो महत्वपूर्ण विषयलाई उनीहरूले सरोकारसम्म पनि राख्न सकेका छैनन् । दुवै गठबन्धन आबद्ध नेतृत्व नै हाबी हुने हो भने दुईमध्ये एकले सत्ता प्राप्त गर्दा देशबासीलाई कागलाई बेल पाक्नु हर्ष न विस्मात् हुने हो । यथास्थितिले नै निरन्तरता पाउँछ । विगत पाँच वर्ष जसरी खेर गएको थियो, त्यसरी नै अबका पाँच वर्ष पनि खेर जाने निश्चित छ ।
नेपाली कांग्रेसले नेतृत्व गरेको पाँच दलीय होस् अथवा एमालेको नेतृत्व ३–४ दलीय गठबन्धन दुवैको संरचना तथा स्वरूप कुरुप छन् । विनासैद्धान्तिक जगमा खडा भएका यी दुबै गठबन्धन अन्तरविरोधले भरिपूर्ण छन् । दुईमध्ये कुन गठबन्धन बढी ‘अपवित्र’ छ ? उत्तर कठिन हुन्छ । नेतृत्वको निर्देशनको पालना गर्नु भनेको नेपाली कांग्रेस, एमाले तथा जनता समाजवादी पार्टीका कार्यकर्ताका निमित्त हँसिया–हथौडा, हलो चिन्ह तथा खड्गप्रसाद ओलीको अनुहारको झझल्को दिने सूर्य चिन्हमा छाप लगाउनु कुनै पनि हालतमा सहज हुँदैन ।
त्यसै गरी लोकतन्त्रमा आस्था राख्ने हुन अथवा मार्क्सवादमा विश्वास गर्ने मतदाताका निमित्त हँसिया–हथौडा तथा हलो चिन्हमा छाप लगाउन कदापि सहज हुने छैन । त्यसैगरी स्वायत्तता, आत्मसम्मान, पहिचानका निमित्त संघीयताका लागि कुर्वानी गर्ने मधेसवादी मतदाताका निमित्त सूर्य चिन्हमा छाप लगाउनु आत्मघाती कदम हो । सिद्धान्त, आदर्श, नैतिक तथा मूल्य–मान्यताविरुद्ध अमूल्य मत दिन नचाहने मतदाताका निमित्त प्रमुख दुई दलले गठबन्धनको घेराबन्दीले बन्देज लगाएका छन् । उदाउँदै गरेका नयाँ दल, बागी तथा स्वतन्त्र उम्मेदवारको उपस्थितिले भने उनीहरूलाई राहत दिएको छ । यिनै कारणले गर्दा विगतमा भन्दा बढी संख्यामा नयाँ दल, स्वतन्त्र लगायत बागी जनप्रतिनिधको प्रतिनिधि तथा प्रदेश सभाहरूमा बाक्लो उपस्थिति हुने प्रबल सम्भावना देखिन्छ ।
यथास्थितिले निरन्तरता पाएको खण्डमा निर्वाचनपश्चात्को केन्द्रीय राजनीतिक परिदृश्य अत्यन्त निराशाजनक हुने देखिन्छ । प्रधानमन्त्री पदका दाबेदार गठबन्धन आबद्ध नेताहरू संख्या ७ छ । छैठौं पटक उक्त पद प्राप्त गर्न शेरबहादुर देउवा जति लालायित छन् तिनभन्दा कम लालायित तेस्रो पटक प्रधानमन्त्री पद प्राप्त गर्ने खडगप्रसाद ओली तथा पुष्पकमल दाहाल छैनन् । त्यसैगरी दोस्रो पटक प्रधानमन्त्री पद टप्काउन माधवकुमार नेपाल, झलानाथ जति आतुर छन् उनीहरू भन्दा कम प्रथम पटक उक्त पद प्राप्त गर्न उपेन्द्र यादव तथा महन्थ ठाकुर किमार्थ कम आतुर छैनन् । निर्वाचन समापनसँगै सत्ता प्राप्तिका निमित्त लुछाचँुडी तथा राजनीतिक समीकरण अदल–बदल हुने प्रबल सम्भावना देखिन्छ ।
एकैछिनका निमित्त मानिलिऊँ, खडगप्रसादले नेतृत्व गरेको गठबन्धनले प्रतिनिधि सभामा बहुमत कायम गर्न सफल हुन्छ ? खड्गप्रसादका दौतरी उपेन्द्र यादवले उपप्रधानमन्त्री पद प्राप्त गर्दैमा चुप लाग्ने छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्गदेन तथा कमल थापा ‘महत्वपूर्ण मन्त्रालय’ प्राप्त गर्न अग्रसर हुनेछन् ।
चित्त बुझ्दो मन्त्रालय हात पार्न उनीहरू सफल रहेनन् वा भएनन् भने मन्त्रिमण्डलबाट बाहिरिनेदेखि सरकारको समर्थन फिर्ता लिने दबाब दिन थाल्नेछन् । खड्गप्रसादको हुकुमी शासन भोगेका एमाले नेताहरू कुण्ठाको भारी बोके र ‘बा’का आदेश पालना गर्लान् तर तिनको मन्त्रिमण्डल सदस्यको आचरण के कस्तो हुन्छ ? हामीले ४१ महिने खड्गप्रसादको कार्यकालमा भोगिसकेका छौं ।
अर्कातर्फ, शेरबहादुर देउवाको नेतृच्वमा रहेको पाँच दलीय गठबन्धनले प्रतिनिधि सभामा बहुमत कायम गर्यो भने के हुन्छ ? पाँच गठबन्धन नेताबीच लिखित–अलिखित सत्ता साझेदारीसम्बन्धी सम्झौता हालसम्म प्रकाशमा आएको छैन । शेरबहादुर देउवा कांग्रेस संसदीय दल नेतामा नेता चुनिएलान् ।
ठूलो दल नेताको नाताले प्रधानमन्त्री नियुक्त पनि होलान् । तिनले शपथग्रहणको साइत जुटाउनु पूर्वदेखि नै पुष्पकमल दाहाल प्रचारमा सक्रिय हुँदै भन्नेछन्, ‘जता गए पनि मलाई यसपटक प्रधानमन्त्री तपार्इं नै हुनुपर्छ भन्नेछन् । मलाई पनि एकपटक प्रधानमन्त्री भएर देखाउनु छ ।’
शेरबहादुरको राढी तानेर तिनलाई उत्तानो पारिदिने कलामा पुष्पकमल दाहाल पारखी छन् नै । त्यसो त, यी दुई दल नेताबीच आलोपालो गरेर प्रधानमन्त्री पद बाँड्ने सहमति भएको हुन सक्छ । त्यस्तो सम्झौता माधवकुमार नेपाल, झलनाथ तथा महन्थ ठाकुरलाई मान्य हुँदैन ।
नेपाली कांग्रेसभित्र एक पटक प्रधानमन्त्री हुने अभिलाषामा जीवित रहेका रामचन्द्र पौडेल जुनसुकै मौकामा पनि देउवा–दाहाल विरोधी गोटीमा परिणत भई नै हाल्नेछन् । देशले फेरि अर्को पाँच वर्ष ‘म्यजिकल चेयर’ खेलमै रुमल्लिनेछ । संघीय राजनीतिको बाछिटाले प्रादेशिक राजनीतिलाई धमिल्याउने परम्परा भएको हुनाले त्यसको चर्चा आवश्यक छैन ।
नेपाली कांग्रेसको दुई नेता प्रकाशमान सिंह तथा गगनकुमार थापाले प्रधानमन्त्री पदको दाबी गर्ने खुलासा गरेका छन् । शेरबहादुर देउवा स्वत:फूर्त प्रत्यासी छँदै छन् । संसदीय दल नेता चुनिन तिनका निमित्त सिंह अथवा थापाले जस्तो भगीरथ प्रयत्न गर्नु सायद आवश्यक पनि पर्ने छैन ।
