विचार

संस्मरण र अनुभूति- ३४

वेदप्रसादले टिम बनाए

वसन्त लोहनी |
पुस ३०, २०७९ शनिबार ७:२० बजे

जाडो यामको काठमाडौँ। वेदप्रसाद कलकत्ताबाट फर्केको भोलिपल्टको काठमाडौँ।  माछालाई पनि जाडो हुने वेलाको काठमाडौँ। तुसारो परेर बारीमा नुन छरेको जस्तो सेताम्मै देखिएको उज्यालो भएपछि। तर अँध्यारोमा नै उठ्नु पर्ने। ब्रह्म मुहूर्त अर्थात् परमात्माको समयमा त्यो जहान घर उठिसक्थ्यो। चार प्रहर रातको अन्तिम प्रहर हो ब्रह्म मुहूर्त।

वेद र पुराण अनुसार ऋषि मुनिहरूले निन्द्रा त्याग गर्ने समय आफ्नो बुद्धि र विवेकको अभिवृद्धि गर्न र स्वस्थ हुन। रातको करिब साढे तीन बजेबाट सुरु हुने र सूर्य उदय भन्दा अगाडिको समय। उषा काल। करिब ४ बजेको समय। यो समयमा उठ्नु शरीर र बुद्धि ठिक राख्ने पहिलो कडीको रूपमा लिइन्थ्यो लोहनी परिवारमा पनि।


यो वैदिक मान्यताको निरन्तरता अनुरूप वेदप्रसादको बाबु रुद्रप्रसादले जे सिकेका थिए आफ्नो बाबु पद्मनाभबाट उनले त्यही सिकाएका थिए आफ्नो घरमा सबैलाई। त्यसैले अँध्यारैमा सबै जसो उठिसक्थे बच्चाबच्ची र असक्त बाहेक। व्रतबन्ध गरेदेखि यसरी नै सेट भएको वेदप्रसादको पनि शारीरिक घडी।  त्यसैले उनी पनि उठिसकेका थिए। फेरि त्यो होहल्लाले कुन वयस्कलाई सुत्न दिन्थ्यो र ब्रह्म मुहूर्त कटाउने गरी? मुहूर्त मिल्यो। तर सबैतिर अँध्यारो। उज्यालो पार्ने बिजुली बत्ती थियो त्यस घरमा तर पनि सबैतिर अँध्यारो। र, हतारो हुन्थ्यो लालटिन या टुकी बाल्ने। बत्तीको पनि रोचक कथा छ।

यो हाल ‘जिउँदो म्युजियम’ बनेको जल विद्युत् परियोजनाको कथा हो। यसले ७० वर्ष बिद्युत् उत्पादन गर्‍यो। वेदप्रसाद जन्मनु भन्दा चार वर्ष अगाडि सन् १९११ मा नै फर्पिङस्थित नेपालको पहिलो जल बिद्युतको उद्घाटन राजा पृथ्वी वीर विक्रम शाहले गरिसकेका थिए। महाराज चन्द्र शमशेरको शासन कालमा। करिब ७ लाख खर्च लागेको यो परियोजना श्री ३ चन्द्रकै नाममा नामाकरण गरिएको थियो - चन्द्रज्योति जल विद्युत् गृह भनेर।

५०० किलोवाट क्षमताको यस जल विद्युतको टुँडिखेलमा स्विच थिचेर नेपालमा पहिलो पटक बत्ती बालेका राजा यसको सात महिनापछि मरे। पाँच वर्षका त्रिभुवन राजा भए। त्यसैले वेदप्रसादको यो समय महाराज पद्म शमशेरको शासन कालको भए पनि नाबालक राजा चाहिँ श्री ५ त्रिभुवन थिए।

राणा शासकले यो मुलुक आफ्नो निजी सम्पत्ति सरह भोग गरे पनि एउटा कुरामा भने मैले त्यसमा बादलमा जस्तै चाँदीको घेरा देखेको छु। यसको अर्थ राणा कालको वकालत गरेको भनेर नबुझियोस्। अहिले यो मुलुक जनताको नाम लिएर आएका शासकहरूले परिष्कृत स्वरूपमा त्यो भन्दा धेरै बढी लुटेका छन्। अहिले त मुलुक नै सक्ने गरी लुटिरहेका छन्।

नेपालीको थाप्लोमा २० खर्व भन्दा बढीको ऋणको भारी बोकाएर त्यसबाट लुटेका छन्। जसले यो गरेको छन् तिनीहरू नै यसको विरोध पनि गरिरहेका छन्। गोहीको आँसु चुहाइरहेका छन्। अचम्म त यहाँनिर छ।

मैले देखेको चाँदीको घेरा चाहिँ हो उनीहरूले मूलतः ऋण लिँदै लिएनन्। जे गरे आफ्नै मुलुकको तागतमा मात्र गरे। यतिसम्म कि १९९० सालको महा भूकम्पमा समेत विदेशी ऋण स्वीकार गरेनन्। जुद्ध शमशेरले आफ्नै मुलुकको तागतबाट यसको व्यवस्थापन गरे। ब्रिटिसको कोलोनी नभएर पनि कोलोनी सरह बनेको नेपालमा त्यतिखेर अनुरोध गर्ने बित्तिकै ब्रिटिसले प्राविधिक सहयोग त गरिहाल्थ्यो यहाँको विकास निर्माण कार्यको लागि। ब्रिटिस इन्जिनियर  पठाइहाल्थ्यो। तर राणा शासकले मूलतः नेपालीहरूबाटै गराए। 

यस क्रममा नै बनेका हुन् राणाकालीन पूर्वाधारहरू नेपालको। सडक निर्माण होस् या टनेल निर्माण, खाने पानी होस् या सिचाइको नहर, टाउन प्लानिङ होस् या दरबार बनाउने, दरबार स्कुल होस् या त्रिचन्द्र कलेज, रोप वे होस् या जल विद्युत्। नेपालमा सिमेन्ट ढलान सुरु गर्ने पहिलो नेपाली जसरी वेदप्रसाद बने त्यो यसैको प्रतिफल हो। नत्र कुनै ब्रिटिसले आएर डिजाइन गरेको हुन्थ्यो सरस्वती सदन जुन नेपालको वास्तुकलाको धरोहर बनेको छ।

त्यस्तै जुन फर्पिङ जल विद्युतको हामी कुरा गरिरहेका छौ त्यो पनि किशोर नर्सिङ र कुमार नर्सिङ राणाले डिजाइन गरेका नभई अरू कसैले गरेको हुन्थ्यो। यी दुई दाजुभाइ, इन्जिनियरिङ कलेजबाटै दीक्षित नेपालको पहिलो दुई इन्जिनियर थिए। राणा भएर पनि शक्तिमा भएनन्। यसको लामो कथा छ अलाहबाद किल्लाभित्रको जेल सम्मको। त्यतापट्टि नजाऔ। तर यी दुई थिए चन्द्र शमशेरको आफ्नै काकाको छोराहरू।

जीवनको संघर्षमा वेदप्रसाद लोहनी ।

फर्पिङबाट उत्पादित बिजुली राणाहरूको सुख सयलको लागि नै मूलतः उपयोग हुन्थ्यो। जुद्ध शमशेरको पालामा सन् १९३९ मा सुन्दरीजलबाट ६४० किलोवाट विद्युत् उत्पादन भएपछि वितरण सर्वसाधारणमा अलि फराकिलो भयो। बिजुली बत्ती पाउने सर्वसाधारण ती थिए जसको सरकारी जागिर हुन्थ्यो। नौसिन्दा, मुखिया, खरदार या सुब्बाको पदको हिसाबले एक या दुई यति गोटा बत्ती र यतिसम्मको बिजुली नबढाउने गरी बाल्न दिइएको हुन्थ्यो।

त्यसैले कतिका दुई कोठाको गारोमा चिम हाल्न मिल्ने जति सानो प्वाल परेर दुवै कोठामा उज्यालो पुग्ने गरी बत्ती झुन्ड्याइएको हुन्थ्यो। कठबारले कोठा छुट्ट्याएकोमा दुई कोठे बिजुली बाल्न अझ सजिलो थियो। लोहनी परिवारमा तीन जना सरकारी जागिरे। रुद्रप्रसादको सैनिक अधिकृतको पद, पल्टनको कप्तान। उनको जेठो छोरा फणीन्द्रप्रसाद प्रोफेसर, विशिष्ट श्रेणीको र माइलो छोरा वेदप्रसाद सुब्बा, त्यति वेला अड्डाको हाकिम दर्जाको, सुब्बा। त्यसैले बत्तीका गोटाहरू बढी पाएका थिए।

तर उज्यालो भने पाएका थिएनन्। बिहान उज्यालो हुने अगाडिको केही बेर र बेलुकी केही घन्टा मात्र बत्ती दिन्थ्यो बिजुली अड्डाले। फर्पिङले उत्पादन गरेको बिजुली त धेरैजसो आफै खान्थ्यो, पम्प्ले पानी तानेर पानीको जलाशय भर्न। जे जति बिजुली उपलब्ध हुन्थ्यो रैती जनतालाई, त्यो बिजुली बत्तीले उज्यालो दिन सक्तैनथ्यो। बत्ती बलेको छ कि छैन भनेर हेर्न सलाई कोर्नु पर्ने पनि हुन सक्थ्यो। कारण थियो भोल्टेज नपुगेर। कहिले काहीँ झ्वाट्ट बढी चड्का पनि हुन्थ्यो। त्यति वेला चिमहरू जल्थे।

त्यसैले समयको हेक्का राख्नु पर्थ्यो चिम मिलाउन। भोल्टेज नपुगेको वेलामा बढी वाटको चिम नत्र कमको। मोटर गाडीमा हाल्ने खालको चिम पनि हाल्नु पर्थ्यो जुन साबिक होल्डरमा जान्थ्यो। तर यो व्यवस्थापन जसले गर्न सक्तैनथे त्यो अभावग्रस्त समयमा, तिनले लालटिन र टुकी नै बाल्थे। यही हाल लोहनी परिवारको जहान घरमा पनि थियो। त्यसैले बिजुली बलेर पनि उज्यालो थिएन।  

वेदप्रसाद उठे ब्रह्म मुहूर्तमा त्यो दिन पनि, कलकत्ताबाट आएको भोलिपल्टको। कलकत्ताबाट ल्याएको नयाँ एभरेडी टर्च लाइट सिरानबाट झिके। मुटु कमाउने जाडोमा तल बारीको चोकको डिलमा राखेको चर्पी लोटामा पानी भरेर कानमा जनै राखेर उत्तर दक्षिण किनारामा गए। त्यसपछि कुर्नु पर्थ्यो धारामा पानीको लागि। दस पन्ध्र मिनेट त हावा फाल्थ्यो धाराले पानी आउनु अगाडि।

आयो आयो भनेको सुनिन्थ्यो खुसीयालीको आवाज बनेर पानी आएको। केही धुलो धमिलो आउँथ्यो। बल्ल सग्लो पानी। धारामा टाउको राख्दा त त्यो चिसो पानीले टाउको नै काटेको जस्तो। बोर्सीमा धाइले दाउरा काट्दाको टुक्राहरू र  गुइँठा बालेर बनाएको आगो ताप्थे। जसोतसो गरेर धोती फेरेर पूजा कोठामा पुगेर नित्य पाठ पूजाबाट सुरु हुन्थ्यो बिहानको। सूर्य अझै उदाइसकेको हुँदैनथ्यो यति भ्याउँदा पनि। यो पाटोमा वेदप्रसादको पनि जीवनको लय त्यस्तै थियो जस्तो अरूको।           

वेदप्रसादको चिया पिउने बानी लखनउ पढ्दा देखिकै हो। उनले भन्थे - सुरु सुरुमा चिया फ्रीमा बाँडिरहेका हुन्थे रेलवे स्टेसन तिर र मुहल्ला मुहल्लामा। चल्तीमा थियो लिप्टनको चिया। फ्री बाडेको कारण थियो चिया खाने लत लगाउन। सायद त्यसरी नै लत लागेकोले होला। तर चियाको खेती भने नेपालमा जङ्ग बहादुरकै पालाबाट सन् १८७३ मा सुरु भइसकेको हो। चिनिया सम्राटले उपहार दिएको चियाको बिउ जङ्ग बहादुरले आफ्नो ज्वाइँ गजराज सिंह थापालाई दिएका थिए। उनले इलाममा त्यसलाई रोप्न लगाएर खेती सुरु भएको थियो।

भोटो सुरुवाल र दोलाई ओढेर माकल टोपी लगाएर बसे वेदप्रसाद तल्लो ओधानमा अब कसरी मार्टिन वर्नस लिमिटेडसँगको एग्रिमेन्ट बमोजिम काम अगाडि बढाउने भन्नेबारे सोच्न। चिया आइपुग्यो एकदम तातो। उनी घोरिइरहेको वेलामा केही आवाज निकालेर चिया पिउँथे। अहिलेको हिसाबले सायद असभ्य। यहाँनिर अब मैले फेरि एउटा कुरा प्रस्टसँग भन्नु पर्ने हुन्छ। त्यो हो वेदप्रसादले मलाई जे सुनाएका हुन् त्यो उनी ८० वर्ष काटे पछिको हो। पहिले त हामी उनको अगाडि पर्नै सक्दैनथ्यौ। त्यसैले दोहोरो कुरा त्यति सहज ढङ्गबाट हुन सक्दैनथ्यो।

जति उनी बुढो हुँदै गए त्यति मसँग कुरा गर्न चाहन्थे। सायद एउटा कारण यो पनि हुन सक्छ कि भगवानको कृपाले गर्दा हामीले उनीसँगै एउटै घरमा बस्ने सौभाग्य पाएका थियौ। म, मेरी श्रीमती उषा, छोरा उत्सव र छोरी अनुले। मलाई देख्ने बित्तिकै भनिहाल्थे - बस्न, बस। विभिन्न सन्दर्भमा उनी आफ्नो जीवनको मूलतः खुट्टा टेक्नको लागि आफूले गरेको सङ्घर्षको कथा सुनाउँथे। निर्भीक र सक्षम यात्रा उनको। उनको आज्ञा पालन गरेर बस्थे तर मन अन्तै हुन्थ्यो मेरो आफ्नै जीवनको गोरखधन्दामा। जुन अहिले मलाई लाग्छ मेरो गोरखधन्दा अर्थहीन थियो। जसको कुनै फोकस नै थिएन। सिवाय एउटा परिभ्रम।

चेतना नै थिएन जीवनलाई परसम्म हेर्ने। सधै यसै गरी चल्छ भन्ने जस्तो। गफ गर्‍यो थपडी बजाएर। आफ्नै गफमा हाँस्यो। त्यतिखेर यदि मेरो चेतना भएको भए अहिले लाग्छ म कति ध्यान दिएर, कति अनुराग लिएर सुन्थे होला उनका ती कुराहरूलाई। तर जे होस् मन अन्तै भए पनि कुरा सुनिरहेको हुन्थे। 'वेदप्रसाद सिरिज' लेख्न थालेपछि बल्ल म महसुस गरिरहेको छु कि उनी त्यति वेला धेरै भन्दा धेरै कुरा मलाई सिकाउन चाहन्थे।

जीवनको यथार्थ सिकाउन चाहन्थे जुन उनले जीवनमा हन्डर खाएर, मेहनत गरेर, अनि सङ्घर्ष गरेर आर्जन गरेका थिए । त्यो ज्ञान अमूल्य थियो। अति अमूल्य। सायद उनले मलाई त्यसरी नै सिकाउन खोजेका थिए होलान् जसरी ऋृषिमुनिहरूले सिकाउँथे यस अर्थमा कि उनीहरूलाई हतारो हुन्थ्यो चाडै सिकाउने त्यो ज्ञानको राशि या पुञ्जलाई। यसलाई अलिकति प्रस्ट पारौँ।

वैदिक युगमा ठुला महर्षिहरूले 'बहुजन हिताय  बहुजन सुखाय'को कर्म गर्न सक्ने त्यस्तो शिष्य फेला पारे भने जिन्दगीभरको आफ्नो तपोबलबाट आर्जेको ज्ञान चाडै नै त्यस्तो शिष्यलाई दिन चाहन्थे। त्यति वेलाको प्रयुक्त शिक्षण पद्धति अर्थात् गुरुकुल प्रणालीमा शिष्यहरूलाई महर्षिले आफैसँग आश्रममा राखेर पढाउँथे। चरित्र निर्माणमा ध्यान दिन्थे। जसले गर्दा शिष्यले के उचित र के अनुचित छुट्ट्याएर निर्णय लिन सक्थ्यो। समग्रमा  गुरुकुलको   उद्देश्य हुन्थ्यो लोक कल्याणको लागि शिक्षा। र, ज्ञानको निरन्तरताको लागि शिक्षा।

अलौकिक शिष्य भेट्टाउने बित्तिकै तपोबलको माध्यमबाट गुरुबाट शिष्यमा ज्ञान हस्तान्तरित हुन्थ्यो। यसलाई बुझ्न सम्झौँ जसरी कम्प्युटरबाट पेन ड्राइभमा सारिन्छ। त्यति वेलाको कुरा गर्ने हो भने जसरी वाल्मीकिले लभ र कुशलाई ज्ञान हस्तान्तरण गरेका थिए। आधुनिक युगको कुरा गर्ने हो भने जसरी भौँतारिएको नरेन्द्रनाथ दत्तलाई रामकृष्ण परमहंसले देखाइदिए माता कालीले लड्डु खाएको र बनाइदिए उनलाई स्वामी विवेकानन्द। न वेदप्रसाद महर्षि थिए,  न म कुनै प्रतिभाशाली। तर उनी हतारिएका थिए आफूले जाने जतिको कुरा, जुन मलाई उपयोगी हुन सक्थ्यो, त्यो चाँडोभन्दा चाँडो सिकाउन। 

