विचार

संस्मरण र अनुभूति- ३३

हाँसेका चेहराहरू, होइन खुसी नै हाँसेको

वसन्त लोहनी |
पुस १६, २०७९ शनिवार ७:२८ बजे

नेपाल अधिराज्यको लागि ब्रिटिस कम्पनी मार्टिन बर्नस‌को सोल डिस्ट्रिब्युटर बनेको प्रकाश इन्जिनियरिङ कम्पनी । एउटै व्यक्ति, एउटै कम्पनी । लेटरप्याड भएको तर अफिस सम्म पनि कतै नभएको । म्यानेजिङ डाइरेक्टर देखि सबै काम गर्ने एउटै व्यक्ति । ती थिए वेदप्रसाद । वर्ष ३० का, त्यति बेला । दुब्लो पातलो श्याम वर्णका । अग्लो थिए । उचाइमा मात्र होइन सोच र विवेकमा पनि । मार्टिन बर्नस‌् लिमिटेडले किनाएको त्यो रेमिङ्टनको टाइपराइटर र अफिस सेटअप गर्न चाहिने सामानहरू साथमा लिएर आएका कलकत्ताबाट ।

आफ्नो लुगाफाटो बाहेक खुसी बाँड्ने नयाँ लुगा, खेलौना र स-साना समानहरूले भरिएका दुई अदत ट्याङ्का । र, यस्तै समानहरू पनि कोचिएका बेडिङ । काँधमा झुन्ड्याएका ब्याग । कलकत्ताको नामुद केसी दासको टिनको डब्बामा प्याक गरिएका रसगुल्लाहरू र नबिग्रिने पेडा र लड्डु पनि ल्याएका साथमा।


त्रिपुरेश्वरस्थित आखिरी बस स्ट्यान्ड थानकोटबाट आउँदाको । अहिलेको त्रिभुवनको सालिक भएको ठाउँ । थोत्रो लरिबाट बनेको बसबाट उत्रिएर भरियालाई सामान बोकाएर उनी लुरुलुरु सर्वसाधारणलाई निषेध गरिएको टुँडिखेल हेरेर त्यसको डिलबाट हिँडिरहेका थिए । गोधूलिको वेला । खुसी, उत्साह र सपना बोकेको मन । कलकत्ता देखिको ट्रेनको यात्रा । अझ डुङ्गाको पनि । भीमफेदीदेखिको पैदल यात्रा । तर वेदप्रसाद थाकेका थिएनन् । 

जिन्दगीको सुन्दर बिहानी देखिरहेका थिए । तीन छोरीपछिको छोरा, बामे सर्न छोड्दै हिँड्ने प्रयासमा । हातभरि पैसा, बिजिनेसको ढोका खुलेको, काम गर्ने सीप र जाँगर दुवै भएका । परिवारको माया र स्नेह पाएका र दिएका । नेपालको पहिलो सिमेन्ट ढलानको भवन सरस्वती सदनको निर्माण गरेर इज्जत कमाएको मात्र होइन हिरो भनेको वेला । सुरक्षित उठानमा थिए उनी, आर्थिक रूपबाट, सामाजिक रूपबाट र हृदय झङ्कृत पारिवारिक अनुरागबाट । राणाको कठोर शासनमा जकडिएको नेपालको एउटा मध्यम वर्गीय परिवारका उनी ।

यो एउटा दराजबाट सुरु गरेका थिए वेदप्रसादले उनको प्रकाश इन्जिनियरिङ कम्पनी। 

त्यति वेलाको नेपालको मध्यम वर्गलाई नबुझीकन वेदप्रसादको व्यक्तित्व राम्ररी बुझ्न सकिँदैन । त्यो गाँजिएको परिवेशबाट फुत्किएर उठ्ने पृथक् प्रयास देखिएको छ उनको । यो बुझ्नु जरुरी यस अर्थमा छ कि उनी कसरी भिन्न हुन सके परिवर्तनको एउटा प्रतिनिधि पात्र बनेर । परिवर्तनभित्र धेरै कुराहरू हुन्छन् । मेरो उद्देश्य ती सबैलाई हेर्ने होइन । परिवर्तन भन्ने बित्तिकै राजनीतिक परिवर्तनको नै कुरा गरिन्छ । न त्यसको लेखाजोखा गर्ने हो । 

