राष्ट्रपति र सभामुखको अभीष्ट पूरा भएपछि खड्ग प्रहारका सम्भावित खेल
प्रतिनिधि सभाको निर्वाचन परिणामले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई कमजोर नेताको रूपमा प्रस्तुत गरेको थियो । पराजित मुद्रामा तिनले मध्यावधि निर्वाचनको भविष्यवाणी गर्न थाले ।
प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको हैसियत राख्ने नेपाली कांग्रेस अध्यक्ष एवं संसदीय दल नेता शेरबहादुर देउवा ढुक्क थिए, आफैँ छैटौँ पटक प्रधानमन्त्री हुनेमा । आफ्नो रोजाइको व्यक्तिलाई राष्ट्रपति नियुक्त गर्ने आफन्तलाई मन्त्री मात्र होइन सातै प्रान्तको मुख्यमन्त्री, मन्त्रीमा नियुक्त गर्ने । हजारौँको संख्याका भजनमण्डलीलाई वडादेखि अन्तर्राष्ट्रिय जगत्मा नेपाली कूटनीतिक नियुक्ति दिने ।
अर्कातर्फ संसद्मा तेस्रो शक्ति भएको माओवादी दल नेता पुष्पकमल दाहालको अवस्था बेहाल नै थियो । तिनको चञ्चताले कुनै महत्व पाएको थिएन । ‘रात रहे अग्राख पलाए’झैँ राता–रात स्थिति बदलियो । पुस १० गतेसम्म आई पुग्दा नेपाली राजनीतिले १८० डिग्री फन्को मारिसकेको थियो । अघिल्लो दिनसम्म निर्दो ठहरिएका खड्गप्रसाद देशको सबैभन्दा शक्तिशाली व्यक्तिमा परिणत भइसकेका थिए । खड्गप्रसादको ‘कृपा’मा पुष्पकमल दाहालको ‘एक पटक प्रधानमन्त्री’ हुने महत्वकांक्षा पूर्ति भयो । खड्गप्रसादले तानेको धागो तथा बजाएको मादलको तालअनुरूप प्रधानमन्त्रीको पगरी गुथेका दाहाल जनसमक्ष कठपुतली प्रधानमन्त्रीका रूपमा प्रस्तुत भएका छन् ।
अर्कोतर्फ, नेपाली कांग्रेसका प्रत्यासी नेता, कार्यकर्ता तथा आसेपासेहरूको अवस्था ‘हिस्स बूढी खिस्स दात’ जस्तो छ । मुखैमा पुगेको हातको गाँस गुमेको अवस्थामा छन् उनीहरू । कतिपय चोर औँला ठडाएर सभापतिलाई सत्तोसराप गर्न थालेका छन् । पार्टी सभापतिको वरिपरि परिक्रमा गर्ने ‘सुकिला मुकिला’ कानखुसी गर्ने नेता तथा तिनको धर्मपत्नी .उपर खनिएका छन् उनीहरू ।
सभापतिले आत्मालोचना गर्दै पद त्याग्नुपर्ने मागले कांग्रेसजनमा लोकप्रियता पाउँदै छ । लोकतन्त्रमा असफल भएका बहुसंख्यक नेताले नैतिक जिम्मेवारी लिएर स्वेच्छिक पद त्याग गर्ने प्रचलन छ । शेरबहादुर देउवा अल्पसंख्याको कोटीमा पर्छन् । पद त्याग गर्नुको बदलामा तिनले २०७४ को लज्जास्पद हार व्यहोर्दा दललाई अमूक पूर्वअवस्थामा पुर्याएर विश्राम लिने निधो गरे । सत्ताबाहिर गमन भएको ४२ महिनामै ‘एक्सिडेन्टल’ तर, पाँचौँ प्रधानमन्त्री पदमा आसीन भए । यस पटक तिनले लिने निर्णयको लेखो काट्न कठिन छ ।
निर्वाचन २०७९ पूर्वसन्ध्यामा ‘नो नट अगेन’को नारा चम्कनुको उद्देश्य स्थापित पूर्वप्रधानमन्त्री जसको एकल उद्देश्य सत्ता प्राप्ति थियो, उनीहरूलाई मतदाताले तिरस्कार गरुन् भन्ने थियो । सागर ढकाल तथा युग पाठकलाई निर्वाचित गराउन ठूलै संख्यामा युवा शक्ति परिचालित थियो । साम, दाम, दण्ड, भेदमा पोख्त शक्तिशाली खेलाडीका सामुन्ने उनीहरूको केही लागेन । निर्वाचन क्षेत्रका मतदाताका निमित्त ‘प्रधानमन्त्री’ले धेरै गर्ने सम्भावना बढी लोभिलो विकल्प थियो ।
संसदीय दल नेताको चुनौती दिने माननीय गगन थापालाई कांग्रेस सदस्य जसको समर्थनमा तिनी हौसिएका थिए, तिनले नै मत दिएनन् । आखिर अन्य सुविधाका अतिरिक्त मतदानको तस्बिर खिच्ने प्रविधि प्रयोग गर्ने सुविधा सम्पन्न बहालवाला प्रधानमन्त्रीको पक्षमा मतदान गर्दा पाइने सुविधाको वजन देशमा सुशासन कायम गर्ने उद्देश्य भएको नेताको भन्दा अत्यधिक धेरै थियो । मौका बारम्बार कहाँ आउछ र चुक्ने ?