गुरुकुल नभए पनि त्यति वेला सीप र ज्ञान पारिवारिक रूपमा नै सिकाइन्थ्यो। र, हस्तान्तरित हुँदै आउँथ्यो। छाप्ने प्रविधि आएको थिएन किताबमा रहनको लागि। श्रुति बनेर इन्जिनियरिङ नै हस्तान्तरित हुनु पर्थ्यो। हो, यो तथ्य हरेक सभ्यतामा देखिँदै आएको हो, हरेक मुलुक र हरेक समाजमा। यसरी नै वर्णन हुन्छ कसरी इजिप्टको पिरामिड बनेको छ। औपचारिक इन्जिनियरिङ शिक्षा दिने व्यवस्था त थिएन। पारिवारिक रूपबाट हस्तान्तरित ज्ञान हुन्थ्यो त्यो। 

अहिलेको यो कम्प्युटर प्रविधिबाट डिजाइन गर्न  जानेका इन्जिनियरहरूले बुझ्न सम्म सकेका छैनन् कसरी पिरामिडको त्यो लोड ब्यालेन्स गरिएको छ र धरतीमा बिसाइएको छ भन्ने बारे। त्यस्तै भारतको ताज महल। नेपालकै राणाका दरबारहरू यस्तै पारिवारिकरुपबाट सिकेको सीपको आधारमा वास्तुकलाविद् बनेका रणशूर विष्ट र अर्का त्यसरी नै बनेका वास्तुकलाविद् जोगवीर स्थापितहरूले बनाएका थिए। भारतको रुडकीको इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङको स्नातक बनेर कुमार नर्सिङ र किशोर नर्सिङ राणा त यसपछि मात्र आइपुगेका हुन्  सिंहदरबार बनाउन। 

वेदप्रसाद आफूले जानेको कुरा मलाई चाँडो दिन चाहन्थे। जानेको कुरा भनेर उनको व्यावसायिक इन्जिनियरिङ ज्ञान त मैले सिकेर सिकिन्न थियो। उनको उद्देश्य जीवनको व्यवहारिक ज्ञान दिनु थियो मलाई उनको आफ्नै जीवनको कथाबाट। त्यो कथालाई नै दृष्टान्त बनाएर। त्यसैले म जे लेख्दै आइरहेको छु त्यो वेदप्रसादको नै आवाज हो। शब्दहरू मेरा परेका होलान्।

अत्यन्त प्रेम गरेर सुनाएको जीवन कथाबाट कोरिएको गोरेटो बनाउन जति गाह्रो छ त्यो भन्दा धेरै गाह्रो त्यो गोरेटोमा हिँड्नु पर्दा हुन्छ। कहिले बाटो नै बन्दैन। कहिले भुलिन्छ, कहिले हिँड्दा हिँड्दै बाटो नै हराउँछ। तर प्रबल अनुरागले गर्दा हिँड्छ मान्छे बालकले ताती गरे जस्तो गरी जसरी म अहिले हिँडिरहेको छु 'वेदप्रसाद सिरिज' या शृङ्खला लेख्ने क्रममा। यो चौतिसौँ  शृङ्खलामा आइपुगेको छु लड्दै पड्दै।

यो क्रम चालु हुनेछ यसपछिको अर्को ६ शृङ्खलासम्म, चालिसौँ नपुगुन्जेलसम्म। अनि हेर्नेछु आफूले उक्लेको बाङ्गाटिङ्गा गोरेटाहरू। उक्लिदा देखेको हरियाली फाँटहरू। चरीले चिरबिर गरिरहेको जङ्गल। सधैँ अत्यन्त हतारोमा भएका तर सिधा परसम्म दौडन नसकेर नागबेली यात्रा अनवरत गरिरहेका नदीहरू । गराहरूमा कुदिएका ती रातोमाटो लिपिएका घरहरू।

सबभन्दा बढी ती मान्छेहरूलाई जसले यस मुलुक बनाए। जसले असाध्य माया गरे यस मुलुकलाई, भिरपाखामा मृत्युसँग सम्झौता गर्नु पर्दा पनि। तर जसको हैसियत शासकको बन्न लागेको महलको इँट र पत्थर सरह रह्यो सधैँ भरी। भन्नलाई श्री ३ पद्म शमशेरले भन्थे - म त जनताको सेवक। अझ रोएर भन्थे। अहिलेकाले नरोइकन त्यसै भनिरहेका छन्। यसरी सुस्ताउँदा पहिलो चरण सकिने छ पुस्तकको आकारमा प्रकाशित हुन।

यति भनेपछि अव वेदप्रसादको त्यो बिहानीमा फर्कौँ। त्यो बिहानी जब उनी मुख पोल्ने चिया आवाज निकालेर पिइरहेका थिए। बच्चाबच्चीहरू अझै सुतिरहेका, अगाडिको चोकमा धारोमा पानी भर्नेहरू होहल्लाबिच पनि। अगाडिको अजङको थल कमलको बोट भएर झ्यालबाट घाम भित्र छिरेको कोठाको परैसम्म भित्ता छुनेगरि। पौरख नभएको मान्छे जस्तै तागत नभएको घाम थियो त्यो।

पौरखी वेदप्रसादले त्यो घामको मतलब नै गरेका थिएनन् घरमा उज्यालो दिन नसक्ने बत्तीलाई जस्तै। उनीले दोलाई अझ  न्यानो हुने गरी ओढे। उनलाई भेट्न मुसो पनि आएको थिएन त्यो बिहान जबकि अघिपछि भएको भए त्यतिखेर सम्ममा भेट्ने मान्छेहरूको लर्को लागिसकेको हुन्थ्यो। कारण थियो उनी काठमाडौँ फर्किसकेको भन्ने कसैलाई थाहा नै थिएन।

चिन्मय मुद्रामा थिए उनी। योगको होइन, चिन्तनको। नयाँ बिजिनेस बारेको सोचको। माल चलानी गर्ने देखि आएको सामान कहाँ राख्ने? बैकको एलसी बाट आउने हुँदा बैककै अधीनमा हुने भयो। पैसा नतिरी उसले माल छोड्दैन। कसरी बेच्ने? बिक्री नभई पैसा आउँदैन। र, समयभित्र अर्को कन्साइन्मेन्टको अर्डर मार्टिन बर्नसलाई पठाइ सक्नु पर्थ्यो। नत्र उसको के डिस्ट्रिब्युटर? उसलाई न्यूनतम बिजिनेस दिन नसके उसले किन राख्छ र डिस्ट्रिब्युटर बनाएर।

त्यतिबेला अहिलेको जस्तो गोदाम पाइने चलन पनि आइसकेको थिएन। कि दरबार हुन्थे शक्तिशालीको, कि सा-साना घर हुन्थे झिङटीको छाना भएका जहान घरमा पुग नपुग गरेर बसेकाहरूको। चिसो पानी नै उम्रिने छिँडीमा समेत सेनाका जवानहरू बस्थे। सेनाको ब्यारेक थिएन अहिले जस्तो। ती लामा फलामका सत्तरी र एङ्गलहरू सानो सानो छिँडीमा अटाउँदैन थिए पनि।

द्रुत गतिमा दौडिरहेको यस्तै चिन्तन धारमा थिए वेदप्रसाद। ‘के तरकारी खाने’ भन्ने आवाजले झल्याँस्स भए। आँखा उघारेर टाउको अलि उठाउँदा उत्तर पर्खेर ठिङ्ग उभिएकी आफ्नो धर्मपत्नीलाई देखे। सगोलको भान्छामा पाक्ने भन्दा बेग्लै एउटा मिठो तरकारी पाक्थ्यो उनको लागि। मिठो तरकारीको कुरोले आकर्षित गरेन। बेकारमा बिउँझाइदिएको उद्गमित भावले हाँक्यो उनीलाई। झनक्क रिसाइहाल्ने स्वभावका भए पनि रिसलाई काबुमा राखे। त्यसको झनक नदिने गरी उनले जवाफ दिए - जे भए पनि हुन्छ। शब्द भन्दा त्यसको लयबाट धर्मपत्नीले बुझी हालिन्। चु नगरीकन चुपचाप हिँडिन्।

काठमाडौँमा राजा तरकारी भनेको काउली हुन्थ्यो।  खेतको पेट र पेटको खेत भएर उब्जिएको। अनि सितले खाएको काउली। त्यस्तै सित परेको चम्सुर पालुङ्गो र रायोको साग। अलि पुछारमा नै पर्थ्यो गान्टे मुला। यी तरकारी खर्पनमा बोकेर ज्यापुहरू हिँडेका देखिन्थे आफ्नै पहिरनमा। आफैले बनाएको घरबुनाको कपडाको लुगा र परालबाट बनाइएको जुत्ता लगाएर। नितान्त आफ्नै पना। ज्यापु भन्दा म चाहिँ सम्झिरहेको छु मेरो आदरणीय गुरु ज्यापु सरलाई जसले हामीलाई पेन्टिङ सिकाउनु हुन्थ्यो स्कुलमा।

नेवारी भाषामा कुरा हुन्थ्यो तरकारी किन्दा। भाउ जे भनेको छ त्यसबाट घटाउनै पर्ने चलन, अलि झाँगलझुँगल नेवारीमा। बाहिरबाट आएको तरकारी, जुन भीम फेदीबाट बोकाएर ल्याइन्थ्यो काठमाडौँमा, त्यो भने खर्पनमा पाइँदैन थियो। त्यस्तो तरकारी हुन्थ्यो - परवर र भन्टा। त्यति वेला मुलुक आफैमा निर्भर थियो धेरै हदसम्म। अहिले त २२ अर्ब भन्दा बढीको त तरकारी मात्र आयात हुन्छ भारत र चीनबाट। २०४२ सालसम्म धान चामल कम्पनीबाट   चामल निर्यात गर्ने नेपालमा अहिले चामल आयात हुन्छ। त्यो पनि अलिअलि होइन। गत आर्थिक वर्षमा यो ५० अर्ब ४८ करोड पुगेको छ।

वेदप्रसाद राम्रोसँग बोल्थे नेवारी। उनीलाई त नबोली सुखै थिएन। आफ्नो काम गर्ने टिमलाई नक्सामा देखाएर नेवारी मै सबै कुरा सम्झाउनु पर्थ्यो। उनी भन्दा अझ राम्रोसँग उनको आमा तोय कुमारीले बोल्न सक्ने। ९ वर्षमा विवाह गरेर ज्ञानेश्वर आए पनि सहरमा जन्मेको हुँदा। अर्थात् प्याफलमा। नेवारले नै बोले जस्तो नछुट्टिने गरी बोल्न सक्ने। एक पटकको घटना। उनको औला समातेर ज्ञानेश्वर घर अगाडिको गल्लीमा थिए म उनले खर्पनेसँग तरकारी किन्दा। त्यो बेच्ने नै जिल्ल परेर नजिकबाट हेर्‍यो उनको मुखमा ट्वाल्ल परेर। कस्तो मान्छे रहिछन् भनेर उसले अलिबेर नै हेर्‍यो। सायद आफ्नो प्याफलको टाइमको भाउमा बार्गेनिङ गरिरहेकी थिइन् नेवारीमा। त्यो सम्झेर म अहिले जिल्ल परिरहेको छु समयको हेक्का के कति हुन्थ्यो त्यति वेलाको मान्छेहरूलाई बन्द समाजभित्र बस्दा।

वेदप्रसाद लोहनी ।

भोटो सुरुवाल र दोलाईँ ओढेर निस्कन्थे तरकारी किन्न लोग्ने मान्छेहरू। माकल टोपी लगाएर लामो बुनेको गलबन्दी घाटीमा दुई तीन फन्को गुथेर। अझ जाडो खप्न नसक्नेहरू तगेको भोटो सुरुवाल लगाउँथे। यो टोल टोलको दृश्य हुन्थ्यो। तीन महिना अगाडि दिवङ्गत भएका नेपाली वाङ्मयको शताब्दी पुरुष सत्य मोहन जोशी त्यसै गरी हरेक दिन बिहान दोलाई ओढेर तरकारी किन्न निस्कन्थे आफ्नो घर ललितपुरको दुगम्बहालबाट। जोशीलाई अलि अगाडिका वर्षहरूमा यसरी दोलाईँ ओढेर तरकारी किनेको देख्नेहरू अहिले पनि त्यो दृश्य सम्झन्छन्। धेरै पछिसम्म पनि यदाकदा दोलाई ओढेर किन्न आउनेहरूलाई काठमाडौँमा देखिन्थ्यो।   

भोटो सुरुवाल फुकालेर धोती फेरे वेदप्रसादले। जाडोमा चिसो छिँडीको भान्छाको चौकामा राखिएको पिर्कामा टुक्रुक्क बसे।। नुवाकोटको बट्टारबाट ल्याइएको मासको दाल त्यो पनि धेरैलाई पुर्‍याउनु पर्ने हुँदा अलि टुर्रे हुन्थ्यो। उनको धर्मपत्नीले उनको लागि भनेर रहरको दाल अलिकति पकाउँथिन्। त्यति वेला रहरको दाल खाने भनेको नै ठुलो कुरा मानिन्थ्यो। त्यो हालेर मुछी चार गाँस भात खाए। साथै कलिलो मटरको कोसा छोडाएर त्यो हाली पकाएको काउलीको तरकारी उनीलाई मिठो लाग्थ्यो। तरकारीमा स्वाद लागेर थप्नको लागि मागे। उनको धर्मपत्नीले कसौँडी कोरकार गरेर दिइन्। त्यो अलिकति डढेर बचेको काउली वेदप्रसादलाई झन् मिठो लाग्थ्यो। सबैको लागि काउली पकाएको वेला हामी साना बच्चाहरू काउली माग्थ्यौ थपेर खान। तर उत्तर हुन्थ्यो आमाको - काउली, भोलि खाउली। तर यति भन्दै भन्दै पनि अलिकति ल्याएर दिन्थिन्। 

वेदप्रसाद चुठेर उक्ले एक भर्‍याङ आफ्नो कोठामा। सरस्वती सदनको ब्लु प्रिन्ट बनाएका वेदप्रसादले आफ्नो विजिनेसको ब्लु प्रिन्ट बनाउन सकिरहेका थिएनन्। भवन निर्माण गर्ने त उनको टिम थियो। ठहिटी घर भएका इन्जिनियर माधव प्रसाद प्रधानले उनले दिएको डिजाइन स्केच र भनेका कुराहरू बमोजिम हरेक एलभेसनको डिजाइन गरेर ल्याउँथे कष्ट इस्टिमेट सहित। त्यस अनुरूप उनले नै सिकाएको पाटनको कीर्तिराज गुर्जु र उनको छोरा अष्ट थिए निर्माण गर्न। देखाए अनुसार डन्डीको काम गर्ने थिए टेक बहादुर उनैले ट्रेन गरेका। सिकर्मी थिए कीर्तिपुरको। अनि बज्रकर्मी थिए गठे। बुट्टा काम गर्न असाध्ये सिपालु।

तर विजिनेसको टिम नै भएन। बिजिनेस उनले आफैले पनि जानेको कुरा थिएन। उनको क्षमता भनेकै आफ्नो रुचि भएको विषयमा आफूले आफूलाई सिकाउने नै थियो । यसरी नै हो उनले संस्कृत र ज्योतिष शास्त्र सिकाएका थिए आफैलाई। इन्जिनियरिङको औपचारिक पढाइ सकेपछि उनले पढेका किताबहरूमा म देख्छु अङ्ग्रेजी साहित्य देखि अर्थशास्त्र सम्मका छन्। उनी स्वअध्ययनबाटै उठेका मान्छे। अङ्ग्रेजी भाषामा त निकै राम्रो पकड भएका। यस क्रममा नै हो उनले निकै विषय सिकाएका थिए आफूले आफैलाई। सङ्गीत र फोटोग्राफीसम्म पनि। २००४ साल मै कलकत्तामा गएर आफैले गाएको गीत रेकर्ड गरे भने दाजुको छोरीको विवाहको सिनेमा पनि खिचे।

इन्जिनियरिङ उनको पेसा एउटा सीमाभित्रको। तर फराकिलो ज्ञान भएका मान्छे थिए उनी त्यो वेलामा नै। त्यसैले बिजिनेस पनि आफूले आफैलाई सिकाउँदै थिए। प्रशस्त पैसा कमाएरै देखाए पिगलेट कलकत्तामा बेचेर। कलकत्ताबाट आउँदा उनले यस विषयमा कितापहरू किनेर ल्याएका थिए आफूले आफै लाई सिकाउन। विजिनेस ल, बिजिनेस करेस्पोन्डेन्स र यस्तै  बिजिनेससँग सम्बन्धित किताबहरू। त्यसको अध्ययन गर्ने पहिलो काम भयो उनको। त्यो भन्दा पनि अझ अगाडिको प्राथमिकता उनको बन्यो काम गर्नको लागि टिम बनाउने। तर उनको जागिरे काम त भ्याउनै पर्थ्यो इन्जिनियरिङ स्कुलमा पढाउने। अनि बनिरहेको भवनको सुपर्भिजन  गर्ने पनि।

तर टिम त नबनाई नहुने थियो यदि व्यापारमा टिक्ने हो भने। तर बनाएको दिनदेखि खर्चको मिटर पनि घुम्थ्यो। ढिलो नगर्ने भए अब।  जसरी भए पनि राम्रो र बलियो टिम बनाउने नै निधो गरे। अध्ययन गरे उनले करिब एक महिना व्यापारका थ्योरी र व्यावसायिक पक्षहरू। नेपालको प्रचलित व्यापार सम्बन्धी ऐन कानुन,  प्रचलन र तरिकाहरू। यसपछि त्यस्तो टिम बनाए पनि उनले। यसरी आफैले आफैलाई सिकाउँदै गएपछि ओरियन्टेसन पनि दिए त्यो टिमलाई।

मार्टिन वर्नस कम्पनीसँगको सम्बन्धमा प्रकाश इन्जिनियरिङ कम्पनीको लक्ष्य के हो र त्यो कसरी प्राप्त गर्ने भन्ने बारे। उनले भनेका केही नामहरू जे जति सम्झेको छु मैले यतिखेर, त्यस अनुसार आफ्नो  टिममा उनले आफ्नो भाइ वासुदेवलाई राखे। अरू थिए डिल्लीबजार चार खालको लोकराज जोशी र मखनको नन्द सिद्धि। अह्रौटे काम गर्ने बलबहादुर त पहिले देखि घरमै थिए।

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
x