राजनीतिसँग वेदप्रसादको कहिले साइनो रहेन । मूलतः मध्यम वर्ग प्रदत्त नै हो । तर सोच बेग्लै । चार शहीद बनाएका दमनकारी जुद्ध शमशेरले उद्योगधन्दाको भने राम्रो वातावरण बनाइदिएका थिए । उनको सोच लयबद्ध भयो मुलुकको परिवर्तनकारी विकाससँग । यसलाई ठम्याउन त्यति वेलाको नेपालको मध्यम वर्गलाई अलिकति हेर्नु पर्ने हुन्छ।

नेपाल ब्रिटिसको कोलोनी थिएन त्यति वेला जसरी भारत थियो । तर समग्रतामा कोलोनी सरह नै थियो । कोलोनी बनाएको देशबाट धन सम्पत्ति आफूकहाँ लिएर जान विकास, निर्माण र शान्ति सुरक्षाको जिम्मेवारी थियो इम्पेरियल ब्रिटेनको उपनिवेश बनाएको भारतमा । नेपालमा त्यस्तो जिम्मेदारी केही थिएन । केवल तन्नेरी नेपाली ज्यानबाट अत्यन्त लोभिएको थियो । तिनको उपयोग देखिरहेको थियो विश्व राजनीतिबाट उत्पन्न हुने लडाइमा । 

नेपाललाई हराएपछि सन् १८१६ को सुगौली सन्धि हुने करिब एक वर्ष अगाडिबाटै तन्नेरी नेपालीहरू लग्न थालिसकेको थियो । उसको एउटै चासो थियो नेपालको राजकाज बिग्रेर निस्किने असन्तुलनको । त्यस्तो असन्तुलनले ब्रिटिस इन्डियामा दखल दिन सक्थ्यो । अर्थात्, उपनिवेशवादी शोषण गर्न यस्तो असन्तुलन हानिकारक हुन्थ्यो ।

ब्रिटिसले त्यति मात्र हेरेको थियो आँखा नझिम्काएर । त्यसैले राणाले राजालाई बन्दी सरह राखेर शासन गर्दा उनीहरूले सघाएका थिए, केवल त्यो असन्तुलन हुन नदिनको लागि । तर जङ्ग बहादुरले आफै श्री ५ महाराजाधिराज हुन खोज्दा रोकेका पनि थिए । फेरि पनि त्यही कारणले नै - असन्तुलनको । यो अर्को पाटोबाट पर्‍यो ।

राजा त्रिभुवन सपरिवार भागेर दिल्ली जादा काठमाडौँमा छुटेका ३ वर्षका ज्ञानेन्द्रलाई मोहन शमशेरले २००७ साल कार्तिक २२ गते नेपालको राजा बनाउँदा बेलायतले त्यसलाई मान्यता दिन तयार भएको थियो । तर दोस्रो विश्व युद्ध जितेर पनि हारेको बेलायत खुम्चिसकेको थियो । भाइसराय लर्ड माउन्टवेटन अन्तरगतको सरकारको नेतृत्व गर्दा नै नेहरुले नेपालसँगको सम्बन्धमा ब्रिटिस उपनिवेशवादी नीतिको निरन्तरतामा भारतको असंलग्न परराष्ट्र नीतिको अवधारणाको विरोधाभासपूर्ण धार सुर गरिसकेका थिए । यही नै कायम छ अहिले पनि । - बिजुली पानीको कुरा होस् या सरकार अदलीबदलीसम्मको । 

वेदप्रसाद जन्मेको चन्द्र शमशेरको पालामा र उनको प्रकाश इन्जिनियरिङले जुन व्यापार सुरु गर्न लागेको थियो त्यो पद्म शमशेरको पालामा । ब्रिटिस निर्णायक थियो नेपालमा कोलोनी नबनाएर पनि । तर त्यति वेलाको नेपाली मध्यम वर्गको चरित्रमा ब्रिटिस हाबी बन्न सकेको थिएन । नेपाली तन्नेरीलाई सेनामा भर्ती गर्ने र असन्तुलन हुन नदिने बाहेक अरू कुरामा ब्रिटिसले कुनै हस्तक्षेप गरेको थिएन । समग्रमा, यो मध्यम वर्गको आफ्नै पना प्रशस्त थियो जुन यहाँको अर्थ राजनीति र त्यस अन्तरगतको सामाजिक बनावटबाट निसृत भएको थियो । ब्रिटिस इन्डियामा भने भारतीय मध्यम वर्ग एक किसिमले भन्नुपर्दा ‘वर्णसंकर’ बनेको थियो।

वेदप्रसादले प्रकाश इन्जिनियरिङ कम्पनीको काम गर्ने यो डेस्क। फर्माइका पछि लगाइएको। 

भारत, होइन, भारतीय उपमहाद्वीप नै केही ब्रिटिस अफिसरले हाँक्नु पर्दा इम्पेरियल ब्रिटेनको लागि मूलतः त्यस्तो ‘वर्णसंकर मध्यम वर्ग’को निर्माण गर्नु परेको थियो । यसको योजनाकार लर्ड मकालीको शब्दमा, ‘भारतीय रगत र रङका तर बेलायती स्वाद र विचारका’ हुनु पर्थ्यो । यी दोभासे सरह बन्न सक्नु पर्थ्यो केही ब्रिटिस शासक र ती असङ्ख्य शासितहरूबिच । ती असङ्ख्य पहिलो चरणमा शासित थिए करिब ६०० राजा रजौटाबाट । 

दोहोरो मात्र होइन त्रिकोणात्मक सम्बन्ध थियो शासनको । यसको लागि मूलतः शिक्षाको संरचना अवधारण बन्यो सन् १८३५ मा । सेक्सपियरको ड्रामा पढ्ने देखि क्रिकेट खेल्ने र जिमखाना क्लब जाने र काटा चम्चा चलाएर बेलायती शैलीमा ब्रेकफास्ट खाने अनि ह्वाइटवे लेडला कम्पनीको ब्रिटिस डिपार्टमेन्टल स्टोरबाट बेलायती सामान किनेर प्रयोग गर्ने।

हिटलरले गरेको ‘जर्मन सुपेरियर रेस’को कुरा सधैँ चर्चामा छ अहिले पनि । हो, उसले त्यसलाई आफ्नो सर्वसत्तावादको लागि गर्‍यो । तर ‘सुपेरियर रेस’को वैचारिक धरातलमा नै बेलायतले कोलोनी बनाउँदै गएको हो । भारतमा पनि त्यसरी नै हो । र, ‘बाबु’ उत्पादन गर्नु परेको पनि त्यसैको लागि नै हो । यस क्रममा पुरानो भारतीय सभ्यता र संस्कृति विस्थापित हुँदै गए । कोलोनीको कुरा प्रशस्त हुने गर्दछ तर कोलोनी बनाउने बेलायती ‘सुपेरियर रेस’को वैचारिक धरातलको कुरा भने हुँदैन । किन? प्रजातन्त्रको जननी बेलायत मानिएको कारणले होला । र, सायद शासन गर्न पाउनु नै आफू ‘सुपेरियर रेस’ बनेको प्रतिबिम्बित हुने प्रवृत्तिले होला।

विश्वको सर्वाधिक धनी व्यक्ति बनेको थियो स्टालिन । राज्यको र उसको सम्पत्तिबिच फरक नै नभएर । हाम्रै ओलीलाई नै हेरौँ । हिजो पेट भरी भात खान नपाएको वेलामा रामनाथ दाहालले पालेको कुरा सम्झिनै चाहँदैनन् । मैले भने यहाँनिर सम्झे बिपी कोइरालाले मसँग एउटा लामो छलफलमा भनेको कुरा । उनीले भनेका थिए - आधुनिक विश्व इतिहासले यो देखाउँछ कि सर्वसत्तावादी प्रवृत्ति राजतन्त्रमा भन्दा चुनाव लडेर सत्तामा आएका कमनरमा बढी छ ।  

यसरी नै तयार भयो भारतीय 'बाबु वर्ग' ब्रिटिस इन्डिया चलाउन । र, यो बाबु वर्ग नै छ भारतीय प्रशासनमा अहिले पनि परिष्कृत स्वरूपमा । विदेशी मालिकको बदलामा स्वदेशी मालिकलाई रिझाएर । आफू ब्राउन साहेब भएर । आईसिएसबाट आएएयस बनेर । मूलतः यो नै बन्यो भारतीय मध्यम वर्गको सेरोफेरो । नेपालमा भने शासकहरूले विदेशी मालिक रिझाउँथे आफ्नो मोजमज्जाको साथै राष्ट्रको स्वार्थ पनि हेर्न । अहिले विदेशी मालिक रिझाउने खुल्लमखुल्ला बनेको छ ।

झन् खुल्लमखुल्ला त मालिक रिझाउन राष्ट्रिय संवेदनाशीलतालाई भजाउने प्रचलन । राष्ट्रिय स्वार्थ त सौदा गर्ने बस्तु सरह पारिएको छ । हिजो कर्मचारीहरू धेरै टाढा थिए । अहिले भने ती पनि विदेशीको आशीर्वादको लागि लालायित भएका देखिन्छन् । शासकले 'खोज्दै हिँड्दा' यस्तै आशीर्वाद बोकेकालाई पुरस्कृत गर्न 'भेट्टाउने' गरेकोले होला।

भारतीय मध्यम वर्ग यसरी वर्णसंकर बन्दै गएकोमा धर्मको पनि हात छ । ब्रिटिसले आफू सुपेरियर रेस भएको मात्र होइन आफ्नो क्रिस्चियन धर्म ‘सुपेरियर रिलिजन’ भएको पनि थोपर्दै गएका थिए । नेपालमा भने सन्तुलन बिग्रेला भनेर ब्रिटिस इन्डियामा जस्तो क्रिस्यानिटी सुपेरियर रिलिजन हो भनेर ब्रिटेनले ल्याउन चाहेन । यस मामलामा भारतका विभिन्न भागमा कोलोनी राख्ने फ्रान्स, पोर्चुगल, डच र डेनमार्क, जो धर्मको मामिलामा अझ कट्टर थिए, तिनीहरू नेपाल छिर्न पाएका थिएनन् । नेपालमा ब्रिटिसलाई ‘बाबु’ उत्पादन गर्नु पर्ने आवश्यकता नै भएन।

२०१३ सालमा राजा महेन्द्रको पूर्व नेपाल भ्रमणमा सवारी मन्त्री गुञ्जमान सिंह र कार्यपालिकाको सचिव वेदप्रसाद लोहनी।

यहाँको शासन यहीकै तौर तरिकाबाट श्री ३ को हुकुम अन्तर्गत चार पासे देखि १४ पास भएका सम्मले कार्य सम्पादन गर्थे । काठमाडौँमा साँघुरिएको नेपालमा लैनचौरको ब्रिटिस रजिडेन्सी, जुन अहिलेको भारतीय दूतावास बनेको छ, त्यसको काठमाडौबासीसँग आम सम्पर्क थिएन । जब कि नेपालको बाहिरी हुलाक, टेलिग्राम र बेलाबखतको असाध्य रोगको औषधीमुलो त्यहीँबाट हुन्थ्यो । सन् १९०१ मा देव शमशेरले दरबार स्कुलमा सर्वसाधारणले पनि पढ्न पाउने गरेपछि र त्यसको १७ वर्षपछि सन् १९१८ चन्द्र शमशेरले त्रि-चन्द्र कलेज खोलेपछि शिक्षित बन्न थालेको मध्यम वर्गको सोच केही फराकिलो बन्दै गएको हो । सन् १९१५ मा जन्मेका वेदप्रसादको सोच पनि यसै क्रममा फराकिलो हुँदै गएको थियो।

मूलतः काठमाडौँ केन्द्रित त्यति वेलाको मध्यम वर्गमा अहिलेको तुलनामा ‘होमोजिनिटी’ अर्थात् एकरूपता थियो । साधरणतया मध्यम वर्गमा एकरूपता हुँदैन । त्यसभित्र विभिन्न ‘क्लिभेज’ अर्थात् विभाजन या चिराहरू हुन्छन् । अझ त्यसभित्र पनि बढी सांस्कृतिक चिराहरू हुन्छन् । तर एउटा मान्यताले भन्छ जतिसुकै अनेकता भए पनि मुलुकको बृहत्तर हितको कुरामा यो वर्ग एक ढिक्का हुन्छ । यस्तो वेलामा यो वर्ग आफैमा शक्ति नभए पनि परिवर्तनको सशक्त संवाहक बन्छ।

नेपालमा अहिले सम्म भएका परिवर्तन आंशिक रूपमा यस पाटोबाट वर्णन हुन्छ । म आंशिक शब्द प्रयोग गरिरहेको छु यस अर्थमा कि यस्ता परिवर्तनको लागि चाहिने असन्तोषहरू मुलुकभित्रै बढ्दै गएको भए पनि परिवर्तन चाहिँ बाहिरबाटै गराइएको थियो । वेदप्रसादको समयमा जब उनी सङ्घर्ष गर्दै थिए प्रकाश इन्जिनियरिङ मार्फत, त्यति वेला यो वर्गमा देखिएको एकरूपताको प्रमुख कारणहरू चाहिँ अर्कै थिए । त्यो हो त्यति वेला मान्छेहरू मूलतः धर्मभीरू थिए । अर्थात्, पाप धर्मको ख्याल गर्ने । पाप लाग्ला भन्ने डर र असल कर्म गरेर धर्म कमाउनु पर्दछ भन्ने भावना जीवनसँगै बाचेको थियो । दोस्रो डर थियो शासनको । तेस्रो राजनीतिको चेतना फैलिसकेको थिएन।

काठमाडौँ बाहिरको नेपालमा गरिब भन्दा गरिब रैतीहरू विभिन्न भौगोलिक खण्डहरूमा एक अर्कोसँगको सम्पर्क र संवाद विहीन भएर आफ्नै बर्कतमा बाचेका थिए । काठमाडौँभित्र भने कुनै राणाजीको दरबारमा चाकडी गर्न नपाएको मान्छेको समाजमा हैसियत नहुने स्थिति थियो । धर्मको प्रयोग शासकले आफ्नो राज्य गर्ने वैधानिकताको लागि भगवानको दूत सरह धर्माधिकार खडा गरेर मजबुत पारेका थिए । यसले शोषितको अझ बढी शोषण गरेको थियो । तर यसले सामाजिक सन्तुलन कायमगर्न पनि मद्दत पुर्‍याएको थियो । यही नै थियो परिवेश वेदप्रसादको समय-प्रवाहको ।  

सन्तानले डाँडाकाँडा ढाकोस् भन्ने समय । एक आइमाइले ८ सन्तान जन्माउँथे जबकि अहिले २ सन्तानको छ । मूलतः अभावबिच बाच्नु पर्ने । कमाउने एक जना तर खाने धेरै मुखहरू । रीतिथिति सब धान्नु पर्ने । आर्थिक परनिर्भरताले गर्दा पनि संयुक्त परिवार हुन्थ्यो । नगदको अभावलाई धेरै हदसम्म यसरी उपलब्ध भएको श्रमले प्रतिस्थापित गरेको हुन्थ्यो । पात गाँस्ने होस् या बत्ती कात्ने, भात पकाउने होस् या धार्मिक भोज भतेर चलाउने । चराले उड्न नसक्नेज्याल गुँडमा राखे जस्तै सबै छोराहरूको जागिर नहुन्जेल साधरणतया छुट्ट्याउने चलन थिएन । 

समग्रमा, अभाव प्रदत्त सेरोफेरो नै थियो वेदप्रसाद बाचेको मध्यम वर्गीय परिवारको पनि । तर पनि फरक थियो । फरक यस अर्थमा थियो कि शिक्षामा ज्यादै जोड थियो यो परिवारमा । त्यसैले चार पासे र छ पासेको नेटो काटेर आ-आफ्नो क्षेत्रमा विशिष्टता हासिल गरेर हिँडेका या त्यो बाटो पछ्याएका थिए । अलि फोकस थियो जिन्दगीको । कता कता कुनै महत्त्वाकाङ्क्षालाई पछ्याइरहेको जस्तो । यो फरक वेदप्रसादमा धेरै नै बढी थियो जसले गर्दा उनीलाई एक किसिमले अराजक बनाएको थियो, दरबार स्कुलमा पढ्दाको वेलादेखि नै । यतिसम्म कि उनले स्कुल नै छोडिदिएका थिए । 

दास युग भनेकै शासकले अमानवीयकरण गर्न पाउने व्यवस्था हो । र, यसरी अमानवीयकारण गर्दा सामाजिक मनलाई त्यो नै सही हो र गर्न पाउने शासकको हक हो भनेर धार्मिक व्याख्या गर्ने धर्माधिकार र त्यस अनुरूपको जनमत बनाउने बुद्धिजीवीहरू आवश्यकता पर्दछ । यस्ता बुद्धिजीवी आफ्नो सेवा बेच्न दौडिरहेका हुन्थे । यी कोही कवि हुन्थे त कोही लेखक । यस बापत कसैले घर नै बकस पाए, त कसैले जागीर । अनि कसैले पैसा । 

पैसाको मामलामा राणाहरू कन्जुस थिए । जनमत सिर्जना गर्ने सेवा दिने यस्ता बुद्धिजीवीहरू चाकडीको मूल प्रवाहमा हुन्थे । तत्कालीन परिवेशमा ढालेर बनाइएका संरचनाभित्र यिनीहरूलाई हुलिएको हुन्थ्यो । यी प्रतिस्पर्धा गर्थे दुई टुक्रा रोटीको लागि । शासकलाई कोही परब्रह्म भन्थे त कोही भगवान् राम भनेर लेख्थे।

सेनाको लिलामी पिगलेट सकार्न जुद्ध शमशेरको छोरा शान्त शमशेरसँग लिएको निर्णयक रू १०,००० को ऋण बैकबाट तिरेको। महिनाको रु १०० सुब्बाको जागिरमा थिए वेदप्रसाद।

अहिले पनि यो मानसिकतामा खास परिवर्तन भएको छैन । फगत चाकडी परिष्कृत स्वरूपको बनेको छ । पार्टी बुद्धिजीवी बनेर राजदूत खाने कि भाइस चान्सलर । या सन्तुष्टि दिन सक्नु पर्‍यो शासकलाई । एउटा परिवर्तन चाहिँ आएको छ । अव भाट भएर मात्र नपुग्ने । नगदनारायण नै चाहिने । त्यसैले व्यापारी वा ठेकेदार वा यिनको स्वरूपमा रुपान्तरित शासकले जे पनि गर्न सक्छन् । नगद नारायण अनुसार कानुन बदल्दिन सक्छन् । 'टेलरमेड कानुन' बनाइदिन सक्छन् । व्यापारीले नै लगानी गरिदिन्छन् यी सबको लागि । अनि पदको लागि । केही परे अख्तियारको तामेलीमा हाल्न लगाइदिन्छन् । भएन भने अदालतबाट चोख्याइ दिन्छन् । लगानीको प्रतिफल त चाहियो उनीहरूलाई । यस्तै अदलबदल र राज्य शक्तिको नितिगत निर्णयको नाममा गरिएको दुरुप्रयोगको लगानी होस् या नगद नारायणको जुन मूल प्रवाह राजनीति बनेको छ अहिले नयाँ युगको । 

राणा कालमा चाकडीको मोल पाइन्थ्यो । तर मुलुक लुटाएर होइन । राज्यको संरचना ध्वस्त पारेर होइन । राष्ट्रको स्वार्थलाई अन्त भजाएर होइन । राणाको चाकडी नगरीकन अगाडि बढ्न सक्ने अवस्था नै थिएन । चाकडी बिना न इज्जत हासिल हुने समाजमा । तर वेदप्रसाद अत्यन्त आत्मसम्मान भएका मान्छे थिए । अत्यन्त खरो मान्छे । उनले कसैको चाकडी गरेनन् । त्यति वेलाको भाषा जसरी प्रयोग गर्नु पर्थ्यो त्यो गरे ।

निवेदन गर्दा होस् या सम्बोधन गर्दा।हो, त्यो गरे । तर चाकडी मानसिकता लिएर कहिले भौँतारिएनन् केही प्राप्तिको लागि, कहिले पनि । राणा कालमा किन? कुनै कालमा पनि गरेनन् । काम गर्न सक्ने प्रचुर आत्मविश्वासको र क्षमताको कारण वेद प्रसादको नै खोजी हुन्थ्यो । समयको अन्तरालमा जब खोजी भएन उनले कुनै चासो नै लिएनन्।

उनको इमानदारीपूर्वक कसैको डर नमानी मुलुकको हितको लागि काम गर्ने क्षमताबाट केही प्रभावित भएर उनका अनन्य मित्र बनेका थिए । तर मनोमानी गर्न नपाएका धेरै दुस्मन बनेका थिए । अनन्य मित्र बनेकामध्ये प्रमुख थिए राजा महेन्द्रको करिब दस महिने प्रत्यक्ष शासन कालका प्रिन्सिपल रायल एडभाइजर गुञ्जमान सिंह । खतरनाक दुस्मन बनेका थिए राजा महेन्द्रले उसैको लागि भनेर सिर्जना गरेको प्रिन्सिपल प्राइभेट सेक्रेटरी पदमा लामो समय आसीन लोक दर्शन बज्राचार्य ।

अति शक्तिशाली । हुकुम भएको छ भनेर मनोमानी ढङ्गबाट जे पनि गर्न सक्ने । वेदप्रसादले उनको एक सहायकलाई ठाडै हकारे - नहुने कामको लागि तपाइ मलाई बारम्बार फोन गर्ने को ह? यो काम कानुनले गर्न मिल्दैन । हुकुम भएको हो भने त्यो प्रमाणित गरेर पठाउन भन्नुहोस् । अब आइन्दा यस विषयमा फोन नगर्ने । चरम ज्यादतीको कारण राजा महेन्द्रले अन्ततः लोक दर्शन बज्राचार्यलाई जेल नै हाल्नु परेको थियो।

खरो र जुझारु स्वभावका वेदप्रसाद त्यति वेलाको अभावग्रस्त मध्यम वर्गको चरित्र भन्दा बेग्लै खालका थिए । निडर र जोखिम लिन सक्ने । यसको जग उनको पिताले उनीभित्र हालिदिएको नैतिक बल थियो । र, जीवनसँग जुझेर आर्जन गरेको उनको क्षमता थियो । यी दुईको सम्मिलनबाट बनेका वेदप्रसाद ।

यसैको तागतमा महिनाको एक सय खाने सुब्बाको जागिरेले त्यो वेलाको पचास हजार जम्मा गर्न सके । तोप पड्काइसकेपछि झरेको पित्तलको खाकाको रास लिलामी उठाएर कलकत्तामा बेचेर पैसा बनाउन सके । मार्टिन बर्नस् लिमिटेडको सोल डिस्ट्रिब्युटर बनेर फर्कन सके । र, हिडिरहेका थिए टुँडिखेलको डिल कटेर ज्ञानेश्वर जान बागबजारमा । टुकुचा पनि काटिसकेका थिए, खुसी र उमङ्ग लिएर।

कान्छो भाइ उनको जेठी छोरीको उमेरको । गल्लीमा खेलिरहेकाहरूले परैबाट देखिहाले भरियाले बोकेको मालताल सहित उनीलाई लम्किरहेका घर तिर । कराउन थाले कृष्ण दा आउनु भयो भनेर । चौडिल उक्लिदा त लर्को बनिसकेको । धारा भएको चोक काटेर अगाडि हेर्दा फलैँचा अगाडि अरू उभिरहेका । घरभित्र छिर्न देब्रे मोडिँदाको अलि उज्यालो कम भएको मूल ढोकामा दुवैतिर पानी भरिएका घडा । उभिएकी धर्म पत्नी र परिवारका अरू सदस्यहरू । हाँसेका चेहराहरू, होइन, खुसी नै हाँसेको थियो । यो नै उज्यालो हो संयुक्त परिवारको धुकधुकीको । यो उज्यालो त्यति वेलासम्म चम्किलो रहन्छ जबसम्म धड्कनको चाल बेसुरा हुँदैन।

चेकको अधकट्टीको पछाडि वेदप्रसादले शान्त शमशेरको ऋण तिरेको नोट गरेको।

वेदप्रसाद सरासर सबैभन्दा माथिल्लो तलामा उक्ले । पश्चिमपट्टिको किनारामा पुजा कोठा थियो । त्यहाँ ढोगे कुलदेवतालाई । त्यसपछि गए पूर्व- पश्चिम लामो कोठामा, वारपार दक्षिणपट्टि बार्दली भएको।आफ्नो बाबुलाई पनि त्यसरी नै ढोगे जसरी कुलदेवतालाई ढोगेका थिए । अनायास सम्झना आयो मलाई ओसेले भनेको । नदेखेको भगवान र देखेको मान्छे बारे । हृदयले पुजेको मान्छे छ भने उसलाई सम्झेर ध्यान गर । न कि भगवानको कल्पना गरिएको आकृतिलाई ।

वेदप्रसाद भगवानको पुजा गर्थे । र, पुज्थे आफ्नो बाबुलाई । बाबुले अङ्कमाल गरे वेदप्रसादलाई । वामे सर्दाको वालकले बाबुको अङ्कमालमा जुन स्नेह र सुरक्षाको स्पन्दन महसुस गर्दछ त्यस्तै महसुस गरे, छोरीको विवाह गरिसकेका वेदप्रसादले त्यति वेला । शब्द फरक होला तर भाव यही नै हो असी वर्ष काटिसकेपछि उनले मलाई यो सुनाउँदा । र, भनेका थिए - बाबु बाँचुन्जेल म आफूलाई अहिले भन्दा धेरै सुरक्षित र बलियो ठान्थे, वहाँ जहाँसुकै बसेको भए पनि र जतिसुकै वृद्ध भएको भए पनि । बनारसमा काशी वास नै बसेको वेलामा पनि । सोध्ने , सल्लाह लिने ठाउँ छ मेरो भनेर ढुक्क लाग्थ्यो । उहाँ टाढा हुँदा पनि त्यो स्पन्दन महसुस गरिरहेको हुन्थे म।

वेदप्रसाद जब आफ्नो कोठामा आए उनी घेरिए सबैतिरबाट । एउटा गीत गुन्जिरहेको थियो कोरसमा - मलाई के ल्याइदिनु भएको छ, के ल्याइदिनु भएको छ ? उनी सबैलाई केही न केही बाँडिरहेका थिए । यसलाई मध्यम वर्गीय कुराबाट बुझिँदैन । वेदप्रसादको आफ्नै पन थियो । उनी अरूलाई बाँड्दा रमाउँथे । चाहे चियासँगको दुइटा ग्लुकोज बिस्कुट होस या च्यवनप्राशको सानो डल्ला, या एक चम्चा कड लिभर आयल या एक चम्चा ओभल्टिन हालिदिँदा पनि । पछि सम्मको बानी थियो उनको यो ।

साइकिल, मोटर साइकिल चढेको वेलादेखि मोटर हाँकेको वेलासम्मको । मैले आफ्नै आँखाले देखेको । इन्द्रचोक महाराजजी काहाबाट रसबरी ल्याउँदा पनि सबैलाई बाँडेर आफू अन्तिममा खान्थे । आफू महाराजीकाहा नै खाएर घर फर्किँदैनथे । 

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
x