विचार

ओलीबा-देउबा कि रवि-बा !

नारायण घिमिरे |
मंसिर ११, २०७९ आइतबार १३:४३ बजे

हामी सबैलाई थाहा छ कि मानिसहरूको सोच अक्सर विज्ञानद्वारा छिट्टै प्रभावित हुन्छ । विज्ञानको सिद्धान्तहरू व्यवहारिक पक्षमा प्रमाणित गरेर सही रहेको देखाउन सकिने हुँदा यसले मानिसको छिट्टो विश्वास आर्जन गर्न सकेको हो । 

सामान्य व्यवहारिक भन्दा जटिल प्रकृतिका परमाणुको संरचना, क्वार्क, ग्लुवोन आदि र तिनीहरू निर्मित कम्पन युक्त तरङ्गित ऊर्जा आदिको चरित्र, मानिसको सोच, विचार, ज्ञान, राजनीति आदि जस्ता विविध क्षेत्रका सूचनाहरू विज्ञानले सोझै प्रयोग गरी प्रमाणित गर्न सकिने प्रकृतिको हुँदैन । तसर्थ त्यो क्षेत्रको सूचनाहरू सही रहेको नरहे भन्ने शङ्काको दृष्टिले धेरै मानिसले हेर्ने गर्दछन् ।


वैज्ञानिक परीक्षण बाट विज्ञानको विविध पक्ष बुझ्न विज्ञानमा क्वान्टम भौतिकीको प्रवेशले ठूलो सहजता निर्माण गर्‍यो । त्यस्तै राजनीति र राजनीतिक शास्त्रको सिद्धान्तको अनुमान गर्नसमेत  क्वान्टम राजनीतिक विज्ञानको अवधारणाले सहजता थप्ने छ । कम्तीमा राजनीति र राजनीति शास्त्र बिचको फरक बुझ्न र बुझाउन सहयोग गर्ने छ ।

सामाजिक सञ्जालको विकास सँगै हरेक व्यक्तिले सामाजिक मिडिया मार्फत आफूलाई व्यक्त गर्ने अवसर प्राप्त गरेको छ । हिजोको भन्दा फरक माहौल विकास भएको परिस्थिति बिच हामीले हाम्रो वरपर माहौल सिर्जना गर्ने परिवेशहरूलाई फरक तरिकाले हेर्नु र लिनु जरुरी बनेको छ । 

व्यक्तिको, समाजको मात्र नभएर राजनैतिक जीवनका धेरै पक्षहरूमा परिवर्तित परिवेशले फरक प्रभाव र नियतिको विकास गर्दै छ । सामाजिक मिडिया मार्फत सामाजिक परिबेस प्रभावित गरिने प्रक्रिया अन्तर्गत समाजमा सोच प्रवाह गर्न क्वान्टम कणहरूको उपयोग भएको छ । त्यसैको प्रभावमा परिवर्तनको गतिशील प्रक्रियाबाट गुज्री रहेको राजनीति आफै क्वान्टम अनुशासनको सिद्धान्त अनुरूप आफ्ना प्रभावहरू छोड्न थालेको अनुभूति हामी गर्न सक्दछौ।

क्वान्टम मेकानिक्समा पदार्थको आणविक गुणहरू भन्दा तिनीहरूको सापेक्ष गुणको ठुलो महत्त्व हुन्छ । पदार्थको सापेक्ष गुण पदार्थ आफ्नै स्वरूप भन्दा अधिक प्रभावपूर्ण हुने सिद्धान्तको कसीमा ल्याएर  राजनीति लाई केलाउँदा राजनीतिमा नेतृत्व लिने व्यक्ति होइन उसको विभिन्न पक्ष बिच स्थापित जटिल सम्बन्धहरू लाई पहिचान गरी तिनीहरू बिच स्थापित व्यावहारिक सह-अस्तित्व बुझ्ने अन्तर्दृष्टिको खुबी प्रभावशाली राजनैतिक प्रभाव छोड्न अहम् हुन्छ  भन्ने अर्थ दिन्छ ।