निर्वाचन परिणाम अंक गणित खोतल्दा विगतका तीन निर्वाचनहरू (२०१५, २०४८ तथा २०५६) मा नेपाली कांग्रेसले कुल मतदानको ३७ प्रतिशत भन्दा बढी मत प्राप्त गरेको थियो । उक्त निर्वाचनहरूमा नै हो कांग्रेसले प्रतिनिधि सभामा बहुमत कायम गर्न सफल भएको । यदि प्रत्यक्षतर्फबाट प्राप्त गरेको कुल मतसंख्यालाई दलप्रतिको जनविश्वासको मापदण्ड मान्ने हो भने कांग्रेस तथा दल एमालेले प्राप्त गरेको मत संख्या बीचको दुरी घट्दै गएको छ ।
उदाहरण २०१५ को आमनिर्वाचनमा कम्युनिस्टको दाँजोमा कांग्रेसले झन्डै ६ गुणा बढी मत प्राप्त गरेको थियो । तर, समकालीन निर्वाचनहरूमा भने केही हजार मत कहिले कांग्रेसले बढी प्राप्त गर्ने गरेको छ भने कहिले एमालेले । अपवाद प्रथम संविधान सभा निर्वाचन थियो जसमा माओवादी तथा फोरमले दुवै दल (कांग्रेस तथा एमाले) को ‘कित्ता साफ’ गरिदिएका थिए ।
त्यो अभूतपूर्व माओवादीले हासिल गरेको सफलता व्यापक रूपमा धाँधली गरेको हुनाले भन्ने खुलासा सगौरव पुष्पकमल दाहालले बारम्बार सार्वजनिक गर्दै आएका छन् । त्यसपछिका निर्वाचनहरूमा माओवादीले प्राप्त गर्ने मत संख्या घट्दो छ ।
यस निर्वाचन (२०२२) कुल मतदाता संख्या १ करोड ८० लाख हुने अनुमान गरिएको छ । यदि विगतमा जस्तै औसत ६६ प्रतिशत मतदाता सहभागिता रहने हो तथा स्थानीय निर्वाचन परिणामलाई आधार मान्ने हो भने नेपाली कांग्रेसले ४०–४२ लाख मत सहजै प्राप्त गर्ने सम्भावना थियो । कुल मतदानको ३७ प्रतिशत भन्दा बढी मत कांग्रेसको पोल्टामा पर्ने प्रबल सम्भावना थियो ।
यदि बहुसंख्यक मतदाताको उमेरलाई आत्मसात् गर्ने हो भने प्रथम जनआन्दोलन अर्थात् पञ्चायतको पतनपछि जन्मेकाको मतदाताहरूको बाहुल्य छ । तिनले छनौट गर्नुपर्ने उम्मेदवार भने पञ्चायतविरुद्ध संघर्ष गर्ने नेताको संख्या अत्यधिक बढी छ । अधिकांश मतदाताका निमित्त पञ्चायतकाविरुद्ध लडेका त्याग तपस्या गरेको’ आदि विषय रुचिकर छैन । मतदाताले देखेको या भोगेको भनेको दश वर्ष लामो सशस्त्र द्वन्द्व तथा कुशासन नै हो । अधिकांश मतदाताको चाहना नेपालमा भविष्य सुरक्षित होस् भन्ने हो । उक्त विश्वास दिलाउने क्षमता स्थापित शीर्षस्थ नेताहरूमा छैन । यदि हुँदो हो त विद्यमान अवस्था आउने नै थिएन ।
शेरबहादुर देउवाले आफ्नो रहर पुर्याइसकेका छन् । उक्त पद प्राप्त गरेको दिनदेखि कांग्रेस तथा राष्ट्रले के–कति मूल्य चुकाउनुपर्छ भन्ने अनुमान पनि तिनले गरिसकेको हुनुपर्छ । कलिलो उमेरदेखि देशहितलाई सर्वोपरि राख्ने मूल्य–मान्यता बोकेका देउवाको निमित्त आफ्नै नेतृत्वकालमा देश असफल राष्ट्र घोषित भएको टुलुटुलु हेर्ने आकांक्षा अवश्य पनि छैन होला । तिनको सदासय होइन, नागरिक वास्तविक सुशासन चाहन्छन् । त्यो दिन सक्ने क्षमता शेरबहादुरले गुमाइसकेका छन् ।
नेपाली कांग्रेसका नेताले विगतमा सत्ता मोह त्यागेको इतिहास लामै छ । सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्याय तथा गणेशमान सिंहले राजाले सुनको थालीमा दिएको प्रधानमन्त्री पद त्यागेकै हुन् । गिरिजाप्रसाद कोइरालालाई जनताको रोजाइमा आफू होइन कृष्णप्रसाद भट्टराई छन् भन्ने थाहा हँुदा साथै तिनले २०५६ को निर्वाचनको मुखमा आएर कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार कृष्णप्रसाद भट्टराई भएको घोषणा गरे । कृषणप्रसाद भट्टराईलाई अघि सार्दा नेपाली कांग्रेसले पुनर्जीवन पायो । उक्त निर्वाचनमा नेपाली कांग्रेसले एमालेभन्दा झन्डै ५ लाख बढी मत प्राप्त गर्न सफल भएको थियो । इतिहासले लालची नेताको सम्मान गर्दैन । त्यागीको भने प्रशंसा गर्छ ।
निर्वाचन आउन चार दिन बाँकी हुँदा देउवाले घोषणा गर्न सक्छन् आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने छैन । विकल्पमा तिनले महामन्त्री गगनकुमार थापालाई आफ्नो दलको प्रधानमन्त्री पदको उमेदवार घोषणा गर्न सक्छन् । समकालीन नेपालमा थापाले जति लोकप्रियता अन्य राजनीतिक नेताले आर्जन गर्न सकेका छैनन् ।
नेपाली कांग्रेसले तिनलाई भावी प्रधानमन्त्री घोषणा गर्दा ७÷८ लाख हाराहारीमा रहेको नयाँ मतदाताको मत कांग्रेसको पोल्टामा पर्ने प्रबल सम्भावना छ । थापाका निमित्त शेरबहादुरको दाजोमा आगामी प्रतिनिधि सभामा उपस्थित हुने नयाँ संसद सदस्यहरूको समर्थन प्राप्त गर्न सहज हुनेछ ।
शेरबहादुरलाई जस्तो गरेर ब्ल्याकमेल गठबन्धनका अन्य दल नेताले सक्दैनन् किनकि साना दल, स्वतन्त्र लगायत बागी प्रतिनिधि सभा सदस्यहरू थापाको समर्थनमा खडा हुने प्रचूर सम्भावना छ । यदि गगन थापा हाबी भए भने देशको निराशमय राजनीतिक धरातलमा आशाका किरणहरू फैलनेछन् ।
निर्णय गर्न शेरबहादुर देउवा असमर्थ भए पनि चुनावी माहोल गगन थापाको पक्षमा देखापरेको छ । मतदाताले गर्ने निर्णय नै अन्तिम निर्णय हुनेछ । ‘मैले जित्छु’ भन्नेलाई निर्वाचित गर्ने मेरा निमित्त आगामी पाँच वर्ष योग्य शासक रोज्ने ? उक्त निणर्य गर्ने घडी यही हो । मतदाताले गरेको विवेकसम्मत् निर्णयले राष्ट्रलाई यथास्थितिको प्रपञ्च च्यातेर उज्वल भविष्य उन्मुख तुल्याउनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया