विचार

संस्मरण र अनुभूति- ३५

प्रकाश इन्जिनियरिङ कम्पनीले गरेको व्यापार

वसन्त लोहनी |
माघ १४, २०७९ शनिवार ७:४३ बजे

वसन्तपञ्चमीको भोलिपल्ट शनिश्चरवार, माघ २२, २०७८ सालबाट सुरु भएको हो ‘वेदप्रसाद सिरिज’ । पैँतिसौँ शृङ्खला आज बृहस्पतिर, माघ १२, २०७८ सालको वसन्तपञ्चमीको दिनमा लेख्दै छु । पर्सी शनिश्चरवार छापिनको लागि । वसन्त ऋतुको सुरुवात, हराभरा हुने मौसम । बोट बिरुवामा पालुवा चड्ने । विद्या र बुद्धिको शुभारम्भको दिन । भगवान् कृष्णले भन्नुवा भएको छ - ऋतुमा म वसन्त हु । पुस्तक, घडा, माला र वीणा लिएर प्रकट भएकी चतुर्भूज स्वरूपधारिणी माता सरस्वतीको वन्दना गर्दछु । वाग्देवीको वीणाको मधुरनादबाट उद्गम भएको वाणी प्राप्त भएकोले म अहिले लेखिरहेको छु । 

काली गण्डकी पारी हर्दी गाउँ नवलपरासीको । । वारी देवपुर तनहुँमा म छु ‘वेदप्रसाद सिरिज’को पैँतिसौँ शृङ्खला लेख्दै । आए यहाँ चितवनमा वहेको त्रिशूली तरेर । यी तीन जिल्लाको वारी-पारी-वारी क्षेत्रबाट जे बनेको छ त्यो हो देवघाट । अति पवित्र स्थल । उत्तरबाट हान्निएर दक्षिण बहेर आएकी काली गण्डकीलाई भेट्छिन् त्रिशूलीले करिब नब्बे डिग्रीमा । दुइटै त्यत्तिकै शक्तिशाली र लामो यात्रा तय हरेर आएकी नदीहरूको जम्काभेट हुँदा पवित्र जल-प्रवाह रोकिए होलान् झ्वाट्ट एक पल । असीमित पलहरूको एक असूक्षपल नै एउटा शून्य हो सृष्टिको । अनि चैतन्यको पनि चाहे त्यो बुद्धको निर्वाण किन नहोस् । तर न समय रोकिन सक्छ, न जल प्रवाह । जे रोकिन्छ त्यो प्रवाह हुन सक्तैन । यो सङ्गमबाट बनेकी नारायणी बलियो प्रवाह लिएर दक्षिणतिर लाग्छिन् । यो मिलनबाट झन् पवित्र बन्यो यो स्थल चाहिँ । पवित्र देवघाटको कथा यतिमा सकिँदैन । अथाह छ।


देव देवाधिदेव बास गरेको ठाउँ । आशुतोष स्वयं बसेको ठाउँ यो । विश्वास बाचेको छ यहाँ । यसको अर्थ चैतन्य अझै बाचेको छ यो ठाउँमा । यो श्वास-प्रश्वासगर्न देवघाटमा ओइरो लाग्छ मान्छेहरूको । अन्तिम प्रश्वासको लागि यही बस्नेहरूको सङ्ख्या पनि बढेको छ । देवघाटमा पनि प्रशस्त जेन्ट्रिफिकेसन भएको छ अमेरिकामा जस्तै । जङ्गल फडानी गरेर सुरुमा बस्नेहरू विस्थापित हुँदै गएका छन् । आश्रमले आफ्नो भनेको जमिन दिएको आधारमा बसोबास गरेकाहरूले कति बेचिसके । कति यही कै मूल बासिन्दाहरू जस्तो हर्दीमा पिछडिएका भुजेलहरू अझै छन् तर कम हुँदै गएका।

स्वामी आत्मानन्द गिरिज्यूसँग लेखक देवघाटको गलेश्वर आश्रम प्राङ्गणमा । 

म यो लेख्दै गर्दाको मुकाम देवपुरमा पनि जङ्गल परको गाउँबाट झरेर बन फडानी गरी बसेका मगर र गुरुङहरू पनि घट्दै गएका छन् । अहिले छ्यासमिस बनेको छ देवघाट । शासकहरूले सिकार खेल्नको लागि प्रयोग गरेको चितवनमा अथाह सम्भावना देखेर रोस नाम गरेको एक अमेरिकीको प्रयासबाट सन् १९५३ मा सुरु भएको राप्ती भ्याली डेभलपमेनट् प्रोजेक्ट अन्तरगत बस्ती बसालिएको चितवनलाई ७६ जिल्ला भनिन्थ्यो, झन्डै ७५ जिल्लाका मानिसहरूले बसोबास गरेको कारणले । देवघाटमा अहिले धेरै ठाउँका मानिस छन् या त्यस्ता मानिसहरूले घडेरी किनेर राखेका छन् । आफ्नो मुलुकको जो जहाँबाट आएर बसेको भए पनि देवघाट त्यही नै हो । त्यति नै पवित्र । यही पवित्रताको कारणले नै यसलाई काशी वास सरह मानिसहरूले बनाउँदै आएका हुन् । 

यही नै कारण हो वेदप्रसादले पनि यहाँ बस्ने गरेका । उनीमा आफ्नो पिताको जस्तो काशी वासको आशक्ति कहिले रहेन । त्यसैले पिताले जस्तो गएनन् बनारस । उनी आफू आएको माटोमा नै विलय हुन चाहन्थे । उनी चतुर्मास अर्थात् चार महिना कहिले बुढानीलकण्ठ त, कहिले देवघाटमा बिताउँथे हरेक वर्ष । वर्षौँ वर्ष । साधना गरेर अनि श्रीमद्भागवत सुनाएर । त्यसैले देवघाटसँग मेरो पनि भावना प्रगाढ रूपमा जोडिएको छ । अनि त यहाँ आउँदा अनायास एउटा भाव उद्गम हुन्छ -
'देवता भित्रको देवत्व
र म भित्रको मनुष्यतत्वको
तत्त्व एकै हो'

त्यसैले त्यो स्पन्दन महसुस गर्ने चाहत मनभित्र हुरी बनेर आउँछ । कोही सुन्न खोज्छु, केही देख्न खोज्छु । एक पलक हेर्छु परको जङ्गलमा, अर्को पलक छेउको गङ्गामा । अनि झल्याँस्स सम्झन्छु देवघाटमा महेश संन्यास आश्रम स्थापना गरेका स्वर्गीय डा रामानन्द गिरीले २०५८ सालमा एउटा लामो कुराकानीमा मसँग भनेको जुन त्यति वेला मेरो स्तम्भमा छापिएको थियो । यसका केही हरफहरू - 'यो हाम्रो राष्ट्र त तपोभूमि हो र त्यसैले हामी भाग्यमानी हौँ कि यस्तो तपोभूमिमा हामीले जन्मिन पाएका छौँ । आध्यात्मिक चिन्तन भनेको राष्ट्र र राष्ट्रियताबाट विमुख हुनु भनेको होइन, सबै चिज त्यागेर झन् स्वार्थविहीन भएर आफ्नो मातृभूमिलाई माया गर्नु हो ।'

डा. रामानन्द स्वामी र महामण्डलेश्वर आत्मानन्द गिरिजी सहपाठी । एउटै गुरुबाट मन्त्र सुनेका । उहाँ गलेलेश्वर आश्रम देवघाट धामको पीठाधीश २०५३ सालदेखि । आश्रमको प्राङ्गणमा उहाँको अगाडि जम्मा भएका सानो विद्वत् समुदायबिच मलाई देखाएर स्वामी आत्मानन्दले यसपाली पनि भन्नु भयो - उहाँको पिताले नै हो गलेश्वर आश्रमको त्यो ठुलो हल भएको नयाँ बिल्डिङको सुपर्भिजन गरिदिनु भएको । त्यही हलमा वेदप्रसाद लोहनीजीले प्रवचन पनि गर्नु भएको थियो श्रीमद्भागवत बारे । स्वामीजीले थप भन्नु भयो - उहाँको र हाम्रो अलि फरक छ । हामी ज्ञान मार्गको, श्री शङ्कराचार्यले तय गरेको बाटो अनुसरण गर्ने । उहाँ भक्ति मार्गको । म चुपचाप सुनिरहे यी सबै कुरा भित्रभित्रै आल्हादित भएर।

कर्ममा नै भगवान् देख्ने वेदप्रसाद जहाँ पुगे पनि, जहाँ बसे पनि, उनका दुई हातहरू सधैँ असल कर्म गर्न लागिपरेका हुन्थे । सोच र दृष्टि नै त्यही अनुरूप हुन्थ्यो । देवघाटमा बस्दा पनि त्यही नै थियो उनको । गीता पाठ गर्नेमा मात्र सीमित रहेन । त्यो भन्दा पर जान्थ्यो । निर्माण कार्यमा सल्लाह दिनु, मन्दिरको जीर्णोद्धारमा सकेको रकम दिनु, देवघाट विकासको लागि काम गर्नु । त्यस्तै, खाने पानीकोमा सल्लाह दिनु । एउटा सम्झना झ्वाट्ट आयो यसै विषयको । 

'वेदप्रसाद सिरिज' एउटा शृङ्खलाको पाठक प्रतिक्रियामा सुदर्शन भण्डारी लेख्छन् - " ...२०५३/ ५४ साल तिर उहाँ देवघाट मा बस्नु भएको बेलामा देवघाट मा खानेपानी योजना सञ्चालन गर्न पर्ने भएकोले हामी खानेपानी का ३ जना इन्जिनियरहरूले उहाँ सङ्ग भेटी सर सल्लाह गर्ने निधो गर्‍यो ... “ । प्रतिक्रियाले लामो छ । त्यसैले जब वहुुआयामिक व्यक्तित्वका धनी वेदप्रसादको ‘आध्यात्मिक रूपमा वेदप्रसाद’ अन्तरगत हामी छलफल गर्ने छौ त्यति वेला यस विषयमा फराकिलो ढङ्गबाट हेर्ने छौ।

यतिखेरको हाम्रो दृष्टि चालु हुँदै आएको ‘उद्योग व्यापारीको रूपमा वेदप्रसाद’ अन्तर्गत छ । र, यस अन्तरगत सेनाले लिलाम गरेको पिगलेट वेदप्रसादले सकारेर कलकत्तामा लगेर बेची प्रशस्त पैसा कमाएका थिए । त्यति मात्र होइन ब्रिटिस कम्पनी मार्टिन बर्न लिमिटेडको नेपाल अधिराज्यको लागि सोल डिस्ट्रिव्युटर उनको कम्पनी प्रकाश इन्जिनियरिङ कम्पनी बनेको थियो । यो व्यापार सुरु गर्न उनले काठमाडौँ फर्केपछि एउटा टिम बनाएका थिए । अबको उनको काम त्यो टिमलाई परिचालन गरेर मार्टिन बर्नको फलामका सत्तरी, एङगल आदि मूलतः काठमाडौँमा ल्याएर बेच्नु थियो । बिजिनेसको यो साइकल छरितो ढङ्गबाट चलाएर पैसा कमाउनेमा उनी केन्द्रित थिए।

कालीगण्डकी र त्रिशूलीको सङ्गम। 

वेदप्रसादले टिम त बनाए । तर अफिस खै? पूर्वतिर अनि दक्षिणतिर पनि झ्याल भएको एउटा सानो कोठा थियो उनको सुत्ने कोठासँग जोडिएको, त्यो ठुलो जहान घरको ‘लोहनी-कुटी’मा । उनले त्यसैलाई बनाए प्रकाश इन्जिनियरिङको अफिस मार्टिन वर्नससँग विजिनेसगर्ने । एउटा पाखोमा माता सरस्वतीको यन्त्रविशेष षट्कोण र अर्को पाखामा मङ्गल सङ्केतगर्ने प्राचीन स्वस्तिक चिन्ह भएको सानो दराज ल्याए फाइलहरू राख्ने । लामो चकलामा पलेटी कसेर कामगर्ने एउटा लामो टेबुल पनि बनाउन लगाएर ल्याए । कलकत्ताबाट सँगै ल्याएका अफिस सेटअपका सामानहरू सजाए । रेमिङ्गटन टाइपराइटर । प्रकाश इन्जिनियरिङ कम्पनीको स्तरीय लेटर हेड कलकत्ताबाट आउँदा छपाएर ल्याएका । छाप चाहिँ यही बनाएको अन्डाकार आकारको।