क्वान्टम विज्ञानअन्तर्गत स्थापित प्रणाली कति प्रभावकारी छ भन्ने पक्ष समग्रमा त्यो कस्तो देखिएको छ भन्ने कुराले निर्धारण गर्ने नभएर तत्कालीन समयमा त्यसको कसरी अवलोकन तथा मूल्याङ्कन भयो र त्यस बारे अनुमान गरियो भन्ने कुराले निर्धारण गर्ने गर्दछ।

त्यसो हो भने, क्वान्टम राजनीतिको सिद्धान्तअनुसार चुनावमार्फत चुनिएर आएको नेताले चाल्ने राजनैतिक गतिविधिहरुको सामाजिक स्वीकार्यता वा अस्वीकार्यता उसले प्रस्तुत गरेको समग्र राजनैतिक दृष्टिकोणले भन्दा तत्कालीन समयको माटोको यथार्थ बुझेर त्यसै अनुरूप उसले सञ्चालन गर्ने गतिविधि र प्रस्तुत गर्ने प्रतिक्रिया आदिले निश्चय गर्दछ । 

पुरातन वादी राजनीति दलको ढर्रामा खोक्रो सिद्धान्त बोकेको मृत राजनैतिक दर्शनमा टाँसिएर हैन समय र परिस्थितको माग अनुरूप परिमार्जित राजनैतिक गतिविधिहरू परिचालन गर्ने क्षमता र साहस बोकेको नेता मात्र जननेताको रुपमा स्थापित हुन सक्दछ । उपलब्ध सामाजिक तथ्यहरूको पुनरावलोकन गरी पहिचान भएको खाडल पुर्न प्रतिबद्ध नेताले मात्र समय अनुरूप आफूलाई प्रभावकारी रूपमा सक्रिय राख्न सक्दछ । यिनै विषयहरूमा ती नेताको ज्ञान र समझको हद कति छ त्यसैले उसलाई कालान्तर सम्म जनप्रिय राख्ने वा जन तिरस्कृत बनाउने भन्ने कुराको निश्चय गरिदिन्छ ।  

क्वान्टम मेकानिक्समा हरेक क्वान्टम कणहरूलाई उनीहरू देखिने कण जस्तो आकारको अर्थमा नभएर कणको रूपमा समाहित बन्दै परिचालित हुने सम्पूर्ण रूपमा फरक यथार्थको वेब फङ्गसन युक्त तरङ्गित ऊर्जा निर्मित सक्रिय प्रणालीको समग्ररूपको चरित्रको पहिचान गरिन्छ । 

क्वान्टम मेकानिक्सको त्यो अवधारणा लाई राजनैतिक क्षेत्र भित्र कैद गरी मूल्याङ्कन गर्दा हरेक मुलुकको दल वा नेताले लिएको राज्यको राजनैतिक दर्शनको रूपमा उक्त मुलुकको संविधान र सत्तासीन दलको पार्टीको घोषणा पत्रमा के लेखिएको त्यसैलाई ठान्नु प्रभावकारिताको मिति गुज्रिएको ओखती खाएर रोगको उपचार हुने विश्वास लिनु सरहको स्थिति हो । 

यथार्थमा त्यस मुलुकको तत्कालीन अवस्थाको राज्यले कार्यान्वयनमा अभ्यास गरेको वास्तविक नीति र त्यसको समग्र प्रभावको मूल्याङ्कनले दिएको निष्कर्षलाई उक्त राज्यको स्थापित राजनैतिक दर्शन र राजनैतिक इच्छा शक्ति ठानिनु पर्दछ । एक दक्ष जन नेताले त्यसैको आधारमा आफ्ना भविष्यका सुधारका योजनाको खाका निर्माण गर्न जरुरी हुन्छ ।  

क्वान्टम कणहरूले निर्मित गर्ने क्वान्टम फिल्डको साम्राज्यमा  वास्तवमै क्वान्टमका कणहरू भेटाउने सौभाग्य मिल्नु भौतिक विज्ञानको इतिहासमै एउटा अत्यन्त दुर्लभ मौका हुने गर्दछ । राजनीतिमा समेत राजनीतिज्ञ लाई उसको आफ्नै निर्वाचन क्षेत्रमा आफूले वाचा गरे र कबुले अनुरूप कार्य सम्पन्न गर्दै जनताको सेवा कार्यमा तल्लीन भएर खटिरहेको अवस्थामा भेटिनु अत्यन्त दुर्लभ घटना बनीदिन्छ । त्यसमा पनि नीति बनाउने कामको दायरामा बाँधिएको एउटा सभासद्को विकास निर्माणको कार्य पुरा गर्ने वाचा र कबुल सैद्धान्तिक रूपमै राजनीतिक फटाई तथा नियत बस व्यक्त गरिएको नीतिगत जाल-झेलको दर्जामा पर्दछ । 

त्यसै कारण हरेक निर्वाचन क्षेत्रहरूमा जरुरी हुने विकास र निर्माणको कार्यहरू सञ्चालन त्यस क्षेत्रको सभासद्को जिम्मामा नछोडेर सङ्घीयता अन्तर्गतको विकासका गतिविधिहरू कार्यान्वयन गर्ने समर्पित आत्म-नियमित स्थानीय निकायहरू तथा विकास विशेषको कुशलता बोकेका विकास नियोगहरुको छनौट गरिनु पर्दछ । स्थापित स्थानीय कार्यकारी निकायहरू तथा विकास नियोगहरु लाई श्रोत साधन तथा  अधिकार सहितको जिम्मेवारी प्रत्यायोजन भएको हुनु पर्दछ ।  

सत्य तितो हुन्छ तर सत्य सत्य नै रहन्छ । वेदमा एउटा अत्यन्त शक्तिशाली विषय "तत्त्व बोध"को क्वान्टम मेटाफिजिक्सभन्दा पनि गहिराइमा पुगेर गहिरो व्याख्या भएको भेटिन्छ  । वेदले हामीलाई क्वान्टम मेटाफिजिक्सको सिद्धान्तमा आधारित ज्ञानको अवधारणा अनुरूप जीवन लाई मात्र नभएर व्यक्ति व्यक्ति बिचको सम्बन्ध र राजनीति समेतलाई बुझ्न सल्लाह दिने गर्दछ । 

राजनीतिमा समेत लागु हुने प्रेम र घृणा, नीतिगत, कार्यगत तथा विषय गत विषयहरुको आन्तरिक सम्बन्ध आदि वेदमा उल्लेख भएको तत्त्व बोधको अवधारणाहरुले स्थापित गरेको मान्यता अनुरूप चल्ने कुरा वेदमा नै किटानका साथ उल्लेख छ । त्यसको अर्थ माथि उल्लेखित  क्वान्टम मेकानिक्सको परिष्कृत सिद्धान्त राजनीति विज्ञानमा समेत लागु हुन्छ भन्ने पक्ष वैदिक मान्यता अनुरूप समेत स्विकारिएको विषय बनेको छ । 

हालको तत्कालीन समय चुनावी नतिजाको माहौलमा नेपाल हलक्कै तातेको छ । नेपालका मतदाताले भर्खरैको निर्वाचन मार्फत लिएको राजनैतिक निर्णय चुनावी तत्त्व बोधको हिसाबमा पहिलेको भन्दा खासै फरक सन्देश दिने प्रकृतिको भेटिँदैन । मुलुकको राजकाजमा चुनाव पहिले जुन नियत र प्रवृत्ति हाबी थियो जनताको स्तर वाट त्यसैलाई पुन: नवीकरण गर्ने कार्य आम निर्वाचन मार्फत भएको छ । यसले चुनाव पहिलेको जे चित्र मुलुकमा थियो चुनाव पछि पनि त्यही नियमित राख्न चुनावी जनादेश दिएको छ।

निश्चय नै केही पात्रहरू फेरिएका छन् । नयाँ भेषका केही ऋषि मनहरू उदाएको हो कि भन्ने भान अवश्य हुन्छ । तर ती ऋषि मनहरू कति लामो समय ऋषि मन  युक्त नै रहलान् पत्तो छैन ।  

जन अनुमोदन प्राप्त चरम व्यक्तिवादी तथा जडसूत्रवादी चरित्र बोकेको  आफ्नो स्वार्थ साध्न अत्यन्त अनुभवी संरचना भित्र अन्तर घुलन हुनै पर्ने बाध्यतामा रहेका ऋषि मनहरू आफूलाई ऋषि मनको रूपमै कायम राख्न सक्लान् नसक्लान् त्यो समयले देखाउने छ।

तिनीहरूको संसद्को पहिलो कार्यकाल संसदीय व्यवस्थाको सञ्चालन प्रक्रियाको नदेखिएको पाटो तथा मुलुकको कार्यकारी निकाय परिचालन हुने तौर तरिकाको लुकेको जरो खोज्दैमा सकिएछ भने पनि त्यस लाई अन्यथा नमान्दा हुन्छ।
 
निर्वाचन वाट जन अनुमोदित भएर आएका ठुलो सङ्ख्याको नयाँ अनुहारहरू तात्त्विक रूपमा आफूले के गर्न सक्छु र त्यसको लागि हुनुपर्ने पूर्वाधार के हो भन्ने सामान्य ज्ञान समेत वाट सुसूचित भए जस्तो अनुभूति हुँदैन।

फगत म अन्य भन्दा फरक हुँ र छु, केही गरी वाह वाही कमाउने छु जस्ता अहङ्कार ग्रसित आत्मरति संसद् नै कहाँ वाट सञ्चालन भएको छ, त्यसले लिने निर्णयहरू कहाँ वाट कुन नियतले उत्पत्ति भएर कसरी परिचालित भयो र सम्पन्न बन्यो आदि समेत खुट्टाउन जटिल रहेको संसदीय पद्धति भित्र प्राय: चरम निराशामा बदलिने गरेको संसदीय अनुभव छ।
 
चरम निराशामा ग्रहण गरेको हरेक नयाँ संसद्को नियति संसद्मा नियमित मौन रहने, प्रभाव शून्य भूमिका बोकेको, हरेक मुद्दा यो चोटि लाई भई हाल्यो जसरी ल्याएका छन् त्यसरी नै पास भएर जाओस् भन्ने मृत मनोवृत्ति युक्त हुने गर्दछ ।  
 
नेपालको भर्खरै सम्पन्न चुनावले माओवादी, एमाले र काँग्रेसको आधार इलाका केही मात्रामा खलबल्याएको देखिन्छ । तै पनि एकाध ठाउँमा बाहेक तल माथि भएको सिट उनीहरू बिच नै बाँडी दिएर बृहत्तर रूपमा पुरानो यथास्थित पुनः कायम गरिदिएको छ । 

हिजो ल्याप्चे वाला साक्षरहरुको हाम्रो नीति निर्माणको तहमा तुलनात्मक रूपमा अधिक उपस्थिति थियो । आज कागजी ग्र्याजुएट शिक्षा प्राप्त साक्षरहरू,  जरुरत भन्दा धेरै चर्को स्वर गरी कराउनेहरू लाई  समेत संसद्को पहुँच प्राप्त छ । 

कराउनु, अर्काको खोट देखाउनु र आफैले भएका असङ्गति विरुद्ध भूमिका खेलेर मुलुकको विकासमा अर्थपूर्ण सहभागिता जनाउनु बिच बाह्र-हातको टाँगो बराबरको पनि साहिनो रहँदैन । 
 
राजनीतिक तत्त्व बोध को क्वान्टम सिद्धान्त अनुसार ल्याप्चे वाला साक्षर आफू केही नजान्ने तर अर्काले भनेको सुन्ने र मान्ने प्रवृत्ति बोकेको हुन्छ ।  तर कागजी ग्र्याजुएट कोटिका साक्षरहरू आफू पनि केही नजान्ने, अर्काले भनेको पनि नसुन्ने र नमान्ने चरित्रको हुन्छ । 

मैले सबै जानेको छु, नजानेको कुनै विषय परेछ भने आफै गुगल सर्च गरी पत्ता लगाउने छु भन्ने चरम अहङ्कार ग्रसित हुन्छ । मलाइ के थाहा छैन भन्ने मलाइ थाहा छैन, गुगल सर्च वाट सुचना मिल्ला तर अनुभव र कार्य कुशलता मिल्दैन भन्ने तत्त्व बोध विहीन हुने गर्दछ । 
 
सनातन साहित्यमा तत्त्व ज्ञान विहीन बहुलट्टी पन बोकेको वर्ग लाई भुइँफुट्टा वर्ग भनिन्छ । बिपी सान्दाजु भन्ने गर्नु हुन्थ्यो बहुलट्टी पनको चरित्र बोकेको बोकेको भुइँफुट्टा वर्ग स्व-केन्द्रित अत्यन्त छिटो सम्झौता मुखी बन्ने वर्ग हो । पहिला म अन्य भन्दा असाधारण बनेर के के न उखाड्ने छु भने जोसका साथ आफ्नो राजनीति यात्रा सुरु गर्ने त्यो प्रवृत्ति कालान्तरमा परम्परागत जडता भत्काउन नदिने मुलुककै प्रतिगामी शक्तिको रूपमा स्थापित बनी दिन्छ । मुलुकको विकास अवरोधक शक्तिको परिपूरक शक्तिको रूपमा उदाइदिने गर्दछ।

लाक्षणिक रूपमा भन्नु पर्दा राम राम भन्दा भन्दै त्यो बर्ग बाबुराम बनी दिने जोखिम रहन्छ।

नेपालको जमिनको यथार्थमा उत्रिएर कुरा गर्ने हो भने हिजो सम्म र आज पनि हाम्रो राज्य सत्ता प्रचण्डको आशीर्वाद प्राप्त गरी केपीबा – देउबा हरूको हाली मुहालीमा उनीहरूकै वरपर चलेको छ । जनादेश ले त्यही नियतिलाई नियमित राख्न निर्देशन समेत दिएको छ ।  

नेपालको राजनीति वृत्तमा उल्लेख गर्न लायक खासै केही त्यति ठुलो देखिने परिवर्तन भई नसक्दा पनि सामाजिक सञ्जाल र जान स्तरमा भने रवि-बालेन अर्थात् रवि-बाहरुको अधिक चर्चा भएको भेटिन्छ । रवि-बाहरुको जन स्तरमा हुने गरेको चर्चा पछाडिको आधारभूतकारक बनेका आवृत्तिहरु अलि फरक प्रकृतिको छ । 

आजको हाम्रो समाज सामाजिक सञ्जालको सहज पहुँचमा छ । सामाजिक सञ्जाल मार्फत सम्प्रेषण हुने राम्रा समाचारले हाम्रो समाजको ध्यान खासै खिचेको देखिँदैन । सही वा गलतको परीक्षण बिना नकारात्मकता बोकेको एवम् चर्चित व्यक्तिहरूको चरित्र हत्या गर्ने प्रकृतिको सूचनाहरू रातारात मुलुक भर फैल्याउन सामाजिक सञ्जाल बलियो मध्यम बनिदिएको छ । सामाजिक सञ्जालको त्यो शक्ति मुलुकमा राजनैतिक वितृष्णा फैलाउन समेत निर्णायक बनिदिएको छ ।    

दैनिक घट्ने घटनाहरू छिन भरमै सर्वत्र पुग्न सक्ने हैसियत राख्ने वातावरण बिच पुराना दलका पार्टी वा समूहगत तर्कमा आधारमा आफ्ना सिद्धान्तहरू मुलुक लागि उत्कृष्ट रहेको पुष्टि गर्न प्रयासहरूको प्रभाव इन्धन बिनाको मोटर साइकलले दिने सवारीको हालतमा पुगेको छ । जन स्तरमा  दलको चासो र भरोसा दुवै उठेको छ।

जनतामा पुरानो दलमाथिको चासो र भरोसा उठिरहेकै अवस्थामा पनि भरपर्दो विकल्पको अभावमा जनता व्यक्ति प्रधान बनेर तिनै दलका उम्मेदवारहरू लाई आफ्नो प्रतिनिधि तोकी रहेका छन्।

यसैबिच सामाजिक सञ्जालमा आधारित रहेर सञ्चालनमा ल्याइएका लोकप्रिय नो-नट-अगेन जस्ता मोमेन्टहरु, भावनात्मक रूपमा एकै सोचाइ ग्रुपका व्यक्तिहरू निश्चित भर्चुअल विचार समूहमा जोडिने अवसर तथा सामूहिक प्रयासमा एकै सूचना नियोजित रूपमै पटक पटक पोस्ट गरी भाइरल बनाएर सामाजिक ध्यान आफूतर्फ तान्न सम्भव बनिरहेको सुविधाहरू पुरानो कुनै राजनैतिक इतिहास नभएको तर राजनैतिक नेतृत्व लिन चाहनेहरू लाई जनमानसमा आफ्नो सुरुवाती प्रभाव जमाउन र पुराना नेता बारे अप्रमाणित तत्त्व सम्प्रेषित गरी प्रभाव खुस्काउन कम खर्चिलो  वैकल्पिक तर प्रभावकारी उपायको रुपमा उदाएको छ । 

पुरातनबादी दलहरू अझै पनि सामाजिक सञ्जालको प्रभावकारी उपयोगमा आफूलाई चुस्त राख्न तैयार नगरिसकेको अवस्थामा रबी-बालेनहरूले अन्यलाई भन्दा यस उपाय लाई आफ्नो पक्षमा प्रभावकारी उपयोग गर्न सक्नु ओलीबा-देउबाको सट्टा रवि-बाहरू अधिक जन चर्चामा रहन पुग्नुको कारण देखिन्छ ।

समग्रमा बाहिरी आँखा वाट हेर्दा यो चुनावमा हार्ने पर्ने धेरै पात्र हरेका छन् । समाजले पन्छाउनु पर्ने कुसित चरित्र युवा र नयाँ अनुहार नै भए पनि सन्तोष जनक रूपमै फालिएका पनि छन् । पुरस्कृत हुनु पर्ने केही नियत र आचरणहरू पुरस्कृत पनि भएको छ । केही खराब चरित्र र प्रवृत्ति लाई पुनः रोजिएको छ । एकाध राम्रा व्यक्तित्वहरू बढारिएका समेत छन् ।

राजनैतिक तत्त्व बोधको आँखा वाट हेर्दा फरक भौतिक संरचनाको रूपमा चुनावमा जानु अघिको शक्ति, प्रवृत्ति, गठ जोड र मानसिकता लाई यो चुनावले झन् बलियो हुने गरी यथास्थितिमा राखिदिएको छ।
 
तात्त्विक रूपमा मुलुक सञ्चालनको जिम्मा तिनै पात्र, प्रवृत्ति र सोचलाई नयाँ बत्तलमा पुरानो ठर्रा नै राखी सुम्पिदिएको छ । जनतालाई  परिवर्तन भएछ क्यारे भन्ने दुई दिनको भ्रम युक्त उत्शाह दिएर जे हो, जे थियो त्यसैको नियमितता गरिदिएको छ।

आज नेपालको जन स्तरमा ओलीबा-देउबाको सट्टा रवि-बाहरुको धेरै चर्चा सुनिँदैमा मुलुकको राजनीतिक गन्तव्यमा कुनै पनि सुधार उन्मुख परिस्थिति निर्माण बनेको छैन । पुरानै यथास्थिति कायम हुने निश्चितता भित्र गतिशील राजनैतिक भिजन, विकास उन्मुख इच्छा शक्ति र नव प्रवर्तनीय विचारको व्यवसायीकरण तर्फको बाटो मुलुकले समात्ने सम्भावना हाललाई टरेको छ।

मुलुक भित्र सुधार उन्मुख परिस्थिति पैदा गर्न जरुरी हुने आधारभूत पूर्वाधारहरू उपलब्ध नरहनु, त्यस्ता पूर्वाधारहरूको उपलब्धता गराउन  हस्तक्षेपकारी भूमिका खेल्न चाहिने सङ्ख्याको जनादेश समेत नभएको  परिस्थिति बिच राजनैतिक दलको भन्दा पृथक् फगत “काम गर्ने नियत” मात्र बोकेको रवि-बाहरूलाई आफू ओलीबा-देउबाहरू भन्दा अब्बल रहेको प्रमाणित गरी नेपालको राजनीतिमा स्थापित हुन  त्यति सहज हुने छैन । समयमै रवि-बाहरुको यसतर्फ ध्यान पुगोस् । 
 

घिमिरेका यी पनि पढ्नुस् :


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
x