विचार

संस्मरण र अनुभूति- ३२

सोल डिस्ट्रिब्युटर मार्टिन बर्नस‌को

वसन्त लोहनी |
पुस २, २०७९ शनिवार ७:१४ बजे

हिजो पैसा नै थिएन । आज पैसै पैसा । नहुँदा कसरी कमाउने भन्ने थियो भने अब त्यतिको पैसा के गर्ने भन्ने अवस्थामा पुगे वेदप्रसाद । रासका रास पिगलेट कलकत्तामा किलोमा जोखेर बेचेपछि हातमा पैसा पैसा भएका वेदप्रसादलाई त्यो पैसा कसरी उपयोग गर्ने भन्ने पो चिन्ता भयो । हामी केटाकेटी हुँदा जे सुनाउँथे त्यसले त्यति वेला गाँज्यो उनीलाई । उनी सुनाउँथे अङ्ग्रेजी कहावत - ‘रिचेज् हाभ विङ्स्।’ र, भन्थे - हेर, लक्ष्मीको जगेर्ना गर्न सकेन भने धन सम्पत्ति पखेटा लागेर जान्छ । त्यसैले बुद्धि र विवेक दुवै चाहिन्छ यसको सदुपयोग गर्न।

मलाई सम्झना भयो सानो छदाको त्यो घारीको । हिजोसम्म टन्न मह काटिरहेका थिए मौरीहरू । बिहान त सब उडेर गएछन् । वेदप्रसादले भनेको कुराले धेरैपछिको घटना सम्झे मैले । साढे २८ वर्ष राज्यको ढुकुटी हालीमुहाली गरेको चन्द्र शमशेरको छोरा बद्री शमशेर । उसको छोरा प्रह्लाद शमशेरले टाट भएर टाइपराइटर चोर्दा हनुमान ढोकामा थुनिनु परेको थियो । त्यसैले जसले बनाएको उखान भए पनि धन सम्पत्तिको पखेटा हुन्छ भन्ने कुरासँग म एकदम सहमत छु । सङ्घर्ष गरेर उठेर आएका वेदप्रसादले यसको मर्म त्यति वेला कलकत्तामा हातभरि अकल्पनीय पैसै पैसा हुँदा नबुझ्ने त कुरै भएन।


उनी सोच्न थाले । के गर्ने यो पैसाले? खाएर सिद्ध्याउने कुरा त भएर । झिक्दै खादै गयो भनेर माटो पनि सकिन्छ । उनी जन्मेको चार वर्ष अगाडि नै ब्रिटिस इन्डियाको राजधानी कलकत्ताबाट दिल्ली पुगिसकेको थियो । तर मोजमज्जाको नगरी कलकत्ता नै थियो । महावीर शमशेर, हिरण्य शमशेर लगायतका रोलबाट हटाइएका तर अपार धनी राणाहरू नेपाल छोडेर कलकत्तामा बस्न थालिसकेका थिए, राणा शासन नै खत्तम गर्न । पद्म शमशेर तिनीहरूलाई फर्काउन गोप्यरुपमा संवाद गरिरहेका थिए । तर पद्म शमशेरको के कुरा गोप्य र? यता मोहन शमशेरहरू उनलाई सत्ताबाट हटाउने उपायमा तल्लीन थिए । यसरी कलकत्ता केन्द्र थियो मोजमज्जाको र राजनीतिको नेपालबाट आएकाहरूको । 

बलियो संस्कार भएका वेदप्रसादलाई हातभरि पैसै पैसा हुँदा पनि राती नसुत्ने कलकत्ताको पार्क स्ट्रिटको झिलिमिली र चहलपहलले आकर्षित गर्न सक्ने कुरै थिएन । पैसा हुनेको लागि दिव्य सहर । जे पनि पाइने । तर वेदप्रसाद बेग्लै मान्छे परे । न एक थोपा पेय पदार्थ मुखमा परेको । न दोस्रो पटक चुरोट कहिले तानेको । न रात्रि रङ्गरेलीमा चासो भएका । तर उनी मग्न थिए । लक्ष्मीको कसरी सदुपयोग गर्ने धुनमा । रमाएका थिए त्यसैमा । रोमाञ्चित थिए।

उनको मनमा आयो - यो पैसा यत्तिकै रह्यो भने त खर्च गर्दै जाँदा सकिन्छ । नसकिने गराउने कसरी? आम्दानीको साइकल बनाउन सक्यो भने मात्र यो नसकिने मात्र होइन केही थपिँदै पनि जान सक्छ । अझ जटिल प्रश्न उब्ज्यो आम्दानीको साइकल बनाउने । यसरी घोत्लिँदै जाँदा अनायास आर्किमिडिजले 'युरेका' भने जस्तै उनको दिमागले ठम्यायो 'आम्दानीको साइकल' बनाउने कुरा । उनले सोचे यहाँबाट सामान लगेर नेपालमा बेच्न सक्यो भने बल्ल अनि साइकल सुरु हुन्छ।

वेदप्रसाद यो काममा जुटे कलकत्तामा । उनको कम्पनी थियो प्रकाश इन्जिनियरिङ कम्पनी, रजिस्टर भएको र नेपाल सरकारबाट मान्यता प्राप्त गरेको । उनी त्यस कम्पनीको तर्फबाट भेट्न थाले कलकत्ताका नामुद कम्पनीहरूसँग । उनी संस्थागत व्यावसायिक सम्बन्ध बनाउन खोजिरहेका थिए । न कि पिगलेट बेचेको पैसाबाट सामान किनेर नेपालमा बेच्न लैजान । उनी संस्थागत सौदाको लागि घुमिरहेका थिए, आफ्नो भिजिटिङ कार्ड लिएर जसरी विजिनेस एक्ज्युकेटिभ भेट्छन् दुवै कम्पनीलाई फाइदा हुने गरी व्यापारिक डिल पट्याउन । त्यसैले उनी पटके सौदामा थिएनन् । परसम्म नै सोच्ने मान्छे परे वेदप्रसाद।

यस क्रममा उनको भेट भयो एउटा भर्खर स्थापना भएको अर्थात् सन् १९४६ को कम्पनीको कार्यकारी अधिकृतसँग । भर्खर स्थापित भएको यो कम्पनी धेरै पुराना दुई कम्पनीको मर्जरबाट बनेको थियो । एउटा सन् १८०९ को । र, अर्को सन् १८९० को । किन मर्ज गर्नु पर्‍यो यी दुई जब यी दुवैले धेरै नाम र नाफा कमाएका थिए भन्ने प्रश्नको उत्तर थाहा भएन । सायद भारत स्वतन्त्र हुन लागेको प्रमुख कारण हुन सक्छ । यी ब्रिटिस कम्पनी मध्येको मार्टिन एन्ड कम्पनीमा ब्रिटिसले दिएको ठुलो सम्मानधारी थिए - सर थोमस मार्टिन । उनको पार्टनर थिए यस्तै ‘सर’ सम्मानधारी भारतीय - सर राजेन्द्र नाथ मुकर्जी।

पछिल्लो समयमा वेदप्रसाद लोहनी आफ्नो भाइहरू वासुदेव, केशव, रत्न र लक्ष्मणसँग। 

यो इन्जिनियरिङ कम्पनीले चमत्कार नै गरेको थियो इन्जिनियरिङ सिप, ज्ञान र क्षमताबाट । हरेक क्षेत्रमा छाएको । सरकारी सचिवालय, खाने पानी, दरबार, मस्जिद देखि हरेक निर्माण जहाँ उत्कृष्टता चाहिन्थ्यो त्यहाँ मार्टिन एन्ड कम्पनी पुग्थ्यो । हुगली नदीको पानी पिउन योग्य बनाएर वितरण गरेको पाल्टा योजना या यस्तै लखनउ, या बनारसको खानेपानी होस् । पुलको कुरा गर्दा हावडाको पुल । यसै क्रममा सन् १९१० मा बन्यो भव्य एस्प्लनेट म्यान्सन । त्यसपछि सन् १९२१ मा निर्माण भएको कलकत्ताको भिक्टोरिया मेमोरियल पनि ऐतिहासिक धरोहरमा पर्दछ।

मर्जरको अर्को यस्तै कम्पनी थियो बर्नस् एन्ड कम्पनी । एलेक्जेन्डर बर्नस्‌ले स्थापना गरेको । यसले पनि इन्जिनियरिङ चमत्कार गर्दै गरेको थियो । सन् १८१८ कलकत्ताको बडा बजारमा निर्मित सेन्ट एन्ड्युज चर्च देखि भिक्टोरिया मेमोरियलको उत्तर मैदानमा निर्मित आँक्टरलोनी मन्युमेन्टसम्म । यसको नाम पछि स्वतन्त्र भारतले अरू ब्रिटिस निर्मित बदले जस्तै गरी बदलेर शहीद मिनार राख्यो । आँक्टरलोनी तिनै व्यक्ति हुन् जसले इस्ट इन्डिया कम्पनीको सेनाको नेतृत्व गरेको थिए नेपालसँगको युद्धमा । र, जसले काठमाडौँतिर नै उक्लेर नेपाललाई सन् १८१६ को सुगौली सन्धि गर्न बाध्य पारेका थिए । अनि उनले नेपालीहरूको बहादुरीको भरपुर प्रशंसा पनि गरेका थिए । 

यी दुई कम्पनी मार्टिन एन्ड कम्पनी र बर्नस् एन्ड कम्पनीले त्यति वेलाको कलकत्तामा यसरी छाएका थिए कि कलकत्तालाई नै मार्टिन बर्नस् सहर समेत भन्न थालिसकिएको थियो । सिभिल इन्जिनियरिङका यस्ता महारथी दुई निर्माण कम्पनीहरू मिलेर बनेको थियो मार्टिन बर्नस् लिमिटेड जब वेदप्रसाद यसको सम्पर्कमा पुगे । नेपालमा उनको पहिचान थियो । हिरो नै बनेका थिए त्यति वेला सरस्वती सदनको निर्माणको लगत्तैको त्यो समयमा । तर उनको कम्पनी प्रकाश इन्जिनियरिङको त कुनै पहिचान थिएन नेपालमा । कलकत्तामा त उनको पनि केही पहिचान थिएन । उनको कम्पनीको त झन् हुने कुरै भएन । कुनै एउटाको पहिचान त चाहियो नि अर्कोले पत्याउन।

यस्तो हालतको वेदप्रसाद र कलकत्ता हाँकेको मार्टिन बर्नस् लिमिटेडबिच कसरी डिल हुने? कसलाई कति लाभ हुने त्यो अर्को कथा हो । तर व्यापारमा दुबैलाई फाइदा हुने अवस्था दुवैले देख्नु पर्‍यो पहिले त । अनि मात्र कुरा अगाडिसम्म जाने हो । वेदप्रसादले मात्र देखेर त भएन । मार्टिन वर्नस्‌को रुचि हुन त्यस्तो के देखे वेदप्रसादमा उनीहरूले विजिनेसको? उनले के विजिनेस दिन सक्थे? दुइटा कुरा । पहिलो हो खरो व्यावसायिकता । मार्टिन बर्नस् मूलतः सिभिल इन्जिनियरिङ कम्पनी । यसका इन्जिनियरहरू जिल्ल परे जब इन्जिनियरिङको कुरा भयो । थाहा पाए उनी नेपालमा सिमेन्ट ढलान सुरु गर्ने पहिलो नेपाली भनेर पनि।

मैले पहिले पनि भनिसकेको छु वेदप्रसादले कति जानेका थिए त्यो बेग्लै कुरा हो । तर जति जानेका थिए त्यो अत्यन्त राम्रोसँग जानेका थिए । आत्मविश्वासको साथ जानेका थिए । आफ्नै हातले गर्न सक्ने गरी जानेका थिए । आफूले गर्न चाहिँ नसक्ने तर थ्योरीको गफ चुटेर विद्वत्ताको प्रकाश निकाल्ने उनको बाटो थिएन । यहाँनिर मार्टिन बर्नस्‌का अधिकारीहरू जिल्ल परे उनको व्यावसायिक पकड र आत्मविश्वास देखेर । हेर्दा विजिनेस थिएन । तर कुरा यहाँनिर मिल्यो।अर्थात् यो नै मूल कडी बन्यो मिलेर काम गर्नको लागि । यसले नै सम्भावनाको बाटो खोलिदियो । दोस्रो हो सुरुमा संवादको थालनी गराएको कडी । त्यो चाहिँ उनको आकर्षक व्यक्तित्व थियो । 

मार्टिन बर्नस्‌ले निर्माण मात्र होइन रियल स्टेट, सप्लाई र कमिसन एजेन्टको पनि काम गर्दथ्यो त्यति वेला । उनीहरू स्टिलको वस्तुहरू जस्तो फलामको सत्तरी, एङ्गल आदि बेच्थे । तामा सम्म पनि । मार्टिन एन्ड कम्पनीको त सिस्टर कन्सर्न नै थियो स्टिल उत्पादन गर्ने । तर उनीहरूसँग निर्माण कार्यमा मिलेर कलकत्तामा कामगर्ने कुनै सम्भावना थिएन । वेदप्रसादको एक किसिमबाट दराजभित्रै रहेको जस्तो प्रकाश इन्जिनियरिङको कुनै औकात नै पुग्दैन थियो । न उनी जतिसुकै पैसा दिए पनि कसैको कर्मचारी हुने स्वभावको मानिस थिए । त्यो पनि विदेशीको त झन् कुरै भएन । मार्टिन बर्नस्‌को नेपालमा आएर निर्माणको बिजिनेस खोज्ने चासो थिएन । यसरी डिल हुन सक्ने सम्भावनाहरू एकपछि अर्को गरेर हट्दै गएका थिए । 

वेदप्रसाद पूरा निर्माणसँग सम्बन्धित मान्छे । मुलुकको विकास गर्न सिमेन्ट कारखाना चाहिन्छ भन्ने मान्छे । र, पछि त्यसमा लागेका पनि । उद्योग होस् या व्यापार उनको कामगर्ने सोचको सेरोफेरो निर्माणसँग आबद्ध रहेको थियो । त्यसैले उनले मार्टिन बर्नस्‌सँगबाट स्टिलको बस्तुहरू लिएर नेपालमा बेच्ने चाँजो मिलाउन सकेमा विजिनेसको साइकल घुम्छ भन्ने धारणा लिएका थिए । आखिरमा उनले यो पाटोबाट कुरा गरे । मार्टिन बर्नस्‌को यो मेन बिजिनेस भने थिएन । र, वेदप्रसादले उनीहरूको स्तरको त्यति ठुलो विजिनेस दिन सक्ने कुरो पनि थिएन । तर उनीहरू वेदप्रसादको समग्र व्यक्तित्वबाट अत्यन्त प्रभावित भएका थिए । विजिनेसमा तत्कालको नाफा मात्र होइन पोटेन्सियल प्रोफिट अर्थात् पछि हुनसक्ने सम्भावित नाफाको पनि हिसाब गरिन्छ कुनै डिलको हिसाब गर्दा।

डा. प्रकाशचन्द्र लोहनी युवा अवस्थामा ।

यसरी कुरा सकारात्मक रूपबाट अगाडि बढेको थियो । वेदप्रसादले मार्टिन बर्नस्‌ले सप्लाई गर्ने स्टिलको आधिकारिक वितरक हुन चाहे नेपाल अधिराज्यको लागि । वेदप्रसादको व्यक्तित्व हेरेर उनीहरूको प्रकाश इन्जिनियरिङ कम्पनीको आकलन गरेका थिए । उनीहरू सकारात्मक भए यस कुरामा । बिजिनेसको गाँठी कुरो त दुबैलाई फाइदा हुनसक्ने गरेर डिल हुनु पर्‍यो । निर्दिष्ट परिमाण, नियमित सप्लाई, स्थिर मूल्य, क्रेडिटको सुविधा र विश्वसनीय कारोबार नै हुन् डिल गर्दा विचार पुर्‍याउने कुराहरू । एकले अर्कोलाई निचोरेर होइन कि एकले अर्कोलाई कामगर्न सहयोग गरेर मात्र मुनाफा बढ्ने हो । यो मर्मको आधारमा बुँदावार छलफल गरेर एग्रिमेन्ट तयार भयो । 

निकै पटकको छलफल र परिमार्जन पछि त्यो एग्रिमेन्टमा मार्टिन बर्नस् र प्रकाश इन्जिनियरिङ कम्पनीले दस्खत गरे । प्रकाश इन्जिनियरिङको तर्फबाट वेदप्रसादले म्यानेजिङ डाइरेक्टर भएर । त्यसपछि वेदप्रसादले पिगलेट बेचेर आएको रकम मध्येबाट राखे मार्टिन बर्नस्‌को खातामा वितरक हुनको लागि राख्नु पर्ने रकम । र, सारा कारोबार बैकबाट हुनुपर्ने नेपाल बैक लिमिटेडबाट लेटर अफ क्रेडिट खोलेर । नेपाल बैक लिमिटेड नौ वर्ष अगाडि १९९४ सालमा नै जुद्ध शमशेरले खोलिसकेका थिए । बैक मार्फतको यो व्यवस्था एग्रीमेन्टमा मिलाए पछि उनी ढुक्क भए, व्यापारको साइकल घुम्ने कुरामा । अझ ढुक्क भए पैसा मासिएर नजाने कुरामा । यसरी पिगलेटको दुनियाँबाट वेदप्रसाद स्टिलको दुनियाँमा आइपुगे । फलामका सत्तरी र एङ्गलहरू र यस्तै फलामे सामानहरू कलकत्ताबाट काठमाडौँ लगेर बेच्ने भएर । यसरी उनले व्यापारको ढोका खोले जीवनमा । 

मार्टिन बर्नस्‌सँको एग्रिमेन्ट बोकेर होटेल आइपुगिसकेपछि भने वेदप्रसाद बोझले थिचिएको अनुभव गर्न थाले । थाकेको, धेरै थाकेको । मनभित्र हुरी चलेको थियो । त्यसैले एकल समवादमा थिए - यत्रो काम त एक जनाले गरेर हुँदैन । प्रकाश इन्जिनियरिङ कम्पनीको त न अफिस, न कामगर्ने कर्मचारी । उनी त एक्लो थिए । व्यापारको साइकल अर्थात् घट्ट घुमाउन त ऊर्जा चाहियो । त्यो भनेको त टिम चाहियो । खै उनको टिम? त्यो कसरी बनाउने? त्यति वेलाको नेपालमा पैसा तिरे पनि बिजिनेसको काम जानेको मान्छे पाउन सजिलो थिएन । आदेश दिएर भन्दा आफै फिल्डमा भिडेर कामगर्ने स्वभाव थियो उनको।

त्यत्रो डिस्ट्रिब्युटरसिप हात पारेका वेदप्रसाद यस बारेमा अर्थात् यो विजिनेसको बारेमा यसो कुरागर्न चाहे कसैसँग । नेपालको कन्सुलेट जनरल पनि खुलिसकेको थिएन त्यति वेला । बाइङ एजेन्सी थियो ६० चक्रवेरिया रोडमा राणाहरूको लागि समान किनेर पठाउने । तर उनले राम्रोसँग चिनेका त्यसको हाकिम भरत मणिको चन्द्र शमशेरकै पालामा सरुवा भइसकेका थिए । उनको त्यो कलकत्ताको समय त पद्म शमशेरको पालाको । थाकेको शरीर र अधैर्य मन भएको त्यो सानो साँझमा उनी हिँडे सिनेमा हेर्न न्यु मार्केटको महावीर शमशेरले किनेको मुनलाईट सिनेमा हलमा । 

भोलिपल्टको बिहानी । उनी एक्लो थिए तर अपार शक्ति थियो उनीमा, लक्ष चिन्तनको र लक्ष भेदनको । चिन्तनगर्ने एउटा शक्ति हो कसरी अगाडि जाने भन्नेमा । भेदन गर्ने अर्को शक्ति हो काम कसरी फत्तेगर्ने भन्नेमा । एउटा योजना हो । अर्को एक्सन । वेदप्रसादले बुझेका थिए यी दुवै त्यत्तिकै महत्त्वपूर्ण हुन् भनेर । पहिलो कुरा त अफिस नै चाहियो प्रकाश इन्जिनियरिङको । अफिस बनाउन त्यसको सामानहरू चाहियो । मार्टिन बर्नस्‌सँग लेखापढी गर्न एउटा टाइप राइटर त चाहियो।

वेदप्रसाद लोहनी र डा. प्रकाशचन्द्र लोहनी घरमा।

उनले त्यो किने । यो टाइपराइटरको कुरा गर्दा म देखिरहेको छु वेदप्रसादलाई दुई औलाले टाइप गरिरहेको २०२६ सालमा । उनी ५४ वर्षका थिए । न उनको प्रकाश इन्जिनियरिङ थियो । न कुनै व्यवसाय । सुद्ध ढाक्रे । तर अति चेतनशील । प्रशस्त ऊर्जा अझै थियो उनीमा मुलुकमा केही गर्नु पर्दछ भन्ने । त्यसपछि नै उनले फेरि उद्योग सुरु गरेका हुन् बुटवलमा । अहिलेको सन्दर्भ त्यो टाइप राइटरको । प्रकाश इन्जिनियरिङले टाइपराइटर किनायो । सिकायो दुई औलाले टाइप गर्न । त्यसको भरपुर उपयोग भयो २०२६ सालमा । यो कथा जीवनको हो । अति सुन्दर छ, जीवन्त छ।

उनको जेठो छोरा २४ वर्षको उमेरमा पिएचडी गर्ने पहिलो नेपाली बनेर फर्केका २०२५ सालमा, संयुक्त राज्य अमेरिकाको लस एन्जेल्स स्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट । डा. प्रकाश चन्द्र लोहनी, नाम । अत्यन्त ह्यान्डसम र प्रशस्त ऊर्जा भएका । मुलुकको उत्थानको लागि केही गर्छु भन्ने अठोट लिएर आएका । मुलुकको लागि केही गर्न सक्नु पर्दछ भन्ने संस्कार वेदप्रसादले नै हालिदिएका । वेदप्रसादले एउटा विन्दुसम्म ल्याए पनि । उनी चाहन्थे अब छोराले लगोस् अगाडि, समग्रतामा । र, यो समग्रतामा भनेको मुलुकको अगुवाइ गर्ने हो । त्यसैले राजनीतिमा होमिने तयारीमा थिए प्रकाशचन्द्र।

त्यतिबेला प्रकाशचन्द एकदम बलिया थिए । उमेर र विद्याले मात्र होइन । सिङ्गो परिवारले उठाएको थियो उनीलाई । एक किसिमले भन्दा सिङ्गो परिवार नै उनीमा समाहित भएको थियो । परिबार भनेपछि त्यसमा असीम तागत हुन्छ । त्यसभित्र मान्छेको सबै नै तागतहरू, अन्तर्निहित र आर्जित, समेटिएका हुन्छन् । संगठनविज्ञहरुले यो कुराको मर्म अध्ययन र अनुसन्धान गरेर पत्ता लगाएर नै भन्ने गरेका छन् कि विश्वमा सबभन्दा बलियो सङ्गठन भनेकै परिवार हो । यो सङ्गठनको तागत सबभन्दा बढी राजनीतिमा देखिएको छ।

केही उदाहरण मात्र लिने हो भने मेरो मनमा अहिले झ्वाट्ट दुइटा आएका छन् । पहिलो हो संयुक्त राज्य अमेरिकाको । अमेरिकामा सबभन्दा कम उमेरमा चुनाव जितेर राष्ट्रपति बन्ने जोन एफ केनेडीलाई उठान गरेको उसको परिवारले नै थियो । अर्को उदाहरण म आफ्नै देशको देख्छु । त्यो हो बिपी कोइरालाको । मलाई लाग्छ यसो हुनुमा पहिलो हो मूल्य र मान्यता । दोस्रो हो त्यसको रक्षाको लागि होमिन सक्ने क्षमता । मूल्य र मान्यता कमजोर भएको अवस्थामा भने यो सङ्गठन बलियो बन्न सक्तैन।

वेदप्रसादले हालिदिएको उच्च र सबल मूल्य र मान्यता । उनी देख्न चाहन्थे प्रकाशचन्द्रलाई नेपालको राजनीतिक आकाशमा चम्किएको । राष्ट्रको समावेदनशीलताको हिफाजत गर्न । राजनीतिक तयारीमा लागेको प्रकाशचन्द्र अङ्ग्रेजीमा लेख लेख्थे मुलुकको जल्दो बल्दो विषयमा । मूलतः कहाँ मुलुकलाई दुखेको छ भन्ने बारेमा । ती लेखहरू वेदप्रसादले टाइप गर्थे उनको प्रकाश इन्जिनियरिङको लागि किनेको रेमिङ्टन टाइपराइटरमा जति वेला प्रकाशचन्द्र दुई वर्षका थिए । अर्थात् करिब २४ वर्ष अगाडि किनेको त्यो टाइपराइटरमा । उनले टच मेथड जानेका थिएनन् । प्रत्येक हातको एक एक औला मिलाएर दुई औलाले टाइप गर्थे।

प्रकाशचन्द्र भन्दै जान्थे।आफ्नो सुत्ने कोठाको भुईँ ओछ्यानमा पलेटी कसेर बसेका वेदप्रसाद टाइप गर्दै दुई औलाले । ती लेखहरू टाइप हुँदा म पनि सँगै हुन्थे । दत्तचित्त दिएर सुन्थे प्रकाशचन्द्रले बोलेको र हेर्थे वेदप्रसादले टाइप गरेको । नियमित रूपमा लेखिएका ती लेखहरू त्यति वेलाको चल्तीको अङ्ग्रेजी दैनिक ‘दि मदरल्यान्ड’मा छापिन्थे । सम्पादक थिए मणीन्द्रराज । र, प्रत्येक लेखले बौद्धिक जमातमा हलचल, चासो र चर्चा ल्याउँथ्यो । वेदप्रसादले कलकत्तामा त्यो रेमिङ्टन टाइपराइटर किन्दा भने यसको कल्पना सम्म पनि गरेका थिएनन्।

उनले त अफिस सेटअप गर्ने धुनले मात्र टाइप राइटर किनेका थिए । र, अरू यस्तै सामानहरू किनिरहेका थिए । परिवारको लागि नयाँ डिजाइनको लुगा पनि किनेका थिए दिल फुकाएर । पैसाको कमी त बिलकुलै थिएन । बैकमा पैसा राखेर, हातमा डिस्ट्रिब्युटरसिप लिएर, अनि प्रकाश इन्जिनियरिङको जोरजाम गरेर उनले कलकत्ता छोडेका थिए काठमाडौँको लागि । त्यही आएकै बाटो । मुकामाघाटमा स्टिमरबाट गङ्गा पार गरेर । पारी लागिरहेको ट्रेनबाट रक्सौल पुगेर । अनि अमलेखगन्जबाट भीम फेदीसम्म लरीमा । र, त्यसपछि पैदल काठमाडौँ, चित्लाङ भएर।

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
x