त्यो एउटा दराजभित्र उनका अनेक डिपार्टमेन्टहरू थिए । फाइनान्स होस् या सेल्स एन्ड मार्केटिङ । क्लेरिङ एन्ड फोर्वाडिङ होस या बेङ्किंङ अपरेसन । उनी आफै चिठी टाइप गर्दथे दुई हातको दुई औलाले । ड्राफ्ट गर्नु पर्दैन थियो । के भन्न खोजेको हो त्यो राम्ररी बुझेको र अङ्ग्रेजी भाषामा बलियो पकड भएकोले उनी सिधा टाइप गर्थे । बोधार्थ कतिलाई दिने हो सो समेत हिसाब गरेर कार्बन पेपर र लेटर हेड गनेर हाल्थे । त्यसपछि उनको कुन डिपार्टमेन्टबाट पठाइने हो त्यो अनुरूप भाइ वासुदेव लोहनी वा लोकराज जोशी वा नन्द सिद्धिको नाममा लेख्थे तल सहिगर्न । डिभिजन प्रमुख भएर सही गर्थे तिनले । अरू डिपार्टमेन्टको पनि सही गर्थे।कहिले कुनको प्रमुख बनेर त कहिले कुनको । 

नेपालीमा भने उनले खेस्रा गरेर दिन्थे । उनीहरूले साफी गरेर दस्खत गरेर लैजान्थे सम्बन्धित ठाउँमा । आफू चाहिँ म्यानेजिङ डाइरेक्टरकोमा सही गर्थे । यसरी चलेको थियो उनको अफिस । बिहान भरिमा यी सब काम हुन्थे । दिउसो उनी हिँड्थे पढाउन इन्जिनियरिङ स्कुल र विभिन्न निर्माणका साइटहरूमा । उनका सहयोगीहरू पनि फिल्डमा हिँड्थे । बैकमा होस् या भन्सारमा । माल चलनीमा होस् या टेलिफोन तथा आकाशवाणीमा । वीरगन्ज र काठमाडौँ अफिसबिच टेलिफोन थियो ह्यान्डल घुमाएर बल्लतल्ल कुरागर्ने । जरुरी परे वेदप्रसादलाई भेट्न उनीहरू पुग्थे सम्भावित ठाउँमा।

नत्र भोलिपल्ट बिहान त्यो अफिस कोठामा सबै जम्मा भएपछि सबै जानकारी लिन्थे वेदप्रसाद । त्यस अनुरूपको चिठ्ठी पत्र लेख्थे । र, त्यस अनुरूपको काम अह्राउँथे । तर उनको निर्माण टोली सुत्ने कोठामा कुरिरहेको हुन्थ्यो इन्जिनियर माधव प्रसादको नेतृत्वमा कीर्तिराज गुर्जु, टेकबहादुर र गठे लगायत । वेदप्रसादलाई बिहान भ्याइनभ्याइ थियो । तल फलैँचामा अरू भेट्नेहरू घण्टौँदेखि कुरिरहेका हुन्थे । घर गृहस्थीका कुराहरू बिथोल्थे । आफन्त सिधा 
अफिस कोठामा नै आइपुगिसकेका हुन्थे केही वात मार्न र सल्लाह लिन । कता मात्र भ्याउने? दुई गाँस टिप्ने फुर्सत पाउन हम्मे हम्मे! बिहानी यही नै हुन्थ्यो वेदप्रसादको जसरी उनले मलाई बताएका थिए । 

व्यापारको पहिलो काम भयो सामान मगाउने । कति मगाउने? बिक्री गर्न सक्ने अनुमानको आधारमा न्यूनतम परिमाण मगाउने निर्णय गरे उनले । रेलवेको कन्टेनर साइजसँग पनि मिल्नु पर्‍यो । लेखापढी गरेपछि सुरुवातको लागि न्यूनतम परिमाण मार्टिन वर्नसले तोकिदियो सुरुवाती प्रत्येक सिपमेन्टको । सो बमोजिमको रकम उसलाई पठाउनु पर्ने भयो । जुद्ध शमशेरले नेपाल बैक खोलेको करिब दस वर्ष भइसकेको थियो । गुञ्जमान सिंहको पनि निर्णायक भूमिका थियो यो खोल्नमा । उद्योग परिषद्को सचिव भएर मात्र होइन उनी जानकार पनि थिए यस विषयका । वेदप्रसाद गए नेपालको पहिलो र एउटै बैकमा यस विषयमा छलफलगर्न । बैकले के कस्तो सुविधा दिन्छ भन्ने यकिन गर्न । पैसा त बैकबाटै लिने हो व्यापार गर्न । उनको चासो लेटर अफ क्रेडिट खोल्दा मार्जिन कम होस् भन्ने र यसरी आयात गरिएको सामान बेच्न सुविधा देओस् भन्ने नै थियो।

भेटे हाकिमसँग । ठाकुर सिंह नाम गरेका भारतीय थिए । मार्जिन कति राख्ने भन्ने नै थियो । मान्छे हेरेर हाकिमले केही तजबिज गर्न सक्थ्यो । सरस्वती सदनको निर्माण गरेर सिमेन्ट ढलान सुरु गर्ने पहिलो नेपाली भएका वेदप्रसादलाई कसले नचिन्ने र त्यति वेला । ठुलो विश्वसनीयता भएका मान्छे । कडा राणा शासनको वेला ठाकुर सिंहले उसको तजबिजी अधिकारबाट जे जति सहुलियत दिन सक्थ्यो त्यो दिने भयो । गोदाम किपर थिए आनन्द भक्त राजभण्डारी । चाँडो उक्ले उनी । २०१३ सालमा नै केही समय अस्थायी व्यवस्थामा बैक नै चलाए निमित्त हाकिम भएर।

पटक पटक गरेर नेपाल बैकको इतिहासमा सबभन्दा लामो समय जनरल मेनेजर भएर काम गर्ने व्यक्ति उनी नै बने पछि, २०२० सालमा जनरल मेनेजर भएदेखि । नेपाल बैकको प्रगतिमा उनको ठुलो योगदान छ । कम बोल्ने र कुरा अनुहार हेरेर बुझ्न सक्ने । अहिलेको नेपालमा ३२ बाट मर्ज हुँदै रहेका २२ कमर्सियल बैक छन् । तिनका विज्ञ टिमले ऋण दिँदा अपनाउने रिस्क र प्रोफिटको जुन लामो अध्ययन र हिसाबकिताब छ त्यो आनन्द भक्तले ऋण माग्न आउनेले गरेको कुरा सुन्ने बित्तिकै ऋण दिन हुने, नहुने वा दिएमा कतिसम्म दिन हुने सो को निर्णय गरिसक्थे । मैले पनि उनीसँग दर्जनौँ पटक भेटेको थिए व्यावसायिक रूपमा जब म बुटवल डेरीमा काम गर्थे २०३० को दशकमा।

वेदप्रसादको काम आनन्द भक्तसँग त्यति वेला सामान बैकबाट निकाल्नु परेको वेला आनन्द भक्तले ताल्चा खोलिदिनेमा सीमित थियो । यो काम प्रकाश इन्जिनियरिङको तर्फबाट वासुदेवले गर्थे । उनको काम माल चलानीसँग नै सम्बन्धित थियो । वेदप्रसादले बैङ्कसँगको व्यवस्था मिलाएपछि मार्टिन वर्नसको नाममा उसले तोकिदिएको परिमाण र इन्भ्वाइस बमोजिमको एलसी खोले चाहिने मार्जिन रकम बैकमा दाखिल गरेर । र, उनी सोच्न थाले कहाँ राख्ने 
त्यतिको फलामको सत्तरीहरू । उनको घरमा त मान्छे बस्न पनि अटाइ नअटाई थियो । स्पेसको सोचले उनलाई आफ्नै घरमा नै ल्याइ पुरायो । अर्थात् उनी भौतिक रुपमा पनि घरभित्र पुगे र सत्तरी थुपार्ने स्पेस पनि आफ्नै घरमा देखे । 

देवघाटमा 'वेदप्रसाद सिरिज'को पैँतिसौँ शृङ्खला लेख्दै।

धारा भएको चोकबाट बहेको पानी पूर्वको सानो फूलबारीको पर्खालमा पारिएको एउटा प्वाल जसमा दर्सिन ढुङ्गाको जिब्रो जस्तो बनाइएको थियो त्याबाट तल जान्थ्यो । गल्लीतिर फर्काइएको त्यो जिब्रोबाट पानी जान्थ्यो गल्लीमा बहेर नीलकाँडा हुँदै तलतिर ड्राइभरको बारी भएर । खेत पुग्न पाउँदैन थियो त्यो पानी । गल्लीमा पानी बहेको त्यो भाग कहिले सुकेको हुन्थ्यो तर धेरै जसो हिलो । खाने पानी गाग्रीहरूमा थाप्न सकस हुने त्यो टाइममा कति नै पानी पोखिन पाउँथ्यो र, हतपत नुहाएको वेलामा बाहेक । धाराको त्यो चोक र घरसँग करिब जोडिएर एउटा सानो बाटो निस्किन्थ्यो पूर्वतिर तल गल्लीमा जाने । यो सानो बाटो प्रयोगमा थिएन । वेदप्रसाद मोटरसाइकल राख्थे पछि कहिले कही । यो सानो इँट छापिएको बाटो लहरा पहराहरूले ढाकेको थियो।

त्यो बाटो र भित्री चोकको बिचको खाली भागमा फलामे सत्तरीहरू राख्न मिल्ने ठहर्‍याए वेदप्रसादले । धेरै सत्तरीहरू चाङ लगाएर राख्नको लागि उनले त्यही एउटा सेड बनाउने निर्णय गरे । तर पिता रुद्रप्रसादको स्वीकृति अनिवार्य थियो । बेलुकी पितासँगको भेटमा सबै कुरा बताए । पिताले खुसी भएर भने - गर नानी, गर । चाडै गर, माल आइपुग्नु भन्दा अगाडि नै । वेदप्रसाद सजग थिए यसबारेमा । भोलिपल्ट बिहान कीर्तिराज गुर्जु आउँदा पहिलो कुरा उनले यसबारे नै गरे । गल्लीदेखि घरसम्मको पूर्व -पश्चिम लम्बाइमा भित्री चोक जाने बाटो राखेर वारपार र उत्तर दक्षिण भित्री चोकको पेटीदेखि त्यो चोकको बाटोसम्म ढाक्ने गरेर सेड बनाउने स्केच बनाएर दिए । उज्यालोको लागि मोटो जाली वारपार चोकतिर राख्ने । 

दुई जना मान्छे पास हुने त्यो गल्ली पिपल बोटदेखि घरसम्मको गल्ली । ती स्टिलका सत्तरीहरू बोकाएर ल्याउनु पर्थ्यो । एउटा सत्तरी चार जनाले बोक्नु पर्ने । त्यति गरुँगो । २००२ सालको अन्त्यबाट आयात गरिएको सत्तरीहरू मध्ये १२ वटा अहिले फेला परेको छ । कही राखिएर होइन । वेदप्रसादले उनको कान्छो भाइ लक्ष्मणको घर बनाउँदा बिम त्यो सत्तरीलाई बनाएर घर ढलान गरेका थिए । हालै त्यो घर भत्काउँदा ती सत्तरीहरू फेला परेका छन् । जस्ताको तस्तै छन् । चार जानाले बोक्नु परेको छ अहिले पनि प्रत्येकलाई निकालेर राख्न । त्यति वेला पनि चार जना नै चाहिन्थ्यो एउटालाई बोक्न । त्यतिबेला भने ती आउने र विक्री भएर जाने सत्तरीहरूलाई बोकेर ल्याउने र लैजाने स्थायी व्यवस्था गर्नु पर्ने भयो वेदप्रसादलाई । 

समाजसेवी मायादेवीको देवघाटस्थित यो घरको माथिल्लो तलाको कोठामा बस्थे वेदप्रसाद । 

सामान बोक्ने काम गर्ने उनको वाल सखा थिए । उसको नाम के थियो कसैले जानेन । सबैले चिन्थे काले कसाई भनेर । उसको घर पनि त्यसै गल्लीको कसाइ टोलमा । उनी थिए नाइके दस बाह्र जनाको डफ्फाको । वेदप्रसादले आफ्नो साथीलाई नै बोलाएर कुरा गरे सत्तरी वासर-पसार गर्ने बारे । रेट तय गरे । उसैलाई ठेक्कामा दिए । मैले पछिसम्म देख्दा वेदप्रसादको कपाल सबै फुलिसकेको थियो तर काले दाइको थिएन । एउटा जुँगासम्म पनि फुलेको थिएन । काले दाइको टोलीले सामान बोकेर ल्याउने गरेको त मैले पनि देखे पछि ।

वेदप्रसादले यति जोगाड मिलाइ सक्दा मार्टिन वर्नसले सामान चालन पनि गरेको थिएन । रेलवेको कन्टेनर पाउन सजिलो थिएन । रेलबाट त अमलेखगन्जसम्म आउँथ्यो । त्यसपछि लरिबाट भीमफेदी । बोकाएर ल्याउनु पर्थ्यो भीमफेदीबाट काठमाडौँसम्म । सामान आइपुग्ने बित्तिकै बेच्नको लागि अडर लिन थालिसकेका थिए वेदप्रसाद सत्तरीका स्पेसिफिकेसन देखाएर । कसले किन्न सक्छ त्यसको जानकारी उनीसँग थियो नै । प्रकाश इन्जिनियरिङ कम्पनीको यसरी सुरुहुन्छ थियो व्यापारिक यात्रा । अर्थात, वेदप्रसादको ।

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
x