राजनीतिक रणनीति ‘सकुनि’को षड्यन्त्र तथा दाउपेच उपयोग गरेर सत्तामा हाबी हुने भाष्यमा परिणत भएको छ । सत्ता प्राप्तिका निमित्त अख्तियार गर्ने जतिसुकै अनैतिक हत्कण्डा पनि जायज हुन थालेको छ । राजनैतिक ‘धोखा’ शब्दको पर्यायवाची शब्दमा परिणत भएको छ । ‘शत्रु’ कथाका कथाकार विश्वेश्वरप्रसाद कोइरालाको अनुयायीहरू धुइपत्ताल लागेर विश्वासघाती पात्रको खोजीमा जुटेका छन् ।
सभापतिको भक्तगणका निमित्त तिनको प्रतिरक्षामा उत्रँदा आफ्नो अस्तित्व जगेर्नाका सम्भव हुन्छ । देउवाको बहिर्गमनले उनीहरूलाई सति जानुपर्ने जोखिम छ । त्यसकारण तिनीहरू सभापतिलाई चोख्याउन लागिपरेका छन् । एउटा ढुंगोले धेरै चरा मार्न अग्रसर हुने समकालीन कांग्रेसी संस्कार पनि हो । निवर्तमान प्रधानमन्त्रीका आसेपासेहरूको चोर औँला पुष्पकमल दाहाललाई ‘विश्वासघात’ गरेको आरोप लगाउँदै निशाना भने सभापतिका विरोधी खेमातर्फ गर्न अभ्यस्त छन् ।
केही बुज्रुक अदृश्य विदेशी शक्तिको हाउगुजी देखाउँदै अन्तर्घातको लान्छनातर्फ अग्रसर हुँदैछन् । त्यसो त, सभापति विरोधीका निमित्त पनि यो अवसर नै हो, देउवा तथा तिनका कोटरी पालकलाई बिदाइ गर्ने । पार्टी सभापति एवं संसदीय दल नेता पदबाट राजीनामाको माग चर्काउन तथा तिनको निस्कासन प्रक्रिया अगाडि बढाउन सक्रिय छ, यो समूह ।
मिडिया तथा सामाजिक सञ्जालमा माथापच्चिसे गर्दैछन् रातारात परिवर्तन भएको अवस्थाको रहस्य खोल्नका निमित्त । धेरैले पुष्पकमल दाहाल तथा शेरबहादुर देउवाबीच भएको अर्को ‘भलाद्मी सम्झौता’को उल्लंघनलाई मूलकारण ठहर गरेका छन् । दुई नेताबीच भएको सम्झौताअनुसार शेरबहादुर तथा दाहाल (प्रतिनिधि सभाको ६० महिने अर्थात् पाँच वर्ष अवधि) प्रथम ३० महिना मन्त्री हुने दोस्रो अवधि शेरबहादुर हुने भन्ने थियो रे ! अन्तिम अवस्थामा शेरबहादुरले पद सुम्पन आनाकाना गरे । त्यसकारण दाहाल, खड्गप्रसादको पोल्टामा पुगे राष्ट्रिय समस्यालाई विदेशी हस्तक्षपको चस्मा पहिरिएर विश्लेषण गर्न अभ्यस्त बौद्धिक समुदायका लागि भारतीय– चिनियाँ स्वार्थ युद्धमा चीनले हासिल गरेको विजय ठहरिएको छ । निश्चय पनि लोकतान्त्रिक भारतले छिमेकी राष्ट्रमा लोकतान्त्रिक शक्ति हाबी होस् भन्ने चाहेकै हुनुपर्छ । त्यसैगरी चीनका निमित्त कम्युनिष्ट हाबी हुन् भन्ने मनसाय । वास्तविकताको अर्को पाटो भने चर्चित पात्रलाई नेपालीले त विश्वास गर्न सक्दैनौ भने छिमेकीले के/कति विश्वास गर्लान् ?
फुटेको पाँच दलीय गठबन्धनको निर्माण केवल ३/४ नेताको स्वार्थहित रक्षाका निमित्त भएको थियो । सत्र महिनाअघि पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल आफ्ना अनुयायीका साथ लागेर बुढानिलकण्ठ देउवा निवास देउवालाई विश्वास गरे पुगेका थिएनन् । उनीहरू त्यहाँ पुगेर सुनको थालीमा प्राधानमन्त्री पद सुम्पन पुग्नुपूर्व उनीहरू अपमानित, अपहेलितका अतिरिक्त अपराधको आरोपमा खड्गप्रसादले सुनिश्चित गरेका काठघर यात्राबाट जोगीन पुगेका थिए । ‘सोझो’ उपाधि पाएका देउवाले उनीहरूलाई विश्वास गर्नेवाला थिएनन् । तिनी पनि मौकाबाट फाइदा उठाउँदै ज्योतिषीको भविष्यवाणीमा विश्वास गरेर नै जुटेका हुन् । चार प्रमुख पात्रहरू शेरबहादुर, खड्गप्रसाद, पुष्पकमल दाहाल तथा माधवकुमार नेपालबीचको सम्बन्ध न्याउरी मुसा, सर्प, भ्यागुतो तथा बिच्छीको जस्तो हँुदै आएको थियो र छ ।
यथार्थ, भनेको एकातिर पाँच दलीय गठबन्धनलाई वर्षौं टिकाउने प्रयासको खुलासा गरिँदै थियो भने अर्कातर्फ ‘वामपन्थी एकता’का निमित्त अहोरात्र अँध्यारो चोटाकोठामा बैठक । तित्राको मुखै बैरी पुष्पकमल दाहाल तथा दुर्भाषी खड्गप्रसाद एक अर्कोलाई धिक्कारै थिए, ‘पब्लिक कन्जमसन’का निमित्त । तिनका गणहरू भने संवादमा व्यस्त थिए । चारै नेताकोे ‘प्लान–बी’को खिचडी पाक्दै थियो । मञ्चन हुँदै गरेको नाटक ‘प्लान–बी’लाई कार्यान्वयन गर्न शेरबहादुरलाई खड्गप्रसादले उछिनेका परिणाम मात्र हो ।
छाताछुल्ल हुँदै गरेको छ, अर्को ‘प्लान सी’को । जसअनुसार खड्गप्रसादले कुनै पनि दिन प्रधानमन्त्री पुष्पकमल दाहाल खडा भएको राडीलाई तानेर उत्तानो पर्ने कार्ययोजना हुँदै छ । यस विषयमा तिनका विश्वासिला कामरेडहरू दक्षिणपन्थी शक्तिसँग साँठगाँठ गर्दै छ । प्रतिनिधि सभामा एमालेले १३८ सदस्य को समर्थन जुटाउँदा साथै तिनले खड्ग प्रहार गर्नेछन्, माओवादी तथा कांग्रेसउपर । अन्यथा, दाँत तिखारेर बसेका कांग्रेसको समर्थनमा खड्गप्रसाद दाहाललाई विस्थापित गरेर प्रधानमन्त्रीको कुर्सीमा आसीन हुनेछन् । पुष्पकमल दाहालको सरकार गठन संविधानको धारा ७६(२) अनुसार भएको छ । सरकारविरुद्ध निश्चित अवधिभित्र अविश्वास प्रस्ताव राख्न मिल्दैन, यद्यपि संविधानतः एमालेले समर्थन फिर्ता गर्नसाथ विश्वासको मत लिँदाकै बखत सरकार ढल्न सक्छ । दाहालको सहयोगमा राष्ट्रपति तथा प्रतिनिधि सभामुख लगायतका महत्वपूर्ण पद हात परेपछि तिनको उपयोगिता वा प्रयोजन पनि खड्गप्रसादका निम्ति सकिन्छ ।
नेपाली राजनीति कुन दिशा उन्मुख हुँदै छ, त्यसको लेखो काट्न कसैले पनि सक्दैन । राजनीतिमा हाबी भएका पात्रहरूले नै हो राजनीतिलाई डोर्याउने । समकालीन नेपाली राजनीतिमा हाबी भएका पात्रहरूको एकल उद्देश्य सत्ता प्राप्ती छ । उनीहरूले आत्मविश्वास गुमाइसकेका छन् । ज्योतिषीको सहाराविना निर्णय क्षमता गर्न कुनै पनि नेताले सामर्थ्य राख्दैनन् । आफैँमा विश्वास नभएका नेताले अर्कोलाई विश्वास गर्ने कसरी ? उनीहरू आफैँ अनभिज्ञ छन् आफैँले लिने निर्णयका विषयमा । उनीहरू बीचको मिलोमतो त एकको उपयोगले अर्को सत्ता सिन हुनेमै सीमित छ । परिणाम भोग्ने आखिर ३ करोड नेपाली तथा उनीहरूको सन्ततिले